लगातार ६ दिनको गिरावटपछि बढ्यो नेप्से, पौने ३ अर्बको कारोबार
काठमाडौं । लगातार ६ कारोबार दिन ओरालो लागेको सेयर बजार मंगलबार सामान्य सुधारसहित हरियो बनेको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा बन्द भएको हो । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३४१ कम्पनीका ७६ लाख १३ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँमा सीमित भयो । यस दिन ४८ हजार ३४१ पटक सेयर कारोबार भएको थियो । मंगलबार माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ७.१५ प्रतिशतले बढ्यो । त्यस्तै, एमबीएल इक्विटी फन्डको इकाइ मूल्य करिब ६ प्रतिशत र इमर्जिङ नेपालको सेयर मूल्य करिब ५ प्रतिशतले उकालो लाग्यो । यता उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै घाटा बेहोरे । कम्पनीको सेयर मूल्य ८.४८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा मंगलबार सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । कम्पनीको १३ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । शिवम् सिमेन्टको १३ करोड ५० लाख रुपैयाँभन्दा बढी र आँखुखोला जलविद्युत कम्पनीको १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १३ उपसमूहमध्ये मंगलबार १२ उपसमूह हरियो बनेका छन् भने एक उपसमूह मात्रै घटेको छ । जलविद्युत उपसमूह सबैभन्दा धेरै १.०१ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन उपसमूह १ प्रतिशतले घटेको छ ।
तीन प्रकारका औषधि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन
काठमाडौं । औषधि व्यवस्था विभागले मापदण्ड पूरा नगरेका विभिन्न तीन प्रकारका औषधि तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । बजार अनुगमनका क्रममा राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा तोकिएको मापदण्डअनुसार नपाइएका औषधि फिर्ता गर्न सम्बन्धित उद्योग तथा प्रतिनिधिलाई निर्देशन दिइएको विभागले जनाएको छ । विभागले फिर्ता गर्न निर्देशन दिएका औषधिमा ओमिट्रोन सिरप, भोमिसेट सिरप र अल्कल–डी ५०० ट्याब्लेट रहेका छन् । नेसनल हेल्थकेयर प्रालि।, छत्रपाटी, काठमाडौं द्वारा उत्पादित ओमिट्रोन सिरप को ब्याच नम्बर ओएमएल २५०२२ रहेको छ । उक्त औषधि मुखबाट सेवन गर्ने घोलको परीक्षण तथा प्याकेजिङसम्बन्धी तोकिएको आवश्यकतासँग मेल नखाने पाइएको विभागले जनाएको छ । त्यस्तै टाइम फार्मास्युटिकल्स प्रालि।, गैँडाकोट–१०, नवलपरासी द्वारा उत्पादित भोमिसेट सिरप को ब्याच नम्बर भीएमएस–०१९ रहेको छ। उक्त औषधि पनि प्याकेजिङसम्बन्धी तोकिएको मापदण्ड पूरा नगरेको पाइएको छ । भारतको अल्केम हेल्थ साइन्स द्वारा उत्पादित अल्कल–डी ५०० ट्याब्लेट का ब्याच नम्बर २५४४२३५९ र २५४४२३५८ रहेका छन् । उक्त औषधिमा रहेको भिटामिन डीको मात्रा परीक्षण तोकिएको मापदण्डअनुसार नपाइएको विभागले जनाएको छ । यसको आयातकर्ता बालाजी मेडिसिन्स डिस्ट्रीब्युटर्स, पर्सा रहेको छ । विभागले यी औषधिको बिक्री, वितरण तथा प्रयोग नगर्न–नगराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ । साथै बजारमा रहेका औषधि तत्काल फिर्ता गरी त्यसको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा प्रतिनिधिलाई निर्देशन दिएको छ ।
कन्टिनेन्टल ट्रेडिङद्वारा रसुवा बाढीपीडितका लागि २५ लाख सहयोग
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापना कार्यमा सहयोग गर्न कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले २५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका अध्यक्ष सुहृद् घिमिरे, कार्यकारी उपाध्यक्ष रेखा घिमिरे र निर्देशक अदिती घिमिरे सहितको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । हालै भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । विपद्ले घर, सम्पत्ति तथा भौतिक पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ भने प्रभावित परिवारलाई तत्काल राहत, उद्धार र पुनर्स्थापनाको आवश्यकता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विपद्को कठिन घडीमा पीडित नागरिकको साथमा उभिने र सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो । चेक हस्तान्तरणका क्रममा कम्पनीका प्रतिनिधिहरूले बाढी र पहिरोमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । कम्पनीले प्राकृतिक विपद्को समयमा पीडित परिवारको दुःखमा साथ दिनु निजी क्षेत्रको सामाजिक उत्तरदायित्व भएको उल्लेख गरेको छ । कम्पनीका प्रतिनिधिले भने, 'विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु हाम्रो मानवीय र सामाजिक दायित्व हो । राज्य र समाजलाई आवश्यक परेको बेला निजी क्षेत्रले आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ ।' कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले आगामी दिनमा पनि आवश्यकता र आफ्नो सामर्थ्यअनुसार मानवीय सहायता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
बाढीपीडित भोकभोकै छन्, सरकार प्रचारबाजीमा व्यस्त छ : सांसद शर्मा
काठमाडौं । नेपाली कांग्रेसका सांसद युवराज शर्माले बाढी प्रभावित क्षेत्रका नागरिकलाई राहत वितरण र बेपत्ता व्यक्तिको खोजी कार्य प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद शर्माले सरकारले सबै पक्षसँग प्रभावकारी समन्वय गर्न नसक्दा देश–विदेशबाट प्राप्त राहत सामग्री प्रभावित नागरिकसम्म पुग्न नसकेको गुनासो आएको बताए । उनले बाढी प्रभावित नागरिक आफ्नै पैसाले समेत आवश्यक सामग्री किन्न नसक्ने अवस्थामा पुगेको भन्दै धेरै ठाउँमा मानिसहरू भोकभोकै बस्नुपरेको दाबी गरे । विपद्को यस्तो अवस्थामा एकअर्कालाई दोषारोपण गर्नुभन्दा खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन सरकार केन्द्रित हुनुपर्ने उनको भनाइ छ । सांसद शर्माले सरकारले घोषणा गरेको एकद्वार राहत प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको पनि बताए । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच आवश्यक समन्वय नहुँदा राहत वितरणमा समस्या देखिएको उनको आरोप छ । ‘देश–विदेशबाट सक्दो सहयोग आइरहेको छ। तर सही ठाउँमा राहत नपुग्दा प्रभावित नागरिकले हामी भोकभोकै छौं, आफन्त हराएका छन् र राहत पाएका छैनौं भन्ने गुनासो गरिरहेका छन्,’ उनले भने । उनले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर राहत वितरणलाई व्यवस्थित गर्नुपर्नेमा सरकार चुकेको टिप्पणी गरे । सांसद शर्माले सरकारले परिणाममुखी काम गर्नुपर्ने भन्दै मन्त्रीहरू उद्धार र राहतमा भन्दा प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाए । ‘प्रचारबाजीमा सरकार लाग्नु भएन, मन्त्रीहरू पनि त्यसमा केन्द्रित हुनु भएन,’ उनले भने ।
शर्मा एण्ड कम्पनी र सञ्जीवनी ग्रुपले संयुक्त रुपमा बाढीपीडितलाई दिए १ करोड ५१ लाख
काठमाडौं । बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि शर्मा एण्ड कम्पनी र सञ्जीवनी ग्रुपले १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेका छन् । मंगलबार शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा, सञ्चालक सौरभ शर्मा तथा सञ्जीवनी ग्रुपका सञ्चालक राजु बस्नेत क्षेत्रीले सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीहरूले जनाएका छन् । शर्मा एण्ड कम्पनी र सञ्जीवनी ग्रुपले बाढीबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्बाट प्रभावित व्यक्ति तथा समुदायप्रति सहानुभूति प्रकट गरेका छन् । साथै प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक सहयोग तथा प्रभावकारी व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन् ।
त्रिशूली नदीमा भेटियो टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव
काठमाडौं । रसुवास्थित टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखास्थित त्रिशूली नदी किनारमा भेटिएको छ । गत बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका शर्माको शव मंगलबार गोरखास्थित त्रिशूली नदी किनारमा भेटिएको हो । बाढीमा परेर बेपत्ता भएका भन्सार कर्मचारीको खोजी तथा पहिचानका लागि परिचालित टोलीले शर्माको शव पहिचान गरेको भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिए । उनका अनुसार गोरखामा त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टि भएपछि परिवारलाई जानकारी गराइएको थियो । भन्सार विभागबाट परिचालित अधिकृत रमेश कुँवर नेतृत्वको खोजतलास तथा पहिचान टोलीले आवश्यक प्रक्रिया पूरा गरी शवको पहिचान गरेको बर्ताैलाले बताए । गत बुधबार बिहान भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीले टिमुरे आसपासको क्षेत्रमा ठूलो क्षति पु‍र्‍याएको थियो । बाढीका कारण टिमुरे भन्सार कार्यालयका १५ कर्मचारीहरू सम्पर्कविहीन भएका थिए । बाढीपछि भन्सार विभागले बेपत्ता कर्मचारीहरूको खोजी, उद्धार तथा पहिचानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै आएको प्रवक्ता बर्तौलाले जानकारी दिए । बाढीको बहावसँगै शवहरू नदीको तल्लो तटीय क्षेत्रमा पुग्न सक्ने भएकाले रसुवासहित नुवाकोट, धादिङ र गोरखातर्फ समेत खोजी अभियानकालागी विभागले कर्मचारीहरू खटाएको थियो । यसै क्रममा गोरखास्थित त्रिशूली नदी किनारमा भेटिएको शवको पहिचान गर्दा अधिकृत शर्माको भएको पुष्टि भएको हो । शर्माको निधनसँगै टिमुरे भन्सार कार्यालयले एक अनुभवी अधिकृत गुमाएको बर्तौलाले जानकारी दिए ।
पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन सुरु
काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी निधन भइ पोखरा लगिएका १०२ जनाको पोस्टमार्टम प्रक्रियासम्पन्न भएको छ । पोस्टमार्टम गरिएकामध्ये पहिचान हुन नसकेका ७८ वटा शवलाई जिल्ला विपद् व्यवस्थापन समिति र पोखरा महानगरपालिकाको समन्वयमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य सुरु गरिएको हो । पोखरामा राखिएका १०२ वटा शवहरूमध्ये पूर्वी नवलपरासीका ४१, धादिङका २७, तनहुँका २४ र गोरखाका ११ वटा रहेका थिए । तीमध्ये २४ वटा शवको पहिचान भई आफन्तलाई हस्तान्तरण गरिसकिएको छ भने बाँकी ७८ वटा शव पहिचान हुन बाँकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी नविन कार्कीका अनुसार पहिचान हुन नसकेका शवहरूको पोस्टमार्टमका क्रममा नै डीएनएन नमूना संकलन गरिसकिएको छ । संकलित नमूनाहरूलाई विधि विज्ञान प्रयोगशालामा पठाइने र भविष्यमा आफन्तको सम्पर्क आएमा डीएनए म्याचिङ गराई शव पहिचान गरिने व्यवस्था मिलाइएको छ । बेपत्ता भएका व्यक्तिका आफन्तले नजिकको प्रहरी कार्यालयमा समन्वय गरी रगतको नमूना उपलब्ध गराउन सक्ने र डीएनए मिलेको खण्डमा शव हस्तान्तरण गरिने प्रहरीले जनाएको छ । पहिचान नभएका शवहरूलाई पोखरा महानगरपालिका र विपद् व्यवस्थापन समितिले तोकेको सुरक्षित स्थानमा व्यवस्थापन गर्न लागिएको हो । उक्त स्थानलाई तारजालीले घेराबारा गरी सुरक्षित राखिने र अनधिकृत व्यक्तिहरूको प्रवेशमा पूर्ण रोक लगाइने एसपी कार्कीले जानकारी दिए । प्रत्येक शवमा ‘युनिक आइडेन्टिफिकेसन ट्याग’ लगाइएको छ, जसले गर्दा भविष्यमा पहिचान भएमा उत्खनन गर्न सहज हुनेछ । भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण मृत्यु भएका र अंगभंग भएका कारण पहिचान हुन नसकेका शवहरूलाई कास्की ल्याइएको थियो । शवहरूको अन्त्येष्टि नगरी सुरक्षित तवरले व्यवस्थापन मात्र गरिएको स्पष्ट पार्दै प्रहरीले यस प्रक्रियालाई वैज्ञानिक र कानूनी विधिअनुसार अगाडि बढाइएको जनाएको छ । –न्युज एजेन्सी नेपाल
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन अझै कम्तीमा १५ दिन लाग्ने भएको छ । भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ । सडक विभागले अवरुद्ध सडक १५ दिनभित्रमा सञ्चालन ल्याउनेगरी तयारी गरेको जनाएको छ । विभागले प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली कृष्णभीरमा परिचालन गरी तत्काल सडक सञ्चालनमा ल्याउने तयारी थालेको हो । पहिरोले कटान गरेको सडकको स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले बाढीका ठूलो बहावका कारण सडकको तल्लो भाग कटान भएको र माथिल्लो भूभागमा समेत चिरा परेकोले पहिरो खसेको बताए । उनले राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल सुचारु गर्नेगरी काम अघि बढाइने जानकारी दिए । विज्ञहरूको टोलीबाट प्राविधिक राय लिएर सम्भव भएसम्म १० देखि १५ दिनमा राजमार्ग खुलाउने प्रयत्न गर्ने उनको भनाइ छ । उनले हाल वैकल्पिक रुट र स्थानीय सडक प्रयोग गरेर यातायात सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । सडक विभागले आगामी दिनमा नदी करिडोरमा निर्माण हुने राजमार्गलाई थप दिगो र विपद्–प्रतिरोधी बनाउने नीति आवश्यक रहेको जनाएको छ । विभागका सहसचिव ढकालले नदीको उच्च बहावको स्तरलाई ध्यानमा राखेर सडकको उचाइ बढाउने, वैकल्पिक लिंक तथा रुट विकास गर्ने, अग्ला पुल र आवश्यक ठाउँमा साना सुरुङ निर्माण गर्ने तथा प्राविधिक रूपमा सुरक्षित संरचना विकास गर्नुपर्ने बताए । उनका अनुसार सुरुआती लागत केही बढेपनि दीर्घकालीन रूपमा टिकाउ हुने प्रविधिमा आधारित राजमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ । उनले पहिरो पन्छाएर हाललाई सिंगल लेनको बाटो बनाउन सकिने बताए । सडकको भित्तो कटिङ गरेर केही माथिबाट सडक खुलाउन सकिने उनको भनाइ छ । –न्युज एजेन्सी नेपाल