‘अनपेक्षित विपदमा यथार्थ मूल्याङ्कन र द्रूत दाबी फर्छ्याैट गर्न सर्भेयर सक्षम’

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्रीले नेपाली बीमा सर्भेयरहरूले अनपेक्षित विपद्का बेला जोखिमको यथार्थ मूल्याङ्कन गरी समयमै दाबी फर्छ्याैट गर्न सक्ने क्षमता प्रमाणित गरिसकेको बताएका छन्।

आइतबार (आज) रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्स (रिसी) को प्रथम वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष क्षेत्रीले नेपाली बीमा क्षेत्रको बढ्दो दायरा, प्राविधिक जनशक्तिको विकास तथा विशेषगरी विपद् व्यवस्थापनमा सर्भेयरहरूले निर्वाह गर्दै आएको भूमिकाबारे धारणा राखेका थिए । 

उनका अनुसार नेपालमा पर्याप्त संख्यामा अनुभवी तथा दक्ष बीमा सर्भेयरहरू छन् । ‘कोभिड–१९ महामारी तथा हालैका ठूला प्राकृतिक विपद्का समयमा नेपाली सर्भेयरहरूले निर्वाह गरेको भूमिका, छिटो दाबी फछ्र्यौटको लागि पुर्याउनु भएको योगदान प्रशंसनीय छ,’ अध्यक्ष क्षेत्रीले भने । 

त्यसैगरी, कार्यक्रममा अध्यक्ष क्षेत्रीले नेपालको आर्थिक क्षेत्रमा बैंकिङ प्रणालीको दबदबा रहँदै आएकोमा पछिल्लो समय बीमा क्षेत्रले पनि आफ्नो बलियो उपस्थिति जनाउँदै गएको बताए ।

उनले भने, ‘जीवन तथा निर्जीवन बीमाले देशको समग्र वित्तीय क्षेत्रमा ठूलो हिस्सा ओगटिसकेको छ भने योसँगै लगानीका चुनौती र यसलाई थप आधुनिक एवं उन्नत बनाउनुपर्ने दायित्व पनि थपिएको छ ।’

उनले दक्षिण एसियाली क्षेत्रमै नेपालको बीमा सेवा प्रवाहको स्थान राम्रो र प्रशंसनीय हुँदै गएको उल्लेख गरेका छन्।

त्यस्तै, क्षेत्रीले केही वर्ष अघिसम्म देशमा एक जना पनि एक्चुअरी नभएको स्थिति स्मरण गर्दै अहिले त्यो अवस्थामा सुधार हुँदै गएको औंल्याए । 

उनका अनुसार हाल त्रिभुवन विश्वविद्यालयको ‘स्कुल अफ म्याथमेटिक्स’ बाट उत्पादित जनशक्तिले यो अभाव पूरा गर्दै लगेको र नेपालमै एक्चुअरीहरू तयार हुने वातावरण बनेको छ ।

अध्यक्ष क्षेत्रीले हवाई दुर्घटना हुँदा नेपाली सर्भेयरलाई समेत सर्भेमा सहभागी गराउनुपर्नेमा जोड दिए । विदेशी सर्भेयरलाई मात्र जिम्मेवारी दिनुभन्दा नेपाली सर्भेयरलाई संयुक्त सर्भेमा संलग्न गराउँदा उनीहरूको क्षमता र कार्यक्षेत्र विस्तार हुने उनको भनाइ छ । उनले नेपालजस्तो बाढी र भूकम्पको उच्च जोखिममा रहेको मुलुकले आफ्नै जोखिम मोडेल विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।

विभिन्न देशले आफ्नो भौगोलिक जोखिमअनुसार बाढी, भूकम्प तथा ज्वालामुखीको क्षतिसम्बन्धी जोखिम मोडेल विकास गरेको उल्लेख गर्दै नेपालले भने हालसम्म आफ्नै जोखिम मोडेल बनाउन नसकेको उनको भनाइ थियो ।

विदेशी सेमिनार तथा सम्मेलनमा सहभागी हुँदा विभिन्न देशले आफ्नै जोखिम मोडेल प्रस्तुत गर्ने गरेको अनुभव सुनाउँदै क्षेत्रीले नेपालले पनि आफ्नै बाढी तथा भूकम्पको जोखिमसम्बन्धी मोडेल विकास गर्नुपर्नेमा जोड दिएका छन् । 

