काठमाडौं । आन्तरिक राजस्व विभागले कर विवरण नबुझाउने १ लाख करदाताको सूची सार्वजनिक गरेको छ । विभागले लगातार ६ महिनासम्म कर विवरण पेश नगर्ने ९५ हजार ३४९ करदाताको सूची सार्वजनिक गरेको हो ।
मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (८) मा लगातार ६ महिनासम्म कर विवरण पेश नगर्ने करदाताको नाम सार्वजनिक गरी त्यस्तो करदाताको करकट्टी गर्नुपर्ने रकम बाँकी भए रोक्का राख्न र निजको दर्ता समेत निलम्बन गर्न सकिने व्यवस्था छ । सोही व्यवस्था बमोजिम विभागले करदाताको सूची सार्वजनिक गरेको जनाएको छ ।
विभागले १५ दिनभित्र कर विवरण पेश गरी आफ्नो कारोबार नियमित गर्न जानकारी गराएको भएपनि विवरण नबुझाएपछि करदाताहरूको करकट्टी रोक्का राखी मूल्य अभिवृद्धि कर दर्ता निलम्बन गरिएको जनाएको छ ।
निलम्बित रहेका करदातासँग खरिद वा बिक्री कारोबार नगर्न विभागले सबैसँग अनुरोध गरेको छ । साथै, निलम्बन भएका करदाताको निलम्बन अवधिसम्म निकासी र पैठारी सम्बन्धी कारोबार रोक्का गर्न विभागले भन्सार विभागलाई समेत पत्राचार गरेको छ ।
यस्तै, दर्ता निलम्बन भएका करदाताहरूले कर विवरण पेश गरी कारोबार नियमित गरी दर्ता कायम राख्न चाहेमा बाँकी सबै अवधिको कर विवरण पेश गरेपछि लिनम्बनबाट स्वतः हट्ने व्यवस्था मिलाइएको छ । साथै कुनै करदाताको दर्ता निलम्बन हुनु नपर्ने कुनै कारण, दाबी विरोध वा असुविधा परेमा व्यवसाय दर्ता रहेको सम्बन्धित आन्तरिक राजस्व कार्यालय (ठूला करदाता कार्यालय र मध्यम स्तरीय करदाता कार्यालय समेत) तथा करदाता सेवा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।