राजावादीको आन्दोलनका दिन काठमाडौं नियन्त्रणमा लिन एमाले कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरूले आन्दोलन गर्ने घोषणा गरेको जेठ १५ गते राजधानी काठमाडौंलाई एमाले कार्यकर्ताले नियन्त्रणमा लिनुपर्ने बताएका छन् । उनले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौं 'एमालेको हातमा' हुनुपर्ने भन्दै कार्यकर्तालाई आजैदेखि तयारी थाल्न निर्देशन दिएका हुन् ।

आइतबार ललितपुरमा नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको भेलामा सम्बोधन गर्दै ओलीले कार्यकर्तालाई पार्टीको निर्देशन नपर्खी अग्रिम तयारी गर्न आह्वान गरे ।

उनले राजावादीहरूलाई 'खाओवादी' को संज्ञा दिँदै भने, 'यी तथाकथित राजावादी साजावादी केही होइनन्, यी खाओवादी हुन् ।' उनले 'हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो' भन्ने नारा लगाउनेहरूमाथि टिप्पणी गर्दै नारायणहिटी दरबारमा राजा वीरेन्द्रको हत्या हुँदा किन बाँचिरहे भनेर प्रश्नसमेत गरे ।

ओलीले भने, '१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ। आन्दोलनमा प्रोटोकल हुँदैन, सबै एकै हौं, अगाडि बढौं ।' उनले पार्टीबाट थप निर्देशन आउने जनाउँदै कार्यकर्ताहरूलाई सतर्क र सक्रिय रहन आग्रह गरे ।

Share News