विकासन्युज

उद्घाटनको एक महिनापछि निजी सवारीका लागि नागढुङ्गा सुरुङमार्ग खुला

काठमाडौं । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गमा निजी सवारीसाधन आवतजावतका लागि खुला गरिएको छ । उद्घाटनको करिब महिना दिनपछि परीक्षण सम्पन्न भई निजी सवारीसाधनका लागि मात्रै सोमबार (आज)बाट सुरुङमार्ग खुला गरिएको नागङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजना प्रमुख सौजन्य नेपालले बताए ।  ‘हामीले आपतकालीन उद्धारको लाइभ घटना गराएर प्रशिक्षण सम्पन्न गरेलगत्तै आजबाट जिप, कार, भ्यान जस्ता साना सवारीका लागि सुरुङबाटैआवतजावत सुरु गरेका हौं,’ निर्देशक नेपालले भने । अब क्रमशः ठूला सवारीसाधनका लागि सुरुङ खोलिने उनले जानकारी दिए ।  निर्देशक नेपालका अनुसार उद्घाटनपश्चात सुरुवाती चरणमा सोमबार बिहान ९ बजेदेखि अत्यावश्यकका सवारीसाधनसहित ९ सिट यात्रु क्षमताका निजी सवारीसाधन आवतजावत गराइएको हो ।   पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष लगायतकाको उपस्थितिमा गत साउन १३ गते सुरुङमार्ग उद्घाटन गरिएको थियो । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भएर पश्चिमतर्फ धादिङको धुनिबेँसी नगरपालिकाको सिस्नेखोलासम्म पुगिने सुरुङमार्ग  निर्माणमा जापान सरकारको २१ अर्ब बराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ बराबरको लगानी रहेको छ । 

टर्बो बुस्टरजेट इन्जिनसहित आयो सुजुकी ब्रेजा, नाडा अटो शोमा हेर्न पाइने

काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सुजुकी नेपालले नयाँ ब्रेजा सार्वजनिक गरेको छ । नयाँ पुस्ताका ग्राहकलाई लक्षित गर्दै ल्याइएको ब्रेजामा पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसन दिइएको छ । नयाँ ब्रेजा भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०८३ मा प्रदर्शन गरिनेछ । सुजुकी प्याभिलियनको स्टल बी८२ मा ग्राहकले गाडी प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । साथै टेस्ट ड्राइभ बुकिङ र अन्य मोडेलका सुविधाबारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।  टर्बो इन्जिन र नयाँ ट्रान्समिसन नयाँ ब्रेजामा टर्बो बुस्टरजेट इन्जिन उपलब्ध छ । उक्त इन्जिनले ५ हजार ५०० आरपीएममा अधिकतम ८१ किलोवाट शक्ति उत्पादन गर्छ । २ हजारदेखि ३ हजार ५०० आरपीएममा १७० न्युटन–मिटर टर्क उत्पादन गर्छ । इन्जिनलाई नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसनसँग जोडिएको छ । यसले सहरदेखि राजमार्गसम्म सहज र प्रभावकारी ड्राइभिङ अनुभव दिने कम्पनीको दाबी छ । ब्रेजामा स्मार्ट हाइब्रिड प्रविधिसहितको १.५ लिटर ड्युअल जेट, ड्युअल भीभीटी इन्जिनको विकल्प पनि छ । यसमा ६–स्पिड म्यानुअल र स्टियरिङमा प्याडल सिफ्टरसहितको ६–स्पिड स्वचालित ट्रान्समिसन उपलब्ध छ ।  