विकासन्युज

लहानमा अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरु

फाइल फाेटाे गोलबजार । इलाका प्रशासन कार्यालय लहानले अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरुआत गरेको छ । सूचना अधिकारी शशिकुमार चौधरीले ४० वटै वडा कार्यालयबाट नागरिकले सहज ढङ्गबाट त्रुटिरहित र जन्मदर्तासँगै नागरिकता विवरणमा एकरुपता ल्याउने उद्देश्यले यो सेवा सुरु गरेको जानकारी दिए । गृह मन्त्रालयको योजनाअनुरुप वडा कार्यालयबाट अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस भएर आउँदा पहिलो दिन लहान नगरपालिका–१५ का अनुसा चौधरी र लहान नगरपालिका–१ का हेमशङ्कर साहुलाई नयाँ नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख गोकर्णराज सुयालले जनाए । उनले भने, ‘वडामा अनलाइन दर्ता गर्दा केही कागजात अपुग भए अनलाइनमै इलाका प्रशासनले सच्याउन लगाउँछ । अनलाइन भइसकेका कागजात हेरेर नागरिकता दिने गर्छ ।’ विस्तारै कागज लिएर आउनु नपर्ने बनाउने कार्य भइरहेको उनले बताए । कार्यालयका अनुसार वडामा अनलाइन भरिसकेका सेवाग्राही कार्यालयबाट अब नागरिकता लिएर मात्र फर्किन्छन् । पहिलेजस्तो धेरैपटक दौडधुप गर्ने अब हुँदैन । इलाका प्रशासन कार्यालय लहनाको कार्यक्षेत्रमा लहान नगरपालिका, भगवानपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिकाका सबै वडा र धनगढीमाई नगरपालिकाको वडा नं १२, १३ र १४ यस्तै लक्ष्मीपुरपतारी गाउँपालिकाका वडा नं २, ६ र नवराजपुर गाउँपालिकाको वडा नं १ रहेको कार्यालयले जनाएको छ ।

गरिबलाई धपाएर धनीलाई भित्र्याउने ट्रम्पको रणनीति, ल्याए ५० लाख डलर पर्ने आफ्नै नामको ‘गोल्ड कार्ड’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘गोल्ड कार्ड’ आवासीय अनुमति ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक गरेका छन् । ट्रम्पले परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण नयाँ भिसाको बिक्रीले रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने बताएका छन् । ‘हामी ‘गोल्ड कार्ड’ भिसा बेच्ने तयारी गरिरहेका छौं, हामी त्यो कार्डको मूल्य करिब ५० लाख अमेरिकी डलर मूल्य राख्ने तयारी गरिरहेका छौँ,’ ट्रम्पले ओभल अफिसमा पत्रकारहरुसँग भने । आफ्नो दोस्रो कार्यकालको पहिलो प्राथमिकता लाखौं गैरकानुनी आप्रवासीलाई देश निकाला गरेका रिपब्लिकन राष्ट्रपति ट्रम्पले नयाँ कार्ड अत्यधिक मूल्यवान् अमेरिकी नागरिकताको मार्ग हुने बताएका छन् । ‘धेरै मानिसहरू यो देशमा बस्न चाहन्छन्, र उनीहरूले काम गर्न, रोजगारी प्रदान गर्न र कम्पनीहरू निर्माण गर्न सक्षम हुनेछन् र यसरी आउने पैसा भएका मानिसहरू हुनेछन्,’ उनले भने । करिब दुई हप्ताभित्र कार्डको बिक्री सुरु हुने ट्रम्पले बताए । ‘हामी यी कार्डहरू मध्ये १० लाख बिक्री गर्न सक्षम हुनेछौं, हामीले यो सबै काम अमेरिकी कानुन अनुरूप नै गरेका छौं,’ ट्रम्पले भने । उनले नयाँ गोल्ड कार्डको लागि सबै आवेदकहरूलाई सावधानीपूर्वक जाँच गरिने बताए । तर, धनी रुसीहरुले पनि आवेदन दिन पाउँछन् कि सक्दैनन् भन्ने प्रश्नमा ट्रम्पले यो सम्भावना रहेका बताए । ‘सम्भवतः म केही रूसी कुलीन वर्गहरूलाई चिन्दछु जुन धेरै राम्रो मानिसहरू हुन्, यो सम्भव छ,’ ट्रम्पले भने, ‘उनीहरू पहिलेजस्तो धनी छैनन्, मलाई लाग्छ कि उनीहरूले गर्न सक्छन्, मलाई लाग्छ उनीहरूले ५० लाख डलर खर्च गर्न सक्छन् ।’ तीन वर्षअघि मस्कोले युक्रेनमाथि आक्रमण गरेयता थुप्रै रुसी कुलीन वर्गपश्चिमी प्रतिबन्धको चपेटामा परेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै रुसमाथिको प्रतिबन्ध फुकुवा गर्न कुनै न कुनै समयमा सम्भव भए पनि अहिले वार्ताको टेबलमा नरहेको बताए । ओभल अफिसमा ट्रम्पको छेउमा उभिएका अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकले गोल्ड कार्डको बारेमा भने, ‘हामी त्यो पैसा हाम्रो घाटा कम गर्न प्रयोग गर्न सक्छौं ।’ लामो व्यावसायिक करियरमा होटल र क्यासिनोको शृङ्खलाबद्ध ब्रान्डिङ गरेका ट्रम्पले नयाँ कार्डको नाम पनि आफ्नो नाममा राख्न सकिने सुझाव दिए । कसैले भन्यो, ‘के हामी यसलाई ट्रम्प गोल्ड कार्ड भन्न सक्छौं ?’ प्रतिउत्तरमा मैले भने, भनेँ, ‘यदि यसले मद्दत गर्छ भने, ट्रम्प नाम प्रयोग गर्नुहोस् ।’ एजेन्सी

