राष्ट्र बैंकले ७ अर्ब ३० करोड रूपैयाँ लगानी गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो अवकाश (पेन्सन) कोषमा सञ्चित करिब ७ अर्ब ३० करोड रूपैयाँ मुद्दती निक्षेपमार्फत बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले विस्तृत मापदण्डसहित प्रस्ताव आह्वान गरेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार लगानीका लागि प्रस्ताव पेश गर्ने बैंक तथा वित्तीय संस्थाले कम्तीमा दुई वर्ष सञ्चालनमा रहेको हुनुपर्नेछ । त्यस्तै, नियामकले तोकेको न्यूनतम कुल पुँजीकोष कायम गरेको, निष्कृय कर्जा (एनपीएल) कुल कर्जा सापटीको ८ प्रतिशत ननाघेको तथा खुद निष्कृय कर्जा अनुपात ३ प्रतिशतभित्र रहेको हुनुपर्ने शर्त राखिएको छ । यसैगरी, बैंकले निर्धारण गरेको खुद तरल सम्पत्ति अनुपात तथा कर्जा–निक्षेप अनुपात तोकिएको सीमाभित्र हुनुपर्नेछ भने निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको संस्था मात्रै योग्य हुनेछन् । शीघ्र सुधारात्मक कारबाहीमा परेको संस्था भए कम्तीमा ६ महिना अघि फुकुवा भएको हुनुपर्नेछ भने राष्ट्र बैंक ऐन, २०५८ अनुसार समस्याग्रस्त घोषणा नभएको वा भएमा ६ महिना अघि फुकुवा भएको हुनुपर्नेछ । राष्ट्र बैंकले सर्वसाधारणका लागि शेयर निष्कासन गरिसकेको संस्थालाई मात्रै सहभागी गराउने जनाएको छ । प्रस्ताव गर्दा उल्लेख गरिएको ब्याजदर लगानी हुने मितिसम्म मान्य हुने र त्यसपछि हुने सार्वजनिक सूचनाले उक्त दरमा असर नपार्ने स्पष्ट पारिएको छ । प्रस्ताव पेश गर्दा ‘एनआरबी पेन्सन फण्ड फिक्स्ड डिपोजिट’ उल्लेख गरी पासवर्ड प्रोटेक्टेड फाइल अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । तोकिएको मिति र समयभित्र फाइल तथा पासवर्ड पेश नगरेको प्रस्ताव स्वतः रद्द गरिनेछ । एउटै संस्थाले फरक–फरक दरमा एकभन्दा बढी प्रस्ताव पेश गर्न नपाउने व्यवस्था गरिएको छ । राष्ट्र बैंकका अनुसार तोकिएको मापदण्ड पूरा गर्ने संस्थामध्ये सबैभन्दा बढी ब्याजदर प्रस्ताव गर्ने संस्थामा कोषको रकम लगानी गरिनेछ । समान उच्च दर प्रस्ताव गर्ने एकभन्दा बढी संस्था भएमा कोषको लगानी नीतिअनुसार छनोट प्रक्रिया अघि बढाइनेछ । छनोट भएको संस्थाले रकम लिन अस्वीकार गरेमा दुई वर्षसम्म कोषको लगानी प्रक्रियाबाट हटाइने चेतावनी दिइएको छ । लगानी मुद्दती निक्षेपका रूपमा रहनेछ र त्रैमासिक रूपमा ब्याज उपलब्ध गराउनु पर्नेछ । कात्तिक, माघ, वैशाख र साउन महिनाको पहिलो दिन (वा त्यसपछि कार्यालय खुलेको दिन) ब्याज भुक्तानी गर्नुपर्नेछ । लगानी अवधि समाप्त भएपछि साँवा तथा बाँकी ब्याज राष्ट्र बैंकले सम्बन्धित खाताबाट स्वतः असुल गर्नेछ । यदि खातामा पर्याप्त मौज्दात नभएर साँवा तथा ब्याज असुल हुन नसकेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले बक्यौता अवधिको ब्याजसँगै सोही बराबरको पेनाल ब्याज समेत व्यहोर्नु पर्नेछ । राष्ट्र बैंकका अनुसार लगानी सम्बन्धी अन्तिम निर्णय अवकाश कोष व्यवस्थापन समितिको हुनेछ । साथै, बैंक तथा वित्तीय संस्थाले थप शर्त राखेर प्रस्ताव पेश गर्न नपाउने र त्यस्ता शर्त मान्य नहुने पनि उल्लेख गरिएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकका लागि ५ अर्ब ८४ करोड, विकास बैंकका लागि १ अर्ब ९ करोड ५० लाख र वित्तीय संस्थाका लागि ३६ करोड ५० लाख रुपैयाँ लगानीका लागि छु्ट्याएको छ ।
दुई गुल्मेली सर्जकको ‘गाली नि मीठो’ सार्वजनिक
काठमाडौं । गुल्मीका दुई सर्जक शितल पाण्डे र मदन खनालको स्वरमा ‘गाली नि मीठो’ लोकपप शैलीको गीत सार्वजनिक भएको छ । अधिवक्ता समेत रहेकी गायिका पाण्डेको प्रस्तुति रहेको उक्त गीतको रचना वरिष्ठ गीतकार राजेन्द्र थापाले गरेका छन् । संगीत दीपक शर्माको रहेको उक्त गीतमा म्युजिक एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् । गीतको भिडियोमा भने मोडलहरू लोमश शर्मा र विना राउतलाई फिचराइज गरिएको छ । उक्त गीतको भिडियो निर्देशन राज भट्टले गरेका हुन् ।
फर्वाड माइक्रोफाइनान्सको सेयर मूल्य १५ प्रतिशतले बढ्यो
काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ अंकले घटेर २७०४ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार २७ कम्पनीको सेयर मूल्य बढ्दा २४० कम्पनीको सेयर मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३४१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चरको भएको छ । एनआरएनको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै रिलाइन्स स्पिीनिङको १७ करोड, नेसनल हाइड्रो पावरको १५ करोड ५४ लाख, आँखु खोलाको १५ करोड १८ लाख र एनआइसी एसिया बैंकको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । फर्वाड माइक्रोफाइनान्सको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
उच्च तलबको प्रलोभनमा र पर्यटकीय भिसामा कम्बोडिया नजानू : दूतावास
काठमाडौं । नेपालीलाई उच्च तलब र पर्यटकीय भिसामा कम्बोडिया नजान थाइल्याण्डस्थित नेपाली दूतावासले निर्देशन दिएको छ । सोमबार दूतावासले उच्च तलब तथा आकर्षक सुविधाको प्रलोभनमा परी पर्यटकीय भिसामा कम्बोडिया लगायत अन्य मुलुकहरूमा रोजगारीका लागि नजान अनुरोध गरेको छ । भिसा अवधिभन्दा बढी समय कम्बोडियामा नबस्न र कुनै पनि गैरकानूनी गतिविधिमा संलग्न नहुन पनि दूतावासले बताएको छ । गैह्रकानुनी कार्यमा संलग्न भएमा त्यस्ता काम बन्द गरेर नेपाल फर्कन दूतावासले आग्रह गरेको छ । नेपाली राजदूतावास वा नेपाली वाणिज्यदूतावाससँग सम्पर्क गरी रोजगारदाता संस्था तथा रोजगारीको आधिकारिकता यकिन गरी वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर मात्र रोजगारीमा जान अनुरोध गरेको छ । नेपाल फर्कन सहजीकरण गर्ने राजदूतावासले कम्बोडियामा रहेका नेपालीको तथ्याङ्क तथा सूचना संकलन गरिरहेको दूतावासले उल्लेख गरेको छ । नेपालीहरू कम्बोडियामा अवैधानिक रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङमा परेको जानकारी प्राप्त भएको दूतावासले बताएको छ । अनलाइन स्क्यामिङ जस्ता गतिविधि नियन्त्रण तथा अन्त्य गर्न पाँचलाख अमेरिकी डलर सम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था कम्बोडिया सरकारले लागू गरेको छ । कम्बोडिया सरकारले अनलाइन स्क्यामिङ केन्द्रहरू बन्द र नष्ट गर्ने तथा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाएको दूतावासले जानकारी दिएको छ ।