नयाँ डिजाइन र प्रिमियम इन्टेरियर नयाँ ब्रेजाको बाहिरी डिजाइनमा पनि परिवर्तन गरिएको छ । यसमा स्मोक क्रोम ग्रिल, मेटालिक ग्रे बुल बार, नयाँ स्किड प्लेट र परिमार्जित ड्युअल–टोन साइड क्ल्याडिङ दिइएको छ । नयाँ प्रिसिजन–कट अलोय ह्विलले गाडीलाई थप आकर्षक बनाएको छ । भित्र गाढा खैरो र कालो ड्युअल–टोन थिम प्रयोग गरिएको छ । मेटालिक सफ्ट टच फिनिस, ग्लस ब्ल्याक एक्सेन्ट र प्लस लेदरेट सिट दिइएको छ । भेन्टिलेटेड फ्रन्ट सिट, अटोप्युरिफाइ, पीएम२.५ फिल्टर, वायु गुणस्तर डिस्प्ले र एक्टिभ कुलिङसहितको वायरलेस स्मार्टफोन चार्जरजस्ता सुविधा पनि छन् ।  १०.१ इन्चको स्मार्ट इन्फोटेनमेन्ट प्रणाली नयाँ ब्रेजामा २५.६५ सेन्टिमिटर अर्थात् १०.१ इन्चको टचस्क्रिनसहितको स्मार्टप्ले प्रो एक्स इन्फोटेनमेन्ट प्रणाली छ । यसमा इनबिल्ट इन्टरनेट कनेक्टिभिटी, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले उपलब्ध छ । आर्कामिसद्वारा ट्युन गरिएको प्रिमियम स्पिकर र ६४ रङमा मिलाउन सकिने एम्बियन्ट लाइटिङ पनि राखिएको छ ।  सुरक्षामा पनि विशेष ध्यान नयाँ ब्रेजामा अल्ट्रा हाई–टेन्साइल र हाई–टेन्साइल स्टिलको प्रयोग गरिएको कम्पनीले जनाएको छ । सुरक्षा सुविधाअन्तर्गत ब्लाइन्ड स्पट वार्निङ, लेन चेन्ज अलर्ट, रियर क्रस ट्राफिक अलर्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, इमर्जेन्सी स्टप सिग्नल र एक्जिट सपोर्ट वार्निङ छन् । तीनवटा नयाँ भ्युसहितको ३६० डिग्री क्यामेरा र अगाडि–पछाडिका पार्किङ सेन्सरले पार्किङलाई सहज बनाउने कम्पनीको भनाइ छ । नयाँ सुजुकी ब्रेजाले भारत एनसीएपीमा वयस्क र बालबालिका दुवैको सुरक्षातर्फ ५–स्टार रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ ।  दुई नयाँ रङ थप नयाँ ब्रेजामा भाइभेसियस अरेन्ज र लस्ट्रस बेज गरी दुई नयाँ रङ थपिएका छन् । यससँगै पर्ल ब्लुइस ब्ल्याक, म्याग्मा ग्रे, सिज्लिङ रेड, स्प्लेन्डिड सिल्भर र पर्ल आर्कटिक ह्वाइट रङमा पनि गाडी उपलब्ध हुनेछ । ड्युअल–टोन विकल्पमा ब्लुइस ब्ल्याक छानासहितको लस्ट्रस बेज, आर्कटिक ह्वाइट र सिज्लिङ रेड उपलब्ध हुने कम्पनीले जनाएको छ । नयाँ ब्रेजा सुजुकी नेपालका अधिकृत सोरुमहरूमा उपलब्ध हुनेछ । ग्राहकले नजिकैको सुजुकी सोरुममा सम्पर्क गरी थप जानकारी तथा टेस्ट ड्राइभ बुकिङ गर्न सक्नेछन् ।

२७ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले २७ जना सहसचिवको सरुवा गरेको छ । भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवलाई सरुवा गर्ने निर्णय गरेको हो । 

आलु होइन, खाने तरिका गलत हुँदा बढ्छ स्वास्थ्य जोखिम

