विकासन्युज

साढे २१ अर्बको निर्यातमा १९.८९ करोड मात्रै राजस्व, ३८.८८ अर्बको आयात हुँदा १२.७४ अर्ब राजस्व

काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १२ अर्ब ९४ करोड २० लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५१ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईंका अनुसार चालु आवको वैशाख महिनासम्म १४ अर्ब १४ करोड ४२ लाख २० हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेको थियो ।  ‘गत आव २०८०/८१ को सोही अवधिमा राजस्व १५ अर्ब ८ करोड ६४ लाख २० हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखिएकामा ७६.८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो तर यसपटक भने लक्ष्यको ९१.५१ प्रतिशत हासिल गरेका छौँ,’ उनले भने ।  कार्यालयको तथ्याङ्कअनुसार चालु आवको १० महिनाको अवधिमा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयातबाट ६०.५५ प्रतिशत अर्थात् ७ अर्ब ८३ करोड ६२ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।  यसैगरी, तरकारीको आयातबाट ५८ करोड ३३ लाख १५ हजार रुपैयाँ, यातायातका साधन र तिनका पाटपुर्जाबाट ३६ करोड ५३ लाख १५ हजार रुपैयाँ, खनिज उत्पादनबाट २४ करोड १० लाख ३० हजार रुपैयाँ, कफीबाट १९ करोड ३६ लाख ९० हजार रुपैयाँ, दलहनबाट २० करोड २९ लाख ९४ हजार रुपैयाँ, राजस्व सङ्कलन भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।  यहाँबाट चालु आवको १० महिनामा २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा १९ करोड ८९ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । सोही अवधिमा ३८ अर्ब ८८ करोड ७८ लाख ११ हजार रुपैयाँ बराबरको वस्तु आयात गरिँदा १२ अर्ब ७४ करोड ३० लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

बङ्गालको खाडी र अरब सागरबाट आएको हावाको प्रभाव, साधारणतया बदली

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।

गभर्नरलाई लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउन महासंघ अध्यक्षको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरुसँगको छलफलका आधारमा मौद्रिक लगायत केन्द्रीय बैंकका नीति तय गरिने बताएका छन् । निजी क्षेत्रको प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार राष्ट्र बैंकमा भएको भेटमा गभर्नर डा. पौडेलले केन्द्रीय बैंकका निर्णयहरू पूर्वानूमानयोग्य हुने बताए । ‘निजी क्षेत्र अर्थतन्त्रको संवाहक हो । अर्थतन्त्र चलायमान हुन स्थायित्व आवश्यक छ । निर्णयहरू पूर्वानूमानयोग्य हुनु पर्दछ । बैंकिङ क्षेत्रमा आकस्मिक कुनै निर्णय गर्नु भन्दा सरोकारवालाहरूसँग बसेर छलफल गरेर अगाडि बढ्दा नै नीतिगत स्थायित्व कायम गर्न सकिन्छ भन्ने मेरो धारणा हो,’ उनले भने । गभर्नर पौडेलले राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताए । नवनियुक्त  गभर्नरलाई बधाई तथा शुभकामना दिँदै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केन्द्रीय बैंकलाई लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउन सुझाव दिए । उनले राष्ट्र बैंकले लगानीमैत्री वातावरण निर्माण गर्दै देशको आर्थिक समृद्धिका लागि भूमिका खेल्नु पर्ने बताए ।  ‘चालु आवमा कर्जाको ब्याजदर न्यून हुँदा समेत कर्जा विस्तार हुन नसकेको सन्दर्भमा निजी क्षेत्रको मनोबल बढाउन मौद्रिक र गैर मौद्रिक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ । नीतिगत अस्थीरता लगानीको मुख्य बाधक रहेको सन्दर्भमा हामीले लगानी दशक घोषणा गर्दै एकीकृत नीति र १० वर्षसम्म स्थीर नीतिको माग गरिरहेका छौं । केन्द्रीय बैंकका निितहरु प्नि स्थीर हुन आवश्यक छ,’ अध्यक्ष ढकालले भने । उनले देशको समग्र अर्थतन्त्र चलायमान हुन ग्रामीण अर्थतन्त्र चलायमान हुनु पर्ने उल्लेख गर्दै विप्रेषण आप्रवाह खुला र सहज बनाउनु पर्ने सुझाव दिए । अध्यक्ष ढकालले बजार चलायमान हुन नसक्नुको अर्को मुख्य कारण चालु पूँजी कर्जा सम्बन्धि मार्ग दर्शन रहेको हुँदा यसलाई क्षेत्र हेरि सहज बनाउनु पर्नेमा जोड दिए । महासंघले विगत वर्षहरुमा उच्च व्याजदरका कारण व्यवसायी एवं सर्वसाधारण समेतले कर्जाको किस्ता तिर्न नसक्दा चालु आ.व.मा खराब कर्जा बढ्दै गएको उल्लेख गर्दै कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव गभर्नरलाई दिएको छ । सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हुँदा पनि देशको समग्र अथतन्त्र चलायमान हुन नसकेको उल्लेख गर्दै समग्र अर्थतन्त्र चलायमान हुनेगरी केन्द्रीय बैंकले भूमिका खेल्नु पर्ने बताए । यस्तै, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बैंकमा रहेको तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तथा उद्योग र व्यापारलाई दिइने कर्जाको व्याजमा अन्तर गर्नु पर्ने सुझाव दिए ।   सो अवसरमा महासंघका उपाध्यक्षहरू हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र कोषाध्यक्ष भरतराज आचार्यले केन्द्रीय बैंकले अवलम्बन गर्ने मौद्रिक उपकरणहरू बजारमा माग सिर्जना गर्न लक्षित हुनुपर्ने सुझाव दिए । यस्तै, महासंघको प्रतिनिधीमण्डलले गभर्नर  पौडेललाई सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसाय भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाइ तत्काल लागू गर्नुपर्ने, साना तथा मझौला उद्यमीलाई पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने तथा परियोजनाको सम्भाव्यताको आधारमा परियोजना कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था हुनुपर्ने लगायतका सुझाव दिएको छ ।  

बीवाईडीको युरोपमा ईभी युद्ध सुरु, डल्फिन सर्फ जर्मनीमा सार्वजनिक

काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडीले सस्तो मोडेल डल्फिन सर्फ बुधबार बर्लिनमा सार्वजनिक गरेको छ । बीवाईडीले युरोपमा दशौं मोडेल सार्वजनिक गरेको हो ।  यसले युरोपेली प्रतिस्पर्धीहरूलाई थप किफायती विकल्पहरू ल्याउन दबाब दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कार तीन फरक मूल्यमा बिक्रीमा आउनेछ- २२ हजार ९९० युरो (लगभग २६ हजार १०० अमेरिकी डलर) मा ३२२ किलोमिटर (२०० माइल) दूरीका लागि र २४ हजार ९९० युरोमा ५०७ किलोमिटर दूरीका लागि । बिक्री प्रमुख प्याट्रिक शुल्जका अनुसार जूनको अन्त्यसम्म तीनै संस्करणहरू १९ हजार ९९० युरोदेखि २४ हजार ९९० युरोको छुट मूल्यमा उपलब्ध हुनेछन् । यो कारले युरोपेली कार निर्माताहरूलाई अझ सस्तो विद्युतीय विकल्प दिन प्रेरित गरेको छ किनकि उच्च लागत अझै पनि विद्युतीय सवारीको व्यापक अपनत्वमा मुख्य बाधक बनेको छ । हाल युरोपमा २० हजार युरोभन्दा कम मूल्यमा बिक्रीमा रहेका थोरै मोडेलहरूमा डासीया स्प्रिङ र लीपमोटरको टी‌ओथ्री मात्र छन् । यद्यपि यो वर्ष २५ हजार युरोभन्दा कम मूल्यमा ११ नयाँ मोडेलहरू बजारमा आउँदैछन्- जसमा फक्सवागन आईडी‍. टू, रेनल्ट आरफाइभ, फियाट ग्रान्ड पान्डा र हुन्डाई इन्स्टेर समावेश छन् । 'युरोपमा विद्युतीकरणको अर्को मोर्चा भनेकै कम्प्याक्ट सेग्मेन्ट हो,' बर्लिनमा आयोजित कार्यक्रममा बीवाईडीकी क्षेत्रीय प्रबन्धक मारिया ग्राजिया डाभिनोले भनिन्, 'हामीलाई यो बजारमा अपार सम्भावना देखिन्छ ।' चिनियाँ संस्करण सीगलले चीनमा बीवाईडीको तीव्र उकालो यात्रामा महत्त्वपूर्ण भूमिका खेलेको छ । यो २०२४ मा टेस्लाको मोडेल वाईपछि दोस्रो सबैभन्दा धेरै बिक्री भएको ईभी बनेको छ- ४ लाख ४२ हजारभन्दा बढी दर्तासहित । बीवाईडीका अनुसार यो मोडेलको विश्वव्यापी बिक्री यस वर्ष अहिलेसम्म ४५ प्रतिशतले बढेर १ लाख ७० हजार पुगेको छ । गत वर्ष टेस्लालाई उछिन्दै विश्वको सबैभन्दा ठूलो ईभी निर्माता बनेको बीवाईडीले डिलर नेटवर्क विस्तार गर्दै, थप हाइब्रिड मोडेलहरू प्रस्तुत गर्दै र स्थानीय अनुभव भएका व्यवस्थापकहरू नियुक्त गर्दै युरोपमा आफ्नो व्यापार रणनीति परिमार्जन गर्दैछ । किनभने अघिल्लो कमजोरीका कारण यस क्षेत्रको बिक्री प्रभावित भएको थियो । बिक्री तथ्यांकहरूले देखाउँछ कि यो परिमार्जन सफल हुँदैछ । जर्मनीमा यो वर्षको पहिलो चार महिनामा बिक्री २ हजार ७९१ पुगेको छ, जुन सन् २०२४ को पूरै वर्षको २ हजार ८९१ बिक्रीसँग नजिक हो । युरोपभर पनि यस्तो नै सफलता देखिएको छ-  पहिलो त्रैमासिकमा बिक्री चौगुना बढेर ३७ हजार २०१ पुगेको छ, जबकि टेस्लाको बिक्री ३७.२ प्रतिशतले घटेको छ। बीवाईडीले यस वर्ष युरोपका १२ नयाँ बजारमा प्रवेश गर्ने र बिक्री केन्द्रहरू १ हजार नाघ्ने डाभिनोले जानकारी दिइन् । ईभीमा घट्दो मागका कारण अब होन्डा पनि हाईब्रिडमा केन्द्रित हुने टेस्लाको रोबोट्याक्सी परीक्षण : मस्कले खोल्दैछन् भविष्यको ढोका !  

कर्मचारीसामू गभर्नर पौडेलले भने : सञ्चिति बढ्दा मक्ख नपरौं, प्रयोगको विकल्प खोजौं

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले वैदेशिक मुद्राको सञ्चिति बढ्दा खुसी हुनु पर्ने अवस्था नरहेको बताएका छन् । गभर्नर पौडेलले पदभार ग्रहणपछि कर्मचारीहरूले राखेको स्वागत कार्यक्रममा बोल्दै उनले पछिल्लो समय राष्ट्र बैंकले वैदेशिक मुद्रा सञ्चितिको तथ्यांक देखेर खुसी भएको विषय उल्लेख गर्दै त्यसमा मक्ख परेर बस्न अवस्था नरहेको सुनाए । ‘वैदेशिक सञ्चिति बढ्यो भनेर खुसी हुनुपर्ने अवस्था छैन, यसको प्रयोगमा जोड दिनुपर्छ, अब बैंक तथा वित्तीय संस्थामा कडा नियमनभन्दा पनि सुपरभिजनमा जोड दिनुपर्छ,’ उनले कर्मचारीहरूसँग भने ।  यस्तै, उनले ग्रे लिष्टबाट देशलाई बाहिर ल्याउनका लागि सबैसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने धारणा उनको थियो । उनले कर्मचारीहरुसँग नीतिगत स्थायित्व र सरोकारवालाहरूसँगको छलफलका आधारमा मौद्रिक लगायत केन्द्रीय बैंकका नीति तय गर्नुपर्ने र त्यसमा कर्मचारीको साथ आवश्यक हुने धारणा राखे ।  उनले राष्ट्र बैंकको निर्णयमा सरोकारवालाले अनुमान लगाउन खालको हुनुपर्ने बताए । ‘हामीले नीति निर्माणमा पनि पारदर्शी बन्नुपर्छ, आकस्मिक कुनै निर्णय गर्नु हुँदैन, सबैको उद्देश्य आर्थिक चलायमान नै हुनुपर्छ,’ उनले भने ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार २१ खर्ब ३६ अर्ब रुपैयाँ विदेशी मुद्राको सञ्चिति छ । बैंक तथा वित्तीय संस्थामा मात्रै २ खर्ब ९० अर्ब रुपैयाँ रहेको छ ।   

