विकासन्युज

क्यूआर स्क्यान, नगद हाताहात : आरबिबीले सुरु गर्‍यो क्यूआर स्क्यानमार्फत नगद झिक्ने सेवा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) ले अन्तरबैंक काउन्टरबाट मोबाइल बैंकिङमार्फत नगद झिक्न मिल्ने सेवा सुरु गरेको छ । ‘क्यूआर स्क्यान, नगद झिकियो - सजिलो, स्मार्ट, सहज’ नाराका साथ बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा ‘क्रस बैंक टेलर क्यूआर ट्रान्जेक्सन सेवा’ सुरु गरेको हो । यस नयाँ सेवाबाट अब फोनपे नेटवर्कमा आबद्ध जुनसुकै बैंकका ग्राहकले आरबिबीको देशभरिका शाखाबाट आफ्नै मोबाइल बैंकिङ एप प्रयोग गरेर काउन्टरमै नगद झिक्न सक्नेछन् । यसका लागि चेक वा एटीएम कार्ड आवश्यक पर्दैन । ग्राहकले शाखाको काउन्टरमा रहेको क्यूआर स्क्यान गरेर मोबाइल एपबाट रकम भुक्तानी गरी तुरुन्त नगद प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ । सेवा कसरी प्रयोग गर्ने ? आरबिबीको कुनै पनि शाखा जानुहोस्, आफ्नो मोबाइल बैंकिङ एप खोल्नुहोस् (फोनपे नेटवर्कमा आबद्ध जुनसुकै बैंकको), काउन्टरमा राखिएको क्यूआर स्क्यान गर्नुहोस्, झिक्न चाहेको रकम राख्नुहोस्, ट्रान्जेक्सन स्वीकृत गर्नुहोस्, तुरुन्तै नगद प्राप्त गर्नुहोस् । आरबिबीका अनुसार यो सेवा विशेषगरी टाढा रहेका शाखा तथा सीमित एटीएम पहुँच भएका स्थानहरूमा प्रभावकारी हुनेछ । बैंकले डिजिटल समावेशीकरणलाई प्रवर्द्धन गर्दै नेपालभर ग्राहकमैत्री र नवप्रवर्तनमुखी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।

सेयर बजारमा १० अर्ब ६९ करोडको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ अंकले घटेर २६७० विन्दुमा झरेको छ । आज ९३ कम्पनीको मूल्य बढ्दा १५३ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बुधबार ३१६ कम्पनीको २ करोड ३० लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ६९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ७१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, माउन्टेन इनर्जीको ५९ करोड, न्यादी गुप्रको ५७ करोड, युनिभर्सल पावरको ४३ करोड र हिमालयन रिइन्स्योरेन्सको ३७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ओम मेगाश्री फर्माको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।  

आन्तरिक पर्यटनदेखि हेल्थ टुरिजमसम्म : बजेटमा के चाहन्छन् उद्योग महासंघका सभापति ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले आगामी आर्थिक वर्षको बजेटका लागि विभिन्न १५ बुँदे सुझाव प्रस्तुत गरेका छन् । सभापति बस्नेतले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा समेट्नुपर्ने पर्यटन सम्बन्धि सुझावहरु प्रस्तुत गरेका हुन् । उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा नियमित सञ्चालन गर्नुपर्ने, नेपाललाई पर्वतारोहण बाहेकका पनि साहसिक खेलकुदको गन्तव्यका रुपमा परिचित गराउनुपर्ने, ईयूको ‘सेफ्टी लिस्ट’बाट हटाएर युरोपका देशहरुमा सिँधा हवाई उडानको प्रबन्ध गर्नुपर्ने र हवाई टिकटमा लगाइएको भ्याट सम्बन्धि प्रावधानमा पुनरावलोकन गरिनुपर्ने सुझाव दिएका छन् । यस्तै, नेपाल ‘म्यारिज डेस्टिनेशन’का रुपमा विकास र विस्तार हुँदै गएको अवस्थामा भारतीय पर्यटकलाई नगद सीमा लागू गर्न नहुने, खेल पर्यटन प्रवर्द्धन गर्न विश्वस्तरीय रंगाशाला (स्टेडियम) जस्ता खेलकुदका पूर्वाधारहरु विकास गरिनुपर्ने, पर्यटन पूर्वाधार (सडक, एयरपोर्ट लगायत)मा निजी र बाह्य लगानी खुला गरिनुपर्ने र आन्तरिक घुमफिरलाई प्रोत्साहन गर्न कर्मचारीहरुलाई वर्षमा १५ दिन ‘पर्यटन बिदा’ दिने व्यवस्था लागू गर्नुपर्ने सुझाव पनि सभापति बस्नेतले दिएका छन् । यसैगरी, स्थलमार्ग हुँदै आउने पर्यटकका लागि सीमा नाकामा ‘हेल्प डेक्स’ स्थापना गरी त्यहीँबाट मुद्रा सट्टा–पट्टा लगायतका सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउन, स्थलमार्ग हुँदै आउने पर्यटकका लागि लक्षित गरेर स्तरीय सडक पूर्वाधारको विकास गर्न र नेपाल धार्मिक गन्तव्य र शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मभूमी भएकाले ‘स्प्रिचुअल टुरिजम’को अवधारणा विकास गरी कार्यान्वयन गर्न पनि बस्नेतले सुझाव दिएका छन् । यसैगरी, उनले गैर आवासीय नेपालीलाई सहजै आवतजावत गर्न दिने र उनीहरुलाई साथमा लिएर विश्वका हरेक देशमा नेपालको पर्यटन सम्बन्धि प्रचारप्रचारका काम आयोजना गर्ने कुरा पनि बजेटमार्फत नै घोषणा गर्न सुझाव दिएका छन् ।  प्रमुख सुझावहरूमध्ये केही यस्ता छन् नेपाललाई साहसिक खेलकुदको गन्तव्यका रूपमा स्थापित गर्न स्काई डाइभ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, एडेभेन्चर साइकलिङजस्ता गतिविधिहरूलाई नीतिगत सहयोग युरोपियन युनियनको सेफ्टी लिस्टबाट नेपाललाई हटाई युरोपमा सिधा उडानको व्यवस्था भारतीय पर्यटकका लागि नगद सीमा नलागू गराई विवाह गन्तव्यको प्रवर्द्धन खेल पर्यटन प्रवर्द्धनका लागि विश्वस्तरीय रंगशाला निर्माण ‘हेल्थ टुरिजम’ र ‘स्प्रिचुअल टुरिजम’ का अवधारणाहरू विकास तथा कार्यान्वयन सडक, एयरपोर्ट जस्ता पूर्वाधारमा निजी तथा वैदेशिक लगानीको सम्भावना खोल्ने आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सरकारी कर्मचारीलाई वर्षमा १५ दिन पर्यटन बिदाको व्यवस्था गैरआवासीय नेपालीहरूलाई सहज आवतजावत र प्रचारमा संलग्न गराउने योजना

ईभीमा घट्दो मागका कारण अब होन्डा पनि हाईब्रिडमा केन्द्रित हुने

काठमाडौं । होन्डा मोटरले मंगलबार विद्युतीय सवारी (ईभी) प्रति घट्दो मागका कारण यस क्षेत्रमा लगानी घटाउँदै गएको र यसको सट्टा हाईब्रिड सवारीहरूमा ध्यान केन्द्रित गर्ने बताएको छ । कम्पनीले पुनः डिजाइन गरिएका मोडेलहरूको श्रृंखला लिएर हाईब्रिड सवारी बजारलाई प्राथमिकता दिने जनाएको छ । टोयोटा मोटरपछि जापानको दोस्रो ठूलो अटो निर्माता होन्डाले सन् २०३० को वित्तीय वर्षसम्म आफ्नो कुल बिक्रीको ३० प्रतिशत इलेक्ट्रिक सवारीबाट हुने लक्ष्य पनि हटाएको छ । 'बजारको प्रवृत्ति बुझ्न निकै गाह्रो भइरहेको छ, तर हालको अनुमान अनुसार सन् २०३० सम्म ईभीको हिस्सा करिब पाँचौं भाग मात्रै हुने देखिन्छ,' होन्डाका सीईओ तोशिहिरो मिबेले पत्रकार सम्मेलनमा भने । कम्पनीले सन् २०३० सम्मको विद्युतीकरण र सफ्टवेयर विकासमा हुने लगानीलाई ३० प्रतिशत घटाएर ७ ट्रिलियन येन (४८.४ अर्ब अमेरिकी डलर)मा झारेको छ । संसारभरका केही ठूला अटो ब्रान्डहरूले पनि ईभीमा लगानी घटाउँदै गएका छन्, किनभने उपभोक्ताहरू हाईब्रिड सवारीतर्फ फर्कंदै छन् र विश्वका विभिन्न सरकारहरूले उत्सर्जन मापदण्ड तथा ईभी बिक्री लक्ष्य पुरा गर्न समयसीमा लचिलो बनाइरहेका छन् । उदाहरणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेन प्रशासनद्वारा ल्याइएको त्यस्तो कार्यकारी आदेश खारेज गरेका छन् जसले सन् २०३० सम्म अमेरिका भित्र विक्री हुने सबै नयाँ सवारीहरू विद्युतीय बनाउने लक्ष्य राखेको थियो । होन्डाले सन् २०२७ देखि चार वर्षको अवधिमा १३ वटा नयाँ पुस्ताका हाईब्रिड मोडेलहरू विश्वभरि ल्याउने योजना बनाएको छ । हाल होन्डाका एक दर्जनभन्दा बढी हाईब्रिड मोडेलहरू विश्वभरि विक्री भइरहेका छन्, तर अमेरिका भित्र भने सिभिक (ह्याचब्याक र सेडान), एकोर्ड र सीआर–भी गरी केवल तीन मोडेल मात्रै उपलब्ध छन् । कम्पनीले दशकको उत्तरार्धतिर ल्याउने ठूला सवारी मोडेलहरूका लागि पनि नयाँ हाईब्रिड प्रणाली विकास गर्ने योजना बनाएको छ । होन्डाले सन् २०३० सम्म २२ देखि २३ लाख हाईब्रिड सवारी विक्री गर्ने लक्ष्य राखेको छ, जुन अघिल्लो वर्षका ८ लाख ६८ हजार सवारीको तुलनामा ठूलो छलाङ हो । कम्पनीले अघिल्लो वर्ष कुल ३८ लाख सवारी विक्री गरेको थियो । यो महिनाको सुरुमा होन्डाले क्यानडाको ओन्टारियोमा ईभी उत्पादन आधार स्थापना गर्नका लागि तय गरिएको १५ अर्ब क्यानडियन डलर (१०.७ अर्ब अमेरिकी डलर) को योजना करिब दुई वर्षका लागि होल्डमा राखेको घोषणा गरेको थियो । कारण- इलेक्ट्रिक सवारीप्रति घट्दो माग । यद्यपि होन्डाले सन् २०४० सम्ममा नयाँ सवारीहरूको सम्पूर्ण विक्री विद्युतीय (ब्याट्रीचालित र फ्यूल सेल) बनाउने लक्ष्य भने कायम राखेको बताएको छ । अन्य अटो निर्माताहरूले पनि ईभी लगानीमा कटौती गरेका छन् । तीमध्ये एक हो, होन्डाको प्रतिस्पर्धी निसान, जसले हालै घोषणा गरेको जापानको क्युशु टापुमा १।१ अर्ब डलर बराबरको ब्याट्री कारखाना बनाउने योजना केही महिनामै रद्द गरेको छ । टेस्लाको रोबोट्याक्सी परीक्षण : मस्कले खोल्दैछन् भविष्यको ढोका !  

