विकासन्युज

मनसुनमा सरदरभन्दा बढी वर्षा र तापक्रमको सम्भावना, सतर्कता नअपनाए ठूलो क्षतिको चेतावनी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सन् २०२५ को मनसुन अवधिमा नेपालमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ । विभागले बुधबार ललितपुरमा आयोजना गरेको 'राष्ट्रिय मनसुन फोरम–२०८२' मा मौसमविद्हरूले यो चेतावनीसहितको प्रक्षेपण सार्वजनिक गरेका हुन् । वरिष्ठ मौसमविद् विभूति पोख्रेलका अनुसार देशभर विभिन्न क्षेत्रहरूमा ५५ देखि ६५ प्रतिशतसम्म वर्षा हुने सम्भावना रहेको छ । अधिकतम तथा न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी हुने आँकलन गरिएको छ । पोख्रेलका अनुसार यो वर्ष मौसम अत्यधिक सक्रिय रहनेछ, जसले जनजीवनमा चुनौती थप्न सक्छ । वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालमा ८० प्रतिशत वर्षा मनसुन अवधिमा हुने भएकाले, मनसुनसँगै आउन सक्ने बाढी, पहिरो र अन्य प्राकृतिक विपद्‌प्रति सतर्क रहन सबैलाई आग्रह गरिन् । उनले भनिन्, '१२ महिनामध्ये ४० प्रतिशत विपद् मनसुन अवधिमा हुने भएकाले समयमै तयारी गरेमा धनजनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।' विभागका अनुसार जुनदेखि सेप्टेम्बरसम्मको अवधिमा हरेक वर्ष तीन सयभन्दा बढी नागरिकको ज्यान जान्छ भने २ सय मिलियन अमेरिकी डलरभन्दा बढीको क्षति हुने गरेको छ । विभागले सम्भावित जोखिमहरूलाई मध्यनजर गर्दै संघीय, प्रादेशिक र स्थानीय सरकारहरूलाई समयमै आपतकालीन पूर्वतयारी गर्न आग्रह गरेको छ ।

इलेक्ट्रिक कार बजारमा चम्कियो सेरेस, त्रैमासिक नाफा १०० मिलियन डलर नाघ्यो

काठमाडौं । चीनको प्रमुख इनोभेटिभ अटोमेकर सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा उल्लेखनीय उपलब्धि हासिल गर्दै २४१ प्रतिशत नाफा वृद्धिको घोषणा गरेको छ । कम्पनीले १०० मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको बताएको छ । सेरेसको बिक्री आम्दानी (रेभेन्यू) पनि यो त्रैमासिकमा ३ अर्ब अमेरिकी डलर नाघेको छ । यसको मुख्य श्रेय उच्च मागमा रहेका नवीन र ऊर्जा–कुशल सवारीसाधनहरूलाई दिइएको छ । नवप्रवर्तन, दिगोपन र ग्राहककेन्द्रित डिजाइनमा केन्द्रित सेरेसले स्मार्ट मोबिलिटी समाधानमार्फत विश्वव्यापी वातावरणीय लक्ष्यहरूमा योगदान पुर्‍याइरहेको बताइएको छ । मुनाफा विवरण सार्वजनिक भएसँगै कम्पनीको सेयर मूल्य ३ प्रतिशतले वृद्धि भएको छ । जसले लगानीकर्ताहरूको कम्पनीप्रतिको विश्वास झल्काउँछ । कम्पनीले भविष्यमा अझ लामो रेन्ज, उत्कृष्ट पर्फर्मेन्स र स्मार्ट फिचरसहित नयाँ मोडेलहरू ल्याउने तयारी गरिरहेको जनाएको छ । सेरेस ग्रुपले आफ्नो विश्वव्यापी विस्तार रणनीति अन्तर्गत सन् २०२६ भित्र नेपालमा तीनवटा नयाँ विद्युतीय सवारी मोडेल ल्याउने घोषणा पनि गरिसकेको छ । यसले चीनबाहिर पनि सेरेसको विद्युतीय सवारी क्षेत्रमा अग्रणी उपस्थितिलाई पुष्टि गर्दछ । त्यस्तै, सेरेस थ्री मोडेलले हालै इन्डोनेसियामा तीन प्रतिष्ठित अवार्डहरू जित्दै आफ्नो नवप्रवर्तन क्षमता र उत्कृष्टता पुनः प्रमाणित गरेको छ । लक्जरी सवारी क्षेत्रमा समेत बीएमडब्लू र मर्सिडिज जस्ता ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्दै सेरेसले उचाइ बनाइरहेको छ । सेरेसले अबको दिनमा पनि ईभी उद्योगमा अग्रगामी र भविष्यमुखी रणनीति लिएर विश्व बजारमा आफ्नो प्रभाव झनै विस्तार गर्ने लक्ष्य लिएको छ ।

