विकासन्युज

भोटेकोशी बाढीः मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ सम्पर्कविहीन

काठमाडौं । तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हनेको संख्या ९ सय ८७ पुगेको छ ।   मंगलबार (भदौ १६) गते  बिहान ९ बजेसम्म ९ सय ८७ जनाको जनाको शव फेला परेको र ३ हजार ९ सय ६ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १७० जनाको शव भेटिएको छ । त्यस्तै गोर्खामा ६५, धादिङमा ५५, तनहुँमा ३८, रसुवामा २७ र नुवाकोटमा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाढीमा परी हालसम्म २७९ जना घाइते भएका छन्, जसमध्ये १६८ जना उपचारपछि घर फर्किसकेका छन् । घाइतेमध्ये २,७४० जनाको उपचार नेपाल सेनाका स्वास्थ्यकर्मीमार्फत गरिएको छ । पहिचान नखुलेका शवहरूलाई २१ वटा अस्पतालमा राखिएको छ । विपद्का कारण विशाल सङ्ख्यामा मानिसहरू अझै सम्पर्कविहीन छन् । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार नुवाकोटबाट करिब १,५५८ र रसुवाबाट ८६५ जना बेपत्ता छन् । यस्तै, जलविद्युत् आयोजनाहरूबाट ६३९ जना, ५८३ जना विदेशी नागरिक र उनीहरूसँग भ्रमणमा गएका १६४ जना नेपाली हालसम्म सम्पर्कमा आएका छैनन् । सुरक्षाकर्मीतर्फ नेपाल सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमनका ३, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ र क्वारेन्टाइन कार्यालयका ३ जना कर्मचारी बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा हालसम्म ११,८१४ जनाको सकुशल उद्धार गरिएको छ। नेपाली सेनाले ५७३ पटक (मङ्गलबार मात्र १२ उडान) हवाई उडान गरी ३ हजार४४९ नेपाली र २५३ विदेशी नागरिकको उद्धार गरिसकेको छ । यस्तै, रसुवा र नुवाकोटमा राहत सामग्री ढुवानीका लागि सशस्त्र प्रहरीले पनि ५० भन्दा बढी उडान भरेको छ । उद्धार तथा राहत कार्यका लागि कुल २९ हजार ०११ सुरक्षाकर्मी परिचालन गरिएका छन्, जसमा ८,८९६ नेपाली सेना, ७ हजार ९१२ नेपाल प्रहरी र ४ हजार २०३ सशस्त्र प्रहरी रहेका छन् ।  नेपाल सरकारले प्रभावित क्षेत्रका लागि आर्थिक सहायता घोषणा गरेको छ । जसअन्तर्गत रसुवा र नुवाकोटलाई १९१ करोड, धादिङलाई ५० लाख र अन्य प्रभावित १५ पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ । राहत सामग्रीतर्फ हालसम्म ३७ ट्रक, ३७ बोलेरो र हेलिकप्टरका ९ वटा उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ । प्रभावित क्षेत्रमा इन्धन आपूर्ति सहज बनाउन ४२ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र ६ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ । त्यसैगरी, बाढीका कारण क्षतिग्रस्त नेपाल टेलिकमका ११० वटै टावर मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ भने एनसेलका क्षतिग्रस्त ७८ टावरमध्ये ७५ वटा सञ्चालनमा आइसकेका छन् ।

