नवनियुक्त गभर्नरले के गरे पहिलो निर्णय ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले नयाँ नोट डिजाइन सम्बन्धित निर्णय गरेका छन् । नयाँ मुद्रा छपाइका लागि आवश्यक पर्ने डिजाइन अगाडि बढाउने निर्णय गरेका हुन् । डेपुटी गभर्नर बमबहादुर मिश्रले १ हजार र ५० रुपैयाँ दरका नोटको डिजाइन बनाउने तथा डिजाइन समितिमा पेस गर्ने निर्णय भएको जानकारी दिए ।
प्रधानन्यायाधीशबाट शपथ लिएर डा. पौडेलले सम्हाले गभर्नरको जिम्मेवारी
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले अर्थविद् डा पौडेललाई शपथ ग्रहण गराएका हुन् । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले गभर्नर चयनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।
ऐनले दिएको अधिकार प्रयोग गर्छु, कसैसँग झगडा गर्दिनँ : गभर्नर पौडेल
काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्व पौडेलले ऐनले दिएको अधिकार प्रयोग गरेर काम गर्ने बताएका छन् । बुधबार राष्ट्र बैंक पुगेर पदभार ग्रहण गर्दै उनले अब आफूले ऐनका अधिकार प्रयोग गरेर काम गर्ने र कुनै र कसैसँग झगडा नगर्ने धारणा राखेका हुन् । मौद्रिक नीतिले वित्तीय नीतिको लक्ष्य सफल बनाउन भूमिका खेल्ने बताएका हुन् । यस्तै, उनले कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत सम्बन्धीमा पनि धारणा राखेका छन् । उनले भने, ‘मेरो हातमा केही आएको छैन । अब पुरानो अवस्था नहोला ।’
नवनियुक्त गभर्नर विश्व पौडेलको अर्थमन्त्रीसँग भेट, समन्वयमा काम गर्ने सहमति
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले भेटेका छन् । बुधबार बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेटेका हुन् । सो अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिए । अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रीक नीतिबीच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रीक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास व्यक्त गरे । नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्याउने बताए । उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने बताए । सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायत नवनियुक्त गभर्नर पौडेललाई बधाइ तथा शुभकामना दिएका थिए ।
फूलमालासहित गभर्नरको पर्खाइमा राष्ट्र बैंकका कर्मचारी {तस्बिरहरू}
काठमाडौं । नेपाल राष्ट्र बैंकले नवनियुक्त गभर्नर डा. विश्व पौडेलको स्वागतको तयारी गरेको छ । राष्ट्र बैंकले कर्मचारीहरुलाई तयारका साथ फुलमालासहित प्रवेश द्वारमा तयार अवस्थामा राखेको छ । पौडेलले सर्वोच्च अदालतबाट सपथ लिएर राष्ट्र बैंक जाँदैछन् । उनले सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग सपथ लिएका थिए । अब उनी पदभार ग्रहणका लागि राष्ट्र बैंक जाँदैछन् । उनलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको थियो । उनीसँगै तीन जनाको नाम सिफारिस भएको थियो ।
रवि लामिछानेको रिटमा सुनुवाइ स्थगित, इजलास बस्न सकेन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा बुधबार सुनुवाइ हुने भनिए पनि स्थगित भएको छ । मंगलबारदेखि न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुरु भएको सुनुवाइ नसकिएकाले मुद्दा आजका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । तर बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा व्यस्त रहेका कारण संयुक्त इजलास बस्न नसकेपछि सुनुवाइ स्थगित गरिएको हो । मंगलबार लामिछानेको तर्फबाट अधिवक्ताहरू सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दीपेन्द्र झा, नारायणदत्त कँडेल र विवेक राउतले बहस गरिसकेका छन् । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको बहस भने अझै बाँकी छ । त्यसपछि पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्नेछन् भने अन्त्यमा सरकारी वकिल र पीडित पक्षका वकिलको तर्फबाट बहस हुनेछ ।
टेस्लाको रोबोट्याक्सी परीक्षण : मस्कले खोल्दैछन् भविष्यको ढोका !
काठमाडौं । टेस्लाले अष्टिन, टेक्सासमा रोबोट्याक्सी सेवाको परीक्षण जुन महिनाको अन्त्यसम्ममा समयमै सुरु गर्ने तयारी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी एलन मस्कले मंगलबार उक्त जानकारी दिएका हुन् । यद्यपि कम्पनी अमेरिकी नियामकको तर्फबाट उठाइएका सुरक्षासम्बन्धी प्रश्नहरूको सामना गरिरहेको छ । मस्कले सीएनबीसीलाई दिएको अन्तर्वार्तामा भने अनुसार टेस्लाले सुरुमा सहरका केही भागहरूमा करिब १० वटा स्वचालित सवारीहरू सञ्चालनमा ल्याउनेछ र केही महिनाभित्र त्यसलाई विस्तार गर्दै करिब १ हजार पुर्याउने योजना बनाएको छ । 'हामी खासमा पूरै अष्टिन क्षेत्रमा होइन, केवल सबैभन्दा सुरक्षित भागहरूमा मात्र रोबोट्याक्सी तैनाथ गर्दैछौं,' मस्कले भने । टेस्लाको बिक्री विश्वभर घटिरहेको छ, किनभने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ र मस्कको दक्षिणपन्थी राजनीतिक दृष्टिकोणका कारण उनी आलोचित भइरहेका छन् । मस्कले भनेका छन् कि उनले ट्रम्पको लागि गर्ने काम घटाउने र टेस्लामा ध्यान केन्द्रित गर्नेछन् । 'ह्वाइट हाउसमा मेरो मोटामोटी योजना हरेक केही हप्तामा केही दिनको लागि त्यहाँ हुने र जहाँ सहयोग गर्न सकिन्छ, त्यहाँ सहयोग गर्ने हो,' उनले भने । टेस्लाका लागि सफल रोबोट्याक्सी परीक्षण अत्यन्तै महत्वपूर्ण छ किनभने मस्कले कम्पनीको ध्यान सस्तो विद्युतीय सवारी निर्माणबाट हटाएर रोबोट्याक्सी सेवा र यसको अप्टिमस ह्युमनाइड रोबोटहरूमा केन्द्रित गराएका छन् । टेस्लाको बजार मूल्यको ठूलो हिस्सा यही आशामा आधारित छ । 'दीर्घकालीन रूपमा वास्तवमा महत्त्वपूर्ण कुराहरू भनेका स्वचालित प्रणाली (अटोनोमी) र अप्टिमस हुन्,' मस्कले सीएनबीसीलाई बताए । स्वचालित सवारी प्रविधि व्यवसायिक रूपमा प्रयोगमा ल्याउन कठिन साबित भएको छ, कडा नियम तथा ठूलो लगानीका कारण धेरै कम्पनीहरूले हार मानिसकेका छन् । अझै दौडमा रहेका कम्पनीहरू, जस्तै अल्फाबेटको वेमो पनि बढ्दो निगरानीमा परेका छन् । अमेरिकी राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (एनएचटीएसए) ले गत अक्टोबरदेखि कम दृश्यता भएका अवस्थामा टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ’ (एफएसडी) प्रविधि संलग्न दुर्घटनाहरूको अनुसन्धान गरिरहेको छ । सो नियामकले गत हप्ता टेस्लालाई यसको भुक्तानयोग्य रोबोट्याक्सी सेवा सुरु गर्दा ती सवारीहरू खराब मौसममा कसरी प्रदर्शन गर्नेछन् भन्नेबारे जानकारी मागेको थियो । मस्कका अनुसार टेस्ला अन्य ठूला अटो कम्पनीहरूसँग आफ्नो एफएसडी सफ्टवेयर लाइसेन्स गर्नका लागि कुराकानीमा छ, जुन यसको रोबोट्याक्सीहरूको मुख्य आधार बन्नेछ । आफ्नो व्यापक कृत्रिम बौद्धिकता (एआई) योजनालाई अगाडि बढाउन मस्कको एक्सएआई स्टार्टअपले थप उन्नत मोडेल प्रशिक्षणका लागि डेटा केन्द्र क्षमतामा विस्तार गरिरहेको छ र टेनेसीको मेम्फिसमा रहेको यसको सुपरकम्प्युटर कोलोस्ससलाई संसारकै ठूलो भनिएको छ । एक्सएआईले मेम्फिस नजिकै नयाँ केन्द्रमा एनभीडीयाका एक मिलियन अत्याधुनिक ब्ल्याकवेल चिपहरू प्रयोग गर्ने मस्कले बताए । एक्सएआईले टेनेसीको दक्षिणपश्चिम मेम्फिसमा १० लाख वर्गफुट क्षेत्रफलको सम्पत्ति किनेको ग्रेटर मेम्फिस चेम्बरले मार्चमा जनाएको थियो । मस्कले मार्चमा एक्सएआईलाई आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्ससँग गाभेका थिए । उनले टेस्ला र एक्सएआईबीच गाभ्ने योजना हालका लागि नभए पनि त्यसलाई असम्भव भने नभएको बताए ।
गभर्नर पौडेलले सर्वोच्च अदालत पुगेर लिए सपथ, पदभारका लागि पुगे राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सपथ लिएका छन् । उनले सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग सपथ लिएका हुन् । राष्ट्र बैंक ऐनमा गभर्नरले प्रधानन्यायाधीशबाट सपथ लिनुपर्ने व्यवस्था छ । पौडेल सपथ ग्रहणसँगै पदभार ग्रहण गर्न राष्ट्र प्रस्थान गरेका छन् । उनलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको थियो । उनीसँगै तीन जनाको नाम सिफारिस भएको थियो ।