काठमाडौं । प्रहरीले नेपाली तथा विदेशी नागरिकका शव पहिचान गर्न आफन्तलाई डीएनए परीक्षणको व्यवस्था गरेको छ ।
गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्तजन, सम्पर्कविहीन तथा हराइरहेकाहरूको आफन्तलाई प्रहरीले डीएनए परीक्षणका गर्न सूचना जारी गरेको छ ।
बाढीपछि फेला परेका तर पहिचान हुन नसकेका शव तथा शरीरका कुनै अंग वा भाग आफन्तसँग मिलान गरी पहिचान गर्न डीएनए परीक्षण गरिने प्रहरीले जनाएको छ।
नमुना दिन चाहने आफन्तले पासपोर्ट आकारका दुई प्रति फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित प्याथोलोजी प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने सूचनामा बताइएको छ ।
हराइरहेका व्यक्तिका सबैभन्दा नजिकका रगतका नाता (प्रथम तहका आफन्त) अर्थात् बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको ताजा रगतको नमुना आवश्यक पर्नेछ सूचनामा बताइएको छ ।
त्यसैगरी, विदेशमा रहेका आफन्तका हकमा बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले सम्बन्धित देशमै डीएनए परीक्षण (प्रोफाइलिङ) गराई त्यसको विवरण तुलना तथा पहिचानका लागि नेपाल प्रहरीको आधिकारिक इमेल [email protected] मा पठाउनु पर्ने छ ।
प्रहरीले बाढीपछि फेला परेका पहिचान नखुलेका शव तथा शरीरका अंगको वैज्ञानिक परीक्षणमार्फत वास्तविक पहिचान खुलाउन आफन्तजनको सहयोग आवश्यक रहेको जनाएको छ।