महाशिवरात्रिका दिन आज पशुपति क्षेत्रबाट ७५ जना पक्राउ

काठमाडौं । महाशिवरात्रिको दिन आज आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने ‘महाशिरात्रिका दिन आज पशुपतिमा निषेधित गरिएको चिज खाएर होहल्ला गर्ने, अवाञ्छित गतिविधि गर्ने ७५ जनालाई हामीले पक्राउ गरेका छौँ ।’ पक्राउ परेकामध्ये केहीलाई प्रहरी वृत्त गौशाला र केहीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको प्रहरीले जनाएको छ । आज महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रहरी उपरीक्षकको कमाण्डमा चार हजार दुई सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पशुपतिनाथको दर्शनका लागि आज बिहानैदेखि हजारौँ भक्तजनको भीड लागेको छ । भक्तजनको सुविधाका लागि विकास कोषले बिहान २ बजेदेखि पशुतिनाथका चारवटै ढोका खोलिएको र कम्तीमा १० मिनेटमा भक्तजनलाई दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र निष्कासन

काठमाडौं । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तीन अर्ब रुपैयाँको नागरिक बचतपत्र र ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ । कार्यालयले बुधबार सूचना जारी गर्दै ‘नागरिक बचतपत्र–२०८६’ र ‘वैदेशिक रोजगार बचतपत्र–२०८६’ निष्कासनसम्बन्धी जानकारी दिएको हो । पाँच वर्ष अवधिका नागरिक बचतपत्रमा सात प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा साढे आठ प्रतिशत ब्याज उपलब्ध गराइने कार्यालयले जनाएको छ । यहि फागुन १५ गतेदेखि आगामी चैत १५ गतेसम्म बचतपत्रका बिक्री खुला रहने र उक्त अवधि अगावै निष्कासित रकम बराबरको आवदेन परेमा बन्द गरिने जनाइएको छ । यी बचतपत्रको ब्याज प्रत्येक छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुनेछ । घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने कार्यालयले जनाएको छ । पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउनेछन् । बचतपत्रमा गरिने लगानीबारे सर्वसाधारणलाई जानकारी रहुँदा निष्कासन गरिएको रकमभन्दा न्यून आवेदन पर्ने गरेका छन् । यसअघि कार्यालयले गत मङ्सिर १२ गतेदेखि निष्कासन गरेको वैदेशिक रोजगार बचतपत्र, २०८६ (क) मा करिब १२ प्रतिशत बराबर मात्रै बचतपत्र खरिदका लागि आवेदन परेको थियो । सहज र सुरक्षित तबरले आकर्षक प्रतिफल दिने सरकारी उपकरण बचतपत्रको ब्याजदर अहिले बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा दिइरहेको ब्याजदरभन्दा दुईदेखि साढे दुई प्रतिशत बिन्दुले बढी हो । यसमा सरकारले मूलधनको सुनिश्चत गरेको हुँदा सुरक्षित लगानी मानिन्छ । साथै, बचतपत्रको ब्याज रकम हरेक छ महिनामा खरिदकर्ताको बैंक खातामा सिधैँ जम्मा हुन्छ । यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिन्छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स (डिओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत यी बचतपत्रको सहजै कारोबार गर्न सकिन्छ ।

न्याय सम्पादनमा सहज बन्दै डिजिटल प्रविधि

देउखुरी । तुलसीपुर उपमहानगरपालिका–१८ का दुई दाजुभाइको बीचमा जग्गाको विषयमा विवाद भयो । दाजुले तुलसीपुरको न्यायिक समितिमा एसएमएसमार्फत निवेदन दिए । दुई भाइलाई एसएमएसमार्फत न्यायिक समितिले छलफलका लागि बोलायो । दुईमध्येका एक भाइले जग्गा रोक्का राखेकाले विवाद उत्पन्न भएको थियो । विवादित दुवै पक्षलाई बोलाई न्यायिक समितिमा छलफल गरियो । जग्गा फुकुवा गर्न दुवै जना सहमति भएपछि दुवैको जित हुने किसिमले आगामी दिनमा विवाद नगर्ने कागज गरिएको तुलसीपुर उपमहानगरपालिका कानुनी मामिला शाखा प्रमुख लक्ष्मी रानाले जानकारी दिइन् । उपमहानगरपालिकाले प्रविधि प्रयोग गरेर सेवा दिँदा छिटोछरितो र सहज भएको सेवाग्राहीको भनाइ छ । तुुलसीपुर उपमहानगरपालिका–५ की एक महिलाले घरपरिवारका सदस्यले इज्जतअनुसार खान लाउन नदिएको कारण आफूसँगै बस्न नसक्ने कारण देखाई उपमहानगरपालिको न्यायिक समितिमा उजुरी दिइन् । न्यायिक समितिले उनी र उनको परिवारलाई बुझ्नका लागि बोलायो । पहिलो चरणको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि दोस्रो चरणको छलफलमा बोलाउँदा एसएमएसबाट खबर गरियो र दुवै जनाको जित हुनेगरी मुद्दा किनारा लगाइयो । पालिकामा डिजिटल प्रविधिको प्रयोग भएका कारण छिटोछरितो न्याय पाएको उनले बताइन्। उपमहानगरपालिकाले २०७८ वैशाख १० गते तथ्याङ्क ऐन जारी गरेको थियो । आव २०८१/८२ को बजेटमा प्रविधियुक्त पालिका बनाउने अभियानको तयारी पूरा गरेको तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले जानकारी दिए । शिक्षा, पञ्जीकरण, योजना बजेटमा डिजिटल प्रणाली सुरु भएपछि गलत तथ्याङ्क दिएर सेवासुविधा लिने प्रवृत्ति पूर्ण रूपमा बन्द भएको छ । सूत्र प्रणाली कार्यान्वयनमा आएपछि योजना बजेटपछि थप गर्ने प्रवृत्ति बन्द भएको पालिकाले जनाएको छ । पालिकाको पूर्ण जनसाङ्ख्यिक विवरणसमेत रहेको छ । नगरबाट प्रवाह हुने सबै प्रकारका सेवालाई अनलाइन प्रविधिमा रुपान्तरण गरिन थालेको छ । एकीकृत तथ्याङ्क प्रणालीलाई व्यवस्थित गरी अभिलेख व्यवस्थापन तथा सूचना प्रवाहलाई थप प्रभावकारी बनाउँदै लगिएको छ । वडा नं ६ बाट आरम्भ गरिएको सेवा अन्य वडाहरूले पनि परीक्षण गरिरहेका छन् । उपमहानगरपालिकालाई कागजरहित बनाउने नीतिअनुरुप वडा नं ६ बाट ई–सिफारिसको काम सुरु भएको हो । अब नागरिकले आफूलाई आवश्यक परेका कुनै पनि कागजात अनलाइनमा प्रक्रिया पूरा गरेपछि मोबाइलबाटै सजिलै प्राप्त गर्न सकिने वडाध्यक्ष दुजमान भण्डारीले बताए । ‘ई–सिफारिस सेवाका लागि मोवाइलको प्ले–स्टोरमा गएर ‘तुलसीपुर एसएमएस एप्लिकेसन डाउनलोड’ गरेर सेवा लिन सकिन्छ’, उनले भने, ‘सेवाग्राहीले आफूलाई आवश्यक परेका पञ्जीकरण (जन्मदर्ता, विवाह दर्ता, बसाइँसराइ, मृत्यु दर्ता) बाहेकका सबै सेवा अनलाइनबाट लिन सक्छन् ।’ यो सेवाले पालिकालाई कागजरहित बनाउने अभियानलाई सहयोग पुग्ने र नागरिकको समय बचत हुने वडाध्यक्ष भण्डारीले बताए । उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत सविन केसीले ई–सिफारिस सेवा लिन सबैभन्दा पहिला मोबाइल एप्स डाउनलोड गर्नुपर्ने र डाउनलोड गरेर रजिष्टेशन गरिसकेपछि चाहिएको सिफारिस लिन आवश्यक कागजात ‘अपलोड’ गरेर निवेदन दिन सकिने बताए । सूचना प्रविधि अधिकृत केसीका अनुसार तत्कालका लागि वडाबाट प्रदान गरिने ३४ प्रकारका सिफारिस अनलाइनबाटै प्राप्त गर्न सकिनेछ । आर्थिक वर्ष २०८०/८१ मा जिम्मेवारी सरी आएका ९० वटा मुद्दा थिए । यस आवमा २६ मुद्दा दर्ता भएकामा आठवटा मिलापत्र भइसकेका, १८ वटा प्रकृयामा रहेको उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले जानकारी दिइन् । डाटा प्रणालीबाट काम गर्दा दोहोरिनेको सङ्ख्या कम भएकाले मुद्दा छिटो किनारा लागेको उनको भनाइ छ । तथ्याङ्क राख्न सजिलो भएको र न्याय सम्पादनमा डाटा प्रणालीले सकारात्मक प्रभाव पारेको उनले बताइन् । न्याय सम्पादन प्रभावकारी बन्दै जाँदा नागरिकको यसप्रति विश्वास पनि बढेको छ । पछिल्लो समय पीडितको उजुरी अनलाइनबाट लिने गरेकाले उजुरी गर्न वडा वा पालिकामा आउनुपर्ने झन्झट कम भएको छ । समय र खर्चको बचत हुने भएपछि नागरिक खुसी भएको उनले बताइन् । त्यसैगरी रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका–४ की रामेश्री सिंहले मोबाइल एपका सहायताले वडा र पालिकाको गतिविधि थाहा पाउने गरेको बताए । पालिकामा न्यायिक समितिले अनलाइनबाट निवेदन लिन र सूचना प्रवाह गर्न थालेपछि सजिलो भएको बताए । पालिकाका सबै कार्यक्रमका बारेमा मोबाइल एपबाट थाहा पाउने गरेको उनले बताए । प्रविधिमैत्री भएपछि घरमै बसेर पालिकाका सबै सेवा लिन सजिलो भएको उनको भनाइ छ । गाउँपालिकाको न्यायिक समितिले विवाद किनारा