मनसुनमा सरदरभन्दा बढी वर्षा र तापक्रमको सम्भावना, सतर्कता नअपनाए ठूलो क्षतिको चेतावनी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सन् २०२५ को मनसुन अवधिमा नेपालमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ । विभागले बुधबार ललितपुरमा आयोजना गरेको 'राष्ट्रिय मनसुन फोरम–२०८२' मा मौसमविद्हरूले यो चेतावनीसहितको प्रक्षेपण सार्वजनिक गरेका हुन् । वरिष्ठ मौसमविद् विभूति पोख्रेलका अनुसार देशभर विभिन्न क्षेत्रहरूमा ५५ देखि ६५ प्रतिशतसम्म वर्षा हुने सम्भावना रहेको छ । अधिकतम तथा न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी हुने आँकलन गरिएको छ । पोख्रेलका अनुसार यो वर्ष मौसम अत्यधिक सक्रिय रहनेछ, जसले जनजीवनमा चुनौती थप्न सक्छ । वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालमा ८० प्रतिशत वर्षा मनसुन अवधिमा हुने भएकाले, मनसुनसँगै आउन सक्ने बाढी, पहिरो र अन्य प्राकृतिक विपद्‌प्रति सतर्क रहन सबैलाई आग्रह गरिन् । उनले भनिन्, '१२ महिनामध्ये ४० प्रतिशत विपद् मनसुन अवधिमा हुने भएकाले समयमै तयारी गरेमा धनजनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।' विभागका अनुसार जुनदेखि सेप्टेम्बरसम्मको अवधिमा हरेक वर्ष तीन सयभन्दा बढी नागरिकको ज्यान जान्छ भने २ सय मिलियन अमेरिकी डलरभन्दा बढीको क्षति हुने गरेको छ । विभागले सम्भावित जोखिमहरूलाई मध्यनजर गर्दै संघीय, प्रादेशिक र स्थानीय सरकारहरूलाई समयमै आपतकालीन पूर्वतयारी गर्न आग्रह गरेको छ ।

इलेक्ट्रिक कार बजारमा चम्कियो सेरेस, त्रैमासिक नाफा १०० मिलियन डलर नाघ्यो

काठमाडौं । चीनको प्रमुख इनोभेटिभ अटोमेकर सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा उल्लेखनीय उपलब्धि हासिल गर्दै २४१ प्रतिशत नाफा वृद्धिको घोषणा गरेको छ । कम्पनीले १०० मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको बताएको छ । सेरेसको बिक्री आम्दानी (रेभेन्यू) पनि यो त्रैमासिकमा ३ अर्ब अमेरिकी डलर नाघेको छ । यसको मुख्य श्रेय उच्च मागमा रहेका नवीन र ऊर्जा–कुशल सवारीसाधनहरूलाई दिइएको छ । नवप्रवर्तन, दिगोपन र ग्राहककेन्द्रित डिजाइनमा केन्द्रित सेरेसले स्मार्ट मोबिलिटी समाधानमार्फत विश्वव्यापी वातावरणीय लक्ष्यहरूमा योगदान पुर्‍याइरहेको बताइएको छ । मुनाफा विवरण सार्वजनिक भएसँगै कम्पनीको सेयर मूल्य ३ प्रतिशतले वृद्धि भएको छ । जसले लगानीकर्ताहरूको कम्पनीप्रतिको विश्वास झल्काउँछ । कम्पनीले भविष्यमा अझ लामो रेन्ज, उत्कृष्ट पर्फर्मेन्स र स्मार्ट फिचरसहित नयाँ मोडेलहरू ल्याउने तयारी गरिरहेको जनाएको छ । सेरेस ग्रुपले आफ्नो विश्वव्यापी विस्तार रणनीति अन्तर्गत सन् २०२६ भित्र नेपालमा तीनवटा नयाँ विद्युतीय सवारी मोडेल ल्याउने घोषणा पनि गरिसकेको छ । यसले चीनबाहिर पनि सेरेसको विद्युतीय सवारी क्षेत्रमा अग्रणी उपस्थितिलाई पुष्टि गर्दछ । त्यस्तै, सेरेस थ्री मोडेलले हालै इन्डोनेसियामा तीन प्रतिष्ठित अवार्डहरू जित्दै आफ्नो नवप्रवर्तन क्षमता र उत्कृष्टता पुनः प्रमाणित गरेको छ । लक्जरी सवारी क्षेत्रमा समेत बीएमडब्लू र मर्सिडिज जस्ता ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्दै सेरेसले उचाइ बनाइरहेको छ । सेरेसले अबको दिनमा पनि ईभी उद्योगमा अग्रगामी र भविष्यमुखी रणनीति लिएर विश्व बजारमा आफ्नो प्रभाव झनै विस्तार गर्ने लक्ष्य लिएको छ ।

गभर्नरलाई नीलम ढुङ्गानाको इग्नोर, 'स्वागत नै गरिनन्, बधाई नै दिइनन्'

काठमाडौं । प्रतिस्पर्धीसँगको तुस कतिसम्मको हुन्छ भन्ने थप प्रमाण राष्ट्र बैंकको डेपुटी गभर्नर नीलम ढुङ्गानाले देखाएकी छन् । जसरी पनि गभर्नर बनेरै छोड्ने अडान राखेर लबिङ गरेकी ढुङ्गानाको सपना पुरा नभएपछि गभर्नर बन्न सफल भएका डा. विश्व पौडेलमाथि उनले त्यो तुस पोखेकी छन् ।  विगतमा नवनियुक्त गभर्नरको स्वागतमा डेपुटी गभर्नर उपस्थित हुने अभ्यास राष्ट्र बैंकमा छ । त्यो अभ्यासको निरन्तरता अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले पालना गरे पनि नीलम भने पौडेलको स्वागत कार्यक्रममा सहभागी नै बनिनन् ।  डेपुटी गभर्नर मिश्र पौडेलको स्वागतको लागि प्रवेशद्वारसम्ममै पुगेका थिए । तर, ढुङ्गानाको त्यहाँ अनुपस्थिति रह्यो ।  नवनियुक्त गभर्नर पौडेल आफ्नो कार्यकक्षमा पदभार ग्रहण गरिसकेपछि ढिलो गरेर आइपुगेकी ढुङ्गानाले पौडेललाई 'न फूलको गुच्छा दिइन्, न बधाई' भनिन् ।  नीलम सोफामा बसिसकेपछि राष्ट्र बैंककै एक कर्मचारीले पौडेललाई दिन भन्दै दिएको फूलको गुच्छा पनि ढुङ्गानाले समात्न मानिनन् । उनले इसारा गरेर टेबलमै राख्न भनिन् ।  गभर्नर पौडेलको पदभार ग्रहण कार्यक्रममा उनी निराश देखिएकी थिइन् । 

विदेशबाट लोडसेडिङ भयो भन्दै राति-राति फोन गर्छन् : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले विदेशमा बस्ने व्यक्तिहरूबाट राति-राति फोन गरेर नेपालमा लोडसेडिङ भयो भन्दै अनावश्यक गुनासो गर्ने गरिएको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो गुनासो गरेका हुन् । उनले भ्रम फैलाउने नियतले रातको १२ बजे समेत फोन गरेर बत्ती गयो भन्ने बताइएको तर सो ठाउँमा बुझ्दा विद्युत आपूर्ति सामान्य रहेको स्पष्ट पारे । 'विदेशबाट पटक–पटक एउटै नम्बरबाट फोन आउँछ,' मन्त्री खड्काले भने, 'राति १२ बजे फोन गरेर भन्छन्– हामी कहाँ बत्ती गयो । तर त्यही ठाउँमा बुझ्दा विद्युत आपूर्ति भइरहेको हुन्छ ।' उनले यस्ता भ्रमपूर्ण प्रचारमा नलाग्न आग्रह गर्दै लोडसेडिङ नभएको, उत्पादन कम भएको खण्डमा आयातमार्फत आवश्यक आपूर्ति सुनिश्चित गरिएको जानकारी गराए । त्यस्तै, उनले ऊर्जा, पर्यटन र कृषि क्षेत्रलाई समृद्ध नेपालको मुख्य आधारको रूपमा प्रस्तुत गर्दै उत्पादन वृद्धि र पूर्वाधार विस्तारमा सरकार गम्भीर रहेको बताएका छन् ।