विकासन्युज

‘विद्युत विधेयकले लगानीकर्ता र हाइड्रो व्यवसायीलाई प्राथमिकतामा राख्छ’

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले विद्युत विधेयक ७० लाख सेयर लगानीकर्ता र हाइड्रो व्यवसायीको हितलाई पहिलो प्राथमिकता राखेर आउने बताएका छन् । सोमबार इप्पानले आयोजना गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया, उपादेयता र दीर्घकालिन महत्व विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले विद्युत विधेयकका देशको हित र व्यवसायीहरुको हितमा हुनेगरी अगाडि बढाउने प्रतिवद्धता जनाए । जलविद्युतमा व्यवसायी मात्रै नभएर ७० लाख सर्वसाधारण लगानीकर्ता समेत रहेको भन्दै लगानीकर्ताको हितमा हुनेगरी अघि बढ्ने दाबी उनले गरे । सभापति सिंहले व्यवसायीहरुले घर, खेत धितो राखेर उद्योग सञ्चालन गरी रहेको बताए । उनले भने- ‘नेपालका ७० लाख नेपालीहरुले सेयर किनेर हाइड्रोमा लगानी गरेका छन् । व्यवसायीहरुले घर खेत धितो राखेर उद्योग सञ्चालन गरी राख्नुभएको छ । यसरी उद्योग सञ्चालन गर्ने हाइड्रो व्यवसायीहरुलाई बाधा अवरोधमा अलमल्याउने हो भने उद्योगबाट पलायन हुनुपर्ने अवस्था आउन सक्छ । देश बचाउने हो भने उद्योगी व्यवसायी बाहेक अन्य विकल्प छैन । लाखौं युवाशक्ति पलायन भइरहेको अवस्था छ । ८ देखि १० वटा ठूला हाइड्रो पावरहरु मुलुकमा बनाउन सक्यो भने  देश निर्माण गर्न मुलुकमा नै रोक्न सक्छौ । इन्जिनियर र ओभरसियरलाई मुलुकमा रोकेर रोजगारी दिन सक्छौं । होइन भने छिमेकी देशबाट ल्याउनुपर्ने अवस्था आउँछ । त्यो हुन नदिऔं । बचाउनु पर्ने सरकारको पनि दायित्व हो । देशभन्दा ठूलो व्यापार हुँदैन । निजी क्षेत्र एक ठिक्का हुन आवश्यक रहेको बताउँदै उनले सरकारलाई विद्युत बन्द गर्छौं भन्दै धम्काउन सक्नुपर्ने समेत जनाए ।

१५ तस्विरमा काठमाडौं टुँडिखेलको घोडेजात्रा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित ‘घोडेजात्रा समारोह, २०८०’ मा सरिक भए । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे पनि सहभागी थिए । सो अवसरमा सेनाले अश्वकलासम्बन्धी प्रतिस्पर्धा तथा प्रदर्शनी गरेको थियो । घोडादौड, म्युजिकल रेस, सोजम्मलगायत विधामा प्रतिस्पर्धा गराइएको थियो । त्यस्तै, सैनिक कुकुरको कौशल पनि प्रस्तुत गरिएको थियो । प्रत्येक वर्ष कृष्ण औँसीका दिन घोडेजात्रा मनाइँदै आएको छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयले विभिन्न उपायले त्यसलाई सम्हार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।

सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भीषण आगलागी (तस्विरहरु)

काठमाडौं । काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भीषण आगलागी भएको छ । सोमबार साँझ उक्त स्थानमा एक्कासी आगलागी भएको हो । हाल उक्त आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । आगलागी के कारणले भएको र यसबाट के कति क्षति भएको भन्ने विवरण आउन बाँकी छ ।

