विकासन्युज

२६ वस्तुमा शतप्रतिशत कर छुट

काठमाडौं । सरकारले विभिन्न २६ वटा वस्तु, सेवा तथा उपकरण पैठारीमा  लाग्ने लाग्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर, दस्तुर तथा अन्य सम्पूर्ण शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । सरकारले मुलुकको जनस्वास्थ्य व्यवस्थापन, प्रतिनिधि सभा निर्वाचन सहजीकरण, शान्ति सेनाको बन्दोबस्ती सामग्री स्वदेश फिर्ता र अमेरिकाबाट बहुमूल्य पुरातात्विक मूर्तिहरूको पुनप्राप्ति लगायतमा सतप्रतिशत कर छुट गर्ने निर्णय गरेको हो ।  सरकारले जनस्वास्थ्य तथा मातृत्व सुरक्षालाई ध्यानमा राख्दै विभिन्न अन्तर्राष्ट्रिय साझेदार संस्थाहरू मार्फत प्राप्त प्रसूति तथा परिवार नियोजन सम्बन्धी सामग्रीहरूमा भन्सार शुल्क पूर्ण छुट दिएको छ । परिवार कल्याण महाशाखा टेकुका लागि आयातित २४ हजार ४५६.५८ अमेरिकी डलर बराबरका सुरक्षित प्रसूति सेवा उपकरण, ८ हजार ४२४ अमेरिकी डलर मूल्यका २७० वटा नवजात शिशु सघन उपचार सम्बन्धी ’सक्सन क्यानिस्टर होल्डर’, र १२ लाख ४१ हजार १० अमेरिकी डलर बराबरका डिम्पल मेड्रोक्सीप्रोजेस्टेरोन एसिटेट सिरिन्ज, जाडेल इम्प्लान्ट र कन्डमहरूको पैठारीमा लाग्ने सम्पूर्ण कर मिनाहा गरिएको छ ।  सरकारले बर्थिङ सेन्टर सञ्चालनका लागि प्राप्त १८ हजार ८०३.५७ अमेरिकी बराबरका औजार, ७४ हजार २१५.८० अमेरिकी डलर बराबरको सायानाप्रेस इन्जेक्सन तथा फिस्टुला मर्मत किट, र ४ लाख ५१ हजार ९९१.२८ अमेरिकी  बराबरका ओरल पिल्स, कन्डम तथा डिपो सामग्री आयात गर्दा लाग्ने सबै दस्तुर र महसुल पूर्ण रूपमा छुट दिइएको छ ।   सरकारले बालबालिकाको पोषण तथा सरुवा रोग रोकथामका लागि वैदेशिक अनुदानमा प्राप्त औषधिहरूलाई पनि सरकारले शतप्रतिशत राजस्व छुटको दायरामा ल्याएको छ । डब्ल्यूएचओ नेपालमार्फत विद्यालयका विद्यार्थीलाई खुवाउन प्राप्त अमेरिकी डलर १ लाख ११ हजार ९०० बराबरको जुकाको औषधि (अल्बेन्डाजोल ४०० एमजी), युनिसेफ नेपालबाट प्राप्त अमेरिकी डलर ५६ हजार १८.८८ र युरो ११ हजार ९८३.६८ मूल्य बराबरका भिटामिन ’ए’ सफ्ट जेल क्याप्सुल तथा कुपोषित बालबालिकाका लागि उपचारात्मक दूध तथा शीघ्र कुपोषण एकीकृत व्यवस्थापनका लागि प्राप्त क्रमशः अमेरिकी डलर ३ लाख ८० हजार (१० हजार वटा) र अमेरिकी डलर ५ लाख ७० हजार १७० बराबरका उपचारात्मक पोषक आहार आयातमा कुनै पनि कर नलाग्ने गरी छुट दिइएको छ  मुलुकमा विभिन्न महामारी तथा कडा रोगको रोकथामका लागि आयातित प्रयोगशाला किट र औषधिहरूमा पनि भन्सार शुल्क मिनाहा गरिएको छ ।  डब्ल्यूएचओबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका लागि प्राप्त जापानी इन्सेफलाइटिस, दादुरा, रुबेला र डेङ्गु परीक्षण किटहरू (क्रमशः अमेरिकी डलर २ हजार ७०, युरो १ हजार ३७२, भारू ३ लाख ४७ हजार ९९१.