शान्दार म:म ग्यास विस्फोटबाट घाइते भएका २ जनाको निधन
काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको निधन भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको निधनभएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ । परिसरका एसपी अपिलराज बोहोराका अनुसार घाइतेको सोमबार निधनभएको हो । गत बिहीबार म:म पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए । उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
तोफु किलोको १२० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले मंगलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । मंगलबार गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २०, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६८, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु १२, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १२, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकेजी रु ६०, घिउसिमी (लोकल) प्रतिकेजी रु ५०, घिउसिमी (हाइब्रिड) प्रतिकेजी रु ५०, घिउसिमी (राजमा) प्रतिकेजी रु ८०, टाटेसिमी प्रतिकेजी रु ४०, तितेकरेला प्रतिकेजी रु १२०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, फर्सी हरियो (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु ९०, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी रु ८०, पिँडालु प्रतिकेजी रु ९०, स्कुस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १२, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु १२०, च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकेजी रु ७०, सजिवन प्रतिकेजी रु २००, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठकोबी प्रतिकेजी रु ८०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ७००, सौफको साग प्रतिकेजी रु ७०, पुदिना प्रतिकेजी–४००, गान्टे मूला प्रतिकेजी रु ७०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फुजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १५०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १५०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, तरबुजा प्रतिकेजी रु ४०, जुनार प्रतिकेजी रु ११०, भुइँकटर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १२०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुखकटहर प्रतिकेजी रु १००, निबुवा प्रतिकेजी रु ६०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ६०, स्ट्रबेरी (भुइऐँसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेँडेखुर्सानी प्रतिकेजी रु ७०, लसुन हरियो प्रतिकेजी रु ७०, हरियो धनियाँ प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।
पाथीभरामा सहकार्यमार्फत केबलकार निर्माण प्रक्रियालाई अघि बढाउन आग्रह
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम क्षेत्रको केबलकार निर्माण प्रक्रियालाई वातावरणमैत्री बनाउनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । फुङ्लिङ नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय जनप्रतिनिधि र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले केबलकार निर्माणलाई वार्ता, संवाद र सहकार्यमार्फत अघि बढाएर वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् । नगरप्रमुख अमिर मादेनले ताप्लेजुङको समग्र विकासका लागि केबलकार अपरिहार्य रहेको बताउँदै विद्यमान समस्या छलफल र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिए । केबलकार, पाथीभरा आउने तीर्थयात्रीको सुविधाका लागि मात्रै सीमित नभई यसले रोजगारी सृजना गर्ने, पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने उनले बताए । स्थानीय सरकारका रूपमा स्थानीयको आन्तरिक आम्दानी बढाउने, रोजगारी सृजना गर्ने, पर्यटन प्रवर्द्धन गर्ने दायित्व नगरको भएकाले लगानीकर्तालाई प्रोत्साहन गरिएको मादेनले बताए । उनले ‘नो केबलकार’ समूहलाई सार्थक संवादमा आउन र जिल्लाको समृद्धिमा सहयोग पुर्याउन आग्रह गरे । उनले निर्माणमा अवरोध नगरी भावि सन्ततिका लागि सहमतिमा आउन नो केबलकार समूहलाई आग्रह गरे । पत्रकार सम्मेलनमा ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका महासचिव कमल लिम्बूले केबलकार निर्माणमा एकमत हुनु आवश्यक रहेको बताए । केबलकार निर्माण हुनुपर्छ भन्नेमा आफूहरूको मत रहेको भन्दै उनले विकास निर्माणमा अवरोध नगर्न ‘नो केबलकार’ समूहलाई आग्रह गरे । गैरसरकारी संस्था महासङ्घका अध्यक्ष खड्गविक्रम सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का जिल्ला सचिव सन्तोष चाम्लिङ, इसाई समाजका अर्जुन कार्कीलगायत वक्ताले विद्यमान समस्या र विवाद छलफल र वार्ताका माध्यमबाट समाधान गरेर विकास निर्माणमा एकताबद्ध हुनुपर्नेमा जोड दिए । फुङ्लिङ नगरपालिकाअन्तर्गतका विभिन्न वडाका वडाध्यक्ष मोहन न्यौपाने, टङ्क पालुङ्वा, दुर्गाप्रसाद पालुङ्वा, मदन गुरूङ, योगेन्द्रप्रसाद निरौला, लक्ष्मण गुरूङ, युवराज भट्टराईलगायत स्थानीय जनप्रतिनिधिहरूले सहमति र वार्तामार्फत केबलकार निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए । पाथीभरा क्षेत्रमा केबलकार निर्माणलाई लिएर पछिल्लो समय विरोध हुँदै आएको छ । मुकुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समितिलगायत सङ्घसंस्थाले केबलकार निर्माणको विरोध गरिरहेका हुन् । यसअघि सरकारसँग भएका वार्ता, संवाद निष्कर्षविहीन भएपछि नगरपालिकाले पत्रकार सम्मेलन गरी निर्माणको वातावरण बनाउन र सार्थक वार्ता संवादमा आउन ‘नो केबलकार’ समूहलाई आग्रह गरेको हो । नगरपालिकाले विभिन्न पक्षसँग संवाद गरी सहमतिका आधारमा परियोजनालाई अघि बढाउने योजना रहेको जनाएको छ । रासस
क्यान इन्फोटेक सम्पन्न, दुई लाखले अवलोकन गरे
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो वार्षिक प्रदर्शनी ‘क्यान इन्फोटेक २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) द्वारा आयोजित ३० औँ संस्करण काठमाडौँको भृकुटीमण्डपमा यही माघ २४ देखि २८ गतेसम्म सञ्चालन भएको थियो । सूचना प्रविधि क्षेत्रमा नवप्रवर्तन, स्टार्टअप तथा प्रविधिप्रेमीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजित प्रदर्शनीको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । सरकारका उच्च अधिकारी, व्यवसायी, नीति निर्माता, विद्यार्थी तथा प्रविधिप्रेमीको उल्लेख्य सहभागिता रहेको यस संस्करणले डिजिटल नेपाल निर्माणलाई नयाँ गति दिएको आयोजकले जनाएको छ । प्रदर्शनीको अन्तिम दिन सङ्घीय सरकारका पूर्वमन्त्री पार्वत गुरुङ, डा प्रकाशचन्द्र लोहनी, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल, चर्चित भ्लगर शिशन बानियाँलगायतले अवलोकन गरेका थिए ।क्यान इन्फोटेकमा सूचना प्रविधिका विश्वस्तरीय ब्राण्ड, दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, फिनटेक, इ–कमर्स, साइबर सुरक्षा र समाधान, ब्ल्याकचेन प्रविधि, एआई तथा डिजिटल साक्षरताका नयाँ पहलहरू प्रस्तुत गरिएको थियो । साथै नेपाली स्टार्टअप तथा नवप्रवर्तनकर्ताहरूका नवीनतम प्रविधि, सफ्टवेयर, एप्लिकेशन तथा स्वदेशी रूपमा विकसित प्रविधिहरू प्रदर्शनीका प्रमुख आकर्षक थिए । ‘मेसिन लर्निङ’मा आधारित एआई प्रविधि, स्वदेशी सफ्टवेयर, सेल्फ–ड्राइभिङ कार प्रविधिलगायत परियोजनाहरू अवलोकनकर्ताको मुख्य रोजाइमा परेको थियो । प्रदर्शनीमा आएका विज्ञ तथा सरोकारवालाहरूले नेपाली एआई प्रविधिलाई विश्वव्यापी रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । क्यान महासङ्घका अध्यक्ष सुनैना घिमिरे पाण्डेले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार महासङ्घले ‘डेटा प्रोटेक्सन’ ऐन, ‘राइड शेयरिङ’ नीति, एआई प्रविधिका लागि आवश्यक तथ्याङ्क व्यवस्थापन तथा वैदेशिक लगानीसम्बन्धी ऐनमा संशोधन गर्नेलगायत विषयलाई प्राथमिकतामा राखेर नीति निर्माण प्रक्रिया अघि बढेको छ । यस संस्करणको क्यान इन्फोटेकमा दुई लाख बढीले अवलोकनकर्ताले अवलोकन गरेका आयोजकले जनाएको छ । प्रदर्शनीमा विभिन्न कम्पनीहरूले आफ्नो प्रविधि तथा सेवाको प्रदर्शन गर्ने उद्देश्यले एक सय ५५ प्रदर्शनी कक्ष राखिएको थियो । ती कम्पनीले उपभोक्तासँग अन्तरक्रिया, प्रविधि परीक्षण तथा विभिन्न प्रस्तावमार्फत सेवाका बारेमा प्रवर्द्धन गरेका अध्यक्ष पाण्डेले बताए । उनका अनुसार मेलाको अन्तिम दिनसम्म उपभोक्ताले ३० देखि ७० प्रतिशतसम्म छुट तथा विशेष प्रस्ताव (अफर) प्राप्त गरेका छन् । क्यान महासङ्घका महासचिव चन्द्रविलास भुर्तेलका अनुसार यो संस्करणले नेपाली नवप्रवर्तन तथा सूचना प्रविधिको विकासमा नयाँ ऊर्जा थपेको छ । आगामी संस्करणलाई अझ प्रभावकारी बनाउन महासङ्घले प्रविधि शिक्षामा जोड दिने, डिजिटल साक्षरता अभिवृद्धि गर्ने, नीतिगत सुधारका लागि पहल गर्नेलगायत योजना बनाएको उन ले उल्लेख गरे ।
सप्तरीमा चार अर्ब लगानीमा ६ वटा उद्योग खोलिदै, बढ्दो विदेश पलायन रोक्न सकिने
सिरहा । सप्तरीको सुरुङ्गा नगरपालिका-३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ । व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र चार अर्ब रूपैयाँ लागतमा १४ बिघा क्षेत्रफलमा छवटा उद्योगको निर्माण हुने जनाइएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सोमबार उक्त ‘बिग इन्डस पदमनगर’को शिलान्यास गर्दै यसले देशको उद्योग क्षेत्रमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।’यो एक ऐतिहासिक परियोजना हो । मुलुकलाई माया गर्ने र उद्योगधन्दामार्फत देशलाई समृद्धितर्फ लैजान यस औद्योगिक क्षेत्रले महत्त्वपूर्ण योगदान दिने छ भन्ने मैले विश्वास लिएको छु’, नेता खनालले भने, ‘निजी क्षेत्रले धेरै काम गर्न सक्छन् र देशभक्त उद्यमीले देशमै उद्योगधन्दा सञ्चालन गरी रोजगार सृजना गर्न सक्षम छन् भन्ने यो एउटा उदाहरण हो ।’ उनले देशभित्रै उद्योगधन्दा सञ्चालन गरी बेरोजगारीको समस्या समाधानसहित युवाहरूको बढ्दो विदेश पलायन रोक्न सकिने विचार व्यक्त गरे। विभिन्न निर्माण कम्पनी सञ्चालक तथा हाइड्रोपावर व्यवसायीसमेत रहेका ‘बिग इन्डस पदमनगर’का सञ्चालक स्थानीयवासी न्यौपानेले आफ्ना हजुरबुबा पदमबहादुरले सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई चिरस्थायी बनाउन आफ्नै जन्मभूमिको माटो सुहाउँदो छ उद्योग स्थापना गर्न लागेको जानकारी दिए । ‘देश विदेशमा ठूला प्रोजेक्टमा काम गर्दैगर्दा स्वदेशमा पनि केही गर्ने हुटहुटीका कारण यहाँको माटो सुहाउँदो उद्योग सञ्चालनका लागि सोचेर निर्णय लिएको हुँ । हरेकपटक गाउँ आउँदा स्थानीयले आफ्नो जन्मथलोका लागि पनि कुनै काम गरिदिनुपर्यो भन्नुहुन्थ्यो’, शिलान्यास समारोहमा उनले भने, ‘यसबाट यहाँका दाजुभाइ दिदीबहिनीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिएको छु ।’ उनका अनुसार आँप, फर्सी, कटहर, तरबुजालगायत फलफूलको जुस प्याकेट बनाउन ‘पल्प’ उद्योग निर्माण गरिने छ । आँपको समयमा किसानले उत्पादन गरेका आँप दिनको १० ट्रकका दरले खरिद गरिने छ । यसबाट यहाँका किसानले आँपको बजार र मूल्य नपाउने समस्या समाधान हुने उनले बताए । त्यसैगरी, दुई हजार मेट्रिक टनको ‘कोल्ड स्टोरेज’ स्थापना गरी किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्रीका लागि हुने समस्या हटेर जाने सञ्चालक न्यौपानेको भनाइ छ । उनका अनुसार भारतीय पेट्रोलियमसँगको सहकार्यमा ‘लुब्रिकेन्ट्स’ उत्पादन गर्ने उद्योगको पनि स्थापना गरिने छ । त्यसैगरी, अन्य उद्योगमा सिसा र बोटल उद्योग, ‘बिटुमिन’का पेन्टस् उद्योग र सौर्य प्लान्टबाट तीन मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोड्नेगरी उद्योगको संरचना निर्माण र सञ्चालन गर्न करिब दुई वर्षको समय लाग्ने उनले बताए । ‘त्यसले पाँच सय जनालाई प्रत्यक्ष र पाँच हजार परिवारलाई अप्रत्यक्ष रोजागारीको अवसर सृजना हुन्छ’, सञ्चालक न्यौपानेले भने । सोही क्रममा सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले उद्योग स्थापनापछि यस क्षेत्रका जनता प्रत्यक्ष रूपमा लाभान्वित हुने भन्दै खुसी व्यक्त गरे । उनले यस ठाउँमा उद्योग स्थापनापछि सुरुङ्गाको नाम उचाइमा पुग्ने विश्वास व्यक्त गरे । पालिकाका तर्फबाट उद्योग सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए । परियोजनाका प्रबन्धक भीष्म रेग्मीका अनुसार यस यौद्योगिक क्षेत्रको सबै संरचना निर्माणका लागि रु चार अर्ब लागत अनुमान रहेको छ । रासस
जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न
काठमाडाैं । जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । आफ्नो प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न जनकपुरका चालकहरू यस बजाज माइलेज च्याम्पियनमा सहभागी भएका थिए । जनकपुरको बाह्र बिघामा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको थियो । ४०० भन्दा बढीको उपस्थिति रहेको उक्त माइलेज च्याम्पियनमा १०२ जना प्लाटिना राइडरहरुले सहभागिता जनाएका थिए । उक्त माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए । माइलेज च्याम्पियनमा मोहन कुमार महतोले ९३.६ किमी प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए । त्यस्तै ८८.२ किमी प्रति लिटरको प्रदर्शनका साथ सिद्धान्त प्रसिद शाह दोस्रो स्थानमा रहेका थिए भने ८६.४ किमी प्रति लिटरको प्रदर्शन गर्दै राहुल कुमार शाह तेस्रो स्थानमा रहेका थिए ।
साइग्रेस बने आइएमईको स्टोरी एम्बेसडर
काठमाडाैं । स्टोरी टेलिङमा आफ्नो छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेल अर्थात सन्तोष पोखरेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रुपमा नियुक्त भएका छन् । विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभुतीलाई साइग्रेसले कथा मार्फत उनीहरुका घर आगन र परिवार सम्मै पुर्याउन मद्दत गर्नेछन् ।नेपाली माटोमा सिकेको सिप र क्षमतालाई विश्व बजारमा पुराएर नेपालमा फूल फुलाउन अग्रणी भूमिका निर्वाह गर्ने नेपाली युवाको कथा अव साईग्रेसको आवाजमा सुन्न पाईने छ । कामको बाध्यता होइन कामको हुटहुटीले पनि बिदेशमा नेपालीले पसिना बगाएका छन् भन्ने कुराको प्रमाण समेत साईग्रेसको आवाजमा मिसिएको कथाले ब्यक्त गर्ने कम्पनीको बुझाई छ । नेपाली कथा बाचनमा एउटा छुट्टै आयाम थप्न सफल साइग्रेस पोख्रेलले देश तथा बिदेशमा चर्चा कमाई सकेका युवा अभियन्ता हुन् । सामाजिक सञ्जालमा लाखौँले पछ्याएका साईग्रेसले अव बिश्वको रहेका हरेक कुनामा रहेका नेपालीका भोगाइ र अनुभवलाई लिपिबद्ध गर्नेछन् । साईग्रेसले आफ्नो आवाज दिएका आईएमइका सामग्रीहरुलाई आइएमईका सामाजिक प्लेटफर्म यूट्यूव, फेसबुक तथा इन्स्टाग्राम लगायतमा संजालहरुमा पोष्ट गरिने पनि कम्पनीले जनाएको छ । हेर्दा सामान्य लाग्ने तर श्रम बजारमा निकै अर्थपूर्ण मानिएका भोगाइलाई साइग्रेसको वाचनमार्फत टिकटक, रिलमा समेत समेट्ने कम्पनीले उल्लेख गरेको छ । विश्व बजारमा रहेका नेपालीका भोगाइलाई लिपिबद्ध गर्दै कथात्मक शैलीमा नेपालीमाझ पस्किने जमर्को वास्तवमै प्रभावकारी सावित हुने पनि कम्पनीले जनाएको छ । कामको शिलशिलामा विदेशमा रहँदा भोगेका, देखेका, र अनुभूति गरेका दिनचर्यालाई अव साइग्रेसले लयबद्ध गर्ने छन्, जसले गर्दा नेपालमा रहेका आफन्त र परिवारजनमा थप उत्साह र उत्प्रेरणा पैदा हुने आइएमई लिमिटेडका महाप्रबन्धक बद्रि कटवालले बताए ।
सेवाग्राही विदेशिएपछि १५ हजार राष्ट्रिय परिचयपत्र थन्कियो
बागलुङ । सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए। उनले नयाँ परिचयपत्रका लागि दैनिक दुई सयसम्म सेवाग्राही आउने भए पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने न्यून मात्र आउने गरेको जानकारी दिए । दैनिक २० देखि ५० जना सेवाग्राही मात्र परिचयपत्र लिन आउने गरेकाले थुप्रो लागेको हो । अहिले वडा तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेको छ । जिल्ला प्रशासनमा अहिलेसम्म २८ हजार आठ सय ८५ राष्ट्रिय परिचयपत्र तयार भएर आइसकेको शाखा अधिकृत उपाध्यायले बताए । तीमध्ये जम्मा १३ हजार ४७ परिचयपत्र मात्र सेवाग्राहीले लगेका छन् भने १५ हजार आठ सय ३८ परिचयपत्र प्रशासनमै रहेको उनले बताए । परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै आउनुपर्ने र पुनः बायोमेट्रिक गर्नुपर्ने भएकाले परिचयपत्र वितरणको सङ्ख्या न्यून भएको हो। परिचयपत्र वितरणका लागि गलकोट नगरपालिकामा शिविर गर्ने तयारी जिल्ला प्रशासन कार्यालय बागलुङको रहेको छ। परिचयपत्र चाङ लाग्दा भण्डारणमा समस्या भएको जनाइएको छ । राष्ट्रिय परिचयपत्रविरुद्धको सर्वोच्चको रिट खारेजीको निर्णयपछि सरकारले तोकेका हरेक कामका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ । नेपाली नागरिकता प्रमाणपत्रको कमीकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन अन्तराष्ट्रिय मापदण्डको डिजिटल कार्डका रूपमा प्रयोग गर्न सकिने राष्ट्रिय परिचयपत्रमा बाहकको १० औठाछाप अङ्कित व्यक्तिको पहिचान समेटिन्छ । चिपसहितको कार्डमा प्रिन्ट हुने यसमा वैयक्तिक र जैविक विवरण समेटिने छ । एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, लाइसेन्स, फोटोसहितको मतदाता परिचयपत्र र जग्गाधनी पुर्जाजस्ता सामग्री बोकेर हिँड्ने झन्झट हुँदैन । राष्ट्रिय परिचयपत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुन्छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार कुनै पनि व्यक्तिको जन्मदेखि नै राष्ट्रिय परिचयपत्रलाई अनलाइन सिष्टममा लगेर व्यवस्थित गरिने छ। रासस