तोलामा ८ सयले घट्यो सुन
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९७० रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँमा झरेको छ ।
आधारभूत अस्पताल निर्माण : घोषणा भयो, कार्यान्वयन भएन
गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण भएको वर्षदिन भइसक्यो । करोडौँ लागतमा बनेको उक्त अस्पताल भवन कहिले सञ्चालन आउने हो कुनै टुङ्गो छैन । जनशक्ति र उपकरण अभावमा अस्पताल सञ्चालनको योजना अन्योलमा परेको गाउँपालिकाका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले बताए । ‘तीन जना मेडिकल अधिकृतसहित २० जनाको दरबन्दी तोकिएपनि हामीसँग जनशक्ति छैन, अस्पताललाई चाहिने उपकरण र अन्य स्रोतसाधनको पनि अभाव छ’, उनले भने, ‘सङ्घ र प्रदेश सरकारसँग यसबारे ध्यानाकर्षण गराइएको छ, स्थानीय तहले मात्र आधारभूत अस्पताल सञ्चालन गर्न सक्ने अवस्था छैन ।’ भवन निर्माणमा अपुग भएको रकम र केही फर्निचर व्यवस्थापनमा गाउँपालिका आफैले लगानी गरेको संयोजक पौडेलले बताए । उनले अन्नपूर्णमा मात्र नभएर देशैभरका आधारभूत अस्पतालको समस्या उस्तै रहेकाले अस्पताल सञ्चालनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताए । सुविधासम्पन्न भवन बन्ने तर अस्पताल सञ्चालन नहुने स्थितिले जनगुनासो पनि बढ्दै गएको उनको भनाइ छ । बागलुङको बडिगाड गाउँपालिकाको केन्द्र ग्वालीचौरको पौँदीटारीमा पनि १८ करोड रुपैयाँको आधारभूत अस्पताल भवन सेवा सञ्चालनको पखाईमा छ । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी उक्त अस्पताल सञ्चालनका लागि प्रदेश र सङ्घ सरकारसम्म धाएको धाएै छन् । ‘जनशक्ति र उपकरण सहयोगका लागि पहल भइरहेको छ, आश्वासन त आउँछ, तर कार्यान्वयन समयमा हुँदैन’, उनले भने, ‘स्रोतसाधन नभई स्थानीय तहलाई मात्र अस्पताल सञ्चालन गर भनेर हामीले कसरी चलाउने ?’ अध्यक्ष अधिकारीले १५ शय्याको उक्त अस्पतालाई पूर्ण क्षमतामा सञ्चालन गर्दा वार्षिक करिब पाँच करोड रुपैयाँ सञ्चालन खर्च आउने बताए । उक्त अस्पतालबाट डायलासिस सेवा सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयमा पाँच वटा उपकरण माग गरिएको उनले बताए । ‘प्रदेश सरकारसँग एक जना चिकित्सिक माग गरिएको छ, केही जनशक्ति गाउँपालिका आफैले व्यवस्थापन गर्छ’, अध्यक्ष अधिकारीले भने, ‘बागलुङको पश्चिम भेगका र्मिगौलाका बिरामीलाई लक्ष्य गरी डायलासिस सेवा सञ्चालन गर्ने योजना रहेको छ ।’ ग्रामिण क्षेत्रका नागरिकलाई डायलासिस सेवाका लागि अहिले पनि सदरमुकामस्थित धवलागिरि अस्पतालको भर पर्नुपर्ने बाध्यता छ । बडिगाडसहित पश्चिम बागलुङका छ स्थानीय तहका ६४ जनाले अहिले बाहिरका अस्पतालबाट डायलासिस सेवा लिइरहेको अध्यक्ष अधिकारीले बताए । सरकारले करोडौँ खर्च गरेर बनाएका आधारभूत अस्पताल भवनलाई अलपत्र पर्न दिन नहुने उनको भनाइ छ । स्थानीय तहको आम्दानीको स्रोत कम हुने भएकाले अस्पताल सञ्चालन र व्यवस्थापनमा चुनौती देखिएको उनले बताए । ‘यी अस्पतालको स्तरोन्नतिसँगै दिगो व्यवस्थापन तथा सञ्चालनका लागि तीनै तहका सरकारबिच आपसी सहयोग र सहकार्यको खाँचो छ’, अध्यक्ष अधिकारीले भने, ‘हामीले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागसँग पनि मागपत्र बुझाएका छौँ, अस्पताल चलाउन जनशक्ति र उपकरणमा खाँचो छ, स्थानीय तहले मात्र यसलाई धान्न सक्ने अवस्था छैन ।’ अध्यक्ष अधिकारीले सङ्घ सरकारबाट स्थानीय तहलाई आउने समानीकरणतर्फको बजेट कटौती हुँदै जाँदा स्थानीय तहलाई थप आर्थिक भार पर्न गएको बताए । स्वास्थ्य, शिक्षालगायत अत्यावश्यक सेवाका क्षेत्रमा समानीकरणतर्फको बजेट थप्नुपर्ने उनको भनाइ छ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकलले नागरिकलाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको योजना अगाडि बढेको बताए । ‘नयाँनयाँ जनस्वास्थ्य समस्या बढ्दै गएका बेला गाउँघरमै आधारभूत तहको अस्पताल चाहिन्छ भनेर यो अवधारणा ल्याइएको भएपनि अस्पताल सञ्चालनको दिगो र प्रभावकारी योजना बन्न सकेको छैन’, उनले भने, ‘कतिपय स्थानीय तहमा अस्पताल भवन बनिसकेका छन्, कतिपय अलपत्र परेका छन्, केही निर्माणको चरणमा छन् ।’ मन्त्री पाठकले स्रोतसाधनले भ्याएसम्म आधारभूत अस्पतालहरुलाई जनशक्ति, उपकरण र व्यवस्थापकीय सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । तीनै तहका सरकार मिलेर यी अस्पताललाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । ‘यस विषयमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीज्यूसँगको भेटमा पनि कुराकानी भएको छ, सरकारको सोच र लगानीलाई खेर जान दिनुहुँदैन’, मन्त्री पाठकले भने । सङ्घ सरकारले विसं २०७७ मा भूगोल र जनसङ्ख्याका आधारमा प्रत्येक स्थानीय तहमा पाँच, दस र १५ शय्याका आधारभूत अस्पताल बनाउने मन्त्रीस्तरीय निर्णय गरेको थियो । दुई वर्षमा अस्पताल भवन निर्माण पूरा गरी सेवा सुरु गर्ने उद्देश्य रहेपनि अधिकांश अस्पताल अझै सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आएका अस्पतालले पनि गुणस्तीय सेवा दिन नसकेको जनगुनासो छ । स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा ७४ आधारभूत अस्पताल घोषणा भएकामा ३५ सञ्चालनमा रहेका छन् । नौ अस्पतालका भवन बनेपनि सेवा सुरु हुन सकेको छैन । १७ अस्पताल भवन निर्माणाधीन छन् भने पाँच अस्पताल निर्माण सुरु भई अलपत्र अवस्थामा छन् । रासस
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ११ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २० पैसा र बिक्रीदर ३८ रुपैयाँ ३६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३ रुपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५६ पैसा र बिक्री दर १९ रुपैयाँ ६४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर चार सय ५३ रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६९ रुपैयाँ ४४ पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ०३ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ६१ रुयैयाँ ६६ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ २२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमार्फत मुद्दती खाता खोल्न सकिने
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकको मोबाइल बैंकिङ एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने भएको छ । अब ग्राहकले बैंकमा भौतिक रुपमा उपस्थित नभई मोबाइल एप, के.एस. आई मोबाइल बैंकिङमार्फत सहज, सुरक्षित र छिटो तरिकाले मुद्दती खाता खोल्न सक्ने छन् । ग्राहकले बैंकमा जानुपर्ने झन्झटबाट मुक्त हुँदै घरमै बसेर मुद्दती खाता खोल्न व्यवस्था ल्याएको हो । के एस आइ मोबाइल बैंकिङमा लगइन गरी पिक्स्ड् डिपोजिट छनौट गरी आफूले चाहेको निक्षेप रकम भरी सजिलै यो सेवा लिन सकिने छ । बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै ग्राहकको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ्ग प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।
कर्भ इभी नेपालमा सार्वजनिक, टप भेरिएन्टको मूल्य ५६ लाख ९९ हजार
