कन्टिनेन्टल ट्रेडिङद्वारा रसुवा बाढीपीडितका लागि २५ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापना कार्यमा सहयोग गर्न कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीका अध्यक्ष सुहृद् घिमिरे, कार्यकारी उपाध्यक्ष रेखा घिमिरे र निर्देशक अदिती घिमिरे सहितको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

हालै भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । विपद्ले घर, सम्पत्ति तथा भौतिक पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ भने प्रभावित परिवारलाई तत्काल राहत, उद्धार र पुनर्स्थापनाको आवश्यकता रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार विपद्को कठिन घडीमा पीडित नागरिकको साथमा उभिने र सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो ।

चेक हस्तान्तरणका क्रममा कम्पनीका प्रतिनिधिहरूले बाढी र पहिरोमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

कम्पनीले प्राकृतिक विपद्को समयमा पीडित परिवारको दुःखमा साथ दिनु निजी क्षेत्रको सामाजिक उत्तरदायित्व भएको उल्लेख गरेको छ ।

कम्पनीका प्रतिनिधिले भने, 'विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु हाम्रो मानवीय र सामाजिक दायित्व हो । राज्य र समाजलाई आवश्यक परेको बेला निजी क्षेत्रले आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ ।'

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले आगामी दिनमा पनि आवश्यकता र आफ्नो सामर्थ्यअनुसार मानवीय सहायता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

Share News