विपत्तिमा गोल्याण फाउण्डेशनको साथ, ४ सयलाई दैनिक खाना

काठमाडौं । भोटेकोशीलगायत नदी बेसिनमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ। बाढीबाट प्रभावित हजारौं नागरिक घरबारविहीन भएका छन् । उनीहरू अहिले पनि कष्टकर अवस्थामा बस्न बाध्य छन् । यस्तो विपत्तिका बेला गोल्याण ग्रुपअन्तर्गतको गोल्याण फाउण्डेशन भने बाढी प्रभावितको सहयोगमा सक्रिय भएको छ । फाउण्डेशनले बाढी आएको भोलिपल्ट अर्थात् भदौ ११ गतेदेखि नै प्रभावित क्षेत्रमा राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । फाउण्डेशनले नुवाकोटको विदुर नगरपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालय होल्डिङ सेन्टरमा भोजन, स्वास्थ्य उपचार र मनोपरामर्श सेवा उपलब्ध गराइरहेको छ । उक्त होल्डिङ सेन्टरमा देवीघाट क्षेत्रका ६८ घरपरिवार रहेका छन् । उनीहरूका साथै आसपासका बाढी प्रभावित गरी दैनिक करिब ४ सय जनालाई तीनपटक खाना तथा खाजा उपलब्ध गराइँदै आएको छ । भोजनसँगै प्रभावितलाई सामान्य स्वास्थ्य सेवा पनि दिइएको छ । बालबालिकाका लागि बालमनोपरामर्श सेवा सञ्चालन गरिएको फाउण्डेशनले जनाएको छ । फाउण्डेशनले राहत तथा सहयोगका लागि ५० जना स्वयंसेवी, कर्मचारी र मनोपरामर्शकर्ता परिचालन गरेको छ । गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख तथा फाउण्डेशनकी प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेको नेतृत्वमा स्वयंसेवी टोली प्रभावित क्षेत्रमा खटिएको छ । होल्डिङ सेन्टरमा करिब ४० जना बालबालिका रहेका छन् । उनीहरूका लागि खेल सामग्री उपलब्ध गराउनुका साथै बालमनोपरामर्शसमेत दिइँदै आएको गैह्रेले बताइन् । ‘कत्ति पनि ढिलो नगरी गोल्याण फाउण्डेशनको स्वयंसेवी समूह बाढीको भोलिपल्टै प्रभावित क्षेत्रमा पुगेर तत्काल खानपिनको व्यवस्था गर्‍यो,’ उनले भनिन् । गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले विपत्तिको समयमा प्रभावित नागरिकलाई साथ र सहयोग गर्नुपर्ने मान्यताअनुसार बाढी गएको दिनमै राहत तथा सहयोगको योजना बनाइएको बताए । ‘यस्तो बेला प्रभावित क्षेत्रमै पुगेर सहयोग गर्नुपर्छ भन्ने हिसाबले हामीले नुवाकोटको विदुरमा गएर तत्काल राहत तथा सहयोग कार्य गर्‍यौं,’ उनले भने, ‘अवस्था सामान्य नभएसम्म हाम्रो सहयोग जारी रहन्छ ।’ उनले नेपाल सरकार तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर राहत तथा सहयोगलाई थप प्रभावकारी बनाइने बताए । यसैबीच, गोल्याण ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत १ करोड रुपैयाँ सहयोग गरेको छ । गोल्याण ग्रुपअन्तर्गतको रिलायन्स स्पिनिङ मिल्सले बाढी प्रभावितको सहयोगार्थ नेपाल सरकारलाई उक्त रकम हस्तान्तरण गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक अक्षय गोल्याण र निर्देशक शशिकान्त अग्रवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । रिलायन्स स्पिनिङ मिल्स नेपालका प्रमुख धागो उत्पादक कम्पनीमध्ये एक हो । कम्पनीले सुनसरीको दुहबी र खनारमा रहेका उद्योगबाट धागो उत्पादन गर्दै आएको छ । प्राकृतिक विपत्तिको समयमा नागरिक तथा सरकारलाई सहयोग गर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

श्रम संस्कृति पार्टीमा एकतापछि पहिलो बैठकमै विवाद, सुदन समूहलाई बोलाइएन

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र पूर्वमन्त्री सुदन किराती समूहको एकता चार महिना नपुग्दै विवादतर्फ उन्मुख भएको छ । एकतापछि पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा किराती समूहलाई नै सहभागी नगराइएपछि दुई पक्षबीचको दूरी थप बढेको हो । पार्टीको केन्द्रीय कमिटी बैठक मंगलबार (आज) धरानस्थित होटल गोर्खामा बस्दैछ । तर, चार महिनाअघि पार्टीमा समाहित भएको किराती समूहका नेताहरूलाई बैठकबारे औपचारिक जानकारीसमेत नदिइएको नेताहरूले बताएका छन् । किराती नेतृत्वको समूह र श्रम संस्कृति पार्टीबीच चार महिनाअघि एकता भएको थियो । एकताका क्रममा किरातीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो । किराती समूहका एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्यसहित १८ जना श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटीमा रहेका छन् । एकताअघि श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी २३ सदस्यीय थियो । किराती समूह समाहित भएपछि केन्द्रीय कमिटी ४१ सदस्यीय बनेको हो । बैठकमा किराती समूहलाई नबोलाइएको सम्बन्धमा नेताहरूले भने अनविज्ञता जनाएका छन् ।  नेता ध्रुव राईले भने, ‘बोलाइनु पर्ने हो । पार्टीका वरिष्ठ नेता र पदाधिकारीलाई बोलाउनुपर्छ ।’ किराती समूहका नेताहरू भने आफूहरूलाई बैठकबारे जानकारी नै नभएको बताउँछन् । मुख्यमन्त्रीको उम्मेदवारका रूपमा किरातीलाई अघि सारिएको थियो पार्टी एकतापछि साम्पाङले नै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत किरातीलाई कोशी प्रदेशको मुख्यमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा प्रस्तुत गरेका थिए । त्यसपछि पार्टीका विभिन्न कार्यक्रममा किरातीको पक्षमा मुख्यमन्त्रीको उम्मेदवारका रूपमा नाराबाजीसमेत हुने गरेको किराती निकट नेताहरू बताउँछन् । किराती निकट एक नेताका अनुसार एकतापछि पूर्वी नेपालमा पार्टी विस्तारका लागि किराती सक्रिय रूपमा परिचालित भएका छन् । किरातीले हातेमालो अभियानमार्फत विभिन्न क्षेत्रका राजनीतिक नेता तथा स्थानीय जनप्रतिनिधिसँग संवाद बढाएको उनले बताए । ‘सुदनजीलाई भावी मुख्यमन्त्रीका रूपमा पार्टीभित्र लगभग सर्वसम्मत रूपमा हेरिएको थियो,’ ती नेताले भने ।  उनका अनुसार उनी पूर्वी नेपालमा सक्रिय भएपछि विभिन्न दलमा रहेका नेता तथा बहालवाला जनप्रतिनिधिसमेत श्रम संस्कृति पार्टीमा जोडिन चासो देखाउन थालेका थिए । तर पछिल्लो समय पार्टी सञ्चालनको शैली, नेतृत्वबीचको संवाद र संगठनात्मक निर्णयलाई लिएर दुई पक्षबीच असन्तुष्टि बढ्दै गएको किराती समूहका ती नेताले बताए । फेसबुकबाटै पार्टी चलाएको भन्दै असन्तुष्टि किराती पक्षले पार्टी अध्यक्ष साम्पाङको कार्यशैलीप्रति पछिल्लो समय गम्भीर असन्तुष्टि जनाउँदै आएको छ । विशेषगरी पार्टीका महत्त्वपूर्ण निर्णयमा सामूहिक छलफल र परामर्शभन्दा सामाजिक सञ्जाललाई प्राथमिकता दिएको भन्दै किराती पक्ष असन्तुष्ट रहेको एक नेताको भनाइ छ । किराती निकट ती नेताका अनुसार साम्पाङ र किरातीबीच लामो समयदेखि प्रत्यक्ष संवादसमेत हुन सकेको छैन । केन्द्रीय कमिटी बैठक बस्न लागेको जानकारीसमेत किरातीले अन्य नेतामार्फत मात्र थाहा पाएको दाबी गरिएको छ । तर अध्यक्ष साङपाङ निकट भोजपुरका सांसद तथा नेता ध्रुव राईले भने पार्टीमा त्यस्तो असहज केही नभएको दावी गर्छन् ।  सर्वदलीय बैठकका लागि काठमाडौंमै रहेका राइले भने, ‘पार्टीभित्र बाहिर भनिएजस्तो असहज अवस्था रहेको छैन । खबर गर्न केही ढिला भएहोला, बैठकमा सबै विषयमा खुलेर छलफल हुन्छ ।’ तर किराती पक्षका नेताहरू भने पार्टीका निर्णयहरूमा पर्याप्त छलफल हुन छाडेको बताउँछन् । ‘अध्यक्षज्यूले फेसबुकबाटै पार्टी सञ्चालन गरिरहनुभएको जस्तो देखिन्छ,’ किराती निकट एक नेताले भने, ‘सुदनजीसँग पनि पछिल्लो समय उहाँको प्रत्यक्ष सम्पर्क छैन ।’ किराती पक्षका नेताहरूले आफूहरूलाई बैठकमा नबोलाइएको विषयमा पार्टीका अन्य नेताहरूसँग जानकारी लिएका थिए । त्यसक्रममा आजको बैठकबाट पार्टी एकतासम्बन्धी निर्णय अनुमोदन गर्ने र त्यसपछि मात्रै संयुक्त रूपमा बैठक तथा संगठनात्मक गतिविधि अघि बढाउने जवाफ पाएको उनीहरूको भनाइ छ । तर उक्त जवाफबाट किराती पक्ष आश्वस्त हुन सकेको छैन । एकता नै संकटमा पर्ने संकेत पार्टी एकतापछि पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमै एकीकृत समूहलाई सहभागी नगराइएको घटनाले श्रम संस्कृति पार्टीभित्रको विवाद थप गहिरो बन्दै गएको देखिएको छ । किराती निकट नेताहरूले अहिलेको अवस्था सामान्य असन्तुष्टिमा मात्र सीमित नरहने संकेत गरेका छन् । उनीहरूका अनुसार नेतृत्वबीच तत्काल संवाद र सहमति नभए चार महिनाअघि भएको पार्टी एकता नै संकटमा पर्न सक्छ । स्रोतका अनुसार किरातीले पनि पछिल्लो राजनीतिक अवस्थाबारे आफू निकट नेताहरूसँग छलफल थालेका छन् । पार्टीभित्र उत्पन्न परिस्थिति, आगामी रणनीति र एकताको भविष्यबारे उनले निकट नेताहरूसँग परामर्श गरिहेको एक नेताले जानकारी दिए ।

बाढीले ३५ भन्दा बढी पुल बगाउँदा गल्छीको पुल कसरी जोगियो ?

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका ३५ वटा भन्दा बढी पुल बगाएको छ । रसुवा, नुवाकोट र धादिङका पक्की, बेलव्रिज तथा झोलुङ्गे पुल बगाएको हो । बाढीले केही पुल पूरै बगाएको छ भने केहिमा आंशिक क्षति पुर्याएको छ । तर त्रिशूली नदीमा भीषण बाढी आउँदा पनि धादिङको गल्छीमा रहेको एउटा पुल भने जोगिएको छ । अधिकांश पुलमा क्षति हुँदा धादिङस्थित महेशदोभानमा त्रिशूली नदीमाथी निर्माणधिन पुल जोगिएको हो । धादिङवेशी जोड्ने फुर्केखोला पुल समेत बाढीले लैजाँदा गल्छीको पुल कसरी जोगियो त ? सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार नदीको भौगोलिक बनोट, पुलको स्पान र पुलको जग चट्टानभित्र गहिरोसम्म पुर्याएर निर्माण गरेको कारण जोगिएको देखिन्छ । बाढीको तिब्र बहाव महानिर्देशक डा. जैसीलाई पनि उक्त पुल जोगिन्छ भन्ने लागेको थिएन । तर बाढीको बहाव यस क्षेत्रमा आइपुग्दा केही कमजोर भएको र पुल रहेको स्थानमा नदीको बहाव फैलिन सक्ने पर्याप्त ठाउँ भएकाले बाढीको प्रत्यक्ष दबाब कम हुन पुग्यो । सोही कारण पुलका संरचनात्मक भागमा ठूलो क्षति हुन नपाएको उनले बताए । चट्टानी भू–बनावट र नदीको फराकिलो क्षेत्रले पनि पुललाई बाढीको अत्याधिक वेगबाट जोगाउन सहयोग गरेको उनको भनाइ छ । उनले भने, 'यस पुललाई हेर्दाखेरि कस्तो देखियो भने, बाढी यहाँसम्म आइपुग्दासम्म माथिदेखिको डिस्चार्ज र स्पिड, त्यसको भेलोसिटी अलि मरिसकेको अवस्था थियो । अनि यो गल्छीमा पनि अलिकति फिजिन ठाउँ धेरै छ । फिजिन ठाउँ धेरै भएको र भाग्यवश हाम्रो यो बीचको स्पान पनि लामो परेको थियो । हुन त यस्तै स्पान भएको अगाडिको एउटा पुल पनि भेलले लिएर गयो । त्यही संरचनाको थियो, तुप्चे भन्ने ठाउँमा अलि माथि थियो । तर यो ठाउँ चाहीँ अलि फराकिलो पनि भयो । अनि यहाँ रकको स्ट्राटा छ । यो पुललाई त्यही रकभित्र करिव १०–१५ मिटरजति भित्र पठाइएको थियो । त्यो रकलाई भेलले काट्न सकेन, अनि यता फिजिन ठाउँ पनि पाएर, भाग्यवश यो पुल बच्न गयो । अहिले हामीलाई ठूलो राहत महशुस भएको छ ।' तर यही प्रकृतिको संरचना रहेको त्रिशूलीकै तुप्चे क्षेत्रमा रहेको अर्को पुल भने बाढीले बगाएको उनले बताए । महानिर्देशक जैसीकाअनुसार यसपटकको बाढी सामान्य अनुमानभन्दा निकै ठूलो थियो । टिमुरे र रसुवागढी क्षेत्रमा बाढीको छाल करिव १०० मिटरसम्म माथि पुगेको आकंलन गरिएको उनले बताए । यस्तो असाधारण बाढीमा सामान्य डिजाइन मापदण्डअनुसार निर्माण भएका संरचना जोगिन कठिन हुने उनको भनाइ छ । उनले भने, 'यो हाम्रो लागि नसोचेको, महाप्रलयजस्तो अवस्था भयो । हामीले सामान्यतः हाइड्रोलोजिकल प्यारामिटर र म्यानुअलका आधारमा पुल डिजाइन गर्छौं । हामीले बगेको पानीको डिस्चार्ज कति आउँछ र फ्रि बोर्ड कति राख्ने भन्ने नियम अनुसार नर्मल्ली पुल डिजाइन गथ्र्यौँ । हामीलाई टिमुरे र माथि रसुवागढीमा १०० मिटरमाथिसम्म छाल पुगेको भन्ने आकलन थियो । भनेपछि कुनैपनि पुल रहने कुनै सम्भावना नै थिएन, भाग्यवश हाम्रा त्रिशुलीमा केही पुलहरू जोगिएका छन् । त्योमध्ये यता स्याप्रुबेसी पट्टि भएको त्रिशूलीको पहिलो बचेको पुल हो, यो । हामीलाई पनि एकदम अचम्म लाग्यो, यो पुलै बच्ला भनेर हामीले एक्स्पेक्ट गरेका थिएनौँ ।' अब पुल निर्माणसम्बन्धी डिजाइन मापदण्ड नै पुनरावलोकन रसुवा बाढीले पुलमा ठूलो क्षति पुर्याएपछि सडक विभाग पुल निर्माणसम्बन्धी डिजाइन मापदण्ड नै पुनरावलोकन गर्ने पक्षमा पुगेको छ । बाढीका कारण क्षति पुगेका सडक तथा पुलको स्थलगत निरीक्षणपछि विभागका महानिर्देशक डा. जैसीले पुलको डिजाइन परम्परागत ढंगले अब गर्न नहुने बताउँछन् । यसपटकको बाढीले नेपालमा पुल निर्माणसम्बन्धी विद्यमान मापदण्डमा पुनर्विचार गर्नुपर्ने देखाएको उनले बताए । जलवायु परिवर्तनका कारण भविष्यमा विपद् थप बढ्न सक्ने भएकोले अब पुल निर्माणसम्बन्धी मापदण्ड पुनरावलोकन अनिवार्य भएको उनको भनाइ छ । उनकाअनुसार अब नेपालले आफ्नै भौगोलिक तथा जलवायुसँग मिल्ने मापदण्ड विकास गर्नुपर्नेछ । पुल निर्माण गर्दा सकेसम्म नदीको बीचमा पिल्लर नराख्ने, लामो स्पान भएका र अग्ला पुल निर्माण गर्नेगरी मापदण्ड बनाउनुपर्ने उनले बताए । रणनीतिक र ‘लाइफलाइन’ पुललाई विशेष प्राथमिकताका साथ बलियो बनाउने विषयमा विभागले छलफल अघि बढाएको पनि उनले जानकारी दिए । उनले भने, 'हामीले चाहिँ नर्मल हाइड्रोलोजिकल म्यानुअल गाइडलाइनअनुसार पुल डिजाइन गरेका थियौँ । त्यसअनुसार १०० वर्षको रिटर्न पिरियड निकाल्ने, पानी बग्ने र आवश्यक फ्रिबोर्ड राख्ने हिसाबले डिजाइन गरिएको थियो । तर अब क्लाइमेट चेन्जलगायत विभिन्न असरहरूलाई हेर्दा नेपालजस्तो देशले आफ्नै गाइडलाइन र आवश्यक प्यारामिटरहरू विकास गर्ने बेला भयो भन्ने लाग्छ । हाम्रा धेरैजसो नदीहरू हिमाल र हिमनदीबाट आउने हुन् । मुस्ताङतिर हेर्नुभयो भने पनि त्यस्तै अवस्था छ, माथि हिमनदीहरू छन् । त्यसैले अब हामीले एकदमै क्लाइमेट–रेजिलेन्स खालका, लामा स्पानका पुलहरू निर्माण गर्नुपर्छ । त्यसका लागि हामी कोडहरू रिभाइज गर्छौँ र हाम्रो सामान्य ट्रेण्ड नै परिवर्तन गर्छौँ । सकेसम्म बीचमा पिलर नराख्ने, लामा स्पान भएका र अग्ला पुलहरू बनाउनेतर्फ जानुपर्छ । अर्को कुरा, रणनीतिक लोकेसन हेरेर कुनै–कुनै पुल लाइफलाइन पुल हुन्छन् । त्यस्ता पुलहरूलाई विशेष ‘ए ग्रेड’ महत्वपुर्ण पुलका रूपमा छुट्याएर विशेष स्रोतबाट निर्माण गर्ने, अझ बलियो र लामा बनाउने भन्ने विषयमा अब विभागले जानुपर्छ कि भनेर हामी अहिले एकदमै गम्भीर रूपमा मन्थन गरिरहेका छौँ ।' हाल नेपालमा हाइड्रोलोजिकल मापदण्डअनुसार सामान्यतः १०० वर्षको ‘रिटर्न पिरियड’ लाई आधार मानेर पुलको डिजाइन तथा पानीको बहाव र ‘फ्री बोर्ड’ निर्धारण गर्ने गरिएको छ । तर जलवायु परिवर्तनका कारण नदीमा आउने बाढीको प्रकृति र तीव्रता परिवर्तन भइरहेकाले पुराना मापदण्ड मात्र पर्याप्त नहुने महानिर्देशक डा. जैसीले बताए ।

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।  

नेपाल बैंकको सञ्चालक समितिमा पिताम्बर, देवराज र सुवाष नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा तीन जना नयाँ सदस्य नियुक्त भएका छन् । बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट पिताम्बर भण्डारी र देवराज जोशी सञ्चालक समितिमा नियुक्त भएका छन् । यस्तै, सर्वसाधारण सेयरधनीअन्तर्गतको संगठित संस्था कर्मचारी सञ्चय कोषको तर्फबाट सुवाष खड्का सञ्चालक समितिमा नियुक्त भएका छन् । नयाँ सञ्चालक नियुक्त भएसँगै यसअघि नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक समितिको अध्यक्ष रहेका शोभाकान्त पौडेल र सञ्चालक अमृत लम्साल पदबाट बिदा भएका छन् । त्यसैगरी कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक रहेका जीवन कुमार कट्वाल पनि सञ्चालक समितिबाट बिदा भएका छन् । बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले भदौ १६ गते नेप्सेलाई पत्रमार्फत सञ्चालक समितिमा भएको हेरफेरबारे जानकारी गराएका हुन् ।

इरानमाथि फेरि हमला गर्ने ट्रम्पको तयारी, क्षेप्यास्त्र र राडार निशानामा

काठमाडौं । अमेरिकी सञ्चारमाध्यम एक्सियोसले अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सीमित आक्रमण गर्ने योजना बनाइरहेको जनाएको छ । राष्ट्रपति ट्रम्पले हर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि हुने आक्रमण रोक्न इरानको क्षेप्यास्त्र र राडार क्षमतामाथि सीमित हमला गर्नेबारे विचार गरिरहेको बताइएको छ । बीबीसी फारसीले एक्सियोसको रिपोर्ट उद्धृत गर्दै ट्रम्प र उनका शीर्ष सहयोगीहरूले हर्मुज जलडमरूमध्यमा सीमित सैन्य कारबाही गर्ने विकल्पमाथि विचार गरिरहेको जनाएको छ । उनीहरूले इरानको राडार र क्षेप्यास्त्र क्षमतालाई पुनः सक्रिय हुन नदिने उद्देश्य राखेको बताइएको छ । यसैबीच, सोमबार राति इरानमा भएको अमेरिकी हमलामा तीन जनाको मृत्यु भएको र धेरै जना घाइते भएको बताइएको छ । हमलालगत्तै इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको थियो । यसअघि अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुईवटा इरानी सैन्य अखडालाई निशाना बनाएको थियो । बीबीसीलाई एक अमेरिकी अधिकारीले उक्त जानकारी दिएका हुन् । जुलाईपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात हमला भएको बताइएको छ । बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजले अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता कमान्डर टिम हकिन्सलाई उद्धृत गर्दै इरानी रिभोलुसनरी गार्ड्सले हर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङमार्फत हमला गर्न र रकेट प्रक्षेपण गर्ने तयारी गरिरहेको अवस्थामा देखिएको जनाएको थियो ।

शिखर पावरको १ लाख ११ हजार कित्ता सेयरको लक-इन अवधि असोज २ गते सकिने

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सामूहिक लगानी कोषलाई छुट्याइएको १ लाख ११ हजार कित्ता साधारण सेयरको लक-इन अवधि आगामी असोज २ गते समाप्त हुने जनाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डलाई दिएको जानकारीअनुसार प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत निष्काशन गरिएको सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत अर्थात १ लाख ११ हजार कित्ता सेयरको लक-इन अवधि सकिन लागेको हो । कम्पनीको आईपीओ २०८२ चैत ३ गते बाँडफाँट गरिएको थियो । सोही मितिबाट गणना हुने गरी छ महिनाको लक-इन अवधि २०८३ असोज २ गते (१८ सेप्टेम्बर २०२६) सम्म कायम रहने कम्पनीले जनाएको छ । लक-इन अवधि समाप्त भएपछि उक्त सेयर कारोबारका लागि खुला हुनेछ ।