विकासन्युज

सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति हो : मुख्यसचिव कार्की

काठमाडौं । मुख्यसचिव गोविन्दबहादुर कार्कीले नेपाललाई सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति रहेको स्पष्ट पारेका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  वर्तमान सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधारको कार्यसूची सुशासन र आर्थिक समृद्धिको मुख्य मार्गचित्र भएको बताए । सरकार गठन भएकै दिन सार्वजनिक गरिएको उक्त कार्यसूचीले मुलुकको समग्र विकासका लागि आधार तयार गर्ने उनको भनाइ छ । मुख्यसचिव कार्कीकाअनुसार १०० बुँदे भनिएपनि यसमा व्यापक विषयहरू समेटिएका छन् । यस कार्यसूचीको मुख्य उद्देश्य भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहमा सुधार, निजी क्षेत्रका समस्या समाधान र सूचना प्रविधिको प्रयोगमार्फत ‘डिजिटल गभर्नेन्स’ प्रवर्द्धन गर्नु रहेको छ ।  उनले भने, ‘सरकारले पुराना र वाधक कानुनहरूलाई खारेज गर्दै नयाँ कानून निर्माणमार्फत विकासको मार्ग प्रशस्त गर्ने लक्ष्य लिएको छ । यसको अन्तिम लक्ष्य आर्थिक विकास, निजी क्षेत्रको प्रवर्द्धन र रोजगारी सिर्जना गरी नेपाली युवाहरूलाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्नु हो ।’ यस वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत सोही १०० बुँदे कार्यसूचीको वरिपरि केन्द्रित रहेको उनले जानकारी दिए । विगतका तुलनामा वर्तमान सरकारको नीति विशिष्ट ढंगले आएको उल्लेख गर्दै उनले यसमा निजी क्षेत्रका माग र आवश्यकतालाई विशेष प्राथमिकता दिइएको बताए । सरकारले यस कार्यसूचीमार्फत सबै क्षेत्रलाई समेट्न खोजेको र निजी क्षेत्र लक्षित धेरै कामहरू अगाडि बढिसकेको समेत उनले बताए । साथै मुख्यसचिव कार्कीले सर्वोच्च अदालतका कारण सरकारले लक्ष्यअनुसार कार्य सम्पादन गर्न नसकेको बताए । कानुनमा गरिएको सुधारका बाबजुद कतिपय विषयहरू अझै सोचेअनुरूप सहज हुन नसकेको उनले स्वीकार गरे । कतिपय मुद्दाहरू सर्वोच्च अदालतमा विचाराधीन रहेका कारण सरकारले लक्ष्य राखेअनुसार कार्यसम्पादन गर्न कठिनाइ भएको उनको भनाइ छ । 

शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेश पुगेर सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावकसहित शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ । मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानको पहिलो कार्यक्रम आज शनिबार विराटनगरमा आयोजना हुँदैछ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा ११ बजे कार्यक्रम आयोजना गर्न लागिएको हो । मन्त्रालयका अनुसार अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटालगायत सहभागी हुनेछन् । छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरोकारवालाका सुझाव र धारणा संकलन गरिने छ । शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो । 

होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति

काठमाडों । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामरिक रूपमा महत्वपूर्ण मानिने ‘होर्मुज जलसन्धि’लाई छिट्टै संयुक्त राज्य अमेरिकाको क्षेत्र घोषणा गर्ने बताएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले इरान पूर्ण रूपमा पराजित हुने क्रममा रहेको दाबी गर्दै त्यसपछि उक्त जलक्षेत्रलाई अमेरिकी भूभागका रूपमा घोषणा गर्ने उल्लेख गरे ।  आफ्नो सम्बोधनका क्रममा ट्रम्पले भने, ‘हामीले इरानलाई पराजित गरिसकेपछि, जुन अहिले नराम्रोसँग पराजित भइरहेको छ । मैले छिट्टै होर्मुज जलसन्धिलाई संयुक्त राज्य अमेरिकाको क्षेत्रका रूपमा घोषणा गर्नेछु ।’ विश्वव्यापी ऊर्जा आपूर्तिको प्रमुख जलमार्ग मानिने होर्मुज जलसन्धिमाथि नियन्त्रण कायम गर्ने सन्दर्भमा राष्ट्रपतिको यो भनाइ आएको हो । यद्यपि, यस्तो घोषणाको कानूनी प्रक्रिया र अन्तर्राष्ट्रिय प्रभावबारे थप विवरण भने सार्वजनिक गरिएको छैन ।   

