गगनलाई भेट्न देउवा तयार

छलफलका विषयमा छैन तयारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र पूर्वसभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ । 

उपचारका क्रममा करिब पाँच महिना सिंगापुरमा बसेर साउन २८ गते नेपाल फर्किएका देउवा थापासँग भेटवार्ताका लागि तयार भएका हुन् ।

देउवाका निजी सचिव भानु देउवाका अनुसार थापासँगको भेटका लागि समय तय गर्ने तयारी भइरहेको छ । 

देउवाका नियमित कार्यक्रमलाई हेरेर भेटको समय यकिन गरिने उनले जानकारी दिए ।

‘गगनजीसँगको भेटका लागि तयारी गरिरहेका छौं,’ भानुले भने, ‘तर भेटको समय र छलफल गर्ने विषयवस्तु अहिलेसम्म निश्चित भएको छैन ।’

विशेष महाधिवेशनबाट सभापति बनेपछि थापा र पूर्वसभापति देउवाबीच अहिलेसम्म प्रत्यक्ष भेटवार्ता वा टेलिफोन संवादसमेत भएको छैन । 

त्यसैले आगामी भेटलाई प्रारम्भिक तथा सामान्य भेटका रूपमा पनि लिन सकिने देउवाका निजी सचिवले भानुले बताए ।

देउवा नेपाल फर्किएपछि कांग्रेसभित्र पार्टीको आन्तरिक एकता कायम गर्न विभिन्न तहबाट पहलसमेत सुरु भएको छ । 

विशेष महाधिवेशनमा थापालाई समर्थन गरेका नेताहरूले समेत देउवा र थापाबीच संवाद र सहकार्य आवश्यक रहेको बताउँदै आएका छन् ।

यसै क्रममा कांग्रेस नेता नैनसिंह महरले पार्टी एकताका लागि आफूले तीनवटा प्रस्तावसहित सभापति थापासँग भेट गरेको बताएका छन् । 

थापाले आफूले राखेका प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको महरको दाबी छ ।

‘पार्टी एकताका लागि तीनवटा प्रस्तावसहित सभापतिलाई भेटेको छु । उहाँले हुन्छ भन्नुभएको छ,’ महरले भने 

उनका अनुसार प्रस्तावको पहिलो बुँदामा उनले सभापति थापा र पूर्वसभापति देउवाले पार्टी एकताका लागि छलफल गर्नुपर्ने उल्लेख गरेका छन् । दोस्रोमा दुबै सभापतिले १५औं महाधिवेशनको नेतृत्व आफूले लिन पाउनुपर्ने दाबी त्यागेर तेस्रो व्यक्ति चयन गरेरै भएपनि अघि बढ्नुपर्ने प्रस्ताव नेता महरले अघि सारेका छन् ।

तेस्रोमा अदालतको निर्णय आउनुपूर्व नै पार्टी एकतामा जाने र अदालतको निर्णय दुबैले स्वीकार गर्नुपर्ने उनले सुझाएको बताए । 

‘पूर्वसभापतिज्यूले ठीक हो त भन्नुभएको छ । छलफल पनि गर्ने अदालतको निर्णय पनि पर्खने जस्तो संकेत गर्नुभयो,’ आइतबार बिहान देउवासँग भेट गरेका महरले भने ।

विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको विभाजन र आन्तरिक ध्रुवीकरण अन्त्य गर्न देउवा र थापाबीचको संवादलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । 

यद्यपि, उनीहरूबीच हुने भेटमा कुन–कुन विषयमा छलफल गर्ने भन्नेबारे भने अहिलेसम्म औपचारिक तयारी भइसकेको छैन ।

Share News