काठमाडौं । ‘देश र कांग्रेस जोड्ने अभियान’सञ्चालन गरिरहेका नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
आइतबार देउवा निवासमा भएको भेटमा महरले पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्व अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध बनाउन देउवाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
लामो समयको उपचारपछि सार्वजनिक गतिविधिमा फर्किएका देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आफूले भेट गरेको महरले बताए ।
महरले कांग्रेसभित्रको विवाद र विभाजन अन्त्य गर्न पार्टी सभापति गगन थापा र देउवाबीच प्रत्यक्ष भेटवार्ता तथा संवाद आवश्यक रहेको धारणा पनि राखेका थिए ।
भेटका क्रममा देउवाले थापा र आफूबीच भेटवार्ता गराउन पहल भइरहेको बताएका थिए ।
अदालतको निर्णय आएपछि त्यसअनुसार अघि बढ्ने देउवाको भनाइ रहेको महरले जानकारी दिएका छन् ।
कांग्रेसभित्र नेतृत्व र संगठनसम्बन्धी विषयमा आन्तरिक मतभेद देखिइरहेका बेला महरले पार्टीका शीर्ष नेताबीच संवाद र सहकार्यमा जोड दिँदै आएका छन् ।