हाइड्रोका लगानीकर्ता पनि भाग्नुपर्ने स्थिति आउन सक्छ : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले सहकारीका सञ्चालक भागे जस्तै जलविद्युतका लगानीकर्ता भाग्नुपर्ने स्थिति आउन सक्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सो अभिव्यक्ति दिएका हुन् । ‘सहकारीका संचालक भागे जस्तै जलविद्युतका लगानीकर्ता भाग्नु पर्ने स्थिति आउँदैछ । जलविद्युत लगानीकर्ताले बिजुली उत्पादन गर्ने कि भाग्दै हिड्ने ?’ उनले भने । जलविद्युत आयोजना निर्माणको लाइसेन्स लिँदा नीति नियम अनुसार लिए पनि पछिल्लो समय हाइड्रो क्षेत्रमा काम गर्दा अनेक झंझट खेप्नु परेको उनको गुनासो छ । ‘जलविद्युत आयोजना बनाउदा जग्गाको मूल्य ५ प्रतिशत बढेको छ । काठमाडौको जग्गाको मूल्य भन्दा महंगो मूल्यमा जग्गा खरिद गर्नु परेको छ,’ उनले भने । उर्जा व्यवसायीहरुले देशलाई उर्जामय बनाउन कामहरू गरिरहेको बताउँदै उनले राज्यको लक्ष्य पुरा गर्न धेरै चुनौती खेप्नु परेको बताएका छन् । संसारभरका लगानीकर्तालाई अबको लगानी गर्ने क्षेत्र उर्जा हो र उर्जा भएपछि मात्र अन्य क्षेत्रको विकास हुन्छ भन्दै जनचेतना फैलाउँदै यस क्षेत्रमा लगानी गर्न आवश्यक रहेको उनको भनाई छ । साथै, उर्जा व्यवसायीहरुले जलविद्युत आयोजना निर्माण गर्दा वातावरणलाई जोगाएर काम गरिरहेका समेत उनले जानकारी गराएका छन् ।