काठमाडौं । आलु धेरैको दैनिक खानाको महत्त्वपूर्ण हिस्सा हो । तर आलु खाँदा स्वास्थ्यमा असर गर्छ भन्ने धारणा पनि व्यापक छ । विज्ञ तथा विभिन्न अध्ययनले भने आलु आफैमा समस्या नभई यसलाई पकाउने र खाने तरिकाले स्वास्थ्यमा फरक पार्ने देखाएका छन् । हार्वर्ड हेल्थमा प्रकाशित एक रिपोर्टअनुसार आलुलाई सन्तुलित मात्रामा, सही तरिकाले पकाएर खाँदा स्वास्थ्यका लागि फाइदा पुग्न सक्छ । विशेषगरी जैतुन, सूर्यमुखी र भटमासबाट बनेका असन्तृप्त वनस्पति तेलमा पकाइएको आलु तथा बोक्रासहित पकाइएको वा उसिनेको आलु तुलनात्मक रूपमा स्वस्थकर मानिन्छ ।  आलुमा पोटासियम र फाइबरजस्ता पोषक तत्त्व पाइन्छन् । त्यसैले सन्तुलित आहारको हिस्सा बनाएर आलुको सेवन गर्न सकिन्छ ।   अमेरिकी कृषि विभागका अनुसार नुन नहाली बोक्रासहित उसिनेको १०० ग्राम आलुमा करिब ८७ क्यालोरी, ७७ प्रतिशत पानी, १.९ ग्राम प्रोटिन, २०.१ ग्राम कार्बोहाइड्रेट, ०.९ ग्राम चिनी, १.८ ग्राम फाइबर र ०.१ ग्राम बोसो हुन्छ ।   ‘द जर्नल अफ न्युट्रिसन’मा प्रकाशित अध्ययनमा ७७ हजार २९७ वयस्कको खानपान र स्वास्थ्य अवस्थालाई औसत ३३.५ वर्षसम्म अध्ययन गरिएको थियो । अध्ययनले सन्तुलित मात्रामा विशेषगरी बोक्रासहित र नतारेको आलु सेवन गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने देखाएको छ । दैनिक १०० ग्राम वा सोभन्दा कम आलु सेवन गर्ने व्यक्तिमा मुटुसम्बन्धी समस्या, मधुमेह तथा मोटोपनाको जोखिम केही कम देखिएको अध्ययनमा उल्लेख छ । तर आलुलाई ‘सुपरफुड’ भने मान्न नसकिने अध्ययनले स्पष्ट पारेको छ । आलुबाट स्वास्थ्यमा समस्या हुनेभन्दा पनि धेरै तेलमा तारेको फ्राइज, चिप्स तथा डिप फ्राइड आलुको नियमित सेवन स्वास्थ्यका लागि बढी जोखिमपूर्ण हुन सक्छ ।  कसरी खाने आलु ? स्वास्थ्यलाई ध्यानमा राख्दै आलुलाई उसिनेर, बेक गरेर वा कम तेलमा पकाएर खान सकिन्छ । बोक्रासहित पकाउँदा फाइबरलगायत केही पोषक तत्त्व प्राप्त गर्न सकिन्छ । उसिनेको आलुलाई सलाद, सादा दही तथा अन्य तरकारीसँग मिसाएर खान सकिन्छ । त्यसैगरी, बेक गरिएको आलुलाई सिमी, एभोकाडो तथा अन्य पौष्टिक खाद्य पदार्थसँग मिलाएर पनि खान सकिन्छ । आलु पोषक तत्वयुक्त खाद्य पदार्थ भए पनि यसको सेवन सन्तुलित मात्रामा गर्न आवश्यक हुन्छ । विशेषगरी मधुमेह वा अन्य स्वास्थ्य समस्या भएका व्यक्तिले आफ्नो खानपानबारे चिकित्सक वा पोषणविद्सँग परामर्श गर्नु उपयुक्त हुन्छ ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा दुई धार

