विकासन्युज

प्रभु महालक्ष्मी लाइफले उत्कृष्ट अभिकर्तालाई पोखरामा गर्‍यो सम्मान

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गर्दै ‘क्लब एचिभर्स अवार्ड’ कार्यक्रम पोखरामा सम्पन्न गरेको छ । भदौ ४ देखि ७ गतेसम्म चार दिन सञ्चालन भएको कार्यक्रममा कम्पनीले चेयरम्यान क्लब र सीईओ क्लबमा छनोट भएका अभिकर्तालाई विशेष सम्मान गरेको जनाएको छ । कार्यक्रममा देशभरबाट करिब २०० अभिकर्ता, व्यवस्थापक तथा कम्पनीका पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीकी सञ्चालक समिति अध्यक्ष सम्झना अर्यालले गरेकी थिइन् । उनले अभिकर्ता पेशालाई सम्मानित र मर्यादित व्यवसायका रूपमा स्थापित गर्न उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई सम्मान गरिएको बताइन् । आगामी दिनमा पनि अभिकर्ताको व्यवसाय विस्तारका लागि कम्पनीले आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले निरन्तर मेहनत र लगनशीलताबाट प्राप्त सफलता नै वास्तविक सफलता भएको बताए । उनले टिमवर्कका माध्यमबाट आगामी वर्ष अझ ठूलो उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त ग रे। कार्यक्रममा आचार्य राजाबाबु साहले ‘पावर अफ माइन्डसेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए । कम्पनीका अनुसार उक्त प्रशिक्षणले अभिकर्ताको व्यवसायिक क्षमता अभिवृद्धिमा प्रेरणा दिएको छ । कार्यक्रममा नेपाली चलचित्रका अभिनेता तथा निर्माता प्रदीप खड्काको विशेष उपस्थिति रहेको थियो । उनले आफ्नो संघर्ष र सफलताको अनुभव सहभागी अभिकर्तासँग साझा गर्दै प्रेरणादायी प्रस्तुति दिएका थिए । प्रभु महालक्ष्मी लाइफले अभिकर्ताको क्षमता विकास, उत्प्रेरणा र सम्मानका लागि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्दै आएको जनाएको छ ।

बेइजिङमा ह्युमनोइड रोबोटद्वारा ४०० मिटर दौडको विश्व कीर्तिमान भङ्ग

काठमाडौं । चीनको बेइजिङमा आयोजित दोस्रो ‘विश्व ह्युमनोइड रोबोट गेम्स’ को प्रारम्भिक चरणमा एक रोबोटले ४०० मिटर दौडको मानव विश्व कीर्तिमानलाई उछिनेको छ । ‘तिआनगोङ अल्ट्रा’ नामक ह्युमनोइड रोबोटले ४०० मिटरको निर्धारित दूरी मात्र ३९।७० सेकेण्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेको हो ।  यो समय पुरुषतर्फको ४०० मिटर दौडमा कायम रहेको मानव विश्व कीर्तिमान ९४३।०३ सेकेन्ड० भन्दा निकै कम हो । उक्त प्रतियोगितामा सहभागी अन्य रोबोटहरूलाई पछि पार्दै तिआनगोङ अल्ट्राले सो सफलता प्राप्त गरेको हो । ह्युमनोइड रोबोटको यस गतिले प्रविधिको क्षेत्रमा नयाँ आयाम थपेको ठानिएको छ । 

बदलिएको अटो क्षेत्र, नाडा अटोशोमा मेड इन नेपालका ८ प्रडक्ट

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) स्थापना भएको दुई वर्षपछि सन् १९७७ मा नेपालमा एक वर्षमा जम्मा ८०१ वटा नयाँ सवारीसाधन दर्ता भएका थिए । आज देशभर करिब ५५ लाख सवारीसाधन दर्ता छन् । नयाँ सवारीसाधन दर्तामध्ये करिब ८४ प्रतिशत मोटरसाइकल छन् । यी दुई तथ्याङ्कबीच करिब पाँच दशकको अन्तर छ । यो परिवर्तन कुनै एकैपटकको योजनाबाट आएको होइन । दशकौँको विस्तारसँगै नेपालको अटोमोबाइल क्षेत्रले ठूलो आर्थिक तथा व्यावसायिक संरचना निर्माण गरेको छ । विगत पाँच आर्थिक वर्षमा नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा सम्बन्धित सामग्री आयात गरेको छ । त्यसबाट करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व संकलन भएको नाडाले जनाएको छ । पछिल्लो एक आर्थिक वर्षमा मात्रै यस क्षेत्रले राज्यलाई ७५ अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाएको छ । राजस्वबाहेक अटोमोबाइल क्षेत्रले देशभर ठूलो व्यावसायिक संरचना विस्तार गरेको छ । प्रत्येक प्रदेशसम्म फैलिएको डिलर सञ्जाल, पार्ट्स तथा आफ्टरमार्केट आपूर्ति शृंखला, तालिमप्राप्त मेकानिक र सर्भिस टेक्निसियन, सवारी खरिदलाई सहज बनाउने अटो फाइनान्स तथा आम उपभोक्तासम्म पुगेको सवारी बीमा यस क्षेत्रका महत्वपूर्ण पक्ष हुन् । त्यस्तै, उत्सर्जन, सुरक्षा तथा करसम्बन्धी नीतिमा सरकारसँगको निरन्तर संवाद पनि यस क्षेत्रको विकाससँग जोडिएको छ । यी संरचना एकैपटक बनेका होइनन् । यसका लागि दशकौँ लागेको छ । तर पछिल्ला केही वर्षमा नेपालको अटोमोबाइल क्षेत्रको कथा विस्तारै बदलिन थालेको छ । नाडाले मंगलबारदेखि नाडा अटो शो-२०२६ को आयोजना गर्दैछ । नाडाको ५०औं स्थापना वर्षको अवसरमा आयोजना हुन लागेको यस वर्षको अटो शोलाई स्वर्ण जयन्ती विशेष संस्करणका रूपमा आयोजना गरिँदैछ । नाडाको स्वर्ण जयन्ती संस्करणमा रहने ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियनमा नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारीसाधन तथा अटोमोबाइल सामग्री प्रदर्शन गरिँदैछ । करिब ८ नेपाली उत्पादक सहभागी हुने उक्त प्याभिलियनमा विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट र हेल्मेटलगायतका उत्पादन प्रदर्शन गरिने जनाइएको छ । यसमा यात्री, एसियन ब्याट्रिज, कोहिनूर प्लास्टिक इन्डस्ट्रिज, नेपाल ल्युब आयल र पूर्वाञ्चल ल्युब आयललगायतका उत्पादक सहभागी छन् ।  स्वदेशी उत्पादनसँगै नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्डको निरन्तर उपस्थिति रहने नाडाले जनाएको छ । ‘हामीले दिन खोजेको सन्देश यही हो, नेपाल अब गाडी आयात गर्ने देशमा मात्र सीमित छैन । हामी बिस्तारै आत्मनिर्भरता र स्वदेशी उद्योगतर्फ बढिरहेका छौँ,’ नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले भने । 

२ कम्पनीको लाभांश घोषणा, मर्जरमा जाने एजेण्डा

काठमाडौं । विभिन्न दुई कम्पनीले लाभांश घोषणा गरेका छन् । भेन्चर हायर पर्चेज लिमिटेड र नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले लाभांश घोषणा गरेका हुन् । भेन्चर हायर पर्चेजको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले भदौ ३० गते दिउँसो ३ बजे काठमाडौं-३, पानीपोखरीमा १०औँ वार्षिक साधारणसभा बोलाएको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा लेखापरीक्षक नियुक्ति, सञ्चालक नियुक्तिको अनुमोदन, सञ्चालक समितिको बैठक भत्ता निर्धारण र सार्वजनिक निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्नेछ । यस्तै, नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १५ लाख ५७ हजार ३४३ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले भदौ १४ गते दिउँसो ३:३० बजे एभरेस्ट होटल, नयाँ बानेश्वरमा दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षक नियुक्ति तथा स्वतन्त्र सञ्चालक नियुक्तिको अनुमोदन गर्नेछ । त्यस्तै, कम्पनीको उद्देश्यसँग मेल खाने लगानी कम्पनीहरूलाई गाभ्ने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिने तथा प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । 

नेपाल टेलिकमले माग्यो ब्रोकरको सूची, १० अर्बको कारोबार हुनुपर्ने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल (ब्रोकर) सेवा प्रदायक कम्पनीको सूची दर्ता गर्न प्रस्ताव आह्वान गरेको छ । कम्पनीलाई चालु आवको लागि धितोपत्र दलाल सेवा आवश्यक भएकोले योग्यता पुगेका कम्पनीलाई सूची दर्ता गर्न आग्रह गरेको हो ।  टेलिकमका अनुसार सूचीकरणका लागि इच्छुक धितोपत्र दलाल सेवा प्रदायक कम्पनी प्रचलित कानुनबमोजिम कम्पनी वा संगठित संस्थाका रूपमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी अद्यावधिक नवीकरण गरेको र स्थायी लेखा नम्बर प्राप्त गरेको हुनुपर्नेछ । कम्पनीले नेपाल धितोपत्र बोर्डले तोकेको न्यूनतम चुक्ता पुँजी पूरा गरेको, आर्थिक वर्ष २०८१/८२ को खुद कार्यशील पुँजी धनात्मक रहेको र सोही आर्थिक वर्षको करचुक्ता गरेको हुनुपर्नेछ ।  त्यसैगरी, अन्तिम दुई आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा धितोपत्र खरिद-बिक्रीको औसत वार्षिक कारोबार रकम १० अर्ब रुपैयाँभन्दा बढी भएको हुनुपर्नेछ । धितोपत्र दलालका रूपमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव पनि आवश्यक पर्नेछ । सूचीकरणका लागि कम्तीमा एउटा पूर्ण वा आंशिक सरकारी स्वामित्व भएको कम्पनी, संगठित संस्था वा अन्य संगठित संस्थामा धितोपत्र दलालका रूपमा कम्तीमा एक वर्ष काम गरेको अनुभव हुनुपर्ने टेलिकमले जनाएको छ । साथै, प्रचलित कानुनबमोजिम कारोबार गर्न अयोग्य नभएको हुनुपर्नेछ ।

देशभर मनसुनी वायुको प्रभाव, यी ४ प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मधेश प्रदेशका एक-दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ । आज राति पनि देशभर साधारणतया बदली रहनेछ । हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही तथा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन महाशाखाले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

टीकापुर घटनाको लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न मन्त्री चौधरीको प्रतिबद्धता

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।  थारू कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढंगले समाधान खोज्नुपर्ने बताइन् ।  थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको निकास’ तथा ‘नेपालको संविधानको अन्तरवस्तुमा थारू समुदायको साझा सवाल र संशोधनको आवश्यकता’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका माग तथा मुद्दा सरकारमै बसेर उठाइरहेको बताउँदै थारू समुदायको अधिकार, पहिचान र न्यायका सवालमा आफू निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरिन् ।  उनले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने र थारू समुदायका जायज माग सम्बोधनका लागि सरकार गम्भीर रहेको बताइन् ।

प्रतिनिधिसभा र पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । यसैबीच, आजै विभिन्न पाँचवटा संसदीय समितिको बैठक पनि बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ ।