विकासन्युज

नेपालमा सार्वजनिक भयो दीपल नेभो क्यू०५, सुरुवाती मूल्य ४६ लाख ९९ हजार

काठमाडौं । एमएडब्लू वृद्धि नेपालले चिनियाँ अटोमोबाइल निर्माता चांगानको प्रिमियम सब-ब्रान्ड नेभोको नयाँ विद्युतीय गाडी दीपल नेभो क्यू०५ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आइतबार आयोजित एक कार्यक्रमकाबीच दीपल नेभो क्यू०५ गाडी सार्वजनिक गरेको हो । यस एसयूभीले नेपालमा प्रविधि, आराम र विलासिताको नयाँ मापदण्ड खडा गर्ने कम्पनीले विश्वास लिएको छ । बिक्रीसँगै बिक्रीपछिको सेवालाई प्राथमिकता दिँदै एमएडब्लू नेपालले ग्राहकको सुरक्षाका लागि ७ करोडभन्दा बढीको स्पेयर पार्टस र २४ घण्टा चल्ने हेल्पलाइनको व्यवस्था गरेको छ भने चांगान इन्टरनेशनलले यो गाडी आफ्ना सेगमेन्टभन्दा माथि उठ्नका लागि बनाइएको बताएको छ । नेपालमा म्याक्स र अल्ट्रा गरी दुई भेरियन्टमा भित्र्याइएको यस ईभीको सुरुवाती मूल्य नाडा अटो शो अवधिसम्मका लागि क्रमशः ४६ लाख ९९ हजार र ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । अटो शोपछि म्याक्सको ४८ लाख ९९ हजार र अल्ट्राको ५१ लाख ९९ हजार रुपैयाँ पुग्नेछ ।  प्राविधिक रूपमा १२० किलोवाटको मोटर र ५२ किलोवाट आवरको गोल्डेन शिल्ड २.० ब्याट्री जडान गरिएको यस गाडीले एक पटकको फुल चार्जमा ४६२ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । इटालीको ‘ए-डिजाइन अवार्ड’ मा गोल्ड मेडल जित्न सफल क्लाउड्स एण्ड सोफिया कन्सेप्टमा आधारित यो एसयूभी ४.५४ मिटर लम्बाइ र २.७३ मिटर ह्विलबेससहित निकै फराकिलो छ ।  क्याबिनको ८० प्रतिशत भाग सफ्ट-टच सामग्री, ९ तहको कुशन सिट र ६७ स्थानमा साउन्ड इन्सुलेशन प्रविधि प्रयोग गरिएकाले यात्रा शान्त र विलासी हुने कम्पनीले जनाएको छ । सुरक्षाका लागि १८ वटा स्मार्ट ड्राइभिङ सिस्टम, ट्रान्सप्यारेन्ट च्यासिस, स्वचालित इमर्जेन्सी ब्रेक र स्टेयरिङ कन्ट्रोलका साथै मोबाइल एपबाटै चार्जिङ, लोकेसन र तापक्रम नियन्त्रण गर्न सकिने सुविधा उपलब्ध छ ।  ग्राहकको विश्वास जित्न कम्पनीले ५ वर्षको सवारी साधन वारेन्टीका साथै ब्याट्री र ड्राइभ ट्रेनमा नेपालकै सबैभन्दा लामो ११ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ ।

बीमा क्षेत्रको सुधार र दक्षता वृद्धिमा अनुसन्धान र सहकार्य आवश्यक

काठमाडौं । बीमा क्षेत्रलाई थप प्रभावकारी, विश्वसनीय र दक्ष बनाउन अनुसन्धान, प्राविधिक अध्ययन तथा सम्बन्धित संस्थाबीच सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।  उनीहरूले बीमा सर्भेक्षण, दाबी मूल्याङ्कन, बीमालेख निर्माण तथा प्राविधिक विषयमा निरन्तर अनुसन्धान गरी त्यसका आधारमा नीतिगत सुधार अघि बढाउनुपर्नेमा जोड दिएका छन् । रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्स (रिसी) को प्रथम वार्षिक साधारणसभाका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो धारणा राखेका हुन् । नेपालमा बीमा सर्भेक्षण, क्षति मूल्याङ्कन तथा दाबी प्रक्रियासम्बन्धी अनुसन्धान गर्ने उद्देश्यले स्थापना भएको रिसीले नेपाल बीमा प्राधिकरण तथा अन्य सम्बन्धित संघसंस्थासँग सहकार्य गर्दै बीमा क्षेत्रका नयाँ अभ्यास र चुनौतीबारे अनुसन्धानमूलक अध्ययन तथा सुझाव प्रस्तुत गर्दै आएको छ । कार्यक्रममा रिसीका अध्यक्ष मोहन पुरुष ढकालले संस्थाको आगामी प्रमुख प्राथमिकता सदस्यता विस्तारका लागि बलियो र प्रभावकारी संयन्त्र विकास गर्नु रहेको बताए ।  उनले संस्थालाई यहाँसम्म ल्याउन सहयोग गर्ने सञ्चालक समितिसहित सबैप्रति आभार व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणको प्रयास र संस्थाले अघि सारेका रणनीतिका आधारमा आगामी कामलाई थप प्रभावकारी बनाइने बताए । उनका अनुसार संस्थाले विभिन्न रणनीति विकास गरिसके पनि अझै धेरै काम गर्न बाँकी छ । विशेषगरी सदस्यता विस्तारलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक संयन्त्र विकासको काम अघि बढिरहेको उनले जानकारी दिए । अध्यक्ष ढकालले सर्भेयरहरू आ–आफ्नो क्षेत्रमा विज्ञ रहेको उल्लेख गर्दै उनीहरूले लामो समयदेखि हासिल गरेको दक्षता र परीक्षण भइसकेको क्षमतालाई कानुनी तथा संस्थागत रूपमा समेट्नुपर्नेमा जोड दिए ।  सर्भेयरहरूको क्षमता ओझेलमा नपरोस् भन्नेतर्फ सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्रीले नेपाली बीमा सर्भेयरहरूले अनपेक्षित विपद्का समयमा जोखिमको यथार्थ मूल्याङ्कन गर्दै समयमै दाबी फछ्र्यौट गर्न सक्ने क्षमता प्रमाणित गरिसकेको बताए । उनले नेपाली बीमा क्षेत्रको बढ्दो दायरा, प्राविधिक जनशक्तिको विकास तथा विशेषगरी विपद् व्यवस्थापनमा सर्भेयरहरूले निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गरे ।  नेपालमा पर्याप्त संख्यामा अनुभवी तथा दक्ष सर्भेयर रहेको उल्लेख गर्दै उनले कोभिड-१९ महामारी तथा पछिल्ला ठूला प्राकृतिक विपद्का समयमा सर्भेयरहरूले निर्वाह गरेको भूमिका र दाबी फर्छ्याैटमा पु‍र्याएको योगदान प्रशंसनीय रहेको बताए । अध्यक्ष क्षेत्रीले बीमा क्षेत्रसँग आबद्ध सर्भेयर एसोसिएसन तथा बीमक संघलगायत संस्थालाई सहभागी गराएर संयुक्त रूपमा अध्ययन तथा अनुसन्धान अघि बढाउनुपर्ने बताए ।  बीमालेखको डिजाइनदेखि दाबी मूल्याङ्कनसम्मका विषयमा अनुसन्धान गरी आवश्यक सुझाव तथा सिफारिस तयार गर्नुपर्ने उनको भनाइ थियो । इन्जिनियरिङ बीमामा ‘फिडिक’का सिफारिस तथा इन्जिनियरिङ काउन्सिलले तयार गर्ने बीमा क्लजलाई आधार बनाउने गरिएको उल्लेख गर्दै क्षेत्रीले नेपालमा पनि बीमा क्षेत्रका प्राविधिक विषयमा व्यवस्थित अनुसन्धान आवश्यक रहेको बताए । उनका अनुसार नेपाल बीमक संघले प्राविधिक विषयमा सुझाव दिन विभिन्न प्राविधिक समूह तथा उपसमिति गठन गरेको छ ।  अन्डरराइटिङसम्बन्धी विषयमा सुझाव दिन सात सदस्यीय प्राविधिक उपसमिति रहेको तथा स्ट्यान्डर्ड फाइनान्स र पुनर्बिमालगायत विषयमा पनि प्राविधिक उपसमितिमार्फत काम भइरहेको उनले जानकारी दिए । नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एशोसिएसन (निर्मा) का उपाध्यक्ष उदयराज अधिकारीले रिसीले संस्थाको सुरुवातदेखि नै वित्तीय स्रोत, कार्ययोजना र सञ्चालन मोडलबारे स्पष्ट योजना बनाउनुपर्ने बताए । निर्माले सञ्चालनका क्रममा भोगेका कठिनाइ रिसीले भोग्न नपरोस् भन्नेतर्फ सुरुदेखि नै तयारी आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता संस्था सञ्चालनका लागि पर्याप्त नगद प्रवाह आवश्यक हुने बताए ।  