इरानी नौ सेना दुश्मनलाई पराजित गर्न तयार रहेको सर्बोच्च नेता खामेनीको दावी
काठमाडौं । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शनिबार इरानी नौसेना अमेरिका र इजरायलमाथि ‘नयाँ तीतो हार’ चखाउन तयार रहेको बताएका छन् । उनले शनिबार (अप्रिल १८) को इरानीसेना दिवसको अवसरमा एक सन्देशमा इरानको ‘शत्रुहरू’ विरुद्धको लडाइँका लागि इरानी सेनाको प्रशंसा गरेका थिए । खामेनीले हालैको ४० दिनको युद्धका क्रममा इरानको सेनाले अमेरिका र इजरायलविरुद्ध अन्य इरानी सशस्त्र बलसँग मिलेर देशको भूमिको रक्षा गरेको र उनीहरूको कमजोरी र अपमानलाई विश्वसामु उजागर गरेको दावी गरे । उनले थपे, सेनाको ड्रोनले अमेरिका र इजरायली लक्ष्यमा ‘गर्जन’ सहित प्रहार गरेपछि बहादुर नौसेना दुश्मनलाई नयाँ हारको तीतो स्वाद दिन तयार छ । फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरान र अन्य धेरै इरानी शहरहरूमा संयुक्त आक्रमण गरे, जसमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमान्डर र नागरिकहरू मारिए । इरानले मध्यपूर्वमा इजरायल र अमेरिकी सम्पत्तिलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमणको लहरको साथ प्रतिक्रिया दियो र इजरायल र संयुक्त राज्य अमेरिकासँग सम्बन्धित वा सम्बद्ध जहाजहरूलाई सुरक्षित मार्गबाट वञ्चित गरेर स्ट्रेट अफ हर्मुजमाथि नियन्त्रण कायम गरिरहेको छ । अप्रिल ८ मा युद्धरत पक्षहरूबीच दुई हप्ताको युद्धविराम घोषणा गरिएको थियो, त्यसपछि पाकिस्तानको राजधानी इस्लामावादमा इरानी र अमेरिकी प्रतिनिधिहरूबीच शान्ति वार्ता भएको थियो । अज्ञात इरानी स्रोतलाई उद्धृत गर्दै सीएनएनले शुक्रबार अमेरिका-इरान वार्ताको नयाँ चरणको बैठक सोमबार पाकिस्तानमा हुने जनाएको छ । यसैबीच, इरानका उपविदेशमन्त्री सइद खतिबजादेहले शनिबार दोस्रो चरणको वार्ताका लागि अझै कुनै मिति तय नगरिएको जनाएको ‘इरानियन स्टुडेन्ट्स न्यूज एजेन्सी’ ले जनाएको छ । टर्कीको एक शहरमा शुक्रबारदेखि सुरु भएको अन्ताल्या कूटनीति फोरमको क्रममा पत्रकारहरूसँग बोल्दै उनले अमेरिकासँगको वार्तामा सहमतिमा पुग्न प्रगति भए पनि अवरोधहरू अझै बाँकी रहेको बताए । इरानले अन्तर्राष्ट्रिय कानुनको दायराभन्दा बाहिर कुनै विशेष सर्त स्वीकार गर्दैन र त्यही ढाँचाभित्र रहेर आफ्नो दायित्व पूरा गर्ने उपविदेशमन्त्रीले जोड दिए ।
जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ
काठमाडौं । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ मा फरार भएका सिन्धुलीको सुनकोशी गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंको सुकेधारा बस्दै आएका २५ वर्षीय प्रकाश मगर पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीका अनुसार मगरलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–३ सानेपामा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको हो । पक्राउ परेका मगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनःनख्खु कारागारमा बुझाइएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक भोलि बस्दै, यस्ता छन् मुख्य कार्यसूची