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा कर्भ ईभी नेपालमा सार्वजनिक गरेको छ । एक कार्यक्रमका बिच सार्वजनिक गरिएको टाटा कर्भ ईभीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । एसयूभी कुपे डिजाइनको टाटा कर्भ ईभीको टप भेरिएन्ट मात्र नेपालमा उपलब्ध हुने छ । यसकारण यो मूल्य टाटा कर्भ ईभीको टप भेरिएन्टको मूल्य हो । अन्य मोडल भने नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुने छैन । यसमा ५५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसले सिंगल चार्जमा ५०२ किलोमिटर रेन्ज दिने बताइएको छ । नेपालका लागि कम्पनीले यसको टेस्टिङ रेन्ज ३८० किलोमिटर भनेको छ । यसमा ९८ किलोवाटको मोटर रहेको छ । यसलाई इको, सिटी र स्पोर्ट मोडमा ड्राइभ गर्न सकिन्छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४३१०, १८१० र १६३७ एमएम रहेको छ भने ह्विलबेस २५६० एमएम छ । १८६ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको टाटा कर्भ ईभीमा ५०० लिटरको बुट स्पेस छ भने टर्निङ रेडियस ५.३५ मिटर छ । १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ भने ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट टचस्क्रिन छ । एसयूभीमा ६–वे पावर एडजस्टेबल ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट, रिक्लाइनिङ रियर सिट, पानोरामिक सनरुफ, ९ स्पिकर जेबीएल साउन्ड सिस्टम र जेस्चर कन्ट्रोल इलेक्ट्रिक टेलगेट जस्ता सुविधा पाउन सकिन्छ । २० भन्दा बढी सेफ्टि फिचर पाउन सकिने कर्भ ईभीमा लेभल–२ एडास, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटरिङ सिस्टम, ६ एयरब्याग, ईएसपी र अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक लगायत सुविधा दिइएको छ ।
सिटिजन लाइफ ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई एचआरएम नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा कर्पोरेट एक्सिलेन्स अवार्ड बाट सम्मान गरिएको छ । यस अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट सिटिजन लाइफले यस अवार्ड जित्न सफल भएको हो । नेपाली बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन आदि अध्ययनका आधारमा सिटिजन लाइफ उत्कृष्ट कम्पनीको रुपमा पुरस्कृत भएको हो । मंगलबार आयोजित समारोहका बीच सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलका साथै नायब प्रमुख कार्यकारी अधिकृत दिपबहादुर बीसीलाई आयोजकका तर्फबाट अवार्ड प्रदान गरिएको थियो । सिटिजन लाइफ नेपालमा बीमाको दिगो विकास रणनीति तथा बीमाको पहुँच वृद्धिका लागि जनस्तरमा पुगेर बीमा सेवा सञ्चालन गर्दै आइरहेको कम्पनी हो । स्थापनाको छोटो अवधिमा सिटिजन लाइफले उत्कृष्ट र नतिजामुखी बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।
प्राधिकरणले भन्यो-नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुँदैन
काठमाडौं । नेपाल भारतबीच आदानप्रदान हुने बिजुलीको वृद्धिदर अहिलेसम्मकै कम दरमा वृद्धि भएको दाबी नेपाल विद्युत प्राधिकरणले गरेको छ । विद्युत प्राधिकरणले मंगलबार प्रेस विज्ञप्तिमार्फत जम्मा १.५ प्रतिशतले मात्रै शुल्क वृद्धिभएको यो दर उच्च भएको भन्दै गरिएको नकारात्मक टिप्पणीप्रति ध्याकषर्ण भएको उल्लेख गरेको छ । नेपाल–भारतबीचको विद्युत आदान–प्रदान सम्झौता अन्तर्गत विद्युत आदान–प्रदान समितिको गत माघ ३० गते भारतको नयाँ दिल्लीमा सम्पन्न बैठकबाट भएका निर्णयका बारेमा विभिन्न सञ्चार माध्यम एवम् सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीप्रति नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण भएको प्राधिकरणले उल्लेख गरेको छ । सन् १९८५ देखि कार्यान्वयनमा आएको समितिको बैठक भारतको केन्द्रीय विद्युत प्राधिकरणको सदस्य र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको सहअध्यक्षतामा बस्ने व्यवस्था रहेको छ । सोहि बमोजिम बसेकोे बैठकबाट सन् २०२५ को अप्रिलबाट २०२६ को मार्च सम्मका लागि १३२, ३३ र ११ के.