रोयल इन्फिल्ड पोकर रनको १४औं संस्करण चैत ३० देखि हुने

काठमाडौं । पोकर रनको १४औं अप्रिल १२ अर्थात चैत ३० देखि सुरु हुने भएको छ । एड्भेन्चर ट्राभल कम्पनी स्याकर्ड समिटले सोमबार पत्रकार सम्मेलन गर्दै काठमाडौं रोयल इन्फिल्डका विभिन्न मोडलका मोटरसाइकल राइडर सहभागी टोली पोखरा पुगेर रमाइलो गर्ने कार्यक्रम रहेको जानकारी दिएकाे छ। स्याकर्ड समिटले सन् २००९ देखि पोकर रनको आयाेजना गर्दै आएकाे छ । यस पटक नेपाल, भारत, अस्ट्रेलिया, अमेरिका, अस्ट्रियालगायत विभिन्न देशका १५० भन्दा बढी राइडर सहभागी हुने कार्यक्रममा बताइएकाे छ ।  नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ तथा रोयल इन्फिल्ड राइडरहरूको संस्था फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपाल (फोरे नेपाल)  नेपाल  पर्यटन बाेर्ड, नेपाल नेपाल  पर्यटन बाेर्ड पाेखरा  र पाेखरा पर्रयटन बाेर्ड परिषद् लगायत अन्य सहप्रायाेजकले  कार्यक्रममा सहयोग गर्नेछ । निश्चित स्थानबाट प्रारम्भ हुने पोकर रन गन्तव्यसम्म पुग्दा ५ वटा बिन्दु निर्धारण गरिएको हुन्छ । प्रत्येक बिन्दुमा सहभागीले एक एकवटा तासको जस्तो पत्ती अर्थात पोकर उठाउन पाउछन् । बीचमा उनीहरू साथसाथै जान्छन् । एकै स्थानमा मोटरसाइकलको लहर देख्दा एक प्रकारको रौनकता पनि थपिन्छ । अन्तिम बिन्दुसम्म पुग्दा जसको नम्बर बढी हुन्छ, उसैलाई बिजेता घोषणा गरिन्छ । राइडरहरूका लागि पोकर हात पार्नु यो इभेन्टको मुख्य उद्देश्य हो । तर योभन्दा बाहेक विभिन्न तरिकाले डिजाइन गरिएको आफ्नो मोटरसाइकल शो गर्नु पनि यसको अर्को आकर्षण हो । बेस्ट इन्फिल्ड अर्थात ओरिजिनल डिजाइन र बेस्ट कस्टमाइज्ड मोटरसाइकललाई सो अवसरमा पुरस्कृत समेत गरिने छ । कार्यक्रममा सहभागीहरुलाई विभिन्न प्रकारका रोचक पुरस्कारको समेत व्यवस्था गरिने छ । यसमा बेस्ट पोकर ह्यान्ड, बेस्ड इन्फिल्ड अवार्ड, सपोर्टिङ वुमन राइडर, सिनियर सिटिजन अवार्ड, लङ डिस्टेन्स राइडर र यात्रा अवधिभर धेरै दुःख दिने मोटरसाइकललाई हार्ड लक अवार्ड प्रदान गरिने छ । चैत ३० का दिन नेपाल पर्यटन बोर्डको प्रांगणबाट राइडरहरूको टोली पोखराका लागि प्रस्थान गर्नेछ । उनीहरूले पहिलो कार्ड यही संकलन गर्नेछन् । त्यसपछि दोस्रो कार्ड नौविसेमा संकलन हुनेछ भने मुग्लिनमा तेस्रो र पोखरा भन्दा ३५ किलोमिटर यता अकला हाइवेमा चौथो कार्ड संकलन हुनेछ । नयाँ वर्ष २०८१ को पहिलो दिन सबै सहभागी पाेखरामा रहेकाे अन्नपूर्ण बालगृहमा पुगेर विभिन्न शैक्षिक सामग्री  वितरण गर्ने कार्यक्रम पनि रहेकाे छ । प्रत्येक वर्ष आयोजना हुने पोकर रनको आगामी संस्करणका लागि देश तथा विदेशका रोयल इन्फिल्ड राइडरहरू उत्साही भएको आयोजकको भनाइ छ । दिवंगत राइडर मित्र विनोद आचार्य क्षेत्रीको सम्झनामा रवि थापा र अष्ट्रेलियामा एन्जाक डे हार्ले डेभिडसन पोकर रन अफ अल्बरी सञ्चालक स्टुअर्ट म्याक्लिन मिलेर सन् २००९ मा जम्मा २२ जना मोटरबाइक राइडरहरुको सहभागितामा यस प्रकारको कार्यक्रम नेपालमा सुरुवात गरिएको थियो । सुरुवाती दिनमा द इन्फिल्ड रन्देभु एन्ड पोकर रनको नाममा सञ्चालन भई सन् २०२१ देखि यसलाई पोकर रन नेपाल नामकरण गरिएको हो । सन् २०१५ मा यस्तै कार्यक्रममा ४१५ जना सहभागी भएका थिए । पोकर रन नेपाल एउटा राइडिङ इभेन्ट मात्र नभई यो जिन्दगीमा एक पटक अनुभव गर्ने पर्ने कार्यक्रम मध्येको एक नम्बरमा पर्दछ । सबै उमेर समूह, महिला वा पुरुष, साथीभाई, इस्टमित्र, परिवार सहित मिलेर एकैसाथ रमाइलो गर्न पाउने भएको हुनाले पनि यस कार्यक्रमको लोकप्रियता ह्वात्तै बढेको अनुमान गर्न सकिन्छ ।  