लगाउने गरेको छ । आव २०८१/८२ मा आठवटा विवाद दर्ता भएको पालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले जानकारी दिइन् । न्यायिक समितिमा आउने उजुरीका निवेदन अनलाइनबाट लिने गरेको उनले बताइन् । शुद्धोदन गाउँपालिका सूचना प्रविधि अधिकृत ईश्वरी न्यौपानेका अनुसार एसिया फाउन्डेसन नेपालअन्तर्गत विकासका लागि तथ्याङ्क परियोजना, बेलायत सरकारको सहयोगमा सञ्चालित कार्यक्रमले ई–सिफारिसका लागि सहयोग गरेकाले पालिकामा काम गर्न सहज भएको छ । अब सानो निवेदन दिन पनि वडामा जानुपर्ने बाध्यता हटेको छ । पालिकामा आउँदा प्रत्येक शाखामा जानुपर्ने झन्झट थियो, अहिले सबै शाखालाई समेटेर काम गरेकाले सजिलो भएको छ । सबै शाखाको ‘आइडी’ बनाएर एकीकृत सूचना व्यवस्था प्रणालीबाट काम गरेको उनले बताइन् । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले डिजिटल कार्यक्रममा ई–सिफारिसलाई सुरुआत गरेको जानकारी दिए । उनका अनुसार कागजरहित अभियान चलाएर काम अगाडि बढाइएको छ । डिजिटल सेवाका लागि सबै वडामा स्वयंसेवक नियुक्ति गरेर काम अगाडि बढाएको र प्रविधिको समय भएकाले प्रविधिमैत्री पालिका बनाउन थालिएको उनले बताए । देशविदेशमा रहेका नागरिकलाई सेवा दिने उद्देश्यले काम सुरु गरेको उनको भनाइ छ । आइडिएमयस लागू भएपछि काम गर्न धेरै सजिलो भएको छ । एसिया फाउन्डेसनका लुम्बिनी प्रदेश प्रमुख गोविन्द बस्नेतले तुलसीपुर उपमहानगरपालिका र शुद्धोधन गाउँपालिकाले आफ्ना सेवालाई स्मार्ट बनाउने उद्देश्यले डिजिटल हाजिरी, मोबाइल एप, ई–सिफारिस, वेबसाइट निर्माण, कम्प्युटर र इन्टरनेटको प्रयोगलगायतका काम अगाडि बढाएको बताए । डिजिटल प्रविधिले काम गरेमा सेवाग्राहीलाई छिटोछरितो र भरपर्दो तरिकाले सेवा प्रदान गर्न सकिने उनको भनाइ छ । देशभरका सबै पालिकालाई डिजिटल प्रविधिमा रुपान्तरण गर्नसके जनप्रतिनिधि र कर्मचारीको कार्यक्षमतामा समेत वृद्धि हुने उनी बताउँछन् । दाङका कानुन व्यवसायी अर्जुन अधिकारीले पालिकाबाट दिइने न्याय सेवालाई प्रविधिसँग जोडेर अघि बढाएमा सेवा लिन र दिन छिटोछरितो हुने बताए । सेवालाई प्रविधिसँग जोड्दा पारदर्शिता, सुशासन कायम गर्नसमेत मद्दत पुग्ने उनको भनाइ छ । तथ्याङ्क र प्रमाणलाई आधार मानेर योजना निर्माण गर्ने र वास्तविक र लक्षित समुदायसम्म सेवा पुर्याउन सहज हुने उनको धारणा छ । रासस