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र विवाद थप चर्किएको छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा राप्रपाका दुई समूहले प्रदेशसभा सदस्यहरूलाई छुट्टाछुट्टै ह्वीप जारी गरेका छन् । राप्रपा प्रदेश प्रमुख सचेतक कुमारी तामाङले आइतबार आफ्ना सांसदलाई मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न निर्देशन दिएकी थिइन् । मतदानमा सहभागी हुन नसक्ने अवस्थामा तटस्थ बस्न वा प्रदेशसभा बैठकमा अनुपस्थित हुनसमेत उनको निर्देशन थियो । तर, त्यसको विपरीत डम्बर तामाङले पनि प्रमुख सचेतककै हैसियतमा अर्को ह्वीप जारी गर्दै प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री थापाको पक्षमा विश्वासको मत दिन निर्देशन दिएका छन् । उनले आफ्नो पत्रमा भदौ ७ गतेको बैठकको निर्णय, दलका नेताको आदेश तथा राप्रपा संसदीय दलको विधानअनुसार उक्त निर्देशन दिइएको उल्लेख गरेका छन् । मुख्यमन्त्री थापाले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदै छन् । विश्वासको मतको पूर्वसन्ध्यामा राप्रपाबाट जारी भएका दुई फरक ह्वीपले प्रदेशसभामा पार्टीको औपचारिक धारणा र सांसदहरूको मतदानबारे अन्योल बढाएको छ । यसअघि पार्टीको निर्णयविपरीत सरकार गठन प्रक्रियामा सहभागी भएको र मुख्यमन्त्रीलाई समर्थन गरेको आरोपमा राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई पदबाट हटाउने तथा पार्टी सदस्यता निलम्बन गर्ने निर्णय गरेको थियो । बागमती प्रदेशसभामा राप्रपाका तीन सांसद पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएर मन्त्री बनेका छन् । उनीहरूको भूमिकालाई लिएर पार्टीभित्र देखिएको मतभेद अहिले मुख्यमन्त्रीको विश्वासको मतसम्म आइपुग्दा थप सतहमा आएको हो ।

चन्द्र नहरलाई ऐतिहासिक सम्पदासँगै आधुनिक सिँचाइ प्रणालीका रूपमा विकास गरिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन बढाउने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । मधेस प्रदेशका ऊर्जा तथा सिँचाइ प्रणालीहरूको निरीक्षणका क्रममा फत्तेपुर पुगेका मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि, सिँचाइ उपभोक्ता तथा सरोकारवालासँगको छलफलमा चन्द्र नहरलाई आधुनिक सिँचाइ प्रणालीको ऐतिहासिक उदाहरणका रूपमा विकास गर्दै कृषि उत्पादन, संरक्षण र पर्यटनसँग जोड्न सकिने धारणा राखे । उनले नहरको सुरक्षा, मर्मतसम्भार र पुनरुद्धारका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै आवश्यक योजना बनाउन मन्त्रालय तयार रहेको बताए । नहरको दीर्घकालीन संरक्षण सरकारको मात्र जिम्मेवारी नभई स्थानीय तह, उपभोक्ता र समुदायको समेत साझा दायित्व भएको उनको भनाइ थियो।  'सिँचाइ पूर्वाधारले खेतबारीमा पानी पुर्‍याउने काम मात्र गर्दैन, यसले कृषि उत्पादन, स्थानीय अर्थतन्त्र, रोजगारी र पर्यटनमा समेत बहुआयामिक योगदान पुर्‍याउन सक्छ,' मन्त्री श्रेष्ठले भने ।  