काठमाडौं । गिनीको राजधानी कोनाक्रीमा भारी वर्षापछि फोहोरको थुप्रो ढल्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
घटना स्थानीय समयअनुसार राति करिब २ बजे सहरको डार–एस–सलाम क्षेत्रमा भएको हो ।
गिनी सरकारका अनुसार भारी वर्षापछि फोहोरको ठूलो थुप्रो अचानक ढलेको थियो । त्यसको भग्नावशेषमा अझै केही मानिस पुरिएको आशंका गरिएको छ ।
सरकारले उद्धार तथा राहतका लागि सेनासहित ठूलो संख्यामा सुरक्षाकर्मीलाई घटनास्थलमा परिचालन गरेको छ ।
स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै एक महिलाले घटनामा आफ्ना पाँच सन्तानको मृत्यु भएको बताएकी छन् ।
अधिकारीहरूले भग्नावशेषमुनि अझै मानिसहरू पुरिएको हुन सक्ने आशंका गरेका छन् । त्यसैले मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ ।
घटनास्थल पुगेका गिनीका प्रधानमन्त्री अमादु ओउरी बाहले घटनाको अवस्थाबारे जानकारी लिएका छन् ।
यसअघि स्थानीय नेता लान्सिने सिलाले समाचार संस्था एएफपीलाई घटनामा ठूलो संख्यामा मानिस हताहत भएको हुन सक्ने बताएका थिए ।
उनका अनुसार हालसम्म १८ जनाको शव निकालेर शवगृहमा पठाइसकिएको छ ।