अवैध सम्पत्ति लुकाएको आशंकामा बागमतीका मुख्यमन्त्रीको घर र कार्यालयमा छापा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा छापा मारेको छ । सम्पत्ति शुद्धीकरण विभागले अवैध सम्पत्ति लुकाएर राखेको आशंकामा उनको घर र कार्यालयमा छापा मारेको हो । हेटौंडाको सानोपोखरामा रहेको उनको बानियाँ निर्माण सेवा (बीएनएस), त्यहीँ रहेको उनको घरमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिइएको बुझिएको छ भने काठमाडौंको नक्साल र सुन्धारामा पनि विभागले छापा मारेको हो ।
एसिया–प्रशान्तमा ऊर्जा र डिजिटल विकासका लागि ७० अर्ब डलर लगानी
काठमाडौं । एसिया–प्रशान्त क्षेत्रमा ऊर्जा र डिजिटल पूर्वाधारलाई सुदृढ बनाउन एडिबीले सन् २०३५ सम्म ७० अर्ब अमेरिकी डलर बराबरको ठूलो लगानी गर्ने घोषणा गरेको छ । यो घोषणा उज्बेकिस्तानको समरकन्द शहरमा सम्पन्न एडिबीको ५९औँ वार्षिक बैठकका क्रममा गरिएको हो, जहाँ अध्यक्ष मासातो कान्दाले क्षेत्रीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित दुई प्रमुख पहल अगाडि सारेका हुन् । पहिलो पहल ऊर्जा क्षेत्रमा केन्द्रित छ । यस अन्तर्गत विभिन्न देशका विद्युत् प्रणालीहरू आपसमा जोड्ने योजना बनाइएको छ । यसले सीमापार रूपमा विद्युत् आदान–प्रदानलाई सहज बनाउनेछ । उदाहरणका लागि, कुनै देशमा उत्पादन भएको अतिरिक्त जलविद्युत् वा सौर्य ऊर्जा अर्को देशमा पठाउन सकिनेछ । यसले ऊर्जा अभाव भएका क्षेत्रहरूमा भरपर्दो आपूर्ति सुनिश्चित गर्नुका साथै उत्पादन लागत पनि घटाउने अपेक्षा गरिएको छ । यस योजनामा प्रसारण लाइन विस्तार, सबस्टेशन निर्माण, ऊर्जा भण्डारण प्रविधि विकास तथा विद्युत् सञ्जालको आधुनिकीकरणमा विशेष ध्यान दिइनेछ । दोस्रो पहल डिजिटल क्षेत्रमा केन्द्रित छ। यसको उद्देश्य एसिया–प्रशान्त क्षेत्रमा डिजिटल पहुँच विस्तार गर्नु र प्रविधिमा आधारित अर्थतन्त्रलाई बलियो बनाउनु हो । यस अन्तर्गत डेटा पूर्वाधार, द्रुत इन्टरनेट सञ्जाल, र आधुनिक सूचना प्रणाली विकासमा लगानी गरिनेछ । यसले ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा पनि इन्टरनेट पहुँच बढाउनेछ, जसले शिक्षा, स्वास्थ्य, व्यापार र सरकारी सेवाहरूलाई अझ प्रभावकारी बनाउनेछ । साथै, कृत्रिम बुद्धिमत्ता जस्ता उन्नत प्रविधिको प्रयोगमार्फत नयाँ रोजगारी सिर्जना र आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ । यी दुवै पहलहरूले देशहरूबीचको सहकार्यलाई मजबुत बनाउने, आर्थिक अवसरहरू विस्तार गर्ने र समग्र क्षेत्रमा दिगो विकासलाई गति दिने लक्ष्य राखेका छन् । एडिबीले ऊर्जा र डिजिटल पहुँचलाई भविष्यको विकासका मुख्य आधारका रूपमा लिएको छ । एडिबी सन् १९६६ मा स्थापना भएको बहुपक्षीय विकास बैंक हो, जसले एसिया–प्रशान्त क्षेत्रमा गरिबी न्यूनीकरण, पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि सहयोग गर्दै आएको छ। यसमा हाल ६९ सदस्य देश छन्, जसमध्ये ५० देश यही क्षेत्रका छन् । रासस