भी. प्रसारण लाइनमार्फत आदान– प्रदान गरिने विद्युतको प्रतियुनिट दर क्रमशः ८.१०, ८.७८ र ९.४१ भारतीय रुपैयाँ तय गरिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताएका छन् । घोषले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै विगतका वर्षहरुमा औसत रुपमा ५.५ प्रतिशत मूल्यवृद्धि हुने गरेकोमा यस वर्षको बैठक सन् २०२४ अप्रिलदेखि २०२५ मार्चसम्मका लागि तय गरिएको दरमा १.५ प्रतिशत मात्र वृद्धि हुने व्यवस्था गरिएको छ । हाल तय गरिएको दर अहिलेसम्मकै सबैभन्दा कम वृद्धि भएको दर हो । आवश्यक परेमा मात्र यस सम्झौता बमोजिम सुख्खायामका महिनाहरुमा मुख्यरुपमा साँझ ४ बजेदेखि राति ९ बजेसम्म र भारतीय इनर्जी एक्सचेन्जबाट प्रतिस्पर्धा गरी विद्युत आयात स्वीकृति नभएको अवधिमा मात्र आयात गरिने छ । हाल तय गरिएको नयाँ दर भारतीय इनर्जी एक्सचेन्जमा पिक समयमा पर्ने करिब प्रति युनिट १० रुपैयाँ भारुभन्दा सस्तो रहेको छ । आवश्यकता अनुसार विद्युत आयात गर्नुपर्दा मात्र उक्त दर तिर्नु पर्नेछ । विद्युत आयात नगरेका कारण तय गरिएको दर या अन्य कुनै जरिवाना तिर्नु पर्ने र लिनैपर्ने बाध्यकारी व्यवस्था गरिएको छैन । विगतमा भएगरेका प्रचलन तथा अभ्यास बमोजिम ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा बैठकका एजेण्डाका विषयमा छलफल गरिएको थियो । नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक अघिल्लो दिन र विद्युत आदान–प्रदान समितिको बैठक भोलिपल्ट राख्न दुवै पक्षबीच सहमति भएको थियो । सोही बमोजिम तय गरिएको बैठकमा मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासका प्रतिनिधिहरुको पनि सहभागिता थियो । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री माननीय दीपक खड्का र सचिव सुरेश आचार्य सोही समयमा भारत भ्रमणमा रहेकोबेला दुवै जनासँग छलफल गरी नयाँ दर तय गर्ने विषयमा म्याण्डेट लिईएको थियो । विगतका वर्षहरुमा पनि यसरी नै दर कायम गर्ने प्रचलन तथा अभ्यास रहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । उक्त दर नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिबाट अनुमोदन र विद्युत नियमन आयोगबाट स्वीकृति पाएपछि मात्र लागू हुनेछ । यसबारेमा निर्णय गर्न दुवै निकाय सक्षम छन् । सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत भए पश्चात अप्रिल २०२५ देखि मात्र तय गरिएको नयाँ दर लागू हुनेछ । सञ्चालक समितिको बैठक राख्न खोज्दा विगत लामो समयदेखि बैठक बस्न सकिरहेको छैन । यदि सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नहुने अवस्था आएमा विद्युत आदान प्रदान सम्झौता बमोजिम विद्युत आयात नहुने पनि प्रष्ट पार्न चाहन्छौं । हाल बिहारको रक्सौल–परवानीपुर र उत्तर प्रदेशको मैनहिया–सम्पत्तिया १३२ के.भी. प्रसारण लाइनबाट पिक समयमा दैनिक करिब १९० मेगावाट विद्युत आयात गरिएको छ । अन्य समयमा भारतीय इनर्जी एक्सचेन्जबाट प्रतिस्पर्धाबाट विद्युत आयात हुँदै आएको छ ।
प्रधानमन्त्री ओलीद्वारा महाशिवरात्रिको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन् । मङ्गलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गरेका हुन् । उनले ‘महाशिवरात्रिको शुभकामना ! जय पशुपतिनाथ !!’, लेखेका छन् । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक भगवान् शिवको पूजाआराधना गरी मनाइँदैछ ।