काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र पूर्वमन्त्री सुदन किराती समूहको एकता चार महिना नपुग्दै विवादतर्फ उन्मुख भएको छ । एकतापछि पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा किराती समूहलाई नै सहभागी नगराइएपछि दुई पक्षबीचको दूरी थप बढेको हो ।
पार्टीको केन्द्रीय कमिटी बैठक मंगलबार (आज) धरानस्थित होटल गोर्खामा बस्दैछ । तर, चार महिनाअघि पार्टीमा समाहित भएको किराती समूहका नेताहरूलाई बैठकबारे औपचारिक जानकारीसमेत नदिइएको नेताहरूले बताएका छन् ।
किराती नेतृत्वको समूह र श्रम संस्कृति पार्टीबीच चार महिनाअघि एकता भएको थियो । एकताका क्रममा किरातीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो । किराती समूहका एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्यसहित १८ जना श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटीमा रहेका छन् ।
एकताअघि श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी २३ सदस्यीय थियो । किराती समूह समाहित भएपछि केन्द्रीय कमिटी ४१ सदस्यीय बनेको हो । बैठकमा किराती समूहलाई नबोलाइएको सम्बन्धमा नेताहरूले भने अनविज्ञता जनाएका छन् ।
नेता ध्रुव राईले भने, ‘बोलाइनु पर्ने हो । पार्टीका वरिष्ठ नेता र पदाधिकारीलाई बोलाउनुपर्छ ।’ किराती समूहका नेताहरू भने आफूहरूलाई बैठकबारे जानकारी नै नभएको बताउँछन् ।
मुख्यमन्त्रीको उम्मेदवारका रूपमा किरातीलाई अघि सारिएको थियो
पार्टी एकतापछि साम्पाङले नै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत किरातीलाई कोशी प्रदेशको मुख्यमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा प्रस्तुत गरेका थिए । त्यसपछि पार्टीका विभिन्न कार्यक्रममा किरातीको पक्षमा मुख्यमन्त्रीको उम्मेदवारका रूपमा नाराबाजीसमेत हुने गरेको किराती निकट नेताहरू बताउँछन् ।
किराती निकट एक नेताका अनुसार एकतापछि पूर्वी नेपालमा पार्टी विस्तारका लागि किराती सक्रिय रूपमा परिचालित भएका छन् । किरातीले हातेमालो अभियानमार्फत विभिन्न क्षेत्रका राजनीतिक नेता तथा स्थानीय जनप्रतिनिधिसँग संवाद बढाएको उनले बताए ।
‘सुदनजीलाई भावी मुख्यमन्त्रीका रूपमा पार्टीभित्र लगभग सर्वसम्मत रूपमा हेरिएको थियो,’ ती नेताले भने ।
उनका अनुसार उनी पूर्वी नेपालमा सक्रिय भएपछि विभिन्न दलमा रहेका नेता तथा बहालवाला जनप्रतिनिधिसमेत श्रम संस्कृति पार्टीमा जोडिन चासो देखाउन थालेका थिए ।
तर पछिल्लो समय पार्टी सञ्चालनको शैली, नेतृत्वबीचको संवाद र संगठनात्मक निर्णयलाई लिएर दुई पक्षबीच असन्तुष्टि बढ्दै गएको किराती समूहका ती नेताले बताए ।
फेसबुकबाटै पार्टी चलाएको भन्दै असन्तुष्टि
किराती पक्षले पार्टी अध्यक्ष साम्पाङको कार्यशैलीप्रति पछिल्लो समय गम्भीर असन्तुष्टि जनाउँदै आएको छ । विशेषगरी पार्टीका महत्त्वपूर्ण निर्णयमा सामूहिक छलफल र परामर्शभन्दा सामाजिक सञ्जाललाई प्राथमिकता दिएको भन्दै किराती पक्ष असन्तुष्ट रहेको एक नेताको भनाइ छ ।
किराती निकट ती नेताका अनुसार साम्पाङ र किरातीबीच लामो समयदेखि प्रत्यक्ष संवादसमेत हुन सकेको छैन । केन्द्रीय कमिटी बैठक बस्न लागेको जानकारीसमेत किरातीले अन्य नेतामार्फत मात्र थाहा पाएको दाबी गरिएको छ । तर अध्यक्ष साङपाङ निकट भोजपुरका सांसद तथा नेता ध्रुव राईले भने पार्टीमा त्यस्तो असहज केही नभएको दावी गर्छन् ।
सर्वदलीय बैठकका लागि काठमाडौंमै रहेका राइले भने, ‘पार्टीभित्र बाहिर भनिएजस्तो असहज अवस्था रहेको छैन । खबर गर्न केही ढिला भएहोला, बैठकमा सबै विषयमा खुलेर छलफल हुन्छ ।’
तर किराती पक्षका नेताहरू भने पार्टीका निर्णयहरूमा पर्याप्त छलफल हुन छाडेको बताउँछन् । ‘अध्यक्षज्यूले फेसबुकबाटै पार्टी सञ्चालन गरिरहनुभएको जस्तो देखिन्छ,’ किराती निकट एक नेताले भने, ‘सुदनजीसँग पनि पछिल्लो समय उहाँको प्रत्यक्ष सम्पर्क छैन ।’
किराती पक्षका नेताहरूले आफूहरूलाई बैठकमा नबोलाइएको विषयमा पार्टीका अन्य नेताहरूसँग जानकारी लिएका थिए । त्यसक्रममा आजको बैठकबाट पार्टी एकतासम्बन्धी निर्णय अनुमोदन गर्ने र त्यसपछि मात्रै संयुक्त रूपमा बैठक तथा संगठनात्मक गतिविधि अघि बढाउने जवाफ पाएको उनीहरूको भनाइ छ ।
तर उक्त जवाफबाट किराती पक्ष आश्वस्त हुन सकेको छैन ।
एकता नै संकटमा पर्ने संकेत
पार्टी एकतापछि पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमै एकीकृत समूहलाई सहभागी नगराइएको घटनाले श्रम संस्कृति पार्टीभित्रको विवाद थप गहिरो बन्दै गएको देखिएको छ ।
किराती निकट नेताहरूले अहिलेको अवस्था सामान्य असन्तुष्टिमा मात्र सीमित नरहने संकेत गरेका छन् । उनीहरूका अनुसार नेतृत्वबीच तत्काल संवाद र सहमति नभए चार महिनाअघि भएको पार्टी एकता नै संकटमा पर्न सक्छ ।
स्रोतका अनुसार किरातीले पनि पछिल्लो राजनीतिक अवस्थाबारे आफू निकट नेताहरूसँग छलफल थालेका छन् । पार्टीभित्र उत्पन्न परिस्थिति, आगामी रणनीति र एकताको भविष्यबारे उनले निकट नेताहरूसँग परामर्श गरिहेको एक नेताले जानकारी दिए ।