चन्द्र शमशेरको शासनकालमा निर्माण सुरु भएको चन्द्र नहर नेपालको पहिलो आधुनिक राज्यनिर्मित सिँचाइ प्रणालीका रूपमा चिनिन्छ । त्रियुगा नदीबाट पानी ल्याएर सप्तरीका करिब १० हजार ५०० हेक्टर कृषि भूमिमा सिँचाइ सुविधा पुर्‍याउने यो प्रणालीले एक शताब्दीअघि निर्माण भएको पूर्वाधार हो ।  मन्त्री श्रेष्ठले करिब एक शताब्दीअघि निर्माण भएको संरचनाले अहिले पनि किसानका खेतमा पानी पुर्‍याइरहनु सामान्य उपलब्धि नभएको उल्लेख गर्दै यसको ऐतिहासिकता र प्राविधिक महत्वलाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने बताए ।  उनका अनुसार चन्द्र नहरलाई अन्तर्राष्ट्रिय सिँचाइ तथा जलनिकास आयोगको सूचीमा समावेश गर्न सिफारिस गर्ने विषयमा मन्त्रालयले गम्भीरतापूर्वक काम अघि बढाइरहेको छ ।  'नेपालको सिँचाइ इतिहास निकै पुरानो र गौरवपूर्ण छ । त्यसको संरक्षण गर्ने, विश्वसामु यसको महत्व चिनाउने र आवश्यकताअनुसार आधुनिक बनाउने जिम्मेवारी अहिले हाम्रो पुस्ताको हो,' उनले भने ।  चन्द्र नहरको जीर्ण संरचना सुधार गर्न जापान सरकारको अनुदान सहयोगमा पूर्वी तराई क्षेत्र सिँचाइ प्रणाली जीर्णोद्धार आयोजना सञ्चालन गरिएको थियो । करिब २.२५६ अर्ब जापानी येन अनुदानमा सम्पन्न आयोजनाअन्तर्गत नहर प्रणालीका ३२ वटा संरचना मर्मत तथा पुनर्निर्माण गरिएको छ ।  आयोजनाबाट आठ नहर अन्डरपास, नौ क्रस–ड्रेनेज संरचना र १५ नहर पार गर्ने पुल निर्माण तथा सुधार गरिएको हो । जीर्ण अवस्थामा पुगेका संरचनाका कारण नहरको पानी प्रवाह डिजाइन क्षमताको करिब ८० प्रतिशतमा सीमित भएको, चुहावट बढेको र संरचना भत्किने जोखिम रहेको अवस्थामा जीर्णोद्धार गरिएको थियो ।  जीर्णोद्धारपछि वास्तविक सिँचित क्षेत्र करिब ५ हजार ५०० हेक्टरबाट बढाएर १० हजार ५०० हेक्टर पुर्‍याउने तथा वर्षे धानको उत्पादकत्व ३.६५ टन प्रतिहेक्टरबाट ४.३८ टन प्रतिहेक्टर पुर्‍याउने लक्ष्य राखिएको थियो । चन्द्र नहर सप्तरीका लागि कृषि उत्पादन र खाद्य सुरक्षाको दृष्टिले पनि महत्वपूर्ण छ । त्रियुगा नदीमा आधारित यो प्रणाली जिल्लाको प्रमुख स्वदेशी जलस्रोतमा आधारित ठूलो सिँचाइ प्रणाली भएकाले यसको दिगोपना प्रत्यक्ष रूपमा हजारौँ किसानको उत्पादनसँग जोडिएको छ ।  मन्त्री श्रेष्ठले नहरको मूल संरचनादेखि शाखा–प्रशाखा प्रणालीसम्म नियमित मर्मतसम्भार आवश्यक रहेको बताउँदै उपभोक्ता संस्था र स्थानीय तहलाई पनि संरक्षणमा सक्रिय हुन आग्रह गरे ।  सरकार, स्थानीय तह र उपभोक्ताबीचको सहकार्यबाट चन्द्र नहरलाई आधुनिक सिँचाइ प्रणालीका रूपमा थप प्रभावकारी बनाउनुका साथै यसको ऐतिहासिक पहिचान संरक्षण गर्न सकिने मन्त्रालयको विश्वास छ । यससँगै नहर क्षेत्रलाई कृषि, इतिहास र पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने सम्भावनासमेत अघि बढाउन सकिने मन्त्रालयले जनाएको छ । 

अमेरिका शीर्ष दुईबाट बाहिरिँदा चीन बन्यो विश्वकै ठूलो नौसैनिक शक्ति

काठमाडौं । बलियो नौसेना भएका देशहरूले इतिहासदेखि नै विश्वमा आफ्नो प्रभाव विस्तार गर्दै आएका छन् । ग्लोबल फायरपावर र नेभल डेटाले सार्वजनिक गरेको सन् २०२६ को नौसैनिक शक्ति र्‍याङ्किङले भने केही आश्चर्यजनक तथ्य बाहिर ल्याएको छ । समुद्रको गहिराइदेखि सतहमाथिसम्म आफ्नो प्रभाव जमाउने नौसेनाहरूको नयाँ सूचीमा ठूलो फेरबदल देखिएको छ । युद्धपोत र पनडुब्बीसहित कुल नौसैनिक जहाजको संख्याका आधारमा विश्व महाशक्ति अमेरिका शीर्ष दुईबाट बाहिरिएको छ ।  चीन र रुसले भने आफ्नो अग्रता कायम राखेका छन् । यस वर्षको सबैभन्दा चासोको विषय अफ्रिकी मुलुक इजिप्ट र नाइजेरियाको शीर्ष २५ मा प्रवेश हो । यी दुई देशले धेरै परम्परागत नौसैनिक शक्तिलाई पछि पारेका छन् ।  ग्लोबल फायरपावरको सन् २०२६ को र्‍याङ्किङअनुसार चीनसँग ८४१ वटा नौसैनिक जहाज छन्, जुन विश्वकै सबैभन्दा ठूलो डुंगाको समूह हो ।  ७४७ जहाजसहित रुस दोस्रो र ४६५ जहाजसहित अमेरिका तेस्रो स्थानमा छ । रुस र अमेरिकाबीचको अन्तर निकै ठूलो छ । रुससँग अमेरिकाभन्दा २८२ वटा बढी नौसैनिक जहाज छन् ।  यद्यपि, जहाजको संख्या मात्रै हेरेर नौसेनाको वास्तविक क्षमता मापन गर्न भने मिल्दैन । अमेरिका विश्वकै सबैभन्दा आधुनिक र सक्षम नौसैनिक शक्तिमध्ये एक हो । भारत ३४३ जहाजसहित चौथो स्थानमा छ । भारतपछि ३३८ जहाजसहित इन्डोनेसिया पाँचौं र ३३२ जहाजसहित उत्तर कोरिया छैटौं स्थानमा छन् । त्यसपछि थाइल्यान्ड, इटाली, स्विडेन र श्रीलंका शीर्ष १० मा परेका छन् । सन् २०२६ मा विश्वका २५ ठूला नौसैनिक बेडामा अफ्रिकाका दुई देश नाइजेरिया र इजिप्ट पनि परेका छन् । १५२ जहाजसहित नाइजेरिया २२औं स्थानमा छ । ऊ १५८ जहाज भएको जापानभन्दा पछाडि छ । त्यस्तै, १४९ जहाजसहित इजिप्ट २३औँ स्थानमा छ । अर्थात् यी दुई अफ्रिकी देशबीच केवल तीनवटा जहाजको अन्तर छ । नाइजेरियाका लागि समुद्री क्षेत्र अर्थतन्त्र र सुरक्षाका दृष्टिले निकै महत्त्वपूर्ण छ । देशको समुद्री क्षेत्रमा तेल तथा ग्याससम्बन्धी ठूलो पूर्वाधार छ ।  साथै नाइजेरिया ‘गल्फ अफ गिनी’को किनारमा अवस्थित छ, जहाँ लामो समयदेखि समुद्री सुरक्षा चुनौतीको विषय बन्दै आएको छ । इजिप्टको समुद्री महत्त्व पनि उत्तिकै ठूलो छ । यसको महत्त्व तटीय क्षेत्रभन्दा धेरै परसम्म फैलिएको छ । इजिप्टले स्वेज नहर नियन्त्रण गर्छ, जुन विश्वकै महत्वपूर्ण जलमार्गमध्ये एक हो र भूमध्यसागरलाई लाल सागरसँग जोड्छ । नौसैनिक जहाजको कुल संख्याका आधारमा अमेरिकी नौसेना शीर्ष दुईमा नपर्नु यस र्‍याङ्किङको सबैभन्दा चासोको विषय हो । अमेरिकासँग ४६५ जहाज छन्, जुन चीन र रुसको तुलनामा निकै कम हो । तर जहाजको संख्या मात्रै नौसैनिक शक्तिको वास्तविक मापदण्ड होइन । नौसेनाको क्षमता मूल्याङ्कन गर्दा जहाजको आकार, प्रविधि, हतियार प्रणाली, पनडुब्बी, विमानवाहक युद्धपोत, समुद्रमा लामो समयसम्म सञ्चालन गर्ने क्षमता र विश्वभर सैन्य उपस्थितिजस्ता पक्ष पनि महत्त्वपूर्ण हुन्छन् । त्यसैले चीन वा रुसको तुलनामा अमेरिकासँग जहाजको संख्या कम भए पनि अमेरिकी नौसेना विश्वकै अत्याधुनिक युद्धपोत, विमानवाहक पोत र पनडुब्बी सञ्चालन गर्ने शक्तिशाली नौसैनिक बलमध्ये एक हो । जहाजको संख्याका आधारमा विश्वका शीर्ष २५ देश १.चीन -८४१ २.रुस - ७४७ ३.अमेरिका- ४६५ ४.भारत- ३४३ ५.इन्डोनेसिया- ३३८ ६.उत्तर कोरिया- ३३२ ७.थाइल्यान्ड- ३०४ ८.इटाली- २८५ ९.स्विडेन- २७९ १०.श्रीलंका- २७५ ११.म्यानमार- २३९ १२.दक्षिण कोरिया- २१५ १३.कोलम्बिया- २१३ १४.टर्की- १९२ १५.ग्रिस- १८६ १६.स्पेन- १७५ १७.युक्रेन- १६९ १८.फ्रान्स- १६६ १९.फिनल्यान्ड- १६५ २०.मेक्सिको- १६४ २१.जापान- १५८ २२.नाइजेरिया- १५२ २३.इजिप्ट- १४९ २४.नेदरल्यान्ड्स- १४० २५.चिली- १३०

३२.३४ प्रतिशत बढ्यो श्री डिस्टिलरीको आम्दानी, यी हुन् १५ जना सेयरधनी

काठमाडौं । श्री डिस्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ३१ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.३४ प्रतिशत अर्थात् ७ करोड ६० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २३ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १८ करोड १० लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ८ करोड २० लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । श्री डिस्टिलरी लिमिटेड सन् १९८६ अप्रिल ६ मा स्थापना भएको मदिरा उत्पादक कम्पनी हो । नवलपुरको अरुणखोलामा रहेको कम्पनी सन् २०२२ जुलाई ११ मा पब्लिक कम्पनीमा परिणत भएको हो । सन् २०२१ मा व्यवस्थापन परिवर्तन भएपछि कम्पनीले सञ्चालन क्षमता सुदृढ गर्दै बजार उपस्थिति विस्तारमा ध्यान केन्द्रित गर्दै आएको जनाएको छ । कम्पनीसँग मदिरा तथा स्पिरिट उत्पादनका लागि आवश्यक इजाजतपत्र रहेको छ । कम्पनीको कुल जडित उत्पादन क्षमता वार्षिक ९ लाख केस रहेको छ । सन् २०२६ जुलाई मध्यसम्म कम्पनीले ७० युपी, ५० युपी र ४० युपी श्रेणीअन्तर्गत विभिन्न प्रकारका मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीका प्रमुख उत्पादनमा जोश प्योर एन्ड स्मुथ ह्विस्की, सगुन एप्पल ह्विस्की, सगुन गोल्ड ह्विस्की, सगुन ग्रिन एप्पल ह्विस्की र ओएसिस अल्ट्रा प्रिमियम भोड्का रहेका छन् । यसका अतिरिक्त कम्पनीसँग वार्षिक ८ हजार किलोलीटरसम्म स्पिरिट उत्पादन गर्ने अनुमति पनि रहेको छ । व्यवस्थापन परिवर्तनपछि कम्पनीले सुरुमा ७० युपी श्रेणीका उत्पादनमा रणनीतिक ध्यान केन्द्रित गरेको थियो । त्यसपछि उत्पादन विविधीकरण गर्दै सन् २०२६ जनवरीमा प्रिमियम ४० युपी भोड्का ब्रान्ड ओएसिस बजारमा ल्याएको हो । नयाँ उत्पादनको बजार विस्तारसँगै कम्पनीको आम्दानी र सञ्चालन नाफामा सुधार आएको छ । गत वर्षको तेस्रो त्रैमासिकमा बजारमा आएको ओएसिस ब्रान्डले कुल बिक्रीमा करिब २० प्रतिशत योगदान गरेको कम्पनीले जनाएको छ । ओएसिसले उल्लेख्य बजार पकड भने आर्थिक वर्षको अन्तिम त्रैमासिकमा बनाउन थालेको हो । उत्पादन मिश्रणमा आएको सुधार तथा औसत बिक्री मूल्यमा भएको वृद्धिले समेत कम्पनीको आम्दानीमा सकारात्मक प्रभाव पारेको छ । गत आर्थिक वर्षमा कम्पनीको सञ्चालन नाफा मार्जिन १०.३८ प्रतिशत पुगेको छ । त्यस्तै, खुद नाफा मार्जिन अघिल्लो आर्थिक वर्षको ०.३६ प्रतिशतबाट बढेर ३.७३ प्रतिशत पुगेको छ । आम्दानी तथा नाफामा भएको सुधारसँगै कम्पनीको सञ्चालनबाट सिर्जित कुल नगद सञ्चिति पनि बढेर करिब २ करोड ५० लाख रुपैयाँ पुगेको छ । कम्पनीका माउन्ट एभरेस्ट र गोर्खाली रम ट्रेडमार्कले पनि बजारमा बलियो पहिचान बनाएका छन् । यी ब्रान्ड नेपाली बजारमा परिचित रहेकाले थप बजार प्रवर्द्धनमा ठूलो खर्च गर्नुपर्ने आवश्यकता तुलनात्मक रूपमा कम रहेको कम्पनीको भनाइ छ । स्पिरिट उत्पादन अनुमतिले पनि कम्पनीको प्रतिस्पर्धात्मक क्षमता बलियो बनाएको छ । नेपालमा दर्ता भएका १२५ वटा मदिरा उत्पादकमध्ये केवल ८ वटासँग मात्र स्पिरिट उत्पादनको यस्तो अनुमति रहेको कम्पनीले जनाएको छ । तरलता व्यवस्थापनतर्फ कम्पनीको मौज्दात अवधि भने सुधार भएको छ । अघिल्लो आर्थिक वर्षमा ९९ दिन रहेको मौज्दात अवधि गत आर्थिक वर्षमा घटेर ८९ दिनमा आएको छ । बिक्रीमा भएको सुधारले मौज्दात व्यवस्थापनमा सकारात्मक प्रभाव पारेको देखिन्छ । यद्यपि, समग्र सञ्चालन चक्र भने अघिल्लो आर्थिक वर्षको १२३ दिनबाट बढेर गत आर्थिक वर्षमा १३२ दिन पुगेको छ । कम्पनीको अध्यक्षमा ज्ञानेन्द्र खनाल र व्यवस्थापकीय नेतृत्वमा प्रबन्ध सञ्चालक काशी प्रसाद श्रेष्ठ रहेका छन् । कम्पनीको चुक्ता पुँजी ५० करोड ४० लाख रुपैयाँ रहेको छ । सेयरधनीतर्फ ज्ञानेन्द्र खनालको १०.३९ प्रतिशत, नेक्स्ट होल्डिङ्ग्स प्रालिको ९.९२ प्रतिशत, अंगिस घिमिरेको ९.७५ प्रतिशत, धनेन्द्र कार्कीको ६.९३ प्रतिशत, उषा ज्ञवालीको ३.९७ प्रतिशत, कृष्णप्रसाद श्रेष्ठको ३.६१ प्रतिशत, प्रतिभा घिमिरेको २.८० प्रतिशत र सुक्मित बन्जाडेको २.१३ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यस्तै, सन्तोषराज नेपालको २.०८ प्रतिशत, अशोक सिटौलाको १.९८ प्रतिशत, अनिमेश हलवाईको १.५८ प्रतिशत, सुदर्शन सिटौलाको १.४९ प्रतिशत, लक्ष्मीप्रसाद प्रसाईंको १.३९ प्रतिशत, टीकाप्रसाद उप्रेतीको १.१९ प्रतिशत र यमकुमार श्रेष्ठको १.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।