पोखरा विमानस्थलको अनियमिततामा दोषी भए कारबाही भोग्न भट्टराई तयार

काठमाडौं । नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले आफ्नो कार्यकालमा पोखरा विमानस्थलमा कुनै अनियमितता भएको र अख्तियारले छानविन गरेको खण्डमा आफू बयान दिन जाने बताएका छन् । बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आवश्यक छानविन गरिकन यथार्थ विवरण अख्तियारले पनि समितिमा पठाउन जरुरी रहेको बताए । साथै उनले आवश्यक कारबाही गर्न पछि हट्न नहुने पनि बताए । निर्णयको प्रक्रियामा आफ्नो पार्टीको कोही संलग्न भएको भए काराबाहीको दायरामा आउने प्रतिवद्धता उनको छ । सांसद भट्टराईले भने, ‘अख्तियार ले यसमा आवश्यक छानबिन गरिकन यथार्थ विवरण यहाँ पनि पठाउनुपर्छ । साथै आवश्यक कारबाही पनि गर्नुपर्छ । यो निर्णयको प्रक्रियामा मेरो पार्टीको पनि कोही संलग्न छौं, छन् भने कारबाहीको दायरामा हामी आउँछौं । म मिडियाको अगाडि भन्छु- मेरो कार्यकालमा पोखरा विमानस्थलमा कुनै अनियमितता भएको अख्तियारले छानविन गर्छ भने म बयान दिन जान्छु । अर्को पयर्टनमन्त्री पनि जाओस् ।’ उनले कसैलाई लुकाउन, छिपाउन कसैले पनि नखोजेको बताए ।

१० महिनामा १४ खर्बको आयात, २ खर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन-वैशाख) सम्ममा आयात १४ खर्ब ७४ अर्ब ४१ करोड रुपैयाँ बराबर पुगेको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा १३.११ प्रतिशत बढी हो ।  यो अवधिमा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन नेपालको इतिहासमा सर्वाधिक निर्यात हो ।  चालु आवको १० महिनामा कम्पनीहरुले गरेको निर्यात गत आर्थिक वर्षको १० महिनाको तुलनामा ७३ प्रतिशतले बढी हो । २०७८/७९ मा २ खर्ब ३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।  चालु आवको १० महिनामा कुल १६ खर्ब ९२ अर्ब ९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । वैदेशिक व्यापारको वृद्धिदर गत आवको तुलनमा १८.३७ प्रतिशत रहेको छ  । १० महिनामा व्यापारघाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर पुगेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ६.७२ प्रतिशत हो।  

बजेटअघि १० हजार ईभी भित्रिए, सवा २३ अर्ब रुपैयाँ विदेशियो

काठमाडौं । चालु आव २०८१/८२ को पहिलो १० महिनामा नेपालमा करिब १० हजार थान विद्युतीय कार, जीप तथा भ्यान (ईभी) आयात भएका छन् । पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण तीव्र गतिमा बढिरहेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको वैशाख मसान्तसम्म कुल ९ हजार ८५९ वटा चारपाङ्ग्रे ईभी आयात भएका छन् । यी ईभी आयात गर्दा नेपालबाट २३ अर्ब १० करोड ५७ लाख रुपैयाँ बाहिरिएको छ । आयातित ईभीमध्ये अधिकांश चीनबाट भित्रिएका छन् । विभागका अनुसार यस अवधिमा चीनबाट मात्रै ७ हजार ३५३ वटा ईभी नेपाल भित्रिएका छन्, जसले चिनियाँ ईभीको नेपाली बजारमा बलियो पकड रहेको पुष्टि गर्छ । चीनपछि ईभी आयातमा भारत दोस्रो स्थानमा रहेको छ । भारतबाट २ हजार ४११ वटा ईभी नेपाल आएका छन् । यसबाहेक इन्डोनेसिया, दक्षिण कोरिया, जर्मनी, मलेसिया र संयुक्त राज्य अमेरिका जस्ता देशहरूबाट पनि उल्लेख्य संख्यामा ईभी आयात भएको तथ्यांकले देखाउँछ । विशेषगरी, यस अवधिमा चीनबाट ९ वटा अनएसेम्बल्ड ९जडान नगरिएका० ईभी समेत आयात भएको विभागले जनाएको छ । विद्युतीय सवारीको बढ्दो आयातसँगै सरकारले राम्रो राजस्व समेत संकलन गरेको छ । विभागका अनुसार, यी ईभी आयातबाट १० महिनाको अवधिमा सरकारलाई १४ अर्ब २५ करोड ११ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ ।