विकासन्युज

दिगो डाँफेमा ८० प्रतिशतसम्मको फाइनान्स सुविधा, एक्सचेन्ज पनि गर्न सकिने

काठमाडौं । दिगो डाँफे विद्युतीय स्कूल भ्यान ८० प्रतिशतसम्मको फाइनान्स सुविधासहित उपलब्ध भएको छ । न्यून अग्रिम भुक्तानीमा डाँफे प्राप्त गर्न सकिने दिगो ग्रुपले जनाएको छ । यो भ्यान विद्यालयहरूका लागि आर्थिक रूपमा पनि लाभदायक विकल्प बनेको छ । साथै पुराना गाडी साटेर नयाँ दिगो डाँफे खरिद गर्न सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध भएको दिगोले जनाएको छ । ५ वर्षभन्दा लामो समयदेखि नेपाली सडकमा सफलतापूर्वक सञ्चालन हुँदै आएको यो भ्यानले ४ लाख किलोमिटर भन्दा बढी यात्रा पूरा गरिसकेको छ । दिगो डाँफे पूर्ण रूपमा मेटल बडीबाट निर्मित भएकाले बलियो र टिकाउ छ । यसमा रहेको एबीएस र ईबीडीसहितको उन्नत ब्रेकिङ प्रणालीले आकस्मिक परिस्थितिमा सुरक्षित ब्रेकिङ सुनिश्चित गर्छ । नेपालका विविध भूगोललाई ध्यानमा राख्दै यसको १८८ मिमी ग्राउन्ड क्लिरेन्स राखिएको छ । ६० किलोवाटको शक्तिशाली मोटरको साथमा यो भ्यान स्कूल यातायातको लागि एकदमै भरपर्दो साबित भएको छ । एक पटकको चार्जमा दिगो डाँफेले ३०० किलोमिटरको रेन्ज प्रदान गर्छ । यसमा रहेको सीएटीएल निर्मित लिथियम आयन फस्फेट ब्याट्रीले उच्च कार्यक्षमता र टिकाउपन प्रदान गर्ने दिगोले जनाएको छ । डिजल र पेट्रोलमा निर्भरता घटाउँदै विद्युतीय स्कुल भ्यानको प्रयोगले विद्यालयलाई केवल आर्थिक रूपमा मात्र होइन, वातावरणीय रूपमा पनि फाइदा पुर्‍याउँछ ।

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’ मा परिवर्तन

काठमाडौं । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको पालना गर्दै संयुक्त राज्य अमेरिकाभित्र यसको नक्सा प्लेटफर्म प्रयोग गर्नेहरूका लागि ‘गल्फ अफ मेक्सिको’ को नाम ‘गल्फ अफ अमेरिका’ मा परिवर्तन गरेको छ । संयुक्त राज्य अमेरिका बाहिरका प्रयोगकर्ताहरूले अन्य विवादित स्थानहरूको जस्तै ‘गल्फ अफ मेक्सिको’ को मौलिक र नयाँ दुवै नाम देख्नसक्ने गुगलले एक ब्लग पोस्टमा लेखेको छ । ‘अमेरिकामा नक्सा प्रयोग गर्ने मानिसहरूले ‘गल्फ अफ अमेरिका’ देख्नेछन् र मेक्सिकोका मानिसहरूले ‘गल्फ अफ मेक्सिको’ देख्नेछन् । अरू सबैले दुवै नाम देख्नेछन्’, गुगलले लेखेको छ । गुगलले भौगोलिक नाम सूचना प्रणालीमार्फत आधिकारिक अमेरिकी सरकारी भौगोलिक पदनामहरूको पालना गर्ने आफ्नो नीतिसँग यो परिवर्तन मेल खाने बताएको छ । पद सम्हालेपछि ट्रम्पले ‘गल्फ अफ मेक्सिको’ को नाम परिवर्तन गर्ने मात्र नभई अमेरिकाको सबैभन्दा अग्लो शिखर डेनालीको नाम पूर्ववत् माउन्ट म्याकिन्ले गर्ने कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए । सन् २०१५ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले अलास्का पर्वतलाई डेनालीको रूपमा आधिकारिक मान्यता दिएका थिए । यो नाम अलास्काका आदिवासीहरूले शताब्दीयौँदेखि प्रयोग गर्दै आएका थिए । ट्रम्पको पुनःनामकरणले डेनाली नाम कायम राख्न लामो समयदेखि वकालत गर्दै आएका अलास्काका आदिवासी समूहहरूको आलोचना र मेक्सिकोसँग कूटनीतिक चिन्ता उब्जाएको छ । मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले सन् १८४८ मा संयुक्त राज्य अमेरिकाले आफ्नो देशको एक तिहाइ भाग कब्जा गर्नुभन्दा पहिलेको नक्सातिर औँल्याउँदै संयुक्त राज्यलाई ‘मेक्सिकन अमेरिका’ भन्न सुझाव दिएका छन् । रासस

भ्रष्टाचार सूचकांकमा नेपाल १०७ औं स्थानमा

काठमाडौं । भ्रष्टाचार सूचकांकमा नेपालको एक स्थान खस्किएको छ । नेपाल १०० मा ३४ अंक पाएर १०७औं स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई) २०२४ मा नेपालले झिनो सुधार गरेको हो । धेरै भ्रष्टाचार हुने देशहरुमा पर्ने नेपाल यसअघि १०८ औं स्थानमा थियो । सार्वजनिक कार्यक्रममा ट्रान्सपरेन्सी नेपालका महासचिव डा. सागरराज शर्माका अनुसार, नेपालमा भ्रष्टाचार प्रमुख समस्या भएको र मुलुकको शासन व्यवस्थाको चुनौती नै रहेको बताए ।

सिटिजन्स बैंकको १९८औं शाखा काठमाडौंको पानीपोखरीमा

काठमाडौं । सटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९८औं शाखा काठमाडौंको पानीपोखरीमा सञ्चालनमा ल्याएको छ । यससंगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३९ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५५ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । पानीपोखरीमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्याउने दृढता व्यक्त गरे । उनले नयाँ शाखाका कर्मचारीहरूलाई शुभकामना व्यक्त गर्दै अनुशासित र मर्यादित ढंगबाट काम गर्दै संस्थालाई अझ नयाँ उचाईमा लैजानका लागि प्रेरित गरे । सो अवसरमा बैंक संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिनेछ । डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ ।

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँनिर्धारण गरिएको छ ।

बैंकका सीईओभन्दा दोब्बर तलब, म्यानुफ्याक्चर कम्पनीका सीईओ कसले कति तलब खान्छन् ?

