विकासन्युज

नबिल बैंकले सार्वजनिक गर्याे फोन लोनमा कर्जा लिएर नतिर्ने ७४ जनाको नाम

काठमाडौं । नबिल बैंकले फोन लोनमा कर्जा लिएर नतिर्ने ७४ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले फोन लोन उपभोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम सार्वजनिक गरेको हो । साथै, बैंकबाट फोन लोन उपभोग गरेका ऋणीहरूलाई कर्जा चुक्ता गर्न ताकेता गरेको हो । बैंकबाट फोन कर्जा उपभोग गरिरहेका ऋणीहरूले तोकिएको अवधिभित्र साँवा, ब्याज तथा हर्जाना ब्याज, अन्य दैदस्तुर समेतको रकम तिर्न बुझाउनुपर्ने हो । तर, पटक–पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत नतिरी बैंकमा सम्पर्क समेत नगरेको हुँदा ३५ दिनभित्र ऋण चुक्ता गर्न बैंकले अनुरोध गरेको छ । यदि ३५ दिनभित्र कर्जा नतिरे ऋणीहरुको नाम कर्जा सुचना केन्द्रको कालो सुचीमा सुचिकृत गरिने बैंकले जनएको छ । साथै, कर्जा असुलीसँग आवश्यक कानुनी कारवाही गरी बैंकको लेना बक्यौता कर्जा रकम असुल उपर गरिने बैंकले चेतावनी दिएको छ ।

८.५ प्रतिशत ब्याजदरमा ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र जारी गर्दै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन तथा बिक्री गर्ने भएको हो । कार्यालयले फागुन १५ गतेदेखि चैत १५ गतेसम्म ५ वर्ष अवधिको वैदेशिकर रोजगार बचतपत्र बिक्री गर्ने भएको हो । गर्न लागेको हो । उक्त बचतपत्र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले खरिद गर्न पाउने छन् । वैदेशिक रोजगारीमा रहेका वा स्वदेश फर्किएको ६ महिना नपुगेका नेपाली नागरीक र गैरआवसीय नेपाली तथा परिवार सदस्यले पनि बचतपत्रमा आवेदन दिन सक्नेछन् । यस बचतपत्र ब्याजदर वार्षिक ८.५ प्रतिशत तोकेको छ । उक्त ब्याजदर बैंक तथा वित्तीय संस्थाहरूले हाल प्रदान गरिरहेको ब्याज भन्दा धेरै हो । ब्याज भने ६÷६ महिनामा भुक्तानी हुनेछ । साँवा २०८६ चैत १८ गते एकमुष्ठ रूपमा पाइने छ । बचतपत्रमा न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम १० हजार रुपैयाँले निःशेष भाग जाने अंकमा आवेदन दिनु पर्नेछ ।

देशका अधिकांश भागमा मौसम सफा रहने, दिउँसो आंशिकदेखि साधारणतया बदली हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको बताएको छ । तराईका केही भागमा हल्का हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले हिमपात र वर्षाबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन ती क्षेत्रका सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

पशुपतिमा पूजा गर्न आउने भक्तजनलाई महँगा गहना नलगाउन प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले महाशिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजा आउने भक्तजनलाई महँगा गहना लगाएर नआउन अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले आपाराधिक तथा चोरीका घटना हुनसक्ने हुँदा त्यस्ता महँगा गरगहना लगाएर आउँदा समस्या पर्नेतर्फ सचेत गराउँदै आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरे । महाशिवरात्रिका अवसरमा शान्ति सुरक्षा कायम गर्न पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको र सहायता कक्षसमेत स्थापना भएको जानकारी गराउँदै उनले कुनै समस्या परेमा जानकारी गराउन पनि अनुरोध गरेका छन् । ‘देशविदेशबाट पशुपतिको दर्शनका लागि लाखौँको भक्तजन सहभागी हुने भएकाले छिटोछरितो, व्यवस्थित र सुरक्षित दर्शनको व्यवस्था मिलाउन आवश्यक सम्पूर्ण व्यवस्था गरिएको जानकारी गराउँदछु,’ उनले भने । धार्मिक आस्थाका नाममा विभिन्न आपाराधिक तथा अमर्यादित घटना घट्नसक्ने तर्फ सचेत हुन उनले अनुरोध गरे । विशेष गरी बालबालिका महिला, वृद्ध तथा फरक क्षमता भएका व्यक्तिलाई पशुपति दर्शनमा प्राथमिता दिन उनको भनाइ छ । बालबालिका हराउनसक्नेतर्फ पनि ध्यान दिन अनुरोध गरिएको छ । बाहिरी क्षेत्रमा ड्रोन क्यामेराबाट पनि निगरानी हुने तथा सिसी टिभीबाट पनि निगरानी हुने जानकारी गराउँदै प्रहरीले सादा पोसाकमासमेत प्रहरी परिचालन गरी शान्ति सुरक्षामा कुनै कमि हुन नदिने प्रतिबद्धता जनाएको छ । चोरी, पाकेटमार गर्ने, असभ्य व्यवहार गर्ने र कानुनको उल्लङ्घन गर्ने व्यक्तिलाई कुनै छुट नहुने पनि प्रहरीले चेतावनी दिएको छ । समस्या परेमा आकस्मिक नम्बर १०० मा फोन गर्न पनि अनुरोध गरिएको छ ।

भारतको केआइआइटीका विद्यार्थीले टियूमा अध्ययन गर्न पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय ९टियू० ले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा समस्या परेका विद्यार्थीलाई ‘क्रेडिट ट्रान्सफर’ गरेर अध्ययन गर्ने व्यवस्था मिलाएको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले आज जारी गर्नुभएको विज्ञप्तिमा भारतको केआइआइटी विश्वविद्यालयमा सिर्जना भएको समस्याको कारणले स्वदेशमा फिर्ता भएका विद्यार्थीलाई त्रिविको ‘क्रेडिट ट्रान्सफर’ नीतिअनुसार भर्ना हुने व्यवस्था गरिएको जानकारी गराएको छ । ‘भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआइआइटीमा सिर्जना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीति अनुरूप भर्ना गर्न सकिने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्रिविले विद्यार्थी तथा अभिभावकलाई [email protected][email protected]  मा सम्पर्क गर्न आग्रह गरेको छ । गत केही दिनअघि केआइआइटीको छात्रावासमा प्रकृति लम्सालको रहस्यम तरिकाले मृत्यु भएको थियो । त्यसपछि असुरक्षा भएपछि नेपाली विद्यार्थीबीचमा नै पढाइ छाडेर नेपाल फर्किएका छन् ।

पशुपतिनाथ क्षेत्रमा सवारी साधन चलाउन रोक, यी रूटमा मात्रै गाडी चल्ने

काठमाडौं । आज पशुपतिनाथ क्षेत्रमा सवारी साधन चलाउन रोक लगाइएको छ । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस्तो व्यवस्था गरेको हो । कार्यालयले विशेष सुरक्षा योजनाअनुसार पशुपतिमा पूजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको छ । सवारी साधनहरूको पार्किङ्ग तीलगंगा आँखा अस्पताल अगाडी, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा मिलाइएको छ भने बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरु पार्किङ्ग हुनेछन् । त्यसैगरि कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी बृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरुलाई पार्किङ व्यवस्था मिलाइएको छ ।तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध क्षेत्रबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरुलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ । वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाईएको छ ।

भगवान् शिव उत्पत्ति भएको महाशिवरात्रि पर्व, पशुपतिका चार ढोका खुले

काठमाडौं । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको ह्दयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व ९जगत्को कल्याण गर्ने तत्व०ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । पशुपतिनाथमा आजको चार प्रहरमा चार प्रकारका पूजा राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ । महाशिवरात्रिमा प्रहर पूजाको विशेष महत्व रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । आज बेलुकी करिब छ बजेदेखि पशुपतिनाथ मन्दिरमा प्रहर पूजा सुरु हुन्छ । पहिलो प्रहर पूजा करिब पौने नौ बजे सकिन्छ । नौ बजेको हाराहारीमा दोस्रो प्रहर पूजा सुरु हुन्छ । यो करिब पौने १२ बजे सकिन्छ । करिब १२ बजेको हाराहारीमा तेस्रो प्रहर पूजा सुरु हुन्छ । पौने तीन बजे हाराहारीमा यो सकिन्छ । चौथो प्रहर पूजा करिब तीन बजेको हाराहारीमा सुरु भई बिहान छ बजेको हाराहारीमा सकिन्छ । जप, ध्यान, पूजा, अघ्र्यदान, पाठ, रुद्राभिषेक आदि गरी प्रहर पूजा गरिन्छ । महाशिवरात्रिमा प्रहर पूजाकै विशेष महत्व हुने भएकाले यो पूजालाई विधिपूर्वक गर्नुपर्छ । प्राणप्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा आज बेलुकीदेखि विधिपूर्वक चार प्रहर पूजा गरिन्छ । यसबाट आशुतोष भगवान् शिव खुसी हुनुहुने धार्मिक विश्वास छ । यो प्रहर पूजा रुद्रमती किनारस्थित चावहिल गङ्गाहिटीमा रहेको रुद्रेश्वर महादेव मन्दिर, गौरीघाटस्थित त्रिगजुर शिवालय, गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वरलगायत मन्दिरमा पनि चार प्रहर पूजा गर्ने परम्परा रहिआएको छ । यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताउनुभयो । सात वर्षअघिदेखि नै पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कानुनी कारबाही गर्ने उहाँले बताउनुभयो । निषेध गरिएका चिजबीज बेचबिखन गर्न नदिई शान्ति सुरक्षा कायम गर्न आज पशुपति क्षेत्रमा करिब पाँच हजार सुरक्षाकर्मी खटाइएको छ । बिहान दुई बजे नै पशुपतिका चार ढोका खुल्ने महाशिवरात्रिका अवसरमा बुधबार बिहान दुई बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिने कोषले जनाएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । कति भक्तजन भने लाइन नबसी पशुपति क्षेत्र पुगेर गजुर दर्शन गरेर फर्कने गरेका छन् । गजुर दर्शन गर्दा पनि पशुपतिनाथ मन्दिरमै गएर दर्शन गरेबमोजिम फल मिल्ने शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । बेलुकी पशुपति क्षेत्र जाँदा आकर्षक हुनेगरी फूल र बत्तीले सजाइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ । यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर चार र भित्र आठवटा लाइनको व्यवस्था गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख ईश्वर भण्डारीले बताए । सबै लाइनबाट छिटोभन्दा छिटो भक्तजनलाई दर्शन गराएर फिर्ता गराउने गरी कोषले तयारी गरेको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकतानुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उहाँले बताउनुभयो । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोही मार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ । दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वर, नागेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि आशुतोष भगवान् शिवको धुमधामका साथ पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

हामी सबै एउटै डुङ्गामा छौं, क्षति हुँदा एउटा सुरक्षित र अर्को असुरक्षित भन्ने हुँदैन् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार, राजनितिक दल, प्रशासन र निजी क्षेत्र एउटै डुङ्गाका यात्री भएकाले अर्थतन्त्र सुधारको लागि सबै पक्ष गम्भीर बन्नु पर्ने बताएका छन् । संङ्घीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार आयोजना गरेको “संङ्घीय संरचनामा लगानी प्रवद्र्धनः सम्भावना, चुनौती र निजी क्षेत्रको अपेक्षा” विषयका कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा लगानीको पर्याप्त सम्भावना भएपनि सोही अनुरुपको समग्र वातावरण नहँुदा राज्यले प्रतिफल पाउन नसकेको बताए । देश विकासका लागि लगानी प्रवद्र्धन आवश्यक रहेको र यसका लागि लागि सबै राजनीतिक दल, प्रशासन संयन्त्र र निजी क्षेत्र उत्तिकै जिम्मेवार हुनु पर्ने उनले धारणा राखे । ‘सरकार, राजनितिक दल, प्रशासन र निजी क्षेत्र हामी एउटै डुङ्गाका यात्री हौं । डुङ्गामा क्षति पुग्दा एउटा पक्ष सुरक्षित र अर्को असुरक्षित भन्ने हुँदैन् । यसकारण देशको अर्थतन्त्र बलियो बनाउन हामी सबै उत्तिकै जिम्मेवार छौं र हुनु पर्दछ,’ उनले भने । २०७२ सालको संविधानले नेपाललाई एकात्मक प्रणालीबाट संघात्मक पद्धतिमा रुपान्तरित गरि शासन संचालनको स्वायत्तता, सहभागिता र जवाफदेहीताको परिकल्पना गरेपनि तीनै तहका सरकारहरु सोही अनुरुप चल्न नसकेको उनको गुनासो छ । अध्यक्ष ढकालले लगानी प्रवद्र्धनका लागि राजनीतिक एवं नीतिगत अस्थिरता, संघीय सरकारका तहहरूवीचको अन्तरसम्बन्ध र समन्वयको अभाव, निजी क्षेत्र प्रोत्साहन गर्ने कार्यक्रमको कमी, विकास आयोजनामा अवरोध मुख्य चुनौती रहेको बताए । लगानी प्रवद्र्धनका लागि प्रशासनिक सरलता र पारदर्शिता र सबै तहबाट लगानीको सुरक्षाको ग्यारेन्टी आवश्यक भएको उनको भनाइ छ । सरकार वा निजी क्षेत्रबाट प्रवद्र्धित पूर्वाधार एवं विकास परियोजना निर्वाध रुपमा संचालन गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । ‘तीनै तहका सरकार राजस्व केन्द्रित हुनु, व्यवसाय दर्ता नवीकरण एवं अन्य सेवा प्रवाह चुस्त नहुनु, औद्योेगिक व्यवसाय ऐनमा एकरुपता नहुने जस्ता समस्याले गर्दा अपेक्षा अनुरुप लगानी र व्यवसाय प्रवद्र्धन हुन सकेको छैन,’ उनले भने, ‘लगानीमैत्री वातावरणका लागि निजी क्षेत्रलाई प्रोत्साहन, लगानी आकर्षित गर्न प्रतिष्पर्धा, व्यवसाय दर्ता नविकरण एवं राजश्व बुझाउन डिजिटल माध्यमको प्रयोग, नागरिक एपमा व्यवसाय सम्बन्धि आइकन थपि सम्पुर्ण सुबिधा दिनुपर्छ ।’ लगानी प्रवद्र्धनका लागि केन्द्रको औद्योगिक व्यवसाय ऐनमा थप सुविधा दिने, घरेलु उद्योगलाई उद्योग वाणिज्य संघहरुसंग समन्वयमा सेवा विस्तार गर्नुपर्ने उनको माग छ ।