काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएपछि विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसहित आठ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर गरिएको छ ।
सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख रामहरि शर्माका अनुसार, काठमाडौं जिल्ला अदालतमा दुर्गा प्रसाईं, हरिहरि चौलागाईं, सरोज गौतम (तारा राजावादी), शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध मुद्दा दायर गरिएको हो ।
तीनकुनेमा भएको प्रदर्शनका क्रममा सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । सोही घटनामा संलग्न आरोपमा उनीहरूलाई प्रतिवादी बनाइएको हो ।
चैत १५ गते राजसंस्था पुनःस्थापनाको माग गर्दै आयोजना गरिएको प्रदर्शनको नेतृत्व दुर्गा प्रसाईंले गरेका थिए, जुन समयक्रममा हिंसात्मक बनेको थियो ।