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले अत्यधिक तलब खान्छन् भन्ने विषय अहिले वित्तीय क्षेत्रमा सामान्य भइसकेको छ । कुनैबेला बैंकका सीईओहरूको तलब सुन्ने बित्तिकै धेरैले आलोचना पनि गर्ने गरेका थिए । वार्षिक दुई/तीन करोड रुपैयाँ तलब खाने सीईओहरूले काम चाहिं के गर्छन् भनेर बहस हुने गर्छ । अहिले पनि बेलाबखत सीईओको तलबको विषयमा बहस हुन्छ । तलबको विषयमा बहस गर्ने समाजले बढी तलब बुझ्ने व्यक्तिहरूको कार्यक्षमता, योग्यता, अनुभव, उनीहरूले कम्पनीको आर्थिक सुधारमा खेलेको भूमिका, कम्पनीको ब्राण्डिङ अर्थात् छवि सुधारमा गरेको प्रयास र टिम परिचालन तथा व्यवसाय विस्तारमा गरेको योगदानको चर्चा भने बिरलै हुन्छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीको तलबको विषयमा सधैंजसो चर्चा हुने गरेपनि यस सामग्रीमा भने हामीले नेपाल स्टक एक्सचेजमा सूचीकृत उत्पादन तथा प्रशोधन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ), महाप्रबन्धक तथा कार्यकारी निर्देशकहरूले कति तलब खान्छन् भन्ने विषयको चर्चा गरेका छौं । बोटलर्स नेपालका एमडीको तलब ८ करोड बढी बोटलर्स नेपालले प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथ गुणलनलाई आर्थिक वर्ष २०८०/८१ मा ८ करोड ८ लाख ५५ हजार रुपैयाँ पारिश्रमिक, भत्ता र सुविधा प्रदान गरेको छ । कम्पनीले पारिश्रमिकवापत २ करोड ७५ लाख १४ हजार रुपैयाँ, भत्तावापत ४ करोड ६९ लाख २ हजार रुपैयाँ र सुविधावापत ६४ लाख ३७ हजार रुपैयाँ प्रदान गरेको हो । साथै कम्पनीले प्रमुख प्रबन्धकहरूलाई १७ करोड ३२ लाख ११ हजार रुपैयाँ भुक्तानी गरेको छ । जसमा पारिश्रमिकवापत ५ करोड ८५ लाख २५ हजार रुपैयाँ, भत्तावापत १० करोड ८१ लाख २० हजार रुपैयाँ र सुविधावापत ६५ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरेको हो । यस कम्पनीले आव २०८०/८१ मा सञ्चालकहरूलाई ९ लाख ६० हजार रुपैयाँ भत्तावापत भुक्तानी गरेको छ । आव २०७९/८० मा भने ७ लाख ६५ हजार रुपैयाँ बैठक भत्ता भुक्तानी गरेको थियो । यूनिलिभरका एमडीको तलब पौने ६ करोड पुँजी बजारको हटकेक सेयर हो यूनिलिभर नेपाल । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य ५६ हजार ८०५ रुपैयाँसम्म पुगेको थियो । कम्पनीको सेयर मूल्य उच्च हुनुको कारण प्रत्येक वर्ष सेयरधनीहरूलाई उच्च लाभांश वितरण गर्नु हो । कम्पनीले प्रत्येक वर्ष सेयरधनीहरूलाई उच्च लाभांश वितरण गर्दै आएको छ । सेयरधनीलाई मख्ख बनाउँदै आएको यस कम्पनीले आफ्ना सञ्चालक तथा कर्मचारीलाई पनि मख्ख बनाएको देखिन्छ । किनभने कम्पनीले गत आव २०८०/८१ मा आफ्ना कर्मचारी र सञ्चालकहरूलाई लाखौं रुपैयाँ तलबभत्तामा भुक्तानी गरेको देखिन्छ । गत वर्ष कम्पनीले सञ्चालकहरूलाई २ लाख ९७ हजार रुपैयाँ बैठक भत्ता बापत भुक्तानी गरेको छ । यस्तै, प्रमु कार्यकारी अभिकृत तथा प्रबन्ध सञ्चालक (एमडी)लाई ५ करोड ८६ लाख ९३ हजार रुपैयाँ तलब भत्तावापत भुक्तानी गरेको कम्पनीले जनाएको छ । यस कम्पनीको एमडी अम्लान मुखर्जी हुन् । अघिल्लो वर्ष कम्पनीले सञ्चालकलाई ३ लाख २४ हजार रुपैयाँ र प्रबन्ध सञ्चालकलाई ४ करोड ८१ लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको थियो । साथै, कम्पनीले अन्य पदाधिकारी तथा कर्मचारीलाई गत वर्ष २६ करोड ६२ लाख ९६ हजार रुपैयाँ तलबभत्ता बापत भुक्तानी गरेको छ । कम्पनीका अनुसार २२२ जना अन्य पदाधिकारी तथा कर्मचारी रहेका छन् । चालक सहितको साधन, इन्धन तथा ईन्जिन मर्मत खर्चहरु प्रबन्ध सञ्चालक, आपूर्ति प्रमुख, वित्तीय प्रमुख र बिक्री प्रमुखलाई दिएको कम्पनीको भनाइ छ । नेपाल ल्यूव आयलका महाप्रबन्धकको तलब ६६ लाख नेपाल ल्यूव आयलले आव २०८०/८१ मा अध्यक्ष एवं प्रवन्ध सञ्चालक, सञ्चालक एवं पदाधिकारी र वरिष्ठ कर्मचारी (उप-प्रबन्धक सम्मको) लाई २ करोड ९४ लाख ८४ हजार ६३४ रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले सञ्चालकहरूलाई २३ लाख ७६ हजार ५२९ रुपैयाँ, महाप्रबन्धकलाई ६६ लाख २७ हजार १६० रुपैयाँ र प्रमुख प्रबन्धकहरूलाई २ करोड १८ लाख ५७ हजार ४७३ रुपैयाँ भुक्तानी गरेको छ । यस कम्पनीका महाप्रबन्धक गंगाराज भट्टराई हुन् । तर, सो कम्पनीको कार्यकारी निर्देशकको काम भने करन चौधरीले गर्दै आएका छन् । आव २०७९/८० मा कम्पनीले सञ्चालकहरूलाई २० लाख ९४ हजार १७६ रुपैयाँ, महाप्रबन्धकलाई ५२ लाख ६० हजार ८२३ रुपैयाँ र प्रमुख प्रबन्धकहरूलाई १ करोड ७७ लाख ८८ हजार ७०५ रुपैयाँ भुक्तानी गरेको थियो । हिमालयन डिस्टिलरी हिमालयन डिस्टिलरीले गत वर्ष प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ७२ लाख २५ हजार ७९९ रुपैयाँ पारिश्रमिक, भत्ता, तथा सुविधा बापत भुक्तानी गरेको छ । यस कम्पनीको सीईओको रूपमा निरज सुवेदीले काम गर्दै आएका छन् । कम्पनीले अन्य पदाधिकारी (प्रबन्धक तहदेखि माथि)का कर्मचारीलाई ३ करोड ३२ लाख ५५ हजार ९२७ रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले अध्यक्ष र सञ्चालक समिति सदस्यलाई १५ लाख १५ हजार रुपैयाँ बैठक भत्ता प्रदान गरेको छ । शिवम् सिमेन्ट शिवम् सिमेन्टले आव २०८०/८१ मा प्रबन्ध सञ्चालकलाई ६९ लाख ७ हजार ७९६ रुपैयाँ तलब, भत्ता तथा सुविधा र ९ लाख २२ हजार रुपैयाँ बैठक भत्ता प्रदान गरेको छ । यस कम्पनीको कार्यकारी निर्देशक लिउ शुगजान हुन् । आर्थिक वर्ष २०७९/८० मा कम्पनीले प्रबन्ध सञ्चालकलाई ७५ लाख ३६ हजार ७६० रुपैयाँ तलब, भत्ता तथा सुविधा र ११ लाख ६ हजार रुपैयाँ बैठक भत्ता प्रदान गरेको छ । साथै सो वर्ष कम्पनीले व्यवस्थापन समूहलाई ४ करोड ६४ लाख ९३ हजार ५८५ रुपैयाँ तलब भत्तावापत भुक्तानी गरेको थियो । घोराही सिमेन्ट घोराही सिमेन्टले आर्थिक वर्ष २०८०/८१ मा व्यवस्थापन प्रमुख देवेन्द्र सिन्हालाई ५१ लाख रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको छ । यस्तै, वित्त तथा लेखा प्रमुख शंकर लाल अगिवाललाई ६२ लाख ८४ हजार ५० रुपैयाँ भुक्तानी गरेको छ । आव २०७९/८० मा कम्पनीले सिन्हालाई ५१ लाख रुपैयाँ र अगिवाललाई ६२ लाख ६२ हजार ४५४ रुपैयाँ भुक्तानी गरेको थियो । सोनापुर मिनिरल्स सोनापुर मिनिरल्स एण्ड आयलले आव २०८०/८१ मा कम्पनीका प्रबन्ध सञ्चालक निपेश तायललाई ७६ लाख ४७ हजार रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा बापत भुक्तानी गरेको छ । यस्तै, ३० हजार रुपैयाँ बैठक भत्ता बापत भुक्तानी गरेको छ । यस्तै, महाप्रबन्धक भीमप्रसाद पाठकलाई ४८ लाख ७२ हजार ८६५ रुपैयाँ भुक्तानी गरेको छ । अन्य सञ्चालकहरूलाई बैठक भत्ता बापत १ लाख ४४ हजार रुपैयाँ भुक्तानी गरेको कम्पनीले जनाएको छ । आव २०७९/८० मा कम्पनीले सञ्चालक, प्रबन्ध सञ्चालक तथा पदाधिकारीहरुलाई १ करोड २५ लाख १९ हजार ८६५ रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधाबापत भुक्तानी गरेको थियो । सर्वाेत्तम सिमेन्ट सर्वाेत्तम सिमेन्टले सञ्चालक समूहलाई ५५ लाख ८७ हजार १८८ रुपैयाँ भुक्तानी गरेको छ । साथै व्यवस्थापन समूहलाई १ करोड ५६ लाख ७२ हजार ९७३ रुपैयाँ भुक्तानी गरेको छ । यस कम्पनीका सीईओ सन्तोष केसी हुन् । आ‍व २०७९/८० मा कम्पनीले सञ्चालक समूहलाई ५५ लाख ८७ हजार १८८ रुपैयाँ र व्यवस्थापन समूहलाई २ लाख ६८ हजार ९३ लाख ३७२ रुपैयाँ भुक्तानी गरेको थियो ।

गाजा किन्न र स्वामित्वमा राख्न प्रतिवद्ध छु : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा किन्न र स्वामित्वमा राख्न प्रतिवद्ध रहेको बताएका छन् । संयुक्त राज्य अमेरिकाले युद्धग्रस्त एन्क्लेभलाई मध्य पूर्वका अन्य राष्ट्रहरूलाई पुनर्निर्माण गर्न दिनसक्ने बताए । ट्रम्पले नेशनल फुटबल लिग सुपर बाउल च्याम्पियनशिपमा भाग लिन लुइसियानाको न्यु अर्लिन्स जाँदै गरेको एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै यो टिप्पणी गरेका हुन् । गत हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगै ह्वाइट हाउसमा ट्रम्पले संयुक्त राज्य अमेरिकाद्वारा गाजाको दीर्घकालीन स्वामित्व प्रस्ताव गरेका थिए । उनको प्रस्तावको व्यापक आलोचना भएको छ । धेरै अरब राष्ट्रहरू साथै युरोपमा रहेका अमेरिकी सहयोगीहरूले यसको विरोध गरेका छन् ।

‘हाइलाइफसँग रूपान्तरण अभियान’ सुरु

काठमाडौं । एफएमसिजी ब्रान्ड हाइलाइफ फुड्सले नयाँ वर्ष २०२५ देखि रोमाञ्चक अभियान ल्याएको छ । कम्पनीले स्वस्थ जीवनशैली सुरु गर्ने अठोट र संकल्प लिएका सबैलाई प्रोत्साहित गर्दै ‘ट्रान्सफर्म विथ हाइलाइफ’ नामक रोमाञ्चक अभियान ल्याएको हो । उक्त अभियानमा सहभागीहरूलाई आफ्ना नयाँ वर्ष २०२५ का संकल्पहरूलाई निरन्तरता दिन मात्र होइन, आकर्षक उपहारहरू तथा हाइलाइफका स्वास्थ्यकर सामग्रीहरू जित्ने अवसर समेत प्रदान गरिनेछ ।  स्वस्थ जीवनशैली र पौष्टिक आहारलाई प्रोत्साहन गर्दै हाइलाइफले द्विसाप्ताहिक चुनौतीहरू प्रस्तुत गरेको छ । जसमा फिटनेस, सन्तुलित आहार तथा पौष्टिक जीवनशैलीसँग सम्बन्धित विभिन्न गतिविधिहरू समावेश रहनेछन् । पुसअप च्यालेन्ज, हेल्दी ब्रेकफास्ट च्यालेन्ज जस्ता अन्य चुनौतीहरूको साथमा हाइलाइफले उपहारहरु पनि ल्याउने गरेको छ । हाइलाइफको ‘ट्रान्सफर्म विथ हाइलाइफ’ अभियानमा संलग्न भएर कति जनाले आकर्षक उपहार पनि जितिसकेको र हेल्दी लाइफको सुरुवात पनि गरिसकेका छन् । स्वस्थ जीवनशैलीको महत्त्व र स्वस्थ रहनुको अठोटलाई रोमाञ्चक र प्रेरणादायी रूपमा प्रस्तुत गर्दै हाइलाइफको यो अभियान सिर्जनात्मक उदाहरण बन्न पुगेको कम्पनीको दावी छ ।