हिरासतमा रहेका दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले विचौलिया दीपक भट्टलाई अदालतमा उपस्थित गराउनका आदेश दिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले यस्तो आदेश दिएको हो । भट्टपत्नी आयुस्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै भट्टलाई अदालतमा उपस्थित गराउन आदेश गरेको हो । भट्ट सम्पत्ति शुद्धीकरण र गोल्छा सीआईबीको हिरासतमा छन् । उनी चैत १९ गते सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका थिए । भट्टले हिमालयन रि–इन्स्योरेन्स र यसका सहायक कम्पनीबाट ३ अर्ब ८१ करोड दुरुपयोग गरी नेपाल रि–इन्स्योरेन्सलगायत कम्पनीको सेयर किनेको पुष्टि भएको छ । बीमा प्राधिकरणले छानबिन गरेर भट्टमाथि कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभागलाई सिफारिस गरेको थियो । सोही अनुसार उनी पक्राउ परेका हुन् ।
फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प
काठमाडौं । फिलिपिन्सको मध्य भागमा पर्ने समर टापु सोमबार शक्तिशाली भूकम्पले हल्लिँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) का अनुसार दिउँसो २ः०९ बजे (०६०९ जिएमटी) गएको भूकम्पको तीव्रता ६.० म्याग्निच्युड मापन गरिएको छ । भूकम्प समर प्रान्तअन्तर्गत पर्ने तटीय सहर सान जुलियनबाट करिब नौ किलोमिटर दूरीमा ७३.३ किलोमिटर गहिराइमा केन्द्रित रहेको जनाइएको छ । गहिराइ बढी भएकाले ठूलो विनाश हुनबाट जोगिएको अनुमान गरिएको छ । स्थानीय एक प्रहरी अधिकारीका अनुसार भूकम्प ‘अचानक र निकै शक्तिशाली’ महसुस गरिएको थियो । उनले प्रहरी कार्यालयमै छतसँग जोडिएको एक बीम भाँचिएको र केही फर्निचरहरू हल्लिएको देखिएको बताए । सम्भावित परकम्प (आफ्टरसक) को जोखिमका कारण प्रहरीसहित अन्य कर्मचारीहरू बाहिर बसेर सतर्कता अपनाइरहेका छन् । हालसम्म मानवीय क्षति वा गम्भीर चोटपटकको कुनै आधिकारिक विवरण प्राप्त नभएको जनाइएको छ । तर भूकम्पको झट्काले स्थानीय स्तरमा डर र असुरक्षाको वातावरण सिर्जना गरेको छ । फिलिपिन्स भूकम्पीय दृष्टिले अत्यन्त संवेदनशील क्षेत्र मानिन्छ, किनकि यो प्रशान्त महासागरको ‘रिङ अफ फायर’ भित्र पर्छ । यो क्षेत्र जापानदेखि दक्षिणपूर्व एशिया हुँदै प्रशान्त महासागरका विभिन्न भागसम्म फैलिएको छ, जहाँ पृथ्वीको प्लेटहरू सक्रिय रूपमा सर्ने भएकाले बारम्बार भूकम्प आउने गर्दछ । यसअघि गत अक्टोबरमा पूर्वी मिन्दानाओ क्षेत्रमा ७.४ र ६.७ म्याग्निच्युडका शक्तिशाली भूकम्प जाँदा कम्तीमा आठ जनाको ज्यान गएको थियो । त्यसैगरी केही समयअघि आएको ६.९ म्याग्निच्युडको भूकम्पले ठूलो क्षति पुर्याउँदै ७६ जनाको मृत्यु गराएको थियो भने मध्य फिलिपिन्सको सेबु प्रान्तमा करिब ७२ हजार घरहरू ध्वस्त वा आंशिक रूपमा क्षतिग्रस्त भएका थिए । यस्ता घटनाहरूले फिलिपिन्समा भूकम्पको जोखिम निरन्तर कायम रहेको स्पष्ट पार्दै आएका छन्, जसका कारण त्यहाँका नागरिक र निकायहरू सधैं सतर्क रहनुपर्ने अवस्था रहेको छ ।