नाडा अटो शोको पहिलो दिनमै ईभीमा झुम्मिए अवलोकनकर्ता

काठमाडौं । भृकुटीमण्डप यतिबेला सवारीसाधनका पारखीहरूको महाकुम्भ  बनेको छ  । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को ५० वर्षे लिगेसी र १८ औं संस्करणको यो उत्सवले काठमाडौंको माहोललाई थप चलायमान बनाएको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले संयुक्त रूपमा उद्घाटन गरेसँगै सुरु भएको यो मेलामा नयाँ प्रविधि, ईभी गाडीप्रतिको मोह र सुरक्षा सचेतनाको एउटै थलो बन्न पुगेको छ । 

यसपटकको अटो शोमा पनि सबैकाे राेजाइ विद्युतीय सवारीसाधन (ईभी) तर्फ नै मोडिएको छ । मेला अवलोकन गर्न उदयपुरबाट आएका व्यवसायी प्रदीप थापा भन्छन्, ‘जता हेर्यो त्यतै ईभीको चहलपहल छ । अबको १०/१५ वर्षमा सडकमा पर्यावरणमैत्री गाडी छाउने निश्चित देखिन्छ ।’ उनी जस्तै धेरै अवलोकनकर्ताहरू गाडीको लुक र ईभीले दिने सुविधा बुझ्न व्यस्त देखिन्छन् । 

कतिपय भने मेलाको पहिलो दिनमै गाडी बुक गर्ने मनसायका साथ आइपुगेका छन् । त्रिपुरेश्वरका विक्रम अछामी टाटाको पन्च ईभी बुक गर्ने योजनाका साथ मेलामा भौंतारिइरहेका भेटिए । ‘एकै ठाउँमा धेरै ब्रान्डका गाडी र तिनको स्पेसिफिकेसन तुलना गर्न पाइने हुनाले अटो शो निकै सजिलो माध्यम हो,’ उनले भने । यद्यपि, उनले अघिल्ला वर्षहरूका मेलाको तुलनामा यसपालि रोबोटिक्स र नयाँ प्रविधिको प्रदर्शनी केही कम भएको महसुस पनि सुनाए ।

सवारी मात्र होइन, सुरक्षा पनि

मेलाको अर्को आकर्षण हो, ट्राफिक प्रहरीको स्टल । गाडी किन्ने मात्र होइन, गाडी चलाउँदा अपनाउनुपर्ने सुरक्षाबारे पनि सचेतना फैलाउन ट्राफिक प्रहरी सक्रिय देखिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रबहादुर मल्लका अनुसार नेपालमा हुने ७० देखि ८० प्रतिशत दुर्घटना दुई पाङ्ग्रे सवारी साधनका कारण हुने गरेका छन् ।

‘हामी यहाँ सवारीका पारखीहरूलाई ट्राफिक नियम पालना गर्न सिकाउँदैछौं । करोडौंका गाडी किने पनि एक सेकेन्डको लापरवाहीले अमूल्य जीवन र सम्पत्ति दुवै नष्ट हुन्छ,’ मल्लले भने । 

null

विशेषगरी युवाहरूले गर्ने तीव्र गति र लेन अनुशासनको कमी नै दुर्घटनाको मुख्य कारण रहेको उनको अनुभव छ । मेलामा दुर्घटनाका भिडियो दृश्य र ट्राफिक प्रहरीले प्रयोग गर्ने उपकरणहरूको प्रदर्शनीले अवलोकनकर्तालाई सडक सुरक्षाप्रति जिम्मेवार बन्न प्रेरित गरिरहेको छ ।

भृकुटीमण्डप छिर्नका लागि टिकट काउन्टरमा लामो लाइन बस्नुपर्ने झन्झटलाई डिजिटल प्रविधिले कम गरिदिएको छ । खल्ती एपमार्फत सहजै टिकट काट्न सकिने व्यवस्था गरिएको छ । सर्वसाधारणका लागि २०० रुपैयाँ र विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको यो मेलामा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था छ ।

नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीका अनुसार यसपटक २०० भन्दा बढी स्टलहरू रहेका छन् । भृकुटीमण्डप आसपासको पार्किङ समस्यालाई मध्यनजर गर्दै नाडाले सटल बसको निःशुल्क व्यवस्था समेत गरेको छ । 

null

नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती ।

‘हामीले सुन्धारा, आरएनसी र पुरानो बसपार्कमा पार्किङ गरेर अवलोकनकर्तालाई मेला स्थलसम्म ल्याउन सटल बस चलाएका छौं, जसले ट्राफिक व्यवस्थापनमा ठुलो सहयोग पुगेको छ,’ उप्रेतीले भने ।

प्रदर्शनीको पहिलो दिनमै अवलोकनकर्ता र ग्राहकहरूको उल्लेख्य उपस्थिति देखिएको नाडा अटो शोका सभापति अनुप बरालले जानकारी दिए ।

मानिसहरूको भीडले आयोजक टोलीलाई निकै उत्साहित बनाएको उनको भनाइ छ । उनले भने, ‘सुरुवात एकदमै राम्रो भएको छ । मर्निङ शोज द डे भने झैं उद्घाटन सत्रसँगै बढेको यो उत्साहले आगामी दिनहरू अझै सफल हुने संकेत गरेको छ ।’

null

अनुप बराल ।

उनका अनुसार प्रदर्शनीमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे, छ पाङ्ग्रे र आठ पाङ्ग्रे सवारी साधनहरूका साथै पछिल्लो समय लोकप्रियता कमाइरहेका ईभी र परम्परागत आईसीई इन्जिन भएका सवारीहरू समेत राखिएका छन् । सवारी साधनका अतिरिक्त अटोमोबाइल कम्पोनेन्ट र सफ्टवेयरहरूको समेत प्रदर्शनी भइरहेको छ ।

छोटो समयको तयारीका बावजुद व्यवस्थापन पक्षलाई चुस्त बनाउन टोली अहोरात्र खटिएको र अवलोकनकर्ताहरूले फरक तथा स्तरीय अनुभव पाउने सभापति बरालले दाबी गरे । आयोजक टोली आगामी दिनमा अझ बढी अवलोकनकर्ता आउनेमा विश्वस्त रहेको उनले बताए । सभापति बरालले सम्पूर्ण अटो प्रेमी तथा सर्वसाधारणलाई भृकुटीमण्डप पुगेर अटो शोको अवलोकन गरिदिन समेत आग्रह गरे । 

अटो शोमा ५ दर्जनभन्दा बढी विश्वस्तरीय अटोमोबाइल ब्रान्डका प्यासेन्जर सवारीसाधनका साथै कमर्सियल सेग्मेन्टअन्तर्गतका ईभी माइक्रो, भ्यानदेखि ठूला कमर्सियल सवारीसाधनसम्म  दर्शनीमा राखिएका छन् ।

हुन्डाई, टाटा, बीवाईडी, दिपल, लिपमोटर, बीएआईसी, होङ्छी, अवतार, एवान, चांगन, चेरी, जिली र स्काइवेललगायत विश्वस्तरीय ब्रान्डका साथै रोयल इन्फिल्ड, यामाहा र होन्डालगायत दर्जनौँ ब्रान्डका विभिन्न उत्पादन प्रदर्शनीमा छन् ।

त्यस्तै, नेपालको उत्पादन ‘यात्री पी-२’ समेत प्रदर्शनमा राखिएको छ । अटोकम्पोनेन्ट, टायर, लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा एसेसरिजका कम्पनीहरूको समेत सहभागिता छ ।

null

Share News