११ तथा अमेरिकी डलर २ हजार ४८४ र भारू १ लाख १० हजार ७५० बराबर), र कालाजार उपचारका लागि प्राप्त अमेरिकी डलर ६५ हजार मूल्यको ४०० वटा ‘लिपोसोमल एम्पोटेरिसिन’ औषधि तथा अमेरिकी डलर ४० हजार ५०० मूल्यको रेबिज खोपमा भन्सार तथा भ्याट पूर्ण छुट दिइएको छ । फिलेरिया सर्भेका लागि प्राप्त अमेरिकी डलर ५४ हजार २१० बराबरको ‘फिलेरियल टेस्ट स्ट्रिप्स’ र कालाजार तथा मलेरिया नियन्त्रणका लागि प्राप्त अमेरिकी डलर १ लाख ३६७.४९ मूल्यको कीटनाशकयुक्त कागज आयातमा पनि सम्पूर्ण महसुल छुट भएको छ ।  स्वास्थ्य मन्त्रालय र युएनडीपीको संयुक्त आयोजनामा सञ्चालित ग्लोबल फण्ड कार्यक्रम अन्तर्गत आयातित जटिल रोगका औषधिहरूमा सरकारले पूर्ण कर मिनाहा गरेको छ । क्षयरोग नियन्त्रणका लागि प्राप्त अमेरिकी डलर १८ हजार ८८१.४४ मूल्यको मोक्सिफ्लोक्सासिन ४०० एमजी ट्याब्लेट, एड्स नियन्त्रण केन्द्रका लागि प्राप्त अमेरिकी डलर १ लाख १५ हजार ४३२.१६ बराबरका एचआईभी भाइरल लोड परीक्षण रिएजेन्ट, अमेरिकी डलर १९ हजार ४२५ मूल्यको ‘आइसेन्ट्रेस ४०० एमजी’ ट्याब्लेट र अमेरिकी डलर २० हजार ८३७.३८ बराबरका एन्टिरेट्रोभाइरल औषधि ‘लोपिनाभिर÷रिटोनाभिर’ एवं युरो ६९८.६० मूल्यका प्रयोगशाला सामग्री पैठारीमा लाग्ने सम्पूर्ण दस्तुर, शुल्क र भन्सार महसुल छुट दिइएको छ । २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन सहजीकरणका लागि भारत सरकारबाट सहायता स्वरूप प्राप्त सुरक्षा सामग्रीहरूमा शतप्रतिशत राजस्व छुट दिइएको छ । भारतबाट अनुदानमा प्राप्त ५३८ सवारी साधनमध्ये १ थान महिन्द्रा स्कोर्पियो पिकअप सीमा क्षेत्रमा दुर्घटनाग्रस्त भएकाले, सोको सट्टा भारत सरकारबाट भारू ७ लाख ४३ हजार ६४५.७९ सोधभर्ना भई आएको नयाँ सवारी साधन आयात गर्दा महसुल छुट दिइएको छ ।  संयुक्त राष्ट्रसंघको सङ्कटकालीन योजना अन्तर्गत वैदेशिक शान्ति मिसनहरूमा कार्यरत नेपाली शान्ति सैनिकहरूको संख्या घटेपछि उनीहरूका बन्दोबस्तीका सामान स्वदेश फिर्ता ल्याउँदा लाग्ने भन्सार शुल्क मिनाहा गरिएको छ । मिसनबाट ’स्क्यान ग्लोबल लजिस्टिक’ मार्फत नेपाल फर्काइएका अमेरिकी डलर २६ लाख २० हजार ८६ मूल्य बराबरका १५ वटा गाडी, १ वटा ट्रेलर र २ वटा कन्टेनर तथा यूएनआईएसएफए मिसनबाट फिर्ता ल्याइएका अमेरिकी डलर ७६ लाख ७ हजार १३८.६६ मूल्य बराबरका २३ वटा गाडी, १३ वटा कन्टेनर, ४ वटा ट्रेलर र ६ वटा जेनेरेटर सामग्री पैठारीमा लाग्ने सम्पूर्ण महसुल र कर छुट दिने निर्णय भएको छ ।  गैरकानूनी रूपमा अमेरिका पुगी न्युयोर्क डिस्ट्रिक्ट एटोर्नीको अधीनमा रहेका दुईवटा बहुमूल्य प्राचीन कलात्मक मूर्तिहरू स्वदेश फर्काउँदा लाग्ने सम्पूर्ण भन्सार तथा कर पूर्ण छुट दिने निर्णय गरिएको छ । १३औँ शताब्दीमा निर्मित, तामामा सुनको जलप लगाइएको पद्मपाणि लोकेश्वरको मूर्ति (अन्तर्राष्ट्रिय बजार मूल्य २५ लाख अमेरिकी डलर अर्थात् करिब ३३ करोड नेपाली रुपैयाँ) र १६औँ शताब्दीमा निर्मित काठको नृत्यदेवीको मूर्ति (अन्तर्राष्ट्रिय बजार मूल्य २ लाख अमेरिकी डलर) नेवाः गुठी न्युयोर्कको आर्थिक सहयोग र नेपाली महावाणिज्य दूतावासको समन्वयमा २०८३ असार १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका थिए । पुरातत्त्व विभागले बुझिलिने गरी फिर्ता ल्याइएका यी अमूल्य सांस्कृतिक सम्पदाको भन्सार जाँचपासमा पूर्ण राजस्व छुट दिइएको छ । 