हाल नेपाल बाह्य एक्चुअरीले गरेको अनुमान वा निर्धारण गरेको दरमा निर्भर हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

यसका लागि नेपाल बीमा प्राधिकरणले अनुसन्धानमूलक संस्थालाई सहयोग गरी व्यापक अध्ययन गराउनुपर्ने उनले बताए । आफ्नै देशको जोखिमलाई आधार बनाएर मोडेल विकास गर्न सके त्यसबाट बीमा क्षेत्र र नियामक दुवै लाभान्वित हुने क्षेत्रीको विश्वास छ । 

क्षेत्रीले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणसम्बन्धी अनुसन्धानमा विभिन्न संस्थाबीच सहकार्य आवश्यक औंल्याए । 

बीमा क्षेत्रसँग आबद्ध सर्भेयर एसोसिएसन तथा बीमक संघलाई समेत सहभागी गराएर यस्तो अध्ययन र अनुसन्धानलाई अघि बढाउन सकिने उनले बताए ।

कार्यक्रममा क्षेत्रीले बीमा पोलिसी डिजाइनदेखि दाबी मूल्याङ्कनसम्मका विषयमा अनुसन्धान गरी आवश्यक सुझाव र सिफारिस तयार गर्नुपर्ने उल्लेख गरे ।

इन्जिनियरिङ बीमामा ‘फिडिक’को सिफारिस तथा इन्जिनियरिङ काउन्सिलले तयार गर्ने बीमा क्लजलाई आधार बनाउने गरिएको उल्लेख गर्दै क्षेत्रीले नेपालमा पनि बीमा क्षेत्रका प्राविधिक विषयमा अनुसन्धानको आवश्यकता रहेका औंल्याएका छन् । 

उनका अनुसार नेपाल बीमक संघले प्राविधिक विषयमा सुझाव दिन विभिन्न टेक्निकल ग्रुप तथा सब–कमिटी गठन गरेको छ । 

अन्डरराइटिङसम्बन्धी विषयमा सुझाव दिन सात सदस्यीय टेक्निकल सब–कमिटी रहेको तथा स्ट्यान्डर्ड फाइनान्स र पुनर्बिमालगायतका विषयमा पनि प्राविधिक सब–कमिटीमार्फत काम भइरहेको उनले बताए ।

बीमक संघको एउटा सब–कमिटीले तेस्रो पक्ष बीमाको प्रिमियम कति निर्धारण गर्ने भन्ने विषयमा अध्ययन गरी प्रतिवेदनसमेत तयार गरिसकेको क्षेत्रीले जानकारी जानकारी दिए । 

त्यस्तै, सरकारले गठन गरेको बीमा सुधार कार्यदललाई संघका तर्फबाटसुझावसमेत दिइएको उनले उनले बताए । 

विशेषगरी जलविद्युत् क्षेत्रमा भइरहेको ठूलो लगानीलाई मध्यनजर गर्दै यससम्बन्धी जोखिम र तथ्यांकको व्यवस्थित अध्ययन आवश्यक रहेको उनले बताए । 

नेपालमा हालसम्म करिब ४ हजार मेगावाट जलविद्युत् विकास भइसकेको उल्लेख गर्दै क्षेत्रीले हाइड्रोपावरसम्बन्धी तथ्यांक संकलन र जोखिम न्यूनीकरणका लागि ‘मेट्रो पावर’ गठनको तयारी भइरहेको जानकारी दिए ।

बीमा कम्पनीसँग हाल कुनै जलविद्युत् आयोजनाबाट कति बीमा शुल्क संकलन भयो र कति दाबी पर्यो भन्ने तथ्यांक भए पनि आयोजनाको क्षमता, उचाइ, नदीको बहाव तथा पानीको गति जस्ता विस्तृत जोखिमसम्बन्धी तथ्यांकको अभाव रहेको उनले बताए । 

‘यी सम्पूर्ण तथ्यांक प्राप्त भएपछि मात्रै सही प्राइसिङ गर्न र विद्यमान बीमा प्रडक्टलाई स्ट्यान्डर्डाइज गर्न सकिन्छ,’ क्षेत्रीले भने ।

अनुसन्धानका लागि नेपाल बीमक संघ तथा समग्र बीमा उद्योग नै सहकार्य गर्न तयार रहेको उनले बताएका छन् ।

Share News