भोटेकोशी विपद् : सर्वदलीय संयन्त्र गठनबारे छलफल
काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार र प्रभावितको राहत–पुनःस्थापनालाई प्रभावकारी बनाउन राजनीतिक दलहरूबीच सर्वदलीय छलफल जारी छ । सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा मंगलबार अपरान्ह सुरु भएको बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी छन् । बैठकमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनालाई प्रभावकारी बनाउने, प्रभावित क्षेत्रमा राहत र उद्धारलाई थप व्यवस्थित गर्ने तथा सरकारका कामकारबाहीको अनुगमनका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिमलाई ध्यानमा राख्दै जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिने र राष्ट्रिय विपद् व्यवस्थापन नीतिमा समयानुकूल सुधार गर्ने विषय पनि बैठकका प्रमुख एजेन्डा छन् । दलहरूले विपद् व्यवस्थापनमा सरकारलाई आवश्यक सुझाव, सहयोग र निरन्तर निगरानी उपलब्ध गराउने गरी संसदीय संयन्त्र बनाउने प्रस्ताव अघि सारेका छन् । उक्त संयन्त्रले उद्धार तथा राहतपछि पुनर्निर्माण र पुनःस्थापनासम्मका काममा सरकारसँग समन्वय गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । बाढीमा परेर धेरै व्यक्ति बेपत्ता भएका छन् भने सडक, पुल, बस्ती तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ । बाढी प्रभावितको उद्धार, बेपत्ताको खोजी र राहत कार्य जारी रहेका बेला राजनीतिक दलहरूले विपद्पछिको पुनर्निर्माणलाई साझा राष्ट्रिय दायित्वका रूपमा अघि बढाउन सर्वदलीय संयन्त्र निर्माणको पहल थालेका हुन् ।
विपद राहत कोषमा प्रोफेसनल होल्डिङ्सको २१ लाख सहयोग
काठमाडौं । विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु‍र्याउने उद्देश्यले प्रोफेसनल होल्डिङ्स लिमिटेड (ग्लोबल कलेज ग्रुप)ले प्रधानमन्त्री विपद् राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ । मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले उक्त रकम कोषमा जम्मा गरेको जनाएको हो । विपद्को कठिन परिस्थितिमा प्रभावित परिवार तथा समुदायलाई राहत र पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले विपद्को समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग तथा मानवीय सेवामा आफ्नो प्रतिबद्धता निरन्तर रहने बताएको छ । यसैबीच, ग्लोबल कलेज ग्रुपका अध्यक्ष खगेन्द्र ओझाले व्यक्तिगततर्फबाट थप १ लाख रुपैयाँ प्रधानमन्त्री विपद् राहत कोषमा सहयोग गरेका छन् । कम्पनी र अध्यक्ष ओझाको सहयोगले विपद्बाट प्रभावित नागरिकको तत्कालीन राहत तथा दीर्घकालीन पुनःस्थापनामा थप टेवा पुग्ने विश्वास गरिएको छ ।
रसुवा बाढीपीडितका लागि नेपाल लिकर्सले गर्यो १ करोड १ लाख सहयोग
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु‍र्याउन नेपाल लिकर्स प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । सिग्नेचर ह्विस्की र स्मिरनफ भोड्कालगायत ब्रान्ड उत्पादन गर्दै आएको कम्पनीले उक्त रकम कम्पनी र कर्मचारीहरूको संयुक्त योगदानबाट उपलब्ध गराइएको जनाएको छ । कम्पनीका अनुसार बाढीबाट प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यो योगदान गरिएको हो । नेपाल लिकर्सले बाढीका कारण ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै उद्धार तथा राहतमा खटिएका सरकारी निकाय, सुरक्षाकर्मी र स्वयंसेवकहरूको प्रयासको प्रशंसा गरेको छ । कम्पनीले विपद्को यस कठिन घडीमा सरकार, स्थानीय तह तथा उद्धारमा खटिएका पहिलो पंक्तिका उद्धारकर्मीलाई सहयोग गर्न व्यक्ति तथा संघसंस्थालाई समेत अपिल गरेको छ ।
बाढीपीडितका लागि सिटी एक्सप्रेसको १ करोड ११ लाख सहयोग, रेमिट्यान्स शुल्क पनि मिनाहा
काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत र पुनर्स्थापना कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपले सामाजिक उत्तरदायित्वअन्तर्गत रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा बाढीका कारण प्रभावित नागरिकको सहयोगका लागि उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ । सिटी एक्सप्रेस ग्रुपका अनुसार प्राकृतिक विपद्का कारण ती जिल्लामा ठूलो मानवीय र भौतिक क्षति भएको छ । प्रभावित समुदायको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको हो । यसैबीच, कम्पनीले बाढी प्रभावित परिवारलाई विदेशबाट सहज रूपमा आर्थिक सहयोग पुग्ने व्यवस्था गर्न विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको जनाएको छ । बाढी आएको दिनदेखि नै यो निर्णय लागू गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले विनाशकारी बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, उद्धार, राहत र पुनर्स्थापना कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय र सम्बन्धित निकायप्रति कृतज्ञता पनि व्यक्त गरेको छ। सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत २० वर्षदेखि विश्वका विभिन्न मुलुकबाट नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आएको छ । कम्पनीले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै सेवा विस्तार गर्दै आएको जनाएको छ ।
रसुवा बाढीमा राष्ट्रियसभाको चासो : उद्धारदेखि पुनर्निर्माणसम्म सरकारको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रियसभाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको तत्काल उद्धार, राहत र निःशुल्क उपचारलाई प्राथमिकता दिन सरकारलाई निर्देशनात्मक ध्यानाकर्षण गराएको छ । मंगलबार बसेको राष्ट्रियसभा बैठकले अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको रसुवा बाढीसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो । भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति सभाले श्रद्धाञ्जली अर्पण गरेको छ । घटनामा शोकमा रहेका परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गर्दै प्रभावित समुदाय र सम्बन्धित राष्ट्रप्रति समेत राष्ट्रिय सभाले दुःख व्यक्त गरेको छ । विशेष प्रस्तावमा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतलाई तत्काल प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ । बाढीमा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्न तथा आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन आग्रह गरिएको छ । त्यस्तै, बाढीमा मृत्यु भएकाहरूको शव पहिचान तथा व्यवस्थापन वैज्ञानिक र व्यवस्थित ढंगले गर्न सरकारलाई आग्रह गरिएको छ । बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, सञ्चारलगायतका संरचनाको पुनर्निर्माणलाई तीव्रता दिन संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय गर्न पनि प्रस्तावमार्फत आग्रह गरिएको छ । राष्ट्रियसभाले विपद्पछिको उद्धार, राहत र पुनःस्थापनामा स्थानीय समुदाय, नागरिक समाज, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदायलाई समेत सहयोग र सहकार्यका लागि अपिलसमेत गरेको छ । विशेष प्रस्तावमा तत्कालीन राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापना र भौतिक संरचनाको दीर्घकालीन पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।
अगस्टमा नेपालमा ८५ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए
काठमाडौं । सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार ४४४ जना विदेशी पर्यटक भित्रिएका छन् । यो संख्या गत वर्षको सोही महिनाको तुलनामा केही कम हो । सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार ६८० जना अन्तर्राष्ट्रिय पर्यटक आएका थिए । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागबाट प्राप्त तथ्यांक सार्वजनिक गर्दै अगस्टमा भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएको जनाएको छ । तथ्यांकअनुसार अगस्टमा भारतबाट २६ हजार ३७३ जना पर्यटक नेपाल आएका छन् । यो कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत हो । भारतपछि चीनबाट १० हजार ३०४ जना पर्यटक नेपाल आएका छन् । गत वर्षको अगस्टमा चीनबाट ७ हजार ५३३ जना पर्यटक आएकोमा यस वर्ष ३६.७८ प्रतिशत वृद्धि भएको बोर्डले जनाएको छ । त्यस्तै, श्रीलंकाबाट ८ हजार ७१० जना पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको तुलनामा ४६.२४ प्रतिशत बढी हो । अमेरिकाबाट ६ हजार २९३ जना, बंगलादेशबाट ४ हजार ४८७ जना र बेलायतबाट ३ हजार ४७६ जना पर्यटक नेपाल आएका छन् । क्षेत्रगत रूपमा हेर्दा अगस्टमा दक्षिण एसियाबाट ४१ हजार ४२२ जना पर्यटक नेपाल आएका छन् । अन्य एसियाली मुलुकबाट १८ हजार २७५ जना, युरोपबाट १० हजार ८७५ जना र ओसियानिया क्षेत्रबाट २ हजार ५२९ जना पर्यटक आएका छन् । ओसियानियाबाट आउने पर्यटक संख्या गत वर्षको तुलनामा ३.८६ प्रतिशत बढेको छ । त्यस्तै, अमेरिकी महादेशबाट ७ हजार ४७३ जना पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको तुलनामा २.४७ प्रतिशत बढी हो । मध्यपूर्वबाट १ हजार १० जना पर्यटक आएका छन् भने यो क्षेत्रमा ६.९९ प्रतिशत वृद्धि भएको छ। अफ्रिकाबाट ३३८ जना पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको तुलनामा ४.९७ प्रतिशत बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट २०२६ मा केही प्रमुख बजारबाट पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । रुसबाट ७६९ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ५१.३८ प्रतिशत वृद्धि हो । युक्रेनबाट २१६ जना पर्यटक आएका छन्, जहाँबाट आगमन ८३.०५ प्रतिशत बढेको छ । त्यस्तै, कम्बोडियाबाट ६८ जना पर्यटक आएका छन्। यो संख्या गत वर्षको तुलनामा २७७.७८ प्रतिशत बढी हो । भुटानबाट १ हजार २८८ जना पर्यटक नेपाल आएका छन्, जहाँबाट आगमन ४९.२५ प्रतिशत बढेको छ । मलेसियाबाट १ हजार ६१८ जना र थाइल्यान्डबाट ६८१ जना पर्यटक आएका छन् । यी दुई बजारबाट क्रमशः १३.०७ प्रतिशत र १९.८९ प्रतिशत वृद्धि भएको पर्यटन बोर्डले जनाएको छ ।
कोरलामा बढ्यो चाप, पूर्वाधार र जनशक्ति अभाव
काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बाढीका कारण पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोराला नाकामा व्यापारिक चाप निकै बढेको छ । रसुवागढी नाकाबाट हुने सबै आयात कोरलातर्फ डाइभर्ट हुँदा यस नाकाको व्यस्तता बढेको हो । भन्सार विभागका प्रवक्ता किशोर बर्तौलाका अनुसार बाढीका कारण रसुवागढी नाका बन्द भएको छ भने चीन तर्फबाट तातोपानी नाका समेत आगामी सेप्टेम्बर ३ सम्मका लागि अस्थायी रूपमा बन्द गरिएको छ । दुवै नाका बन्द भएपछि सबै आयात कोराला नाका सरेको उनको भनाइ छ । अहिले मुख्य व्यापारिक केन्द्रका रूपमा कोरला नाका रूपमा विकास भइरहेको प्रवक्ता बर्तौलाले विकासन्युजलाई जानकारी दिए । व्यापारिक चाप बढे पनि कोराला नाकामा नेपालतर्फको भौतिक पूर्वाधार भने अत्यन्तै कमजोर रहेको प्रवक्ता बर्तौलाले बताए । चीनले आफ्नोतर्फ व्यवस्थित संरचना बनाए पनि नेपालतर्फ भन्सारको आफ्नै भवन समेत छैन । हाल एउटै सानो कोठाबाट सबै कर्मचारीले कार्यसम्पादन गरिरहेका छन् । ‘भौगोलिक रूपमा उच्च उचाइमा हुनु आफैमा चुनौती हो, त्यसमाथि व्यवस्थित भवन, कर्मचारी आवास र गोदामको अभाव छ,’ बर्तौलाले भने, ‘अहिले एउटै कोठालाई पार्टेसन गरेर कोचिएर काम गर्नुपर्ने बाध्यता छ । ’ सरकारले त्यहाँ एकीकृत जाँच चौकी बनाउने योजना बनाए पनि हालका लागि अस्थायी संरचनामा लगानी गर्न बजेटको समेत समस्या रहेको उनले जानकारी दिए । भन्सार विभागका अनुसार कोरला नाकामा हाल ९ जना कर्मचारीको भरमा चलिरहेको छ । जसमा १ जना उपसचिव (प्रमुख), २ जना अधिकृत र ६ जना इन्स्पेक्टर खटिएका छन् । चापअनुसार यो जनशक्ति निकै कम हो । सूचना अधिकारी बर्तौलाका अनुसार नाकामा दरबन्दी थप्नका लागि संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण हुनुपर