दाहालको दावी– सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले मुलुक सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको बताएका छन् । आइतबार ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान परिस्थितिको सामना गर्न कम्युनिस्ट शक्तिहरूबीचको एकता र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।  उनले भने, ‘अहिले देश साँच्चै संकटमा छ । राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि सायद यति भयानक संकट कहिल्यै देखिएको थिएन ।’ संयोजक दाहालले नेपालको राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा र वैदेशिक हस्तक्षेपविरुद्धको सङ्घर्षलाई उचित प्राथमिकता दिन नसक्दा अहिलेको असाधारण संकट उत्पन्न भएको स्वीकार गरे । उनले विगतका कमजोरीहरूप्रति राजनीतिक दलहरूले एक–अर्कालाई दोषारोपण गर्नुको सट्टा सामूहिक रूपमा गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए ।  संयोजक दाहालले राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलनको कम्युनिस्ट आन्दोलनसँग ‘नङ र मासु’ को सम्बन्ध रहेको चर्चा गर्दै साझा निकासका लागि चिन्तन र मनन गर्न उपस्थित विभिन्न दलका प्रतिनिधिलाई आह्वानसमेत गरे । कम्युनिस्ट शक्तिहरूको एकता र सहकार्यले मात्र राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरण सम्भव हुने उनको निष्कर्ष छ । 

सरकार निर्वाचित अधिनायकवादतर्फ उन्मुख छः प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’ तर्फ अग्रसर भएको आरोप लगाएका छन् । ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता ज्ञवालीले मुलुक यतिबेला अत्यन्तै असामान्य अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका हुन् ।  नेता ज्ञवालीका अनुसार लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, राष्ट्रियता र नागरिकले उपभोग गरिरहेको लोकतान्त्रिक खुलापन यतिबेला गम्भीर सङ्कटमा परेका छन् ।  ठूलो जनादेशसहित सत्तामा पुगेको सरकारले पछिल्ला पाँच महिनामा अधिनायकवादी लक्षणहरू प्रकट गरेको उनको तर्क छ ।  संसदभित्रको शक्ति सन्तुलन प्रतिकूल रहेको उल्लेख गर्दै उनले सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्पको अभाव रहेको औंल्याए ।  झन्डै दुई–तिहाइको जनादेशका कारण सरकारले भोलि संविधानमा प्रतिगामी संशोधन गर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।  संसदमा संविधान निर्माण गर्ने पक्षधर शक्तिहरूको उपस्थिति कमजोर रहेकाले पनि अधिनायकवादको खतरा बढेको उनको भनाइ छ ।

बैंकबाट बिनाधितो ४८ करोड ऋण लिएर सहकारीको ऋण तिर्न र घरजग्गा किन्न प्रयोग

