विकासन्युज

भरतपुरमा एक अर्ब ४७ करोड बढी राजस्व संकलन

चितवन । गत आर्थिक वर्षमा भन्दा चालु आवमा रु एक अर्ब ४७ करोड १८ लाख बढी राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आवको चैत मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व सङ्कलन बढाएको हो ।      कार्यालयका अनुसार चैतसम्ममा रु १८ अर्ब पाँच करोड ५० लाख राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु १६ अर्ब ५८ करोड ३२ लाख राजस्व सङ्कलन भएको थियो । वार्षिक लक्ष्यअनुसार भने राजस्व सङ्कलन हुन सकेको छैन ।       चालु आवको चैतसम्ममा रु २० अर्ब ६१ करोड २४ लाख लक्ष्य रहेकामा ८७ दशमलव ५९ प्रतिशत प्रगति भएको कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । उनका अनुसार गत आवको सोही अवधिका लागि आन्तरिक राजस्व कार्यालयले रु १८ अर्ब ३४ करोड ८९ लाख लक्ष्य दिएकामा ९० दशमलव ३८ प्रतिशत प्रगति भएको थियो । राजस्व बढी सङ्कलन भए पनि लक्ष्यअनुसार प्रगति प्रतिशत भने गत आवको तुलनामा चालु आवमा कम रहेको उनले बताए ।      चालु आवको अन्त्यसम्मका लागि रु ३१ अर्ब पाँच करोड ९५ लाख चार हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख खड्काले जानकारी दिए । गत आवको अन्त्यसम्मका लागि रु २६ अर्ब ६० करोड ९७ लाख ६० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो ।       खड्काले अन्तशुल्कमा राजस्व कम उठेकाले राजस्व बढे पनि लक्ष्यमा पुग्न नसकिएको बताए । उनका अनुसार भरतपुर महानगरपालिका–२९ जुगेडीमा रहेको रोलिङरिभर नामको मदिरा उद्योग बन्द हुँदा वार्षिक रु एक अर्ब राजस्व घटेसँगै लक्ष्यमा पुग्न कठिन भएको हो । चालु आवमा अन्तशुल्क ८९ दशमलव ३५ प्रतिशत असुल गरिएकामा गत आवमा यो प्रतिशत ९३ दशमलव २९ थियो ।      चालु आवमा रु १३ अर्ब ४९ करोड ६३ लाख अन्तशुल्क सङ्कलन भएको कार्यालय प्रमुख खड्काले जानकारी दिए । गत आवमा रु १२ अर्ब ९४ करोड ४१ लाख अन्तशुल्क सङ्कलन भएको थियो । कार्यालयले असारसम्म लक्ष्यमा पुग्नेगरी काम अघि बढाएको उनको भनाइ छ ।       खड्काका अनुसार रु पाँच अर्बभन्दा बढी बाँकी रहेको बक्यौता असुलीलाई कडाइका साथ लागिएको छ । त्यस्तै रु दुई अर्ब १५ करोड ८६ लाख बेरुजु फछ्र्यौटका लागि तीव्र रूपमा काम अघि बढाइएको छ । सो बेरुजुमध्ये नियमित गर्नुपर्ने र असुल गर्नुपर्ने दुवैलाई फछ्र्यौट गर्ने अभियान थालिएको कार्यालय प्रमुख खड्काले जानकारी दिए । उनका अनुसार कार्यालयले ६० वटा करदाताको अनुसन्धान गरिरहेको छ ।       चालिस वटा फर्मको अग्रिम कर कट्टीको परीक्षण भइरहेको जनाउँदै प्रमुख खड्काले नियमित बजार अनुगमनलाई निरन्तरता दिइएको उल्लेख गरे । विलासिताको करवापत तिर्नुपर्ने दुई प्रतिशत असुल गर्न कार्यालयले अनुगमन एवं ताकेता गरिरहेको उनले बताए ।      प्रमुख खड्काका अनुसार उद्योग वाणिज्य सङ्घहरू, उद्योग सङ्घ, चेम्बर अफ कमर्शलगायत तिनका वस्तुगत सङ्घसंस्थाहरूसँग सहकार्य गरेर करदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेका छन् । अवैध मदिरा नियन्त्रण समितिमार्फत अवैध मदिरा नियन्त्रण गर्न अनुगमन टोली गठन गरेर काम अघि बढाइएको उनले जानकारी दिए । जिल्लास्थित राजस्व चुहावट नियन्त्रण समितिमार्फत हाटबजार, मेला, महोत्सवको अनुगमन गरी अवैध मदिराको बिक्री वितरण भए/गरेको पाइएमा तत्काल कारबाही गर्नेगरी काम अघि बढाइएको उनले जानकारी दिए । उनका अनुसार यस कार्यालयअन्तर्गत व्यावसायिक करदाता ७४ हजार ३७९ जना र व्यक्तिगत करदाता एक लाख ८६ हजार ५७३ जना छन् । रासस  

१९.३६ प्रतिशत बढ्यो कामना सेवा विकास बैंकको नाफा, लाभांश क्षमता १४.१५ प्रतिशत

काठमाडौं । कामना सेवा विकास बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा १९.३६ प्रतिशत बढेर ५८ करोड ८६ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४९ करोड ३१ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ९.२५ प्रतिशत बढेर १ अर्ब ८१ करोड ८३ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६६ करोड ४२ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ९.६० प्रतिशत बढेर २४ करोड ६७ लाख ८५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८.४४ प्रतिशत बढेर २ अर्ब १२ करोड ७२ लाख ३४ हजार रुपैयाँ र सञ्चालन नाफा १८.३३ प्रतिशत बढेर ८४ करोड ७४ लाख १४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको चैत मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी २२ करोड ५१ लाख ६८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब ९६ करोड १७ लाख ४८ हजार रुपैयाँ, सञ्चालन नाफा ७१ करोड ६१ लाख २ हजार रुपैयाँ थियो ।  चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ४१ करोड ७६ लाख ३ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १४.१५ प्रतिशत रहेको देखिन्छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ४९ करोड ९८ लाख ५९ हजार रुपैयाँ थियो । ४ अर्ब २१ करोड १९ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ३ करोड ७३ लाख १८ हजार रुपैयाँ रहेको छ ।  चालु आवको चैत मसान्तसम्म बैंकले ६४ अर्ब ९५ करोड ७ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ५३ करोड ८६ लाख ८७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख १ हजार रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ७ करोड ७४ लाख ९७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप ३.३६ प्रतिशत अर्थात् २ अर्ब ११ करोड रुपैयाँ र कर्जा लगानी ६.९१ प्रतिशत अर्थात् ३ अर्ब ४६ करोड रुपैयाँ बढाएको छ । साथै चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ८७.३३ प्रतिशत रहेको छ ।  समीक्षा अवधिमा बैंकको खराब कर्जा पनि वृद्धि भएको छ । गत वर्षको चैतमा ४.२७ प्रतिशत रहेको खराब कर्जा चालु आवमा बढेर ४.४० प्रतिशत पुगेको छ । बैंकका अनुसार आधार दर ५.७६ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको चैतमा ७.४२ प्रतिशत थियो ।  बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेर २०.०५ रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी १८.७३ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १६३.५७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २४.२० गुणा छ ।

जेसिबीसँग कार ठक्किँदा एकै परिवारका पाँच घाइते

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१६ फारमस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार दिउँसो जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । झरही खोलाबाट रजहरतर्फ जाँदै गरेको ‘अनटेस्ट’ जेसिबीसँग सोही दिशाबाट नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा १८ च ३३२३ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको थियो ।  दुर्घटनामा कार चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३४ वर्षीय सागर ज्ञवाली, उनकी श्रीमती ३१ वर्षीया अन्सु पौडेल, छोरा तीन वर्षीय आयान ज्ञवाली, नौ महिनाका वेदाक्ष ज्ञवाली र आमा ५६ वर्षीया कमला ज्ञवाली घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । कारले मोटरसाइकललाई जोगाउन खोज्दा जेसिबीमा ठक्किँएको उनले बताए ।  घाइतेहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन पठाइएको छ । रासस

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत

म्याग्दी । स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकको लुलियाघुम्ती खण्डको मर्मत गरी सहज यातायात सञ्चालनको व्यवस्था मिलाएका छन् । पोखरेबगर-घोडेपानी सडकको लुलियाघुम्तीमा दुर्घटना बढ्न थालेपछि स्थानीयले श्रमदानमार्फत मर्मत गरेका हुन् । पोखरेबगर, कुरमुनी, हल्लेखर्क, बिरौटा, भुवानीथान र घारगाउँका ८० जनाले दुईदिन श्रमदान गरेर मर्मत गरेका पोखरेबगर युवा क्लबका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिए । अन्नपूर्ण गाउँपालिकाले उपलब्ध गराएको जाली भरेर १३ घनमिटर पर्खाल निर्माण र उकालो घुुम्तीमा करिब ३० मिटर दूरीमा ढुङ्गा बिछ्याइएको छ । मर्मतपछि सडकमा सहज रूपमा सवारीसाधन सञ्चालन हुन थालेका उनले बताए ।      अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्का, स्थानीय राजाराम बरुवाल, बिपिन बरुवाल, रामकृष्ण खड्काको समन्वयमा सडक मर्मतका लागि यसै हप्ता श्रमदान अभियान सञ्चालन भएको थियो । सडक मर्मतका क्रममा ढुङ्गा ढुवानी, खाजा, डोजर परिचालनका लागि मुक्तिनाथ केबुलकार प्रालिबाट रु ५० हजार नगद र अन्य दाताहरूबाट सामग्री सहयोग भएको छ ।       लुलियाघुम्ती र हल्लेखर्च पहिरो क्षेत्रमा सडकको जीर्ण अवस्थाका कारण स्थानीयवासीका साथै पर्यटकीयस्थल घोडेपानी भ्रमणमा जाने पर्यटकलाई समस्या हुँदै आएको थियो । स्थानीय उद्यमी शिव खड्काका अनुसार पहिरोका कारण साँघुरिएको, ग्रेड र मोड नमिलेको लुलियाघुम्ती र हल्लेखर्क पहिरोमा सवारीसाधन उक्लन नसक्ने, बीचैमा अड्किने, दुर्घटना हुनेलगायत समस्या बढेको थियो ।       सङ्घीय सरकारले बजेट विनियोजन गरेको योजना कार्यान्वयनमा भएको ढिलाइका कारण जोखिम बढेपछि समुदायस्तरमा श्रमदान गरेर अस्थायी रूपमा मर्मत थालिएको वडाध्यक्ष रामबहादुर खड्काले बताए ।  'लुलियाघुम्ती, हल्लेखर्कको सडक सुधारका लागि स्थानीय पूर्वाधार विकास कार्यालय पोखराले आयोजना कार्यान्वयनमा गरेको ढिलाइले दुर्घटनाको जोखिम र सास्ती बढाएको छ', उनले भने, 'जनप्रतिनिधिबाट निरन्तर ताकेता भएपछि कार्यालयले बिहीबार मात्रै रु तीन करोड बजेट विनियोजन भई आयोजना कार्यान्वयनका लागि ठेक्का आह्वान गरेको छ ।'      घोडेपानीको वनपाखा लालीगुराँस फुलेर रङ्गिएको छ । कास्कीको बिरेठाटीतर्फबाट पनि घोडेपानी सडकले जोडिएको छ । बिरेठाँटी उल्लेरी हुँदै घोडेपानी जोड्ने सडक नयाँ मार्ग खुलेकाले भालेओडार क्षेत्रमा हिलोमा फस्ने समस्या रहेको स्थानीय बताउँछन् । लालीगुराँसको जङ्गल, पुनहिलबाट हिमशृङ्खला अवलोकनका लागि सवारीसाधन चढेर घोडेपानी जाने आन्तरिक पर्यटकको घुइँचो बढेको छ । रासस  

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा. शतिशकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएका हुन् ।      काउन्सिलले चिकित्सकलाई ‘अनलाइन परामर्श’का नाममा सामाजिक सञ्जालबाट स्वास्थ्यसम्बन्धी श्रव्यदृश्य सामग्री प्रसारण नगर्न आग्रह गरेको छ । काउन्सिलका रजिष्ट्रार डा देवले चिकित्सकहरूले बिरामीसँग सम्बन्धित श्रव्यदृश्य सामग्री सार्वजनिक गर्ने, विभिन्न उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने, औषधि सिफारिस गर्ने जस्ता कार्य सामाजिक सञ्जालबाट नगर्न आग्रह गरेका हुन् ।       सामाजिक सञ्जालमा चिकित्सकले गैरजिम्मेवार र अवैज्ञानिक सूचना तथा सल्लाहले सर्वसाधारणलाई भ्रममा पार्नाको साथै गलत औषधि प्रयोगका कारण स्वास्थ्यमा गम्भीर क्षति पुग्ने सम्भावना उच्च हुने भएकाले चिकित्सकलाई त्यस्तो कार्य नगर्न काउन्सिलले अनुरोध गरेको हो ।       रजिष्ट्रार डा. देवले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले बिरामीको उचित परीक्षण आवश्यक जाँच र चिकित्सकको प्रत्यक्ष मूल्याङ्कन विना औषधि सेवन गर्न सुझाव दिनु र त्यस्तो सल्लाहले विरामीको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न हुन सक्ने, अनावश्यक जटिलता बढ्न सक्ने तथा दीर्घकालीन हानि पुग्न सक्ने बताए ।  काउन्सिलले बिरामीलाई सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहको आधारमा औषधि प्रयोग नगरी योग्य तथा दर्ता प्राप्त चिकित्सकसँगको मात्र परामर्शमा औषधि लिन अनुरोध गरेको छ । काउन्सिलले बिरामीसँग सम्बन्धित श्रव्यदृश्य सामग्री सार्वजनिक नगर्न र गर्नुपर्ने अवस्था भएका बिरामीको अनुहार र पहिचान नखुलाउन आग्रह गरेको छ । रासस

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

दमौली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा जिल्लाका लागि विभिन्न विकासका आयोजना समावेश गर्न आग्रह गरेका छन् । उनले प्राथमिकताका आधारमा आयोजनाहरू पेस गर्दै बजेट सुनिश्चित गर्न अर्थमन्त्री डा वाग्लेको ध्यानाकर्षण गराएका हुन् ।       अध्यक्ष चुमानले जिल्लामा रहेका सडक, पुल, धार्मिक पर्यटन, स्वास्थ्य, शिक्षा र खानेपानी क्षेत्रका महत्त्वपूर्ण आयोजनाहरू अघि सारेका छन् । उनका अनुसार सडकतर्फ छिम्केश्वरी-हिलेखर्क(बन्दिपुर सडक स्तरोन्नतिका लागि रु ३० करोड, बरादी-हिलेखर्क (गिरनचौर-साते खण्ड) सडकका लागि रु २० करोड, पुलजीप-घुमाउने हुँदै देवघाट जोड्ने सडकका लागि रु ५० करोड तथा आँबुखैरेनी रिङरोड मर्मतका लागि र १० करोड बजेट माग गरिएको छ ।      पुल निर्माणतर्फ घुमाउने पुल आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने, बरालुङबेँसीमा पक्की पुल निर्माण प्रक्रिया अघि बढाउने तथा पाँचकिलोस्थित जीर्ण झोलुङ्गे पुललाई स्थानान्तरण गरी नयाँ मोटरेबल पुल निर्माण गर्ने प्रस्ताव गरिएको अध्यक्ष चुमानले बताए । छिम्केश्वरी सडक खण्डअन्तर्गत सिर्दी खोलामा मोटरेबल पुल निर्माणका लागि रु आठ करोड बजेट आवश्यक रहेकाबारे अर्थमन्त्रीलाई जानकारी गराइएको उनले उल्लेख गरे ।      गाउँपालिकाका अध्यक्ष चुमानका अनुसार धार्मिक पर्यटनतर्फ छिम्केश्वरी क्षेत्रको विकासका लागि रु १० करोड, अकला क्षेत्रका लागि रु पाँच करोड र आँधीमुल क्षेत्र विकासका लागि रु पाँच करोड बजेट माग गरिएको छ । स्वास्थ्य क्षेत्रमा आँबुखैरेनी-१ सत्रसयमा दश रोपनी जग्गा अस्पतालका लागि प्राप्त भइसकेको जानकारी दिँदै गाउँपालिकाका अध्यक्ष चुमानले थप १०० रोपनीसम्म विस्तार गर्न सकिने भएकाले सो क्षेत्रमा एक सय शय्याको ट्रमा अस्पताल स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गर्न आग्रह गरिएको बताए । पृथ्वी राजमार्गसँग जोडिएको रणनीतिकस्थान भएकाले यहाँ अस्पताल विस्तार भएमा गोरखा, तनहुँ र लमजुङका बासिन्दालाई समेत सेवा पुग्ने उनको भनाइ छ ।       शिक्षातर्फ बहुप्राविधिक शिक्षालय स्थापना, आँबुखैरेनी क्याम्पसमा स्नातकोत्तर कार्यक्रम सञ्चालन, विभिन्न विद्यालयमा विद्युतीय बस, छात्रावास तथा आधुनिक प्रयोगशाला व्यवस्थापनका लागि बजेट माग गरिएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिए । उनका अनुसार खानेपानीतर्फ हिलेखर्क-छिम्केश्वरी-लोप्राङ एकीकृत खानेपानी आयोजना निर्माणका लागि रु १० करोड तथा सत्रसय खानेपानी शुद्धीकरण आयोजनाका लागि रु पाँच करोड बजेट विनियोजन गर्न प्रस्ताव गरिएको छ । रासस     

मरेको कुखुराको मासु खाँदा दाजुभाइको मृत्यु, आमाछोरा उपचाररत

काठमाडौं । कैलालीमा फार्ममा मरेको ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु भएको छ भने आमाछोरा उपचाररत रहेका छन् । जिल्लाको चुरे गाउँपालिका–३ फाल्टुडेका एकै परिवारका चार जना वैशाख ३ गते मरेको कुखुराको मासु खाएपछि बिरामी परेका थिए । तीमध्ये ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मासु खाएका २८ वर्षीया आमा राधिका ताम्राकार र उनका ३ वर्षीय छोरा दिपेश ताम्राकार भने हाल उपचाररत छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार घटना बिहीबार भएको भए पनि प्रहरीलाई शुक्रबार मात्र जानकारी दिइएको हो । त्यसपछि प्रहरीको समन्वयमा चारै जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । घटनापछि स्थानीय कुखुरा फार्म सञ्चालकमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक बयानमा फार्म सञ्चालकले कुखुरा मरेकोबारे आफूलाई जानकारी नभएको बताएका छन् । उनलाई आवश्यक परे पुनः उपस्थित हुने सर्तमा छाडिएको प्रहरी निरीक्षक विष्टले जानकारी दिए ।

भाडाको कोठामा नक्कली नोट तयार, भीडमा किनमेलको नाटक

काठमाडौं । साँझ पर्न थालेपछि ठमेलका गल्लीहरू उज्यालो बत्ती, संगीत र भीडले भरिन थाल्छन् । पर्यटक, युवा र किनमेलमा निस्किएका मानिसहरूको चहलपहलबीच केही अनुहार यस्ता पनि थिए, जसको उद्देश्य रमाइलो होइन- ठगी थियो । ललितपुरको महालक्ष्मी नगरपालिका-८ मा भाडाको कोठाबाट सुरु भएको एउटा सानो योजना विस्तारै उपत्यकाका भीडभाड हुने बजारसम्म फैलिएको थियो । बाहिरबाट हेर्दा सामान्य देखिने चार युवाहरू- रामकुमार पाख्रिन, पुर्णराज बाध्यकार, दीपेश बाध्यकार र शिव घिसिङ भित्रभित्रै नक्कली नोटको कारोबारमा संलग्न थिए । प्रहरीका अनुसार उनीहरूले कोठा भाडामा लिएर नक्कली नोट छाप्ने मेसिन जडान गरेका थिए । गिरोहभित्र कामको स्पष्ट बाँडफाँड थियो । मुख्य भूमिका पुर्णराज बाध्यकारले निभाउँथे- नोट छाप्ने जिम्मा उनकै थियो । अन्य सदस्यहरूलाई भने ती नोट बजारमा ‘साट्न’ पठाइन्थ्यो । उनीहरूको तरिका पनि निकै चलाख थियो । साँझको समय जब बजार व्यस्त हुन्थ्यो, उनीहरू किनमेलको बहानामा पसलतिर लाग्थे । ५ हजार रुपैयाँको सामान किन्दा उनीहरूले सक्कली नोटको बीचमा १-२ वटा नक्कली नोट मिसाएर भुक्तानी गर्थे । हतार, भीड र व्यस्तताबीच पसलेले छुट्याउनै सक्दैनथे। प्रहरी स्रोतका अनुसार उनीहरूको गतिविधि केवल ठमेलमा मात्र सीमित थिएन । जात्रा र भीडभाड हुने अन्य स्थानहरूमा पनि उनीहरू सक्रिय थिए । विशेषगरी ठेलामा व्यापार गर्ने साना व्यापारी उनीहरूको सजिलो लक्ष्य बन्थे । नयाँ वर्षको समयमा त उनीहरू अझ सक्रिय भए । भीड, उत्सव र हतारबीच नक्कली नोट चलाउन सजिलो हुने उनीहरूको बुझाइ थियो। रेष्टुरेन्टहरुमा समेत उनीहरूले ठूलो बिल आउने गरी अर्डर दिने, तर वास्तवमा धेरै नखाने- उद्देश्य केवल नक्कली नोट चलाउनु थियो । तर, लामो समयसम्म उनीहरूकाे नक्कली नाेटकाे काराेबारकाे धन्दा गतिविधि लुकेर बस्न सकेन । बजारमा नक्कली नोटको प्रयोग बढेको सूचनापछि प्रहरी सचेत बनेको थियो । शङ्कास्पद व्यवहार, अस्वाभाविक किनमेल शैली र बारम्बार एउटै ढाँचामा कारोबार गर्ने प्रवृत्तिले अन्ततः उनीहरू प्रहरीको निगरानीमा परे । गत शुक्रबार, उनीहरू फेरि ‘किनमेल’का लागि निस्कन लागेको अवस्थामा प्रहरीले पक्राउ गर्‍यो । पक्राउ परेका बाध्यकारको कोठामा छापा मार्दा ५ सयको नोट ३७ थान, १ हजारका नोट ६ थान, १ हजारका नोट छापेर राखिएको एफो साइजका पेपर ८ थान, नक्कली नोट छाप्न प्रयोग गरिने मेसिन १ थान र १ थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।  काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले भने, ‘यस्ता गिरोह चिन्ने संकेतहरू प्रष्ट हुन्छन् । व्यवहारमा अस्वाभाविकता, अनावश्यक ठूलो बिल बनाउने बानी र भुक्तानी गर्दा देखिने हतार- यी सबैले शंका पैदा गर्छन् ।’