नेपालमा टोयोटाको बजार खस्कियो, एक वर्षमै ५२ प्रतिशतले घट्यो व्यापार

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) को व्यापार ५२ प्रतिशतले घटेको छ । विगत एक वर्ष अर्थात आर्थिक वर्ष २०२३ मा कम्पनीको व्यापार ५१.९९ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष अर्थात २०२२ मा ७ अर्ब ६१ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको कम्पनीको २०२३ मा ह्वात्तै घटेर ३ अर्ब ६५ करोड ६० लाख रुपैयाँमा खुम्चिएको छ । जुन आर्थिक वर्ष २०२१ को व्यापारको तुलनामा पनि कम हो । कम्पनीले आर्थिक वर्ष २०२१ मा पनि ४ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । नेपाल राष्ट्र बैंकले गाडी आयातमा प्रतिबन्ध गरेसँगै त्यसको प्रत्यक्ष असर कम्पनीको व्यापारमा देखिएको जनाइएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०२३ को पहिलो ६ महिनामा यात्रु बोक्ने सवारीसाधन आयातमा पूर्णरूपमा रोक लगाएको थियो । वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रीज एन्ड ट्रेडिङ हाउजेज अन्तर्गतको कम्पनी यूटीएसले नेपालमा टोयोटा गाडीलगायत विभिन्न गाडीहरूको स्पेयर पाटर्स बिक्री तथा वित्तरण गर्दै आएको छ । स्वर्गीय डा. विजय गजानन्द वैद्यले सन् १९६७ मा नेपाली बजारमा मोबिलिटी ल्याउने भिजनसहित यस कम्पनीको स्थापना गरेका थिए । उनले ६ वटा गाडी बेच्ने लक्ष्यसहित यसको सुरुवात गरेका थिए । तर सन् १९७० को अन्त्यसम्ममा कूल ३५३ वटा गाडीहरु बिक्री गर्न उनी सफल भएका थिए । हाल कम्पनीमा तीन जना सेयरधनी रहेका छन् । सेयरधनीमध्ये अध्यक्ष सुरज वैद्यको ६० प्रतिशत, प्रबन्ध निर्देशक रितु सिंह वैद्यको ३० प्रतिशत र निर्देशक सुर्यांश वैद्य श्रेष्ठको १० प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीेले केयर रेटिङ एजेन्सी केयर रेटिङ नेपालमा ४ अर्ब रुपैयाँ बराबरको कर्जाको लागि रेटिङ गराएको छ । यससँगै केयर रेटिङ नेपालले एक अर्ब ३८ करोडको दीर्घकालीन कर्जाको लागि केयर एनपीबीबी प्लस र २ अर्ब ६२ करोडको अल्पकालीन कर्जाको लागि केयर एनपी एफोरप्लसको रेटिङ दिएको छ ।

एफएनसीसीआईले अर्थतन्त्रको पुनरुत्थानका लागि राजनीतिक सहयोगको आह्वान गर्दै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसी)ले अर्थतन्त्रको पुनरुत्थानका लागि राजनीतिक सहयोगका लागि आह्वान गर्ने भएको छ । महासंघले आफ्नो ५८ औँ वार्षिक साधारणसभाका अवसरमा यस्तो आह्वान गरिने जनाएको हो । महासंघको वार्षिक साधारणसभा चैत २८ गते हुँदैछ । सभाको उद्घाटन कार्यक्रम बिहान ८ः३० डाकिएको छ। सभामा मुख्य राजनीतिक दलका प्रतिनिधिहरुलाई डाकिएको महासंघले जनाएको छ । महासंघको सभामा मुख्य वक्ताका रुपमा भारत उद्योग परिसंघका अध्यक्ष सञ्जीव पुरी रहेछन् । पुरीको नेतृत्वमा भारतीय लगानीकर्ताहरुको टोली सभामा सहभागी हुनेछन् ।

गाउँपालिकाले लिएको कक्षा ८ को परीक्षामा ५ जनामात्र पास

फुङ्लिङ । ताप्लेजुङको मेवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा पाँच जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना विद्यार्थी उत्तीर्ण भएका हुन् । गाउँपालिकामा आठ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थी परीक्षामा सामेल थिए । जसमध्ये चार वटा विद्यालयका विद्यार्थी निल भएको मैवाखोला गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ । शाखाका अनुसार ग्रेड वृद्धिका लागि परीक्षासमेत दिन नपाउने दुई वटा सामुदायिक विद्यालय रहेका छन् । दुई वटा विषयमा अनुत्तीर्ण हुने २५ जना विद्यार्थीले मात्र ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने भएका हुन् । आउँदो वैशाख १० गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले परीक्षा सञ्चालन गर्न विषय विज्ञको व्यवस्था गरी प्रश्नपत्र बनाएर परीक्षा सञ्चालन गरिएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो । उत्तरपुस्तिकासमेत गाउँपालिका बाहिरका विषय विज्ञ शिक्षकबाट मूल्याङ्कन गरी परीक्षाफल सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ । ‘शिक्षा जस्तो संवेदनशील क्षेत्र तथा राज्यको ठूलो लगानी भएका क्षेत्रमा निराशाजनक परीक्षाफलले सिङ्गो सामुदायिक विद्यालयको अवस्था छर्लङ्ग पारेको छ’, अध्यक्ष वनेमले भने, ‘विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण शिक्षाप्रेमी र नागरिक समाजले गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ ।’ यो परिणामले सामुदायिक विद्यालयको वास्तविक अवस्था देखिएको र आगामी दिनका लागि योजना बनाउन मद्दत पुग्ने गाउँपालिकाले जनाएको छ । रासस