कुइन टावर नामकरण गरिएको होटल बन्दीपुर हिल अन्तिम चरणमा

तनहुँ । बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटल बन्दीपुर हिल अन्तिम चरणमा पुगेको छ । सत्र तले कुइन टावर नामकरण गरिएको सो होटल आगामी जेठ महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । बन्दीपुर–४ बरालथोकमा निर्माणाधीन सो होटलबाट माछापुच्छ्रेदेखि लाङटाङसम्मको हिमशृङ्खला र अन्य मनोरम दृश्यावलोकन गरी मज्जा लिन सकिने छ । त्यसैगरी, बजार क्षेत्रलाई हेर्न सकिन्छ, जुन पर्यटकका लागि पृथक र रोचक अनुभव हुनसक्ने बताइएको छ । बन्दीपुर हिलले प्याकेजका रूपमा र्याफ्टिङ, रकक्लाइमिङ, जीपलाइन स्काइसाइक्लिङलगायत साहसी खेलको गन्तव्यका रूपमा विकास गर्न लागेको बन्दीपुर हिलका महाप्रबन्धक रोमनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस होटलमा ८० कोठा रहने छन् । परियोजनाले तल्लो स्टेशनमा तीन अर्ब ८३ करोड रुपैयाँ लगानी गरिसकेको छ । परियोजनाको कुल लागत छ सय २९ करोडमध्ये करिब चार सय ३३ करोड बराबरको काम सम्पन्न गरिसकेको बताइएको छ । ‘साहसिक खेलका साथै खड्गदेवी मन्दिरको दर्शन गर्न सकिन्छ, बन्दीपुरमा घुम्न आउने पर्यटकले पृथक अनुभव लिन सक्नेछन्’, महाप्रबन्धक श्रेष्ठले भने, ‘रेशमी खेती, मौरीपालनसँगै समुदायको विकासका लागि बन्दीपुर हिललाई सामूहिक उद्यमी क्षेत्रमा नमूना बनाइँदैछ ।’ बन्दीपुर–४ ठुलढुङ्गास्थित केबलकारको तल्लो स्टेशन ८० रोपनी क्षेत्रफलमा होटलसहितका मनमोहक उद्यान निर्माण गरिएको छ, जुन पृथ्वीराजमार्ग सडक छेउमा रहेको छ । एक हजार छ सय १६ मिटर लामो केबलकार करिब सात मिनेटमा पार हुने छ । केबलकार यात्राको क्रममा तल्लो स्टेशनबाट माथिल्लो स्टेशनतर्फ जाँदै गर्दा ९० डिग्रीको कोणमा आकाशतर्फ उडिरहेको आभास गर्न सकिन्छ । केबलकार सञ्चालनको पहिलो वर्ष कम्पनीको विशेष अफरमा रु पाँच सयमा आवतजावत गर्न सकिने छ । अन्य दिनमा आठ सयदेखि नौ सय र बिदाका दिनमा एक हजारदेखि एक हजार दुई सय जनासम्मले केबलकारको यात्रा गर्ने गरेका छन् । बन्दीपुर हिलमा हाल एक सय २० जना कर्मचारी कार्यरत छन् । यस परियोजनालाई नेपालकै गौरवको रुपमा लिइएको छ । नेपालकै पहिलो टियूभी प्रमाणपत्र प्राप्त गरिसकेको छ । टियुभी नर्ड जर्मनीअन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरीवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको हो । विसं २०८१ जेठ ३१ गतेबाट व्यावसायिक रूपमा केबलकार सञ्चालनमा ल्याइएको हो । बच्चादेखि ज्येष्ठ नागरिकसम्मका लागि लक्षित गरी परियोजना बनेको सो कम्पनीले जनाएको छ । ‘लोड परीक्षण तथा केबलकार अपग्रेड गरी सम्पूर्ण हिसाबले सुरक्षाको प्रत्याभूति गराएपछि अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र, (टियुभी सर्टिफिकेट) प्राप्त भएको छ’, श्रेष्ठले भने, ‘कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएर पूर्ण सुरक्षित वातावरण बनेपछि मात्र सर्वसाधारणका लागि केबलकार सञ्चालनमा ल्याएका हौँ ।’ वर्षको एक दिन महाअष्टमीका दिनमात्र सर्वसाधारणका लागि खुला हुने बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिरमा अब हरेक दिन दर्शन गर्न सकिने कम्पनीले जनाएको छ । यसअघि नै केबलकारको तल्लो स्टेसनमा अत्याधुनिक सुविधासहितको रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा ल्याइसकेको छ । विदेशी तथा स्वदेशी पर्यटकलाई अन्तरराष्ट्रियस्तरको (पाँच तारे) सरहको सुविधा प्रदान गर्ने उद्देश्यले वैशाख १ गतेदेखि रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा ल्याइएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । त्यस्तै तल्लो स्टेशनमा जङ्गली म्युजियम, चिल्ड्रेन जोन, ३३ कोटी देवीदेवताका मूर्तिसहितको आकर्षक पार्क सञ्चालनमा ल्याइएको छ । समग्र बन्दीपुर हिल गुरुयोजना अनुसारका सबै संरचना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । केबलकारको ३१ गोण्डलामध्ये २१ वटा यात्रु बोक्ने गोण्डला रहेको सो परियोजनाले जनाएको छ ।