गभर्नरलाई नीलम ढुङ्गानाको इग्नोर, 'स्वागत नै गरिनन्, बधाई नै दिइनन्'

काठमाडौं । प्रतिस्पर्धीसँगको तुस कतिसम्मको हुन्छ भन्ने थप प्रमाण राष्ट्र बैंकको डेपुटी गभर्नर नीलम ढुङ्गानाले देखाएकी छन् । जसरी पनि गभर्नर बनेरै छोड्ने अडान राखेर लबिङ गरेकी ढुङ्गानाको सपना पुरा नभएपछि गभर्नर बन्न सफल भएका डा. विश्व पौडेलमाथि उनले त्यो तुस पोखेकी छन् ।  विगतमा नवनियुक्त गभर्नरको स्वागतमा डेपुटी गभर्नर उपस्थित हुने अभ्यास राष्ट्र बैंकमा छ । त्यो अभ्यासको निरन्तरता अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले पालना गरे पनि नीलम भने पौडेलको स्वागत कार्यक्रममा सहभागी नै बनिनन् ।  डेपुटी गभर्नर मिश्र पौडेलको स्वागतको लागि प्रवेशद्वारसम्ममै पुगेका थिए । तर, ढुङ्गानाको त्यहाँ अनुपस्थिति रह्यो ।  नवनियुक्त गभर्नर पौडेल आफ्नो कार्यकक्षमा पदभार ग्रहण गरिसकेपछि ढिलो गरेर आइपुगेकी ढुङ्गानाले पौडेललाई 'न फूलको गुच्छा दिइन्, न बधाई' भनिन् ।  नीलम सोफामा बसिसकेपछि राष्ट्र बैंककै एक कर्मचारीले पौडेललाई दिन भन्दै दिएको फूलको गुच्छा पनि ढुङ्गानाले समात्न मानिनन् । उनले इसारा गरेर टेबलमै राख्न भनिन् ।  गभर्नर पौडेलको पदभार ग्रहण कार्यक्रममा उनी निराश देखिएकी थिइन् । 

विदेशबाट लोडसेडिङ भयो भन्दै राति-राति फोन गर्छन् : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले विदेशमा बस्ने व्यक्तिहरूबाट राति-राति फोन गरेर नेपालमा लोडसेडिङ भयो भन्दै अनावश्यक गुनासो गर्ने गरिएको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो गुनासो गरेका हुन् । उनले भ्रम फैलाउने नियतले रातको १२ बजे समेत फोन गरेर बत्ती गयो भन्ने बताइएको तर सो ठाउँमा बुझ्दा विद्युत आपूर्ति सामान्य रहेको स्पष्ट पारे । 'विदेशबाट पटक–पटक एउटै नम्बरबाट फोन आउँछ,' मन्त्री खड्काले भने, 'राति १२ बजे फोन गरेर भन्छन्– हामी कहाँ बत्ती गयो । तर त्यही ठाउँमा बुझ्दा विद्युत आपूर्ति भइरहेको हुन्छ ।' उनले यस्ता भ्रमपूर्ण प्रचारमा नलाग्न आग्रह गर्दै लोडसेडिङ नभएको, उत्पादन कम भएको खण्डमा आयातमार्फत आवश्यक आपूर्ति सुनिश्चित गरिएको जानकारी गराए । त्यस्तै, उनले ऊर्जा, पर्यटन र कृषि क्षेत्रलाई समृद्ध नेपालको मुख्य आधारको रूपमा प्रस्तुत गर्दै उत्पादन वृद्धि र पूर्वाधार विस्तारमा सरकार गम्भीर रहेको बताएका छन् ।

लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हो, यथार्थमा छैन : ऊर्जामन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले  लोडसेडिङको  हल्ला सामाजिक सञ्जालको हल्ला मात्रै भएको बताएका छन् । बुधबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले बजारमा आएका हल्लाहरु सस्तो लोकप्रियताका लागि आएका बताए । उनले मर्मतसम्भारका लागि बाहेक अन्य कुनैपनि बहानामा लोडसेडिङ्ग नहुने बताए । बेला बखत विद्युत विच्छेद हुने अवस्था आजमात्रै नभइ यसअघिको वर्षहरुमा पनि भएको जानकारी दिए ।  उनले गत वर्षमा पनि वर्षमा ७ सय घण्टासम्म यसरी विभिन्न पटक विद्युत गएको दाबी गरे । कहिले हावाहुरी, कहिले ठूला ठूला पोल ढलेका कारण, कहिले मान्छेकै कारण पनि विद्युत आपूर्तिमा समस्या भएको उल्लेख गरे । मर्मत गरेको बेलामा विच्छेद हुने बाहेक लोडसेडिङको अवस्था नरहेको र आगामी वर्षहरुमा झनै नहुने दाबी गरे । मन्त्री खड्काले भने, ‘बजारमा केही चर्चा भएको छ । हामीले यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत आयात गर्यौँ । आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको विद्युत बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ । र थियो । अस्तिको दिनसम्म पनि हामी साढे ३ सय मेगावाट विद्युत आयात गरिरहेका थियौँ । तर आजको रेकर्डअनुसार १ सय ५० मेगावाट निर्यात गरेका छौँ । लोडसेङिको हल्ला यो सामाजिक सञ्जालको हल्ला मात्रै हो ।’ मन्त्री खड्काले मुलुकको भविष्य विद्युत क्षेत्रमा रहेको बताए ।  

गभर्नरलाई प्रश्न : अम्पाएर नै खेलाडी बनेर जित्नु भएको हो ?

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्व पौडेलमाथि अहिले एउटा टिप्पणी भइरहेको छ- अम्पाएर नै खेलाडी बनेकाे। उनी यसअघि गभर्नर सिफारिस समितिको सदस्य भएपनि उनले सदस्यबाट राजीनामा दिएर अहिले गभर्नरमा नियुक्त हुन सफल भए । तर, उनले त्यो प्रश्नको सामना भने पदभार ग्रहण कार्यक्रममा पनि गर्नुपर्यो । सञ्चारकर्मीले तपाईं अम्पाएर नै खेलाडी बन्नुभयो भन्ने टिप्पणी छ, खेलाडी क्षमतावान नदेखेर फिल्डमा उत्रिनु भएको हो ? भनेर प्रश्न गरे । जवाफमा उनले भने, ‘तपाईंले कसरी लिनु भएको छ ? यसमा म केही भन्नँ चाहन्नँ, सबै मान्छे क्षमतावान छन्, कसैलाई क्षमतावान नदेखेको पनि  भन्दिनँ, मलाई जसले छान्नुभयो उहाँहरुलाई नै सोध्नुहोस् ।’  

गभर्नरलाई प्रश्न : गुणाकर भट्टको राजीनामा के गर्नुहुन्छ ?

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्व पौडेलले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्ने संकेत गरेका छन् ।  बुधबार पदभार ग्रहण गर्न पुगेका उनलाई सञ्चारकर्मीले भट्टको राजीनामा स्वीकृत हुन्छ वा हुँदैन भन्ने जिज्ञासामा उनले भने, ‘मेरो हातमा हाइपुगेको छैन, अब सायद पहिलेको जस्तो अवस्था नहोला । मिलेर जानुपर्छ ।’  

नवनियुक्त गभर्नरले के गरे पहिलो निर्णय ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले नयाँ नोट डिजाइन सम्बन्धित निर्णय गरेका छन् ।  नयाँ मुद्रा छपाइका लागि आवश्यक पर्ने  डिजाइन अगाडि बढाउने निर्णय गरेका हुन् । डेपुटी गभर्नर बमबहादुर मिश्रले १ हजार र ५० रुपैयाँ दरका नोटको डिजाइन बनाउने तथा डिजाइन समितिमा पेस गर्ने निर्णय भएको जानकारी दिए ।