काठमाडौं । सरकारले स्वदेशी वस्तु निर्यातमा जोड दिँदै विभिन्न वस्तुको ब्राण्डि गर्ने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका र हाल उच्च परिमाणमा निर्यात भइरहेका गलैंचा, कार्पेट, धागो, तयारी कपडा, सिमेन्ट लगायतका वस्तुको निर्यातमा जोड दिने बताएका हुन् ।
उनका अनुसार स्वदेशी श्रम र कच्चा पदार्थको प्रयोग गरी कम तौल र उच्च मूल्य भएका वस्तु उत्पादन गरी निर्यात प्रवर्द्धन र सहजीकरण गरिनेछ । साथै, पहिलो चरणमा कफी, अलैँची, चिया र हिमालयन वाटरको ब्राण्डिङ गरिने उनको भनाइ छ ।
व्यापार सम्वद्ध पूर्वाधारको एकीकृत र रणनीतिक विकासका लागि लजिष्टिक गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिने र व्यापारजन्य पूर्वाधार र प्रविधिको विकास तथा उपयोग गरी उत्पादन र व्यापार लागत घटाउँदै नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाइने अर्थमन्त्री पुनले बताए ।
भैरहवाको एकीकृत जाँच चौकी र रसुवाको टिमुरेमा सुक्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न गरिने र कञ्चनपुर जिल्लाको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण कार्यको प्रारम्भ गरिने उनको भनाइ छ ।
आयात हुने वस्तु तथा सेवाको गुणस्तर मापदण्ड निर्धारण गरी लागू गरिनेछ। गुणस्तरसम्बन्धी सर्वस्वीकार्यता र मापदण्डमा एकरूपता हुने गरी छिमेकी मुलुकसँग सम्झौता गर्ने प्रक्रिया अगाडि बढाइने र आपूर्ति शृङ्खलाका अवरोध हटाई सहज र सरल आपूर्ति प्रणाली स्थापना गरिने मन्त्री पुनले बताए ।
प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा बजार अनुगमनलाई प्रभावकारी र सघन बनाइने र कालोबजारी, सिण्डिकेट, कार्टेलिङ लगायतका अवाञ्छित र गैरकानूनी क्रियाकलापलाई कडाईका साथ नियन्त्रण गरिने उनको भनाइ छ । साथै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि आगामी वर्ष ९ अर्व २८ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए ।