काठमाडौं । संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी विधेयक’मा कर्मचारीमैत्री नहुने व्यवस्थाहरू समेटिएको भन्दै विरोध जनाइएको हो ।
नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उतम कटुवालका अनुसार, सेवाअवधि पुगेका कर्मचारीलाई एक तह बढुवाका लागि हाल तोकिएको ७ वर्षको अवधि घटाएर ५ वर्ष कायम गर्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एकपटक समायोजनको अवसर दिनुपर्ने माग छन् ।
त्यस्तै, अन्तरप्रदेश सरुवाको स्पष्ट व्यवस्था गर्नुपर्ने, तीनै तहका कर्मचारीलाई निजामती सेवाको परिभाषाभित्र समेट्नुपर्ने, र समायोजनमा स्पष्ट मापदण्ड तोक्नुपर्ने माग पनि राखिएको छ ।
विधेयकले कर्मचारीको मनोबल घटाउने खतरा रहेको भन्दै युनियनले सोमबारदेखि सशक्त आन्दोलन सुरु गर्ने चेतावनी समेत दिएको छ ।