‘एक रोपनी जग्गा हुनेले वर्षमै करोड बढी कमाउँछन्, गाँजा खुला गर्नैपर्छ’

काठमाडाैं । नेकपा एमालेका दुई जना नेताहरु शेरबहादुर तामाङ र केशव स्थापित लामो समयदेखि गाँजाको प्रयोगलाई वैधानिक बनाउनु पर्ने आवाज उठाइरहेका छन् । पूर्वमन्त्रीसमेत रहेका तामाङले र बागमती प्रदेश पूर्वमन्त्री समेत रहेका केशव स्थापितले लामाे समयदेखि गाँजा वैधानिक हुनु पर्ने माग उठाइरहेका छन् । अहिले कार्यान्वयनमा रहेको लागू औषध नियन्त्रण कानुन अनुसार गाँजाखेती, सेवन, ओसार पसार र विक्री वितरण गर्न प्रतिवन्ध लगाइएको छ । यस्तो प्रतिबन्ध लगाउने कार्य हचुवाको भरमा भएको, अध्ययन अनुसन्धानविनै प्रतिबन्ध लगाएर नेपालको आर्थिक अवस्था कमजोर पार्ने कार्य भएको तामाङ र स्थापितको भनाइ रहँदै आएको छ । गाँजा खेती खुल्ला गर्नुपर्ने आवश्यक किन पर्यो ? गाँजाको महत्व के छ ? भन्ने लगायतका विषयमा पूर्वमन्त्रीद्वय तामाङ र स्थापितसँग विकासन्युजले संयुक्त कुराकानी गरेको थियाे । साेही कुराकानीलालाई हामीले आज शिवरात्रीको अवसर पारेर पुनः प्रकाशन तथा प्रसारण गरेका छौं ।

बुटवलमा दिपलको स्टेट-अफ-आर्ट सोरुम सञ्चालनमा

बुटवल । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बुधबारबाट लुम्बिनीको बुटवलस्थित कालिकानगरमा दिपलको नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । एमएडब्लु वृद्धिले जेनस मोटर्समार्फत लुम्बिनी प्रदेशका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो । दिपलको नयाँ सोरुमको उद्घाटन बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ र जेनस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्रकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । यसै अवसरमा संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ को विक्री पनि सुरु गरिएको छ । कम्पनीका अनुसार बुटवलमा नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले भैरहवास्थित मौर्य होटलबाट बिहीबारबाट तीनदिनका लागि टेस्ट ड्राइभ द फ्युचर नाम दिइएको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ । यो अवधिमा लुम्बिनी प्रदेशका इभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीहरु दिपल ई०७, दिपल एस०७ र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्नेछन् । टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले फ्रि डाइमण्ड कोटिंग, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स चेन्ज बोनस पनि पाउनु हुनेछ । यसका अलावा दिपलका इभी टेस्टड्राइभ गर्नु हुने सबैले दिपलको तर्फबाट उपहार पाउने कम्पनीले जनाएको छ । दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो इभी नेपाली बजारमा सात सयभन्दा बढी विक्री भइसकेको छ ।