काठमाडौं । रुपन्देहीको मायादेवी गाउँपालिकामा ५ तारे रिसोर्ट निर्माण गर्ने बहानामा प्रभु बैंक लिमिटेडबाट प्रवाह गरिएको ४८ करोड रुपैयाँ आवधिक कर्जामा व्यापक अनियमितता र अपचलन भएको भेटिएको छ । धितो दृष्टिबन्धक रोक्का नै नराखी, इमेल र मौखिक दबाबका भरमा 'प्रिऔडिस्बर्समेन्ट’ गरी रकम निकासा गराइएको उक्त प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानपश्चात उच्च अदालत पाटनको वाणिज्य इजलासमा बैंकिङ्ग कसूर मुद्दा दायर गरिएको छ ।  नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले प्रभु बैंक लिमिटेडमा गरेको विशेष स्थलगत निरीक्षणका क्रममा एशियन भिलेज रिसोर्ट प्रा.लि.का नाममा प्रवाह गरिएको कर्जामा गम्भीर वित्तीय अनुशासनहीनता भेटिएको थियो । राष्ट्र बैंकको गभर्नरको कार्यालयबाट प्राप्त प्रतिवेदन अनुसार ऋणी कम्पनीले बैंकबाट लिएको ४८ करोड रुपैयाँ स्वीकृत व्यावसायिक उद्देश्यमा खर्च नगरी अन्यत्रै दुरुपयोग गरेको पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ ।  बैंकको उच्च व्यवस्थापनले आफ्नै कर्जा नीति र केन्द्रीय बैंकको एकीकृत निर्देशन विपरीत धितो दृष्टिबन्धक नै नगरी केवल कबुलियतनामाका आधारमा कर्जा निकासा गरेको अभियोगपत्रमा उल्लेख छ । कर्जा सुरक्षणको बजार मूल्यले कर्जाको सावाँ–ब्याज धान्न नसकेपछि राष्ट्र बैंकले यसलाई शतप्रतिशत नोक्सानी व्यवस्था गरी खराब कर्जामा वर्गीकरण गर्न निर्देशन दिएको थियो । यसैका आधारमा बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को दफा ८ बमोजिम अनुसन्धान अघि बढाइएको हो ।  अनुसन्धानबाट खुले अनुसार एशियन भिलेज रिसोर्टका नाममा स्वीकृत ४८ करोड आवधिक कर्जा दुई चरणमा (३१ करोड र १७ करोड रुपैयाँ) प्रि–डिस्बर्समेन्ट गरिएको थियो । तर, उक्त रकम प्रस्तावित रिसोर्टका लागि जग्गा खरिद गर्न प्रयोग गरिएन । सट्टामा ऋणी शशिधर शर्माको पारिवारिक सम्बन्ध रहेका व्यक्तिहरु (श्रीमती, भाउजुहरु, छोरा र बुहारी) का निजी खातामा ’जग्गा खरिदको पेश्की’ भन्दै पठाइएको थियो ।  सहकारीको ऋण चुक्ता र सेयर खरिदमा प्रयोग यसबाहेक बुटवल हाउजिङ, लुम्बिनी एग्रो प्रडक्टख, अरुण फुड्स, युरो स्टार ग्रुप, लुम्बिनी मोटर्स, तथा सामुदायिक विकास बचत तथा ऋण सहकारी संस्थाको पुरानो ऋण र ब्याज भुक्तानीमा समेत यो रकम प्रयोग भएको देखिएको अभियोगपत्रमा उल्लेख छ ।  सो ऋण काठमाडौंको सोल्टीमोडमा घरजग्गा खरिद, नेशनल लाइफ इन्स्योरेन्समा बीमा किस्ता भुक्तानी र एनआईसी एसिया बैंकको संस्थापक शेयर खरिदमा समेत कर्जाको रकम अपचलन गरिएको भेटिएको छ । अदालतमा दायर अभियोगपत्रमा ऋणी कम्पनीका सञ्चालकहरु र बैंकका उच्च पदस्थ कर्मचारीहरु गरी ७ जनालाई प्रतिवादी बनाइएको छ । बयानका क्रममा मुख्य ऋणी शशिधर शर्माले जग्गा खरिदका लागि परिवारका सदस्यहरुलाई पेश्की रकम पठाइएको दाबी गरेका छन् । अर्कोतर्फ, प्रभु बैंकका शाखा कार्यालयका कर्मचारीहरुले भने प्रधान कार्यालयको उच्च तहबाट आएको फोन र दबाबका कारण आधिकारिक प्रणाली बाइपास गरी इमेलका भरमा कर्जा अघि बढाउन बाध्य पारिएको बयान दिएका छन् ।  अनुसन्धान अधिकारीहरुको निष्कर्ष अनुसार प्रभु बैंकको ४८ करोड कर्जा प्रकरणमा ऋणी र बैंक व्यवस्थापनबीच बदनियतपूर्ण मिलेमतो स्पष्ट देखिएको छ । धितो रोक्का नराखी करोडौं रकम निकासा दिनु र उक्त रकम व्यावसायिक उद्देश्यभन्दा बाहिर लगेर निजी सम्पत्ति खरिदमा प्रयोग गरिनु बैंकिङ्ग कसूरको गम्भीर रुप भएकाले उच्च अदालत पाटनमा मुद्दा दायर गरी बिगो असुलउपर र हदैसम्मको कैद सजायको मागदाबी गरिएको छ । सरकारी वकिलको कार्यालयले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, तत्कालीन चीफ विजनेस अफिसर रश्मी पन्त, बैंककै तत्कालीन रिकभरी म्यानेजर नन्दराज जोशी, बैंककै शाखा प्रबन्धक सन्तोष ज्ञवाली, रिलेसनसिप म्यानेजर राजेन्द्र श्रेष्ठसँगै एशियन भिलेज रिसोर्ट प्रा.लिका सञ्चालक शशिधर शर्मा र शिशिर पौड्याललाई प्रतिवादी बनाएको छ ।  

गगनलाई भेट्न देउवा तयार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र पूर्वसभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ ।  उपचारका क्रममा करिब पाँच महिना सिंगापुरमा बसेर साउन २८ गते नेपाल फर्किएका देउवा थापासँग भेटवार्ताका लागि तयार भएका हुन् । देउवाका निजी सचिव भानु देउवाका अनुसार थापासँगको भेटका लागि समय तय गर्ने तयारी भइरहेको छ ।  देउवाका नियमित कार्यक्रमलाई हेरेर भेटको समय यकिन गरिने उनले जानकारी दिए । ‘गगनजीसँगको भेटका लागि तयारी गरिरहेका छौं,’ भानुले भने, ‘तर भेटको समय र छलफल गर्ने विषयवस्तु अहिलेसम्म निश्चित भएको छैन ।’ विशेष महाधिवेशनबाट सभापति बनेपछि थापा र पूर्वसभापति देउवाबीच अहिलेसम्म प्रत्यक्ष भेटवार्ता वा टेलिफोन संवादसमेत भएको छैन ।  त्यसैले आगामी भेटलाई प्रारम्भिक तथा सामान्य भेटका रूपमा पनि लिन सकिने देउवाका निजी सचिवले भानुले बताए । देउवा नेपाल फर्किएपछि कांग्रेसभित्र पार्टीको आन्तरिक एकता कायम गर्न विभिन्न तहबाट पहलसमेत सुरु भएको छ ।  विशेष महाधिवेशनमा थापालाई समर्थन गरेका नेताहरूले समेत देउवा र थापाबीच संवाद र सहकार्य आवश्यक रहेको बताउँदै आएका छन् । यसै क्रममा कांग्रेस नेता नैनसिंह महरले पार्टी एकताका लागि आफूले तीनवटा प्रस्तावसहित सभापति थापासँग भेट गरेको बताएका छन् ।  थापाले आफूले राखेका प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको महरको दाबी छ । ‘पार्टी एकताका लागि तीनवटा प्रस्तावसहित सभापतिलाई भेटेको छु । उहाँले हुन्छ भन्नुभएको छ,’ महरले भने  उनका अनुसार प्रस्तावको पहिलो बुँदामा उनले सभापति थापा र पूर्वसभापति देउवाले पार्टी एकताका लागि छलफल गर्नुपर्ने उल्लेख गरेका छन् । दोस्रोमा दुबै सभापतिले १५औं महाधिवेशनको नेतृत्व आफूले लिन पाउनुपर्ने दाबी त्यागेर तेस्रो व्यक्ति चयन गरेरै भएपनि अघि बढ्नुपर्ने प्रस्ताव नेता महरले अघि सारेका छन् । तेस्रोमा अदालतको निर्णय आउनुपूर्व नै पार्टी एकतामा जाने र अदालतको निर्णय दुबैले स्वीकार गर्नुपर्ने उनले सुझाएको बताए ।  ‘पूर्वसभापतिज्यूले ठीक हो त भन्नुभएको छ । छलफल पनि गर्ने अदालतको निर्णय पनि पर्खने जस्तो संकेत गर्नुभयो,’ आइतबार बिहान देउवासँग भेट गरेका महरले भने । विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको विभाजन र आन्तरिक ध्रुवीकरण अन्त्य गर्न देउवा र थापाबीचको संवादलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।  यद्यपि, उनीहरूबीच हुने भेटमा कुन–कुन विषयमा छलफल गर्ने भन्नेबारे भने अहिलेसम्म औपचारिक तयारी भइसकेको छैन ।

एकताबद्ध कांग्रेस निर्माणमा देउवाको भूमिका महत्त्वपूर्ण हुन्छ : महर

काठमाडौं । ‘देश र कांग्रेस जोड्ने अभियान’सञ्चालन गरिरहेका नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार देउवा निवासमा भएको भेटमा महरले पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्व अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध बनाउन देउवाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । लामो समयको उपचारपछि सार्वजनिक गतिविधिमा फर्किएका देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आफूले भेट गरेको महरले बताए । महरले कांग्रेसभित्रको विवाद र विभाजन अन्त्य गर्न पार्टी सभापति गगन थापा र देउवाबीच प्रत्यक्ष भेटवार्ता तथा संवाद आवश्यक रहेको धारणा पनि राखेका थिए । भेटका क्रममा देउवाले थापा र आफूबीच भेटवार्ता गराउन पहल भइरहेको बताएका थिए ।  अदालतको निर्णय आएपछि त्यसअनुसार अघि बढ्ने देउवाको भनाइ रहेको महरले जानकारी दिएका छन् । कांग्रेसभित्र नेतृत्व र संगठनसम्बन्धी विषयमा आन्तरिक मतभेद देखिइरहेका बेला महरले पार्टीका शीर्ष नेताबीच संवाद र सहकार्यमा जोड दिँदै आएका छन् ।

मधेशका उत्कृष्ट अभिकर्तालाई सन नेपाल लाइफको सम्मान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मधेश प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी विकास व्यवस्थापक (एडीएम) तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्ताहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाबाट एजेन्सी विकास व्यवस्थापक, उत्कृष्ट अभिकर्ता, क्षेत्रीय व्यवस्थापक तथा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न शाखाका अभिकर्ता, क्षेत्रीय व्यवस्थापक प्रमोद साह, उपेन्द्र नारायण महतो लगायत शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा मधेश प्रदेश प्रमुख चौधरीले कम्पनीको बिक्री नीति २०८३/८४ तथा आगामी कार्यक्रमबारे जानकारी गराउँदै अभिकर्ताहरूलाई कम्पनीका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा थप सक्रिय हुन आग्रह गरे । प्रमुख बजार अधिकृत चौलागाईंले अभिकर्ताहरूको हकहित, सेवा–सुविधा तथा व्यावसायिक विकासलाई कम्पनीले प्राथमिकतामा राख्दै विभिन्न नीति तथा कार्यक्रम निर्माण एवं कार्यान्वयन गर्दै आएको बताए । अभिकर्ताहरूको व्यावसायिक यात्रालाई सहज बनाउन कम्पनी सहकार्य र सहजीकरणका लागि सधैं तयार रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि अभिकर्तामुखी कार्यक्रम तथा प्रोत्साहनका योजनालाई निरन्तरता दिइने बताए । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत अर्यालले सन नेपाल लाइफले मधेश प्रदेशमा आफ्नो छुट्टै पहिचान तथा सकारात्मक व्यावसायिक छवि निर्माण गर्न सफल भएको बताए ।  कम्पनीको यो सफलतामा मधेश प्रदेशका सम्पूर्ण अभिकर्ता, एजेन्सी विकास व्यवस्थापक तथा शाखा टोलीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले उनीहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासप्रति विशेष धन्यवाद तथा आभार व्यक्त गरे । उनले आगामी दिनमा मधेश प्रदेशमा बीमाको पहुँच थप विस्तार गर्दै अभिकर्ता तथा एजेन्सी सञ्जाललाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।  उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई निरन्तर प्रोत्साहन तथा सम्मान प्रदान गरिने पनि उनले बताए । कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी विकास व्यवस्थापक तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्ताहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।  सम्मानले अभिकर्ताहरूमा थप उत्साह र ऊर्जा प्रदान गर्दै आगामी दिनमा अझ उत्कृष्ट व्यावसायिक उपलब्धि हासिल गर्न प्रेरणा मिलेको सहभागीहरूले बताएका छन् । कार्यक्रमले अभिकर्ताको उत्प्रेरणा, नेतृत्व विकास, व्यावसायिक क्षमता अभिवृद्धि तथा कम्पनी र अभिकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ । सन नेपाल लाइफले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा तथा बीमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  बीमाको पहुँच विस्तार, अभिकर्ता सञ्जालको विकास, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यावसायिक वृद्धिलाई प्राथमिकतामा राख्दै कम्पनीले आफ्नो सेवा विस्तारलाई निरन्तरता दिइरहेको जनाएको छ ।

शुभमन गिलले टेस्ट क्रिकेटमा पूरा गरे ३ हजार रन

काठमाडौं । भारतीय टेस्ट टोलीका कप्तान शुभमन गिलले श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा ठूलो उपलब्धि हासिल गर्दै टेस्ट क्रिकेटमा ३ हजार रन पूरा गरेका छन् । यो खेलअघि गिलको नाममा २ हजार ९ सय ९३ रन थियो । उक्त उपलब्धि हासिल गर्न उनलाई केवल ७ रन आवश्यक थियो ।  उनले आफ्नो ४३औं टेस्ट खेलमा ३ हजार रनको आँकडा पार गरेका हुन् । २६ वर्षीय गिलले टेस्ट करियरमा हालसम्म ११ शतक र ८ अर्धशतक प्रहार गरेका छन् ।  टेस्टमा उनको सर्वाधिक व्यक्तिगत स्कोर २६९ रन रहेको छ । भारत दुई खेलको टेस्ट सिरिजमा १-० ले अगाडि छ । अब भारतीय टोलीको लक्ष्य श्रीलंकाविरुद्ध सिरिज क्लिन स्वीप गर्ने रहेको छ । पहिलो टेस्टमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकालाई १६५ रनले पराजित गरेको थियो ।