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक आह्वान गरेका छन् । भोलि अर्थात् वैशाख ६ गते आइतबारका लागि बैठक बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालय घन्टीघर वनस्थलीमा दिनको ३:३० बजे बस्ने उक्त बैठकमा पार्टीको साङ्गठनिक सुदृढीकरण र आगामी महाधिवेशनको तयारीका विषयमा महत्त्वपूर्ण छलफल हुने जनाइएको छ । बैठकका लागि विभिन्न महत्त्वपूर्ण एजेण्डाहरू तय गरिएका छन्, जसमध्ये जिल्ला अधिवेशन कार्यविधि २०८३ र महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन मुख्य रहेका छन् । यस्तै, पार्टीका विभिन्न विभागहरू, केन्द्रीय आयोग, सल्लाहकार परिषद् र संघीय नेतृत्व मञ्चमा मनोनयन गर्ने विषयमा पनि सचिवालयले निर्णय लिनेछ ।
‘स्ट्रेट अफ हर्मुज’ मा इरानले हामीलाई सौदाबाजी गर्न सक्दैन: राष्ट्रपति ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानलाई स्ट्रेट अफ हर्मुजको भविष्यमा सौदाबाजी (ब्ल्याकमेल) नगर्न चेतावनी दिएका छन् । ‘तपाईंलाई थाहा छ, उनीहरूले वर्षौंदेखि गरेजस्तै हर्मुज घाँटी फेरि बन्द गर्न चाहन्थे । हामी उनीहरूसँग वार्ता गरिरहेका छौं । उनीहरूले हामीलाई ‘ब्ल्याकमेल’ गर्न सक्दैनन्,’ ट्रम्पले ह्वाइट हाउसको एक कार्यक्रममा भने । राष्ट्रपति ट्रम्पले इरानका बारेमा केही जानकारी प्राप्त हुने बताउँदै भने, ‘हामी कडा अडान लिइरहेका छौं ।’ यसैबीच, इरानको सेनाले शनिबार विश्वको कच्चा र तरलीकृत प्राकृतिक ग्यासको पाँच भागको एक भाग पार हुँदै जाने जलमार्ग हर्मुज घाँटी फेरि एकपटक बन्द गरिएको घोषणा गरेको छ ।
सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधिकारिताबारे सर्वोच्च अदालतले शुक्रबार विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिएसँगै शनिबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बसेको देउवा समूहको बैठकले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरेर अगाडि बढ्ने निर्णय गरेको हो । बैठकले असहमति भए पनि सर्वोच्चको फैसला मानेर अघिबढ्ने निष्कर्ष निकालेको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए । आगामी दिनमा पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मा सभापति गगन थापाको जिम्मेवारी भएको उनले बताए । 'हिजोको दिनमा पार्टीलाई कसरी अगाडि लैजाने भन्ने जिम्मा शेरबहादुर देउवामा थियो । अब विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाकोमा छ, त्यसैले उहाँले अब कसरी पार्टीलाई एकताबद्ध बनाउनुहुन्छ, कसरी पार्टीलाई ठूलो बनाउनुहुन्छ, कसरी पार्टीलाई भावनात्मक रूपले सबै एक स्वरले कांग्रेसका पक्षमा आबद्ध हुने वातावरण बनाउनुहुन्छ, त्यो उहाँको जिम्मामा छ,' उनले भने । पार्टीका नेता डा. प्रकाशशरण महतले कानुनी हिसाबले पार्टीको विवाद टुङ्गो लागे पनि राजनीतिक हिसाबले पार्टीमा ठूलो समस्या रहेको बताए । उनले पार्टी एकताको पहल विशेष महाधिवेशन पक्षधरले गर्नुपर्ने उल्लेख गरे । नेता महतले पार्टीको १५औं महाधिवेशन गर्नका लागि दुवै समूहलाई सहभागिता गरेर साझा संयन्त्र बनाएर अगाडि बढ्नुपर्ने धारणा बैठकमा उठेको बताए । पार्टी एक भएर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा आफूहरू रहेको उनको भनाइ थियो ।