संस्थाको व्यावसायिक योजना र वित्तीय स्रोतबारे सुरुदेखि नै स्पष्ट हुनुपर्ने उनको भनाइ थियो । अधिकारीले अनुसन्धानसँगै जर्नल तथा प्रकाशनलाई पनि संस्थागत विकासको महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताए ।  निर्माले विगत पाँच वर्षदेखि नियमित रूपमा जर्नल प्रकाशन गर्दै आएको र हालसम्म छ वटा संस्करण प्रकाशित गरिसकेको जानकारी दिँदै उनले एउटा जर्नल प्रकाशनमा न्यूनतम चारदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुने बताए । रिसी र निर्माबीच जर्नल प्रकाशन तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्न सकिने उल्लेख गर्दै अधिकारीले बीमा क्षेत्रसँग आबद्ध विभिन्न गैरनाफामूलक संस्था तथा संघसंस्थाबीच अनुसन्धान र विकासका क्षेत्रमा संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिए । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष फत्तबहादुर केसीले नेपालको बीमा क्षेत्रलाई थप परिष्कृत र विश्वसनीय बनाउन अनुसन्धानमूलक संस्थाको आवश्यकता रहेको बताए ।  बीमा क्षेत्रमा अनुसन्धानको आवश्यकता महसुस गरी रिसी स्थापना हुनु आफैंमा प्रशंसनीय प्रयास भएको उनको भनाइ थियो । रिसीलाई सफल बनाउन संस्थाको आफ्नै पहलसँगै नेपाल बीमक संघ, बीमा कम्पनी तथा नेपाल बीमा प्राधिकरणको समेत महत्त्वपूर्ण भूमिका रहने केसीले बताए ।  अनुसन्धानका लागि आवश्यक स्रोतसाधन जुटाउन सम्बन्धित निकायले सहयोग गर्नुपर्ने उनले बताए । नेपालको बीमा क्षेत्रमा देखिने नयाँ तथा आकस्मिक विषयलाई सम्बोधन गर्न नियमित अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै केसीले बीमा क्षेत्र अझै आलोचनाबाट पूर्ण रूपमा मुक्त हुन नसकेको र अपेक्षित गतिमा अघि बढ्न नसकेको अवस्थामा अनुसन्धानमार्फत समस्याको पहिचान तथा समाधान खोज्नुपर्ने बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सर्भेयरहरू आफ्नो क्षेत्रमा स्थापित विज्ञ रहेको भन्दै बीमा व्यवसायमा उनीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए ।  नेपालमा सर्भेयरको पेशा पुस्तौंदेखि चल्दै आएको र पुस्तान्तरण हुँदै जाँदा पनि यसको महत्व उत्तिकै कायम रहेको उनले उल्लेख गरे । सर्भेयरहरूको हकहित तथा बीमा क्षेत्रको सुधारका लागि प्राधिकरणले रिसीसँग निरन्तर समन्वय र सुझाव आदानप्रदान गर्दै आएको लामिछानेले बताए ।  रिसीको मुख्य उद्देश्य बीमा क्षेत्रका विभिन्न विषयमा अनुसन्धान गर्नुका साथै सर्भेयरहरूलाई आवश्यक तालिम प्रदान गर्नु रहेको उनले बताए । प्राधिकरणले सर्भेयर लाइसेन्सका लागि परीक्षा तथा तालिमको व्यवस्था गरेको उल्लेख गर्दै उनले रिसीले उपयुक्त पाठ्यक्रम विकास गरी तालिम सञ्चालन गर्दा प्राधिकरणको कानुनी आवश्यकतासमेत पूरा गर्न सहयोग पुग्ने बताए । बीमा दाबी तथा सर्भेका क्रममा देखिने विसंगति, बीमालेखसम्बन्धी विवाद र प्राविधिक समस्याको समाधानका लागि ठोस अनुसन्धान आवश्यक रहेको लामिछानेको भनाइ थियो ।  रिसीको सञ्चालनका लागि सेवा शुल्क, सदस्यता शुल्क तथा विभिन्न तथ्यांक र अनुसन्धान परियोजनामा हुने सहकार्यलाई आम्दानीको मुख्य स्रोत बनाउन सकिने उनले बताए । उनका अनुसार प्राधिकरणले हाल छ वटा नयाँ पोर्टफोलियो निर्माण गरिरहेको छ । विद्यमान सर्भेयरले कसरी काम गर्ने, उनीहरूको कार्यक्षेत्र कसरी निर्धारण गर्ने तथा कस्तो अनुभव भएका सर्भेयरलाई कुन श्रेणीमा राख्ने भन्ने विषयमा रिसीले गर्ने अनुसन्धान महत्त्वपूर्ण हुने उनले बताए । रिसीबाट प्राप्त अनुसन्धान प्रतिवेदनले सर्भेयरको कार्यक्षेत्र निर्धारण तथा वर्गीकरणका विषयमा प्राधिकरणलाई महत्त्वपूर्ण प्राविधिक सहयोग पुग्ने लामिछानेले बताए ।

नेपालमै बेलायतको डिग्रीः स्ट्याम्फोर्डमा कम खर्चमै युकेको शिक्षा

काठमाडौं । स्ट्याम्फोर्ड कलेजले युकेको ४ वर्षे डिग्रीसहित बीएससी अर्न्स कम्युयुटिङ साइन्स र साइबर सेक्यूरिटी कोर्स पढाउँदै आएको छ । कलेजले युकेको टाइम्स हाइयर र्‍याङकिङको ‘टप छ सय प्लस’मा पर्ने ‘युनिभर्सिटी अफ् द वेस्ट अफ् स्कटल्याण्ड’को कोर्स नेपालमै अध्यापन गराइरहेको हो ।  ‘युके पढ्न जाने मन हुँदाहुँदै पनि कति विद्यार्थी आर्थिक कारण वा सानै उमेरको हुँदा परिवारले ब्याचलर सम्म त यही पढेर जाउँ भन्ने हुन्छ । कतिले नेपालमै बाहिरको जस्तो कोर्स चाहिरहेका हुन्छन् ।  विद्यार्थीलाई टार्गेट गरेर हामी  ‘युनिभरर्सिटी अफ् द वेस्ट अफ् स्कटल्याण्ड’सँग एफिलेटेड भएर निकै कम फिमा युकेको डिग्री नेपालमै अध्यापन गराइरहेका हौं,’ कलेज हेड सन्दिप पोखरेलले भने । उनका अनुसार उक्त डिग्री लिएपछि थप अध्ययनका लागि विश्वका जुनसुकै युनिभर्सिटीमा पढ्न विद्यार्थीलाई समस्या रहँदैन । कलेजले विद्यार्थीका लागि एआई र साइबर सेक्युरिटी ल्याबमा कोडिङ च्यालेन्ज, ह्याकाथन तथा इन्डस्ट्री वर्कसपमार्फत सिक्ने अवसरमा समेत जोड्ने गरेको छ ।  यस्तै, करिअर काउन्सिलिङ, सेमिनार, नियमित उद्योग भ्रमण गराएर पढ्दै गर्दा नै इन्टर्नसिप र जब पेलेसमेन्टमार्फत करिअरको उचाइ पक्का गर्न विद्यार्थीलाई सघाउने गरेको कलेज प्रशासनको भनाइ छ । विद्यार्थीको मानसिक तथा शारीरिक अवस्थालाई ध्यानमा राख्दै कलेज परिसरमै लाइब्रेरी, जिम, स्नूकर हाउस र रुफटप क्याफेटेरिया सञ्चालन गरिएको छ । कलेजको शैक्षिक तथा प्रशासकीय व्यवस्थापनबारे प्रश्न गर्दा बीएससी कम्यूयुटिङ साइन्स पढ्दै गरेका सुशान्त थारु भन्छन्, ‘२ वर्ष पहिले १२ कक्षाको नतिजा प्रकाशन भइसकेपछि आइटी पढ्नका लागि विदेश जाने तयारीमा थिए । तर परिवारले विदेशमा अध्ययनको स्वीकृति नदिएपछि स्ट्याम्फोर्ड कलेजमा भर्ना भएँ ।’ यतिबेला उनले बीएससी कम्यूयुटिङ साइन्सको अध्ययन सुरु गरेको दुई वर्ष पुगेको छ । यो अवधिमा आफू कलेजको अध्ययन अध्यापन र अतिरिक्त क्रियाकलापबाट सन्तुष्ट रहेको सुशान्तले सुनाए । ‘म अहिले कलज जोइन भएको २ वर्ष भयो । टप र्‍याङ्किङमा पनि परेको छु । यहाँको कक्षाकोठादेखि टिचर, पढाउने तरिका सबै मन परेको छ । साँच्चै नै युके नै गएर पढेको जस्तो महसुस गरेको छु,’ उनले भने । सोही कोर्समा यसै वर्ष भर्ना भएकी जेनिसी भण्डारीले पनि कलेजको वातावरण नयाँ विद्यार्थीको लागि पनि नयाँ जस्तो नभएको अनुभव साटिन् । ‘म आजबाट मात्रै कलेज सुरु गरेको हुँ । टिचर, एडमिन सबैको व्यवहार एकदमै घुलमिल हुन सकिने खालको रहेछ । विदेशको तुलनामा यहाँ निकै कम ‘फि’ मा विश्वभर क्रेडिड आवर पुग्ने डिग्री पाइने भएकाले यो कलेज रोजेँ,’ विद्यार्थी भण्डारीले भनिन् ।

‘पुराना दलसँग ३५ वर्षको हिसाब माग्न बन्द गर्नू, आगामी ३५ वर्षको कार्ययोजना ल्याउनू’