बैंकहरूको नाफा ७० अर्ब, ४ को घट्दा एक घाटामा, नबिल नम्बर वान

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा २० वटा वाणिज्य बैंकले कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.२७ प्रतिशत अर्थात् १७ अर्ब ४ करोड ८५ लाख रुपैयाँले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूले ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्ष सबैभन्दा बढी खुद नाफा आर्जन गर्ने बैंक नबिल बैंक बनेको छ । बैंकले ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३३.५० प्रतिशतले बढी हो । अघिल्लो वर्ष नबिलले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा वृद्धिदरका आधारमा भने हिमालयन बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकको खुद नाफा १ हजार ४१ प्रतिशतले बढेर १ अर्ब ४८ करोड ३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले १२ करोड ९७ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । कुमारी बैंकले ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै ३०५.९५ प्रतिशतको वृद्धि हासिल गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ थियो । सिटिजन्स बैंकको ६३.०५ प्रतिशत बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यससँगै बैंकको खुद नाफा एक वर्षमा ८१ करोड १५ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । राष्ट्रिय वाणिज्य बैंकको ६०.६८ प्रतिशत बढेर ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८३ करोड ६० लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  नेपाल बैंकको नाफा ४६.२० प्रतिशत बढेर ४ अर्ब ५० करोड १ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७ करोड ८० लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एनएमबी बैंकको ४०.६० प्रतिशत बढेर ४ अर्ब १ करोड ३६ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८५ करोड ४६ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सानिमा बैंकको ३८ प्रतिशत बढेर ३ अर्ब ५५ करोड १ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ५७ करोड २४ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । प्राइम कमर्सियल बैंकको २८.४८ प्रतिशत बढेर ४ अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब २० करोड ७ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ग्लोबल आइएमई बैंकको २२.६७ प्रतिशत बढेर ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ७ करोड ६३ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल एसबिआई १२.८८ प्रतिशत बढेर २ अर्ब ४ करोड ४३ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ८१ करोड ९ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  माछापुच्छ्रे बैंकको १२.२४ प्रतिशत बढेर २ अर्ब ११ करोड ४१ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ८८ करोड ३६ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एभरेष्ट बैंकको ४.७५ प्रतिशत बढेर ५ अर्ब ६ करोड ९९ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ८३ करोड ९९ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  सिद्धार्थ बैंकको ४.५४ प्रतिशत बढेर ३ अर्ब ५१ करोड ९४ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ३६ करोड ६५ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्ष ३ अर्ब ८७ करोड २० लाख ४२ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको एनआईसी एशिया बैंक गत वर्ष १८ करोड १७ लाख रुपैयाँ नाफामा फर्किएको छ । यद्यपि, सबै बैंकको अवस्था सकारात्मक देखिएको छै न। गत वर्ष चार वटा बैंकको नाफा घटेको छ भने एउटा बैंक घाटामा गएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ५.३८ प्रतिशत घटेर २ अर्ब ८५ करोड २ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब १ करोड २५ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लक्ष्मी सनराइज बैंकको २३.२६ प्रतिशत घटेर ३ अर्ब ११ करोड ७१ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ६ करोड २० लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कृषि विकास बैंकको २९.५१ प्रतिशत घटेर २ अर्ब ६३ करोड ६ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७३ करोड २४ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ३६.५८ प्रतिशत घटेर २ अर्ब ७४ करोड ७२ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ३३ करोड २२ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत वर्ष प्रभु बैंक भने २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटामा छ । अघिल्लो वर्ष बैंकले ८७ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ​​​​​​​

नेपाल बैंकको नाफा साढे ४ अर्ब, लाभांश क्षमता १५.८४ प्रतिशत

काठमाडौं । नेपाल बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ४६.२० प्रतिशत बढेर ४ अर्ब ५० करोड १ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब ७ करोड ८० लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १.०४ प्रतिशत घटेर १० अर्ब ३ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब १३ करोड ९२ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २ करोड ९० लाख १५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १२ अर्ब ८ करोड ९९ लाख ६९ हजार रुपैयाँ र सञ्चालन नाफा ७ अर्ब १९ करोड १४ लाख ६४ हजार रुपैयाँ रहेको छ ।  अघिल्लो वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब १७ करोड ८० लाख ७२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११ अर्ब ९९ करोड ५३ लाख १५ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ४४ करोड ७९ लाख ९२ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ३२ करोड ७९ लाख ६० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १५.८४ प्रतिशत रहेको छ ।  १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब २५ करोड २१ लाख २३ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन २५.०२ प्रतिशत बढेर ४ खर्ब १५ अर्ब १८ करोड २९ लाख रुपैयाँ र कर्जा लगानी १०.४७ प्रतिशत बढेर २ खर्ब ४३ अर्ब ५९ करोड ६ लाख रुपैयाँ प्रवाह गरेको छ ।  अघिल्लो वर्षसम्म बैंकले ३ खर्ब ३२ अर्ब ९ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २० अर्ब ४९ करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६२.८५ प्रतिशत रहेको छ ।  अघिल्लो वर्ष २०.९५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर ३०.६३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २८७.७०रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ८.५४ गुणा छ ।  बैंकको खराब कर्जा ४.५६ प्रतिशतबाट घटेर ४.१८ प्रतिशतमा झरेको छ। बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको ९.४१ प्रतिशतबाट बढेर ११.२७ प्रतिशत कायम भएको छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने १३.६६ प्रतिशत रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको २.८५ अर्ब, लाभांश क्षमता १९ प्रतिशत

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ५.३८ प्रतिशत घटेर २ अर्ब ८५ करोड २ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब १ करोड २५ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ११.६२ प्रतिशत घटेर ३ अर्ब ९४ करोड ३२ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ४६ करोड २२ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ४८ करोड ३६ लाख ४६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब ४० करोड ७५ लाख ४४ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब १६ करोड ५१ लाख ५० हजार रुपैयाँ रहेको छ ।  अघिल्लो वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ३६ करोड २३ लाख ३४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब ५७ करोड ४७ लाख १० हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ६८ करोड ६७ लाख ५७ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड १५ लाख ९२ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १९.०४ प्रतिशत रहेको छ ।  १० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ७१ करोड ९० लाख ३५ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन १७.८२ प्रतिशत बढेर १ खर्ब ४७ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ र कर्जा लगानी ९.४१ प्रतिशत घटेर ६६ अर्ब ३ करोड २१ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षसम्म बैंकले १ खर्ब २५ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ८९ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ४७.२४ प्रतिशत रहेको छ ।  अघिल्लो वर्ष ३० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष घटेर २८.३८ रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २२५.८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २३.५ गुणा छ ।  बैंकको खराब कर्जा १.४१ प्रतिशतबाट बढेर २.०३ प्रतिशत पुगेको छ । बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको १५.७५ प्रतिशतबाट बढेर १६.६८ प्रतिशत कायम भएको छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने १८.१३ प्रतिशत रहेको छ ।

माछापुच्छ्रे बैंकको नाफा २.११ अर्ब, व्यवसाय १५.९५ प्रतिशत बढ्यो

काठमाडौं । माछापुच्छ्रे बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १२.२४ प्रतिशत बढेर २ अर्ब ११ करोड ४१ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब ८८ करोड ३६ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ५.५३ प्रतिशत बढेर ६ अर्ब ७ करोड ४९ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ७५ करोड ६७ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५८ करोड ५७ लाख ९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८ अर्ब ४१ करोड ४३ लाख ८९ हजार रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब १६ करोड ४७ लाख २९ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा ९८ करोड १९ लाख ६१ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ७.५१ प्रतिशत रहेको छ ।  १५ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४३ करोड ६८ लाख १९ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन १९.७२ प्रतिशत बढेर २ खर्ब २० अर्ब ४९ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी १५.९५ प्रतिशत बढेर १ खर्ब ६३ अर्ब ९९ करोड १२ लाख रुपैयाँ प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.४५ प्रतिशत रहेको छ ।  अघिल्लो वर्षसम्म बैंकले १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । अघिल्लो वर्ष १५.५९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर १७.४९ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६९.९० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १४.१८ गुणा छ ।  बैंकको खराब कर्जा ३.९६ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ । बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको ९.२७ प्रतिशतबाट घटेर ८.६० प्रतिशत कायम भएको छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने १०.०४ प्रतिशत रहेको छ ।

रोल्पा पहिरोप्रति प्रधानमन्त्री कार्यालयद्वारा दुःख व्यक्त, पीडितलाई राहत र आर्थिक सहायता दिइने

काठमाडौं । अविरल वर्षाका कारण रोल्पाका विभिन्न स्थानमा पहिरो जाँदा भएको मानवीय तथा भौतिक क्षतिप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ । यहीँ साउन २७ र २८ गते राति रोल्पाको थवाङ गाउँपालिका वडा नं. ५, कोटलबारा तथा सुनछहरी गाउँपालिका वडा नं. २, फलबाङ र गिच्छेमा गएको पहिरोमा परी १५ जनाको मृत्यु भएको छ भने २ जना घाइते र २ जना बेपत्ता भएका छन् ।  पहिरोबाट स्थानीयका केही निजी घर, गोठ र घुम्ती पसलहरूमा क्षति पुगेको छ । घटनालगत्तै रोल्पाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको समन्वयमा खोज तथा उद्धार कार्य सञ्चालन गरिएको र उक्त कार्य अझै जारी रहेको विज्ञप्तिमा जनाइएको छ ।  घाइते दुवै जनालाई प्राथमिक उपचारपश्चात् थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ । प्रधानमन्त्री कार्यालयले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकदाप्त परिवारजनमा समवेदना प्रकट गरेको छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । प्रभावित परिवारहरूलाई विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ बमोजिम मृतकका परिवारलाई आर्थिक सहायता, बेपत्ता व्यक्तिका हकमा निर्धारित राहत तथा घरमा क्षति पुगेका परिवारलाई तत्काल राहत, अस्थायी आवास र निजी आवास पुनर्निर्माणसम्बन्धी सहायता उपलब्ध गराइने भएको छ ।  साथै, मनसुनजन्य विपद्को जोखिम अझै कायमै रहेकाले जोखिमयुक्त क्षेत्रका नागरिकहरूलाई आवश्यक सजगता र सतर्कता अपनाउन तथा सम्बन्धित निकायहरूलाई पूर्वतयारी एवं प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सरकारले अनुरोध गरेको छ ।