विकासन्युज

बैंकको सफलताको आधार समर्पित सेवा : एनआईसी एशिया बैंकले गर्‍यो कर्मचारी सम्मान

काठमाडौं । एनआईसी एशिया बैंक कर्मचारी संघले १६औं स्थापना दिवसको अवसरमा संस्थामा लामो समयदेखि समर्पित सेवा पुर्‍याएका कर्मचारीहरूको सम्मानमा कार्यक्रम सम्पन्न गरेको छ । सप्ताहव्यापी रूपमा विभिन्न प्रदेशमा आयोजित कार्यक्रममार्फत १० वर्ष वा सोभन्दा बढी समय सेवा दिएका कर्मचारीहरूलाई सम्मान गर्दै उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरिएको संघले जनाएको छ । कार्यक्रम कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सम्पन्न भइसकेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि चाँडै यस्ता सम्मान कार्यक्रमहरू सञ्चालन हुनेछन् । संघका अनुसार यस्ता कार्यक्रमले कर्मचारीको मनोबल अभिवृद्धि गर्नुका साथै संस्था र कर्मचारीबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास लिइएको छ । भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रम निरन्तर आयोजना गर्दै कर्मचारी हितमा कार्य गरिने प्रतिबद्धता संघले व्यक्त गरेको छ । एनआईसी एशिया बैंकका ती समर्पित कर्मचारीहरूलाई सम्मान गर्नु संस्थाको सफलतालाई मूल्यांकन गर्ने प्रेरणादायी कदमका रूपमा लिइएको छ ।

इन्डो-नेपाल सिएसआर समिट : ४०० उद्यमीलाई वित्तीय साक्षरताको घोषणा

काठमाडौं । नेपाल-भारतको सहकार्यमा आयोजित इन्डो–नेपाल सिएसआर समिट आइतबार काठमाडौंमा सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्वको प्रभावकारिता बढाउने र क्षेत्रीय सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित समिट बिफक्याप नेपाल को आयोजना र जी फाउन्डेसनको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले नेपालमा सिएसआर खर्च प्रभावकारी नदेखिएको बताउँदै कर्पोरेट क्षेत्र अझ गम्भीर बन्नुपर्नेमा जोड दिइन् । 'सिएसआर भनेको पैसा मात्रै होइन, यो व्यवसायको कर्तव्य र समाजप्रतिको उत्तरदायित्व पनि हो,' उनले भनिन् । कार्यक्रमका विशिष्ट वक्ता नेपाल–इन्डिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री का उपाध्यक्ष तथा सूर्य नेपालका प्रबन्ध निर्देशक रवि रायभरमले सिएसआर क्षेत्रको सम्भावना अत्यन्तै ठूलो रहेको र दिगो विकासमा यसको सकारात्मक भूमिका देखिएको बताए । बिफक्याप नेपालका सीईओ मनोज रेग्मीले समिटबाट प्राप्त स्रोत साधन प्रयोग गरेर भोजपुर, सोलुखुम्बु र खोटाङ जिल्लाका ४०० उद्यमीलाई वित्तीय साक्षरता दिने योजना सार्वजनिक गरे । साथै उनले आगामी वर्ष एशिया स्तरको सिएसआर समिट आयोजना गर्ने लक्ष्य रहेको पनि बताए । कार्यक्रमका सत्रहरूमा सहभागी भारतीय प्रतिनिधिहरुले सिएसआर कार्यक्रमलाई परिणाममुखी बनाउन नीति, मोडालिटी र निगरानी प्रणाली स्पष्ट हुनुपर्नेमा जोड दिए । समिटमा नेपालका सांसदहरू, मन्त्रालयका वरिष्ठ पदाधिकारी, भारत तथा नेपालका सिएसआर विशेषज्ञहरू, बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । बिफक्याप नेपाल विगत केही वर्षदेखि उद्यमशीलता, सीपमूलक तालिम, वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको संस्था हो । यो संस्था नेपालमै पहिलोपटक सांसदहरूलाई वित्तीय साक्षरता प्रदान गर्ने संस्थाको रूपमा पनि परिचित छ ।

नेपालमा काम गर्न धेरै अफ्ठ्यारो छ : मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नेपालमा सार्वजनिक पदमा रहेर काम गर्न धेरै अफ्ठ्यारो भएको गुनासो गरेका छन् । आइतबार महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुनी प्रक्रियाका सानातिना त्रुटिका कारण जिम्मेवार अधिकारीहरू अनावश्यक झमेलामा पर्ने अवस्था रहेको बताए । महर्जनले २०७८ साल असारको पहिलो साता ललितपुरको धापाखेल क्षेत्रमा आएको बाढीका बेला पीडितलाई तत्कालै महानगरको तर्फबाट २२–२३ लाख रुपैयाँ राहत उपलब्ध गराएको स्मरण गर्दै भने, 'राहत दिनु आफ्नो कर्तव्य ठानेँ, तर अहिले पनि त्यसैको कारण अख्तियारमा बयान दिनुपरेको छ ।' उनले विपद् व्यवस्थापन जस्तो संवेदनशील अवस्थामा पनि तत्काल निर्णय लिन हिच्किचाउनु पर्ने अवस्था रहेको बताए । 'नेपालमा काम गर्न गाह्रो छ । ऐन, कानुनमा ह्रस्व–दीर्घ नमिल्दा रातो घर (अख्तियार) धाउनु पर्ने अवस्था आउँछ,' उनले भने । प्रमुख महर्जनले नियत सफा भए कुनै समस्या नआउने बताए पनि नियमनकारी निकायको निगरानी राम्रा काम गर्नेहरूप्रति पनि कठोर हुन नहुने धारणा राखे । साथै उनले आफ्नो कार्यकालमा ढुङ्गेधारामा पानी ल्याउन नसक्नु बाहेक अन्य प्रतिबद्धता पूरा गरेको दाबी पनि गरे ।

सुनको मूल्य २ लाख नजिक, तोलामा १४ सयले वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लाग्दै आइतबार तोलामा १४ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम गरिएको छ । शुक्रबार सुनको मूल्य १ लाख ९० हजार ४ सय रुपैयाँ थियो । यससँगै सुनको मूल्य २ लाख नजिकै पुगेको छ । यसैबीच, चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदीको कारोबार प्रतितोला २ हजार ५ रुपैयाँमै भइरहेको छ ।

संघीय विधेयकप्रति असन्तुष्टि, सामान्य प्रशासन मन्त्रालय अगाडि कर्मचारीको धर्ना

काठमाडौं । संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी विधेयक’मा कर्मचारीमैत्री नहुने व्यवस्थाहरू समेटिएको भन्दै विरोध जनाइएको हो । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उतम कटुवालका अनुसार, सेवाअवधि पुगेका कर्मचारीलाई एक तह बढुवाका लागि हाल तोकिएको ७ वर्षको अवधि घटाएर ५ वर्ष कायम गर्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एकपटक समायोजनको अवसर दिनुपर्ने माग छन् । त्यस्तै, अन्तरप्रदेश सरुवाको स्पष्ट व्यवस्था गर्नुपर्ने, तीनै तहका कर्मचारीलाई निजामती सेवाको परिभाषाभित्र समेट्नुपर्ने, र समायोजनमा स्पष्ट मापदण्ड तोक्नुपर्ने माग पनि राखिएको  छ । विधेयकले कर्मचारीको मनोबल घटाउने खतरा रहेको भन्दै युनियनले सोमबारदेखि सशक्त आन्दोलन सुरु गर्ने चेतावनी समेत दिएको छ ।

सहकारीलाई कस्ने नीति : बचत र ऋणमा सीमा, १० लाख बढीमा स्रोत खुलाउनुपर्ने

काठमाडौं । सहकारी क्षेत्रको नियमन गर्ने भन्दै स्थापना भएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थाका लागि मापदण्ड तथा निर्देशन जारी गरेको छ । प्राधिकरणले विभिन्न नीतिगत व्यवस्था गर्दै सहकारीलाई कस्ने नीति अगाडि सारेको हो ।  बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन भन्दै मापदण्ड जारी भए पनि प्राधिकरणले तत्कालका लागि सहकारीहरु समस्यामा पर्न सक्ने नीति अगाडि सारेको हो ।  सहकारी संस्थाले प्राथमिक पुँजी कोषको १५ प्रतिशतसम्म बचत संकलन गर्न सक्ने व्यवस्था गरेर बचतमा सीमा तोकिएको छ भने संस्थाले बैंक् तथा वित्तीय संस्था र सहकारी बैंकबाट आफ्नो कुल सम्पत्तिको पाँच प्रतिशतसम्म ऋण लिन सक्ने व्यवस्था गरेको छ । तर, ऋण लिँदा पुँजी कोषको शतप्रतिशत भन्दा बढी ऋण लिन नपाइने व्यवस्थ गरेको छ ।  तर, ५१ प्रतिशत वा सोभन्दा बढी लगानी सामूहिक जमानीमा गर्ने सहकारी संस्थाको हकमा कुल सम्पत्तिको २० प्रतिशत वा पुँजी कोषको १० गुणासम्म जुन कम हुन्छ त्यो ऋण लिन सक्ने नीति बनाएको छ ।  सहकारी संस्थाले प्रति सदस्य बचत संकलनमा सीमा सहकारी संस्थाको प्राथमिक पुँजी कोषको १० प्रतिशतसम्म हुने व्यवस्था गरेको छ भने यो मापदण्ड प्रयोजनका ालगि संस्थाले प्राथमिक पुँजीको गणना गर्दा आर्थिक वर्षको पहिलो महिनाको पहिलो दिन र सातौ महिनाको पहिलो दिन एक गते संस्थाले प्राथमिक पुँजी गणना गरी बचतको सीमा निर्धारण गर्नु पर्ने व्यवस्था प्राधिकरणले गरेको छ ।  यस्तै, सदस्यले १० लाख रुपैयाँभन्दा बढी बचत जम्मा गर्दा अनिवार्य रुपमा स्रोत खुलाउनुपर्ने व्यवस्था पनि गरिएको छ । प्राधिकरणले सदस्यता लिएको न्यूनतम तीन महिना नपुगेका सदस्यलाई संस्थले ऋण लगानी गर्न नसक्ने व्यवस्थ गरेको छ । तर, ६महिना नपुगेको सदस्यलाई बिनाधितो ऋण लगानी गर्न नसक्ने व्यवस्था गरिएको छ ।  संस्थाले प्रति सदस्य प्राथमिक पुँजीको अधिकतम् १५ प्रतिशतभन्दा बढी रकम ऋण प्रवाह गर्न नसक्ने व्यवस्था पनि गरिएको छ ।  यस्तै, सहकारी संस्थाको कार्यकारी प्रमुख (प्रमुख कार्यकारी अधिकृत/प्रबन्धक/व्यवस्थापक) कुनै पनि राजनैतिक दलमा आवद्ध हुन नपाइने व्यवस्था गरेको छ । प्राधिकरणले मापदण्डले कार्यकारी प्रमुखको योग्यता समेत तोकेको छ । २१ वर्ष उमेर पुरा भएको, स्नातक तह उर्तिण हुनुपर्ने, बढीमा दुई कार्यकाल, अन्य सहकारीमा संलग्न नभएको हुनुपर्ने, कालोसूचिमा नपरेको वा फुकुवा भएको तीन वर्ष पूरा भएको, फौजदारी अभियोगमा कारबाही नभएको, सञ्चालकको एकाघर परिवारको व्यक्ति नभएको हुनुपर्ने व्यवस्था गरेको छ ।  

गोसाइँकुण्ड मेला सुरु, गङ्गा दशहराका लागि भक्तजनको ओइरो

रसुवा ।  पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ । यही जेठ १३ गतेदेखि सुरू हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् ।  मेला यही जेठ २४ गते एकादशीसम्म सञ्चालन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यस वर्ष दशहरा पर्वमा पाँच हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने अपेक्षा समितिले राखेको छ ।  जिल्लाको उच्च भागमा अवस्थित समुन्द्र सतहबाट चार हजार ३८० मिटर उचाइ अवस्थित कुण्ड जानका लागि काठमाडौंदेखि धुञ्चेसम्मको मोटर यात्रा गरेपछि पैदल यात्रा सुरू हुने र तिवारी बगर, खन्ति, देउराली, डिम्सा, चोलाङपाटी हुँदै  गोसाइँकुण्ड पुग्न सकिन्छ ।         गङ्गा दशहरा पर्वका लागि पतञ्जली योग समितिमार्फत आएका २५० भन्दा बढी भक्तजन आज बिहानै गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको नेपाल प्रहरीले जनाएको छ ।  धार्मिक मान्यताअनुरूप जीवनमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थस्थल भएका कारण भक्तजन गोसाइँकुण्ड पुग्ने गरेका छन् ।  विशेष पर्व गङ्गादशहरामा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वमा पाँच दिनगरी वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ ।  बाह्रै महिना भक्तजन आवतजावत भने निरन्तरता दिँदै आएको छ ।  यात्रुहरूको बासस्थानका लागि ठाउँठाउँमा होटल सञ्चालनमा छन् ।  अनुपम प्राकृतिक छठाले गर्दा  कुण्डमा जान सहज भएको कृषि वैज्ञानिक डा ताराबहादुर घिमिरेले बताए ।

बढ्दो मुद्रास्फीति : जापानमा बिजुली, ग्यास र खाद्य वस्तुको मूल्यमा तीव्र वृद्धि

काठमाडौं । सरकारी तथ्याङ्कअनुसार अप्रिलमा जापानको मुख्य उपभोक्ता मूल्य एक वर्ष अघिको तुलनामा ३.५ प्रतिशतले बढेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्याङ्कले मार्चमा भएको ३.२ प्रतिशतको वृद्धिबाट राष्ट्रव्यापी मुख्य उपभोक्ता मूल्य सूचकांकमा भएको वृद्धि तीव्र गतिमा बढेको देखाएको छ ।  दर वृद्धिको समय निर्धारण गर्ने बैंक अफ जापानको लागि प्रमुख सूचक मुद्रास्फीति दर अप्रिल २०२२ देखि केन्द्रीय बैंकको २ प्रतिशत मूल्य लक्ष्यमा वा सोभन्दा माथि रहेको छ । ताजा खाद्यान्न र इन्धन लागत दुवैको प्रभावलाई हटाउने मुख्य–कोर सिपिआई अप्रिलमा एक वर्ष अघिको तुलनामा ३.० प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ ।  ऊर्जाको मूल्य मार्चमा भएको ६.६ प्रतिशतको वृद्धिबाट बढ्दै ९.३ प्रतिशतले बढेको छ । बढ्दो मूल्यले घरपरिवारलाई असर गरिरहेकोले जनवरी र मार्चको बीचमा खपत हुने बिजुली र शहरी ग्यासमा अनुदान पुनस्र्थापित गरेपछि सरकारले महिनामा उपयोगिता बिल अनुदानमा कटौती गरेको छ । ताजा वस्तुहरू बाहेक खाद्य पदार्थको मूल्य ७.० प्रतिशतले बढ्यो भने घरायसी टिकाउ सामानको मूल्य ६.४ प्रतिशतले बढेको छ ।