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार (आज) राजधानी काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।  ‍उनले विगत ३५ वर्षको हिसाबकिताब खोज्ने कार्यमा नलागि अगामी ३५ वर्षको कार्ययोजना ल्याउन समेत निर्देशन दिए ।  लामिछानेले विगतमा अन्य नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भएपनि अब त्यस्तो ठाउँ रास्वपासँग नरहेको समेत स्पष्ट पारे । उनले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आगामी पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अब हामीले दोष देखाउने कुनै कुरा छैन । अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो । ३५ वर्षको योजना ल्याउनुहोस् । अब वितेको ३५ वर्षको लागि उहाँहरु लाई कचकच गर्ने ठाउँमा हामी छैनौँ । जति सके गरे धन्यावाद । तर अबको ३५ वर्षमा कस्तो बनाउने हाम्रै हातमा छ नि ।’ उनले विगत ३५ वर्षमा पुराना राजनीतिक दलहरूले गरेका सकारात्मक कामहरूप्रति धन्यवाद दिनुपर्ने पनि बताए ।

जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी प्रतिपक्षको भुमिकामा रहेकाले संसदमा जनसरोकारका विषयलाई सशक्त ढंगले उठाउन पार्टीका नेता तथा कार्यकर्ताहरू सुसूचित हुनुपर्ने बताएका छन्।  ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित ‘सुवर्ण शम्शेर इकोनोमिक सिरिज’ मा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् ।  उनले संसदीय जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्न र नीतिगत विषयमा स्पष्ट हुनका लागि यस्ता छलफलहरू महत्त्वपूर्ण हुने उल्लेख गरे ।  उनले पार्टीका नेताहरू यस्ता बौद्धिक र समसामयिक विषयमा शिक्षित हुनुपर्ने र नयाँ विषयवस्तुबारे जानकारी राख्नुपर्नेमा जोड दिए । यस्ता कार्यक्रमले कार्यकर्ताको जिज्ञासा र रुचि बढाउने उनको विश्वास छ ।  सभापति थापाले भने, ‘हामी अहिले प्रतिपक्षको जिम्मेवारीमा छौं र संसदमा हाम्रा केही निश्चित उत्तरदायित्वहरू छन् । ती जिम्मेवारीलाई कसरी कुशलतापूर्वक निर्वाह गर्ने भन्ने विषयमा गम्भीर छलफल आवश्यक छ । आजको छलफलबाट साथीहरूले थप जानकारी प्राप्त गर्नुहुनेछ भन्ने मेरो विश्वास छ । यसले भोलिका दिनमा विभिन्न विषयमा व्यापक दृष्टिकोण बनाउन मद्दत पुग्नेछ ।’ उनले कार्यक्रममा उठाइएका विषय र प्राप्त सुझावहरूलाई संसदमा पुर्‍याइने पनि बताए ।

वीरगञ्जमा प्रोटोनको ११औं शोरुम सञ्चालन

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले वीरगञ्जमा आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ ।  सोही अवसरमा कम्पनीले प्रोटोनको नयाँ विद्युतीय गाडी ‘अल–न्यू प्रोटोन इमास ५’ समेत सार्वजनिक गरेको छ । नयाँ शोरुम सञ्चालनमा आएसँगै नेपालभर प्रोटोनका आधिकारिक बिक्री केन्द्रको संख्या ११ पुगेको कम्पनीले जनाएको छ ।  प्रोटोनले बजार विस्तारलाई निरन्तरता दिँदै आगामी दशैंअघि पूर्वी नेपालको बिर्तामोडमा अर्को शोरुम सञ्चालनमा ल्याउने तयारी गरेको छ ।  नेपालमा प्रोटोनको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको इमास ५ सहरी जीवनशैली र दैनिक यात्रालाई सहज, स्मार्ट तथा आधुनिक बनाउने उद्देश्यका साथ ल्याइएको कम्पनीको भनाइ छ । हालै मलेसियामा आयोजित प्रतिष्ठित ‘एलियान्ज डिएसएफ सवारीसाधन अफ द इयर अवार्ड्स २०२६’मा इमास ५ ले ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ को उपाधि समेत जितेको थियो ।  कम्पनीका अनुसार इमास ५ अत्याधुनिक प्रविधि, स्मार्ट सुविधा र बुद्धिमत्तापूर्ण डिजाइनको संयोजन भएको विद्युतीय सवारी हो । इमास ५ मा १४.६ इन्चको टचस्क्रिन मनोरञ्जन तथा सूचना प्रणाली, ताररहित एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता सुविधा उपलब्ध छन् ।  त्यस्तै, ७० लिटर क्षमताको अगाडिको भण्डारण स्थान, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको सामान राख्ने स्थान तथा ३२ वटा भण्डारण खण्डले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म आवश्यक सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ । सोरुम उद्घाटन तथा इमास ५ सार्वजनिक कार्यक्रममा वीरुगञ्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम, व्यावसायिक साझेदार, सञ्चारकर्मी, अटोमोबाइल पत्रकार लगायतको उपस्थिति थियो ।  प्रोटोन इमास ५ नेपालमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ ।  कम्पनीले प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तथा प्रिमियम भेरियन्टको ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ । साथै ग्राहकहरूले इमास ५ र इमास ७ को प्रत्यक्ष अवलोकन तथा परीक्षण यात्रा गर्न सक्नेछन् ।  नेपालभर प्रोटोनको उपस्थितिलाई विस्तार गर्दै क्षेत्रीय बजारमा विद्युतीय सवारीको पहुँच बढाउने अभियानअन्तर्गत बीरगञ्जमा नयाँ सोरुम सञ्चालनलाई कम्पनीले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। आगामी दिनमा बिर्तामोडमा समेत सोरुम सञ्चालनमा ल्याएर देशभर आधिकारिक बिक्री केन्द्रको संख्या १२ पुर्‍याउने लक्ष्य कम्पनीले लिएको छ।

