रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार

काठमाडौं । रसुवामा भोटेकोशी नदीमा आएको बाढीपछि नेपाली सेनाले बिहीबार बिहान हेलिकप्टरमार्फत १२३ जनाको उद्धार गरेको छ ।

नेपाली सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये आठ जना विदेशी नागरिक छन् । विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ भने अन्यलाई धुन्चे ल्याउने तयारी गरिएको सेनाले जनाएको छ ।

यसैगरी, रसुवाको हाकुस्थित एक जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनाको जीवितै उद्धार गरिएको छ। अन्य तीनवटा टनेलमा भने उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।

टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको पनि जीवितै उद्धार गरिएको छ । उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने क्रम जारी रहेको सेनाले जनाएको छ ।

भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको टिमुरेसहित विभिन्न क्षेत्रमा ठूलो क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले उद्धार तथा राहत कार्यलाई तीव्रता दिएका छन्। 

Share News