विकासन्युज

सुन तोलामा ३ हजार २०० रुपैयाँ महँगियो, चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम सोमबार पनि जारी रहेको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । एक दिनमै सुनको मूल्य ३ हजार २०० रुपैयाँले बढेको हो । यता, चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।

फोहोरको थुप्रो बस्तीमाथि खस्दा गिनीमा ३० जनाको मृत्यु

काठमाडौं । गिनीको राजधानी कोनाक्रीमा भारी वर्षापछि फोहोरको थुप्रो ढल्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ । घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटना स्थानीय समयअनुसार राति करिब २ बजे सहरको डार–एस–सलाम क्षेत्रमा भएको हो ।  गिनी सरकारका अनुसार भारी वर्षापछि फोहोरको ठूलो थुप्रो अचानक ढलेको थियो । त्यसको भग्नावशेषमा अझै केही मानिस पुरिएको आशंका गरिएको छ । सरकारले उद्धार तथा राहतका लागि सेनासहित ठूलो संख्यामा सुरक्षाकर्मीलाई घटनास्थलमा परिचालन गरेको छ । स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै एक महिलाले घटनामा आफ्ना पाँच सन्तानको मृत्यु भएको बताएकी छन् ।  अधिकारीहरूले भग्नावशेषमुनि अझै मानिसहरू पुरिएको हुन सक्ने आशंका गरेका छन् । त्यसैले मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ । घटनास्थल पुगेका गिनीका प्रधानमन्त्री अमादु ओउरी बाहले घटनाको अवस्थाबारे जानकारी लिएका छन् । यसअघि स्थानीय नेता लान्सिने सिलाले समाचार संस्था एएफपीलाई घटनामा ठूलो संख्यामा मानिस हताहत भएको हुन सक्ने बताएका थिए ।  उनका अनुसार हालसम्म १८ जनाको शव निकालेर शवगृहमा पठाइसकिएको छ ।

सानिमा ग्रोथ फण्डले ५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा ग्रोथ फण्डले लाभांश घोषणा गरेको छ । सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको यस योजनाले गत आर्थिक वर्षका लागि इकाईधनीलाई करसहित ५ प्रतिशत नगद लाभांश दिने भएको हो । सानिमा क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । सानिमा ग्रोथ फण्ड बन्दमुखी प्रकृतिको योजना हो । यसको कुल आकार ६७ करोड २५ लाख ३२ हजार ६ सय रुपैयाँ रहेको छ । गत असार मसान्तसम्म योजनाको खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ५४ पैसा रहेको छ । लाभांश वितरण प्रयोजनका लागि भदौ १८ गते एक दिन योजना व्यवस्थापकको दर्ता किताब बन्द हुने भएको छ। त्यसअघि कायम इकाईधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा रहेका दुई बन्दमुखी योजनाका इकाइधनीलाई आर्थिक वर्ष २०८२/८३ का लागि १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई सूचना पठाउँदै सञ्चालक समितिको भदौ ५ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको हो । बैठकले प्रभु सेलेक्ट फण्डका लागि १२ प्रतिशत र प्रभु स्मार्ट फण्डका लागि १२ प्रतिशत समान नगद लाभांश (कर सहित) घोषणा गरेको हो ।  प्रभु बैंक लिमिटेड प्रवर्द्धक रहेको प्रभु म्युचुअल फन्डअन्तर्गत यी दुवै योजना प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको छ । लाभांश वितरणसम्बन्धी थप प्रक्रिया, बुक क्लोज मिति र भुक्तानीको समय तालिका सम्बन्धित नियामक निकायको स्वीकृतिपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

सनराइज फोकस्ड इक्विटी फन्डका लगानीकर्ताले ४.५ प्रतिशत नगद लाभांश पाउने

काठमाडौं । एलएस क्यापिटल लिमिटेडले सञ्चालन गरिरहेको सनराइज फोकस्ड इक्विटी फन्ड का इकाइधनीलाई आर्थिक वर्ष २०८२/८३ का लागि ४.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई सूचना पठाउँदै सञ्चालक समितिको भदौ ५ गते बसेको १५८औँ बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको जानकारी दिएको हो । सूचनाअनुसार लक्ष्मी सनराइज बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा एलएस क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको सनराइज फोकस्ड इक्विटी फन्डका इकाइधनीलाई उक्त नगद लाभांश वितरण गरिनेछ । लाभांश वितरणसम्बन्धी थप प्रक्रिया तथा बुक क्लोज मिति लगायतका विवरण सम्बन्धित निकायको स्वीकृतिपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

आजदेखि अभिकर्ता तालिम सञ्चालन गर्दै आइजिआई प्रुडेन्सियल

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले आजदेखि (भदौ ८–११ गते) सम्म निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले निर्जीवन बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्ति तथा संस्थाको लागि उक्त तालिम संचालन गर्न लागेको हो । तालिममा सहभागि हुनका लागि नेपाली नागरिकतासहित शैक्षिक योग्यताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, स्थायी लेखा नम्बर चाहिने कम्पनीले जनाएको छ । त्यस्तै तालिममा सहभागी इच्छुक अभिकर्ताले न्यूनतम प्लसटु वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।  कम्पनीका अनुसार तालिम अनलाइनमार्फत विहान १० बजेदेखि ४ बजेसम्म संचालन गरिनेछ ।  अभिकर्ता परीक्षा भने भदौ ११ गते दिनको २ बजे संचालन हुनेछ ।  

विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री थापा, बहुमत जुटाउन सकस

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थापाले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा सरकार गठन गरेका थिए । तर सरकार गठनका बेला रहेको राजनीतिक समीकरण अहिले फेरिएको छ । राप्रपाले समर्थन फिर्ता लिँदै आफ्ना सांसदलाई विश्वासको मतको पक्षमा मतदान नगर्न ह्विप जारी गरेपछि मुख्यमन्त्री थापालाई बहुमत जुटाउन चुनौती थपिएको हो । मुख्यमन्त्री नियुक्त हुँदा थापालाई ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको थियो । तर राप्रपाले आफ्ना प्रदेशसभा सदस्य उद्धव थापालाई पार्टी सदस्य र प्रदेशसभा सदस्यबाट कारबाही गरिसकेको छ भने अन्य तीन सांसदलाई पनि कारबाहीको प्रक्रिया अघि बढाएको छ । यससँगै मुख्यमन्त्रीको पक्षमा रहेको प्रारम्भिक समर्थन घटेको छ । हाल मुख्यमन्त्री थापाको पक्षमा नेकपा एमालेका २५ र नेपाली कम्युनिस्ट पार्टीका २६ गरी ५१ सांसद मात्र देखिन्छन् । राप्रपाका १२ सांसदले विश्वासको मतको विपक्षमा मतदान गर्ने अवस्था बनेपछि थापालाई आवश्यक बहुमत जुटाउन कठिन देखिएको छ । आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् । प्रस्तावमाथि दलका सांसदहरूले धारणा राखेपछि मतदान हुने कार्यसूची रहेको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्ना ३६ सांसदलाई मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ । ११० सदस्यीय बागमती प्रदेशसभामा हाल १०४ सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ५३ मत आवश्यक पर्छ । तर प्रदेशसभा सभामुखविहीन रहेकाले मतदानको अंकगणित थप जटिल बनेको छ । संविधानको धारा १८६ अनुसार प्रदेशसभा बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख अप्सरा चापागाईंले मत दिन नपाउने अवस्था छ । त्यसैले प्रदेशसभामा कायम १०४ सदस्य भए पनि मुख्यमन्त्रीको पक्षमा आवश्यक मत जुटाउने चुनौती थपिएको हो । बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेसका ३६, नेपाली कम्युनिस्ट पार्टीका २६, नेकपा एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । सरकार गठनका क्रममा मुख्यमन्त्री थापालाई राप्रपासहितका दलको समर्थन रहेको थियो । तर अहिले राप्रपा विपक्षमा पुगेपछि थापाको सरकार अल्पमतमा पर्ने जोखिम बढेको छ । राप्रपाले आफ्ना सांसदलाई विश्वासको मत नदिन ह्विप जारी गरेकाले उसका १२ मत मुख्यमन्त्रीको पक्षमा जाने सम्भावना छैन ।

नाडा अटो शो २०२६ मा नयाँ ‘नामी बक्स’ सार्वजनिक हुँदै

काठमाडौं । विद्युतीय सवारी ब्रान्ड नामीले आगामी नाडा अटो शो २०२६ मा नयाँ ‘नामी बक्स’ सार्वजनिक गर्ने भएको छ । कम्पनीका अनुसार नयाँ नामी बक्सलाई थप परिष्कृत डिजाइन, नयाँ सुविधा र आधुनिक प्रविधिसहित नेपाली बजारमा ल्याउन लागिएको हो । गाडीका सबै फिचर्स, स्पेसिफिकेसन र मूल्य नाडा अटो शोमै सार्वजनिक गरिनेछ । नामी बक्स पहिलोपटक सन् २०२४ मा नेपालमा सार्वजनिक भएको थियो । आकर्षक डिजाइन, जीवन्त रङ, लामो रेन्ज, फराकिलो केबिन र आधुनिक सुविधाका कारण यो छोटो समयमै नेपाली उपभोक्तामाझ लोकप्रिय बनेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल नेपालका सडकमा २ हजारभन्दा बढी नामीका विद्युतीय सवारी सञ्चालनमा छन् । यसले नेपाली इभी बजारमा नामीको बलियो उपस्थिति स्थापित गरेको कम्पनीको दाबी छ । यसअघि नामी भिगो ई२ सार्वजनिक गरेपछि कम्पनीले अब नयाँ नामी बक्समार्फत आफ्नो इभी लाइनअप विस्तार गर्न लागेको जनाएको छ । नयाँ मोडलले नेपाली उपभोक्तालाई अझ आकर्षक र सुविधासम्पन्न विकल्प दिने कम्पनीको अपेक्षा छ । नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स कम्पनीको मुख्य आकर्षणमध्ये एक रहने बताइएको छ ।