आकाशमा रातो चन्द्रमा देखिँदै, पृथ्वीको छायामा लुक्नेछ ९६ प्रतिशत चन्द्रमा

काठमाडौं । यो साता आकाशमा दुर्लभ दृश्य देखिने भएको छ । अगस्ट २७ र २८ (भदौ ११ र १२ गते) को मध्यरातमा लाग्ने आंशिक चन्द्रग्रहणका क्रममा पृथ्वीको छायाले चन्द्रमाको सतहको करिब ९६ प्रतिशत भाग ढाक्ने वैज्ञानिकहरूले जनाएका छन् ।  त्यसबेला चन्द्रमा गाढा रातो रंगमा देखिने भएकाले आकाशमा निकै आकर्षक दृश्य देखिनेछ । पृथ्वीको वायुमण्डलबाट छानिएर र मोडिएर आएको सूर्यको प्रकाश चन्द्रमासम्म पुग्दा त्यसको रंग रातोतर्फ परिवर्तन हुन्छ । यही कारण ग्रहणको समयमा चन्द्रमा सामान्य अवस्थाभन्दा फरक, गाढा रातो देखिन्छ ।  यस्तो दृश्य वैज्ञानिकहरूका लागि अध्ययनको विषय मात्र नभई आकाश अवलोकनमा रुचि राख्ने सर्वसाधारणका लागि पनि विशेष आकर्षण बन्ने गर्छ । यो आंशिक चन्द्रग्रहण पूर्णिमाका दिन पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आएपछि लाग्नेछ । त्यसक्रममा पृथ्वीको घना छाया बिस्तारै चन्द्रमाको सतहतर्फ फैलिँदै जानेछ ।  ग्रहणको चरम अवस्थामा चन्द्रमाको अधिकांश भाग पृथ्वीको छायामा पर्नेछ भने पातलो अर्धचन्द्राकार भागमा सूर्यको प्रत्यक्ष प्रकाश परिरहनेछ । यो आंशिक चन्द्रग्रहण उत्तरी अमेरिका, दक्षिणी अमेरिका, युरोप र अफ्रिकाका केही भागबाट देखिनेछ । अनुमानित ३ अर्ब ३० करोड मानिसले यो दृश्य अवलोकन गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । पृथ्वीका विभिन्न स्थानबाट हेर्दा ग्रहणका चरणहरू एउटै समयमा हुने भए पनि स्थानीय समय भने ठाउँअनुसार फरक हुनेछ । अमेरिकाको पश्चिमी तटीय क्षेत्रका लस एन्जलस र पोर्टल्यान्डजस्ता सहरमा सूर्यास्त भएको केही घण्टापछि ग्रहणको प्रभाव उत्कर्षमा पुग्नेछ ।  त्यस्तै, न्युयोर्क र ज्याक्सनभिलजस्ता पूर्वी तटीय सहरबाट हेर्दा मध्यरात आसपास ग्रहणको चरम अवस्था देखिनेछ। बेलायत, युरोप र अफ्रिकाका केही क्षेत्रमा भने ग्रहण बिहान सबेरै देखिनेछ । सूर्योदय हुनुअघि पश्चिमी क्षितिजतर्फ चन्द्रमा झुकिरहेको अवस्थामा ग्रहण अवलोकन गर्न सकिनेछ । तर भारत, नेपाल, चीन, जापान र अस्ट्रेलियालगायतका एसियाली तथा अन्य केही देशबाट भने यो चन्द्रग्रहण देखिने छैन । ग्रहण लाग्ने समयमा यी क्षेत्रका धेरै स्थानमा दिनको समय हुने भएकाले आकाशमा चन्द्रमा देखिने अवस्था हुँदैन । चन्द्रग्रहणको अर्को विशेषता भनेको यसलाई सूर्यग्रहणजस्तो विशेष सुरक्षा चश्माको आवश्यकता नपरी नाङ्गो आँखाले सुरक्षित रूपमा हेर्न सकिनु हो ।  त्यसैले ग्रहण देखिने क्षेत्रमा रहेका मानिसले सामान्य रूपमा आकाशतर्फ हेरेर यसको अवलोकन गर्न सक्छन् । यद्यपि, दूरबिन वा टेलिस्कोपको प्रयोग गर्दा चन्द्रमाको सतह र ग्रहणको दृश्य अझ स्पष्ट रूपमा हेर्न सकिन्छ । सूर्य, पृथ्वी र चन्द्रमा एकै सीधामा आउँदा चन्द्रग्रहण लाग्छ । पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आएपछि सूर्यको प्रकाश चन्द्रमामा प्रत्यक्ष रूपमा पुग्न सक्दैन र चन्द्रमा पृथ्वीको छायामा प्रवेश गर्छ । तर ग्रहणका क्रममा चन्द्रमा पूर्ण रूपमा हराउँदैन। पृथ्वीको वायुमण्डल हुँदै छानिएर र मोडिएर पुगेको सूर्यको रातोतर्फको प्रकाश चन्द्रमामा परेका कारण यो गाढा रातो देखिन्छ ।  यही कारण पूर्ण चन्द्रग्रहणलाई सामान्यतया ‘रक्तिम चन्द्रमा’ अर्थात् ‘ब्लड मुन’ समेत भनिन्छ ।

‘अनपेक्षित विपदमा यथार्थ मूल्याङ्कन र द्रूत दाबी फर्छ्याैट गर्न सर्भेयर सक्षम’

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्रीले नेपाली बीमा सर्भेयरहरूले अनपेक्षित विपद्का बेला जोखिमको यथार्थ मूल्याङ्कन गरी समयमै दाबी फर्छ्याैट गर्न सक्ने क्षमता प्रमाणित गरिसकेको बताएका छन्। आइतबार (आज) रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्स (रिसी) को प्रथम वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष क्षेत्रीले नेपाली बीमा क्षेत्रको बढ्दो दायरा, प्राविधिक जनशक्तिको विकास तथा विशेषगरी विपद् व्यवस्थापनमा सर्भेयरहरूले निर्वाह गर्दै आएको भूमिकाबारे धारणा राखेका थिए ।  उनका अनुसार नेपालमा पर्याप्त संख्यामा अनुभवी तथा दक्ष बीमा सर्भेयरहरू छन् । ‘कोभिड–१९ महामारी तथा हालैका ठूला प्राकृतिक विपद्का समयमा नेपाली सर्भेयरहरूले निर्वाह गरेको भूमिका, छिटो दाबी फछ्र्यौटको लागि पुर्‍याउनु भएको योगदान प्रशंसनीय छ,’ अध्यक्ष क्षेत्रीले भने ।  त्यसैगरी, कार्यक्रममा अध्यक्ष क्षेत्रीले नेपालको आर्थिक क्षेत्रमा बैंकिङ प्रणालीको दबदबा रहँदै आएकोमा पछिल्लो समय बीमा क्षेत्रले पनि आफ्नो बलियो उपस्थिति जनाउँदै गएको बताए । उनले भने, ‘जीवन तथा निर्जीवन बीमाले देशको समग्र वित्तीय क्षेत्रमा ठूलो हिस्सा ओगटिसकेको छ भने योसँगै लगानीका चुनौती र यसलाई थप आधुनिक एवं उन्नत बनाउनुपर्ने दायित्व पनि थपिएको छ ।’ उनले दक्षिण एसियाली क्षेत्रमै नेपालको बीमा सेवा प्रवाहको स्थान राम्रो र प्रशंसनीय हुँदै गएको उल्लेख गरेका छन्। त्यस्तै, क्षेत्रीले केही वर्ष अघिसम्म देशमा एक जना पनि एक्चुअरी नभएको स्थिति स्मरण गर्दै अहिले त्यो अवस्थामा सुधार हुँदै गएको औंल्याए ।  उनका अनुसार हाल त्रिभुवन विश्वविद्यालयको ‘स्कुल अफ म्याथमेटिक्स’ बाट उत्पादित जनशक्तिले यो अभाव पूरा गर्दै लगेको र नेपालमै एक्चुअरीहरू तयार हुने वातावरण बनेको छ । अध्यक्ष क्षेत्रीले हवाई दुर्घटना हुँदा नेपाली सर्भेयरलाई समेत सर्भेमा सहभागी गराउनुपर्नेमा जोड दिए । विदेशी सर्भेयरलाई मात्र जिम्मेवारी दिनुभन्दा नेपाली सर्भेयरलाई संयुक्त सर्भेमा संलग्न गराउँदा उनीहरूको क्षमता र कार्यक्षेत्र विस्तार हुने उनको भनाइ छ । उनले नेपालजस्तो बाढी र भूकम्पको उच्च जोखिममा रहेको मुलुकले आफ्नै जोखिम मोडेल विकास गर्नुपर्ने आवश्यकता औंल्याए । विभिन्न देशले आफ्नो भौगोलिक जोखिमअनुसार बाढी, भूकम्प तथा ज्वालामुखीको क्षतिसम्बन्धी जोखिम मोडेल विकास गरेको उल्लेख गर्दै नेपालले भने हालसम्म आफ्नै जोखिम मोडेल बनाउन नसकेको उनको भनाइ थियो । विदेशी सेमिनार तथा सम्मेलनमा सहभागी हुँदा विभिन्न देशले आफ्नै जोखिम मोडेल प्रस्तुत गर्ने गरेको अनुभव सुनाउँदै क्षेत्रीले नेपालले पनि आफ्नै बाढी तथा भूकम्पको जोखिमसम्बन्धी मोडेल विकास गर्नुपर्नेमा जोड दिएका छन् ।  हाल नेपाल बाह्य एक्चुअरीले गरेको अनुमान वा निर्धारण गरेको दरमा निर्भर हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।  यसका लागि नेपाल बीमा प्राधिकरणले अनुसन्धानमूलक संस्थालाई सहयोग गरी व्यापक अध्ययन गराउनुपर्ने उनले बताए । आफ्नै देशको जोखिमलाई आधार बनाएर मोडेल विकास गर्न सके त्यसबाट बीमा क्षेत्र र नियामक दुवै लाभान्वित हुने क्षेत्रीको विश्वास छ ।  क्षेत्रीले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणसम्बन्धी अनुसन्धानमा विभिन्न संस्थाबीच सहकार्य आवश्यक औंल्याए ।  बीमा क्षेत्रसँग आबद्ध सर्भेयर एसोसिएसन तथा बीमक संघलाई समेत सहभागी गराएर यस्तो अध्ययन र अनुसन्धानलाई अघि बढाउन सकिने उनले बताए । कार्यक्रममा क्षेत्रीले बीमा पोलिसी डिजाइनदेखि दाबी मूल्याङ्कनसम्मका विषयमा अनुसन्धान गरी आवश्यक सुझाव र सिफारिस तयार गर्नुपर्ने उल्लेख गरे । इन्जिनियरिङ बीमामा ‘फिडिक’को सिफारिस तथा इन्जिनियरिङ काउन्सिलले तयार गर्ने बीमा क्लजलाई आधार बनाउने गरिएको उल्लेख गर्दै क्षेत्रीले नेपालमा पनि बीमा क्षेत्रका प्राविधिक विषयमा अनुसन्धानको आवश्यकता रहेका औंल्याएका छन् ।  उनका अनुसार नेपाल बीमक संघले प्राविधिक विषयमा सुझाव दिन विभिन्न टेक्निकल ग्रुप तथा सब–कमिटी गठन गरेको छ ।  अन्डरराइटिङसम्बन्धी विषयमा सुझाव दिन सात सदस्यीय टेक्निकल सब–कमिटी रहेको तथा स्ट्यान्डर्ड फाइनान्स र पुनर्बिमालगायतका विषयमा पनि प्राविधिक सब–कमिटीमार्फत काम भइरहेको उनले बताए । बीमक संघको एउटा सब–कमिटीले तेस्रो पक्ष बीमाको प्रिमियम कति निर्धारण गर्ने भन्ने विषयमा अध्ययन गरी प्रतिवेदनसमेत तयार गरिसकेको क्षेत्रीले जानकारी जानकारी दिए ।  त्यस्तै, सरकारले गठन गरेको बीमा सुधार कार्यदललाई संघका तर्फबाटसुझावसमेत दिइएको उनले उनले बताए ।  विशेषगरी जलविद्युत् क्षेत्रमा भइरहेको ठूलो लगानीलाई मध्यनजर गर्दै यससम्बन्धी जोखिम र तथ्यांकको व्यवस्थित अध्ययन आवश्यक रहेको उनले बताए ।  नेपालमा हालसम्म करिब ४ हजार मेगावाट जलविद्युत् विकास भइसकेको उल्लेख गर्दै क्षेत्रीले हाइड्रोपावरसम्बन्धी तथ्यांक संकलन र जोखिम न्यूनीकरणका लागि ‘मेट्रो पावर’ गठनको तयारी भइरहेको जानकारी दिए । बीमा कम्पनीसँग हाल कुनै जलविद्युत् आयोजनाबाट कति बीमा शुल्क संकलन भयो र कति दाबी पर्यो भन्ने तथ्यांक भए पनि आयोजनाको क्षमता, उचाइ, नदीको बहाव तथा पानीको गति जस्ता विस्तृत जोखिमसम्बन्धी तथ्यांकको अभाव रहेको उनले बताए ।  ‘यी सम्पूर्ण तथ्यांक प्राप्त भएपछि मात्रै सही प्राइसिङ गर्न र विद्यमान बीमा प्रडक्टलाई स्ट्यान्डर्डाइज गर्न सकिन्छ,’ क्षेत्रीले भने । अनुसन्धानका लागि नेपाल बीमक संघ तथा समग्र बीमा उद्योग नै सहकार्य गर्न तयार रहेको उनले बताएका छन् ।