उच्च ओहोदामा बसेकाहरूको सम्पत्ति छानबिन सरकारको प्राथमिकतामा छ- मन्त्री खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको बताएका छन् । गोँगबु आवास क्षेत्र सुधार समितिले शनिबार आयोजना गरेको ‘नयाँ वर्ष-२०८३ को शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले त्यसका लागि सरकारले आवश्यक काम गर्न सुरु गरिसकेको बताए । मन्त्री खनालले भने, ‘जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएर परिवर्तनको बाटो रोजेका छन्, वर्तमान सरकारले यसलाई खेर फाल्दैन । रास्वपाले वाचापत्रमा उल्लेख गरेअनुसार सुशासन र समृद्धिलाई मुख्य प्राथमिकतामा राखेर काम गर्छौं ।’ उनले भ्रष्टाचार नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेकाले मन्त्रिपरिषद्को बैठकले विसं २०६२ पछि उच्च ओहोदामा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न समिति गठन गरिएको उल्लेख गरे । परराष्ट्रमन्त्री खनालले जनतालाई सहज रूपमा सेवा, सुविधा प्रदान गर्नका लागि सरकारले रातदिन नभनी काम गरिरहेको बताए । ‘हामीले जनताले परिवर्तनको अनूभूति गर्नेगरी काम गरिरहेका छौं । देशभित्र मात्रै होइन, विदेशमा रहेका नेपाली नागरिकलाई पनि सुरक्षित राख्नका लागि सरकारले काम गरिरहेको छ,’ उनले भने, ‘आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिन्छ । सहज ढङ्गले व्यापार व्यवसाय गर्ने वातावरण बनाउँछ ।’ काठमाडौं क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री खनालले आफ्नो क्षेत्रभित्रको खानेपानी, ढल, सडकलगायत समस्या समाधानका लागि पनि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री ओली टिचिङ अस्पतालबाट भए डिस्चार्ज
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली टिचिङ अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि (आज) शनिबार साँझ उनी अस्पतालबाट डिस्चार्ज भएर भक्तपुरको गुण्डुस्थित निवास गएकाे उनकाे सचिवालयले जनाएकाे छ। गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा जेनजी आन्दोलनका घटनामा अनुसन्धान गर्न भन्दै प्रहरीले चैत १४ गते ओलीलाई पक्राउ गरेको थियो । पक्राउपछि काठमाडौं प्रहरीले उनलाई सोही दिन स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । जहाँ स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । प्रहरीले अस्पतालमै हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाएको थियो । त्यसैक्रममा ओलीपत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटपछि अदालतको परमादेशमा ओली चैत २६ गते हिरासतमुक्त भएका थिए । अस्पतालमै प्रहरीले ओलीलाई पत्नी राधिकाको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरेको थियो ।
एमाले पुर्नगठन हुनुपर्छ, अहिले बाम एकता आवश्यक छैन : विष्णु पौडेल
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टी पुनर्गठनलाई अहिलेको प्राथमिक कार्यसूची बनाउनुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले पार्टीको मूल समस्याबाट ध्यान मोड्न खोजिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उपाध्यक्ष पौडेलले निर्वाचनमा भोग्नुपरेको परिणाम पार्टीका लागि सुखद नरहेको उल्लेख गर्दै यसको गहिराइमा पुगेर समीक्षा गर्नुपर्ने बताएका छन् । उनले पार्टीलाई नयाँ ढङ्गले पुनर्गठित गर्नु र जनताको विश्वास पुनः प्राप्त गर्नु नै अहिलेको प्रमुख दायित्व भएको उल्लेख गरे । पछिल्लो समय भइरहेको वामपन्थी एकताको चर्चालाई उनले असान्दर्भिक र ध्यान मोड्ने रणनीतिको रूपमा चित्रण गरे । उनले लेखेका छन्, ‘पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो । यस यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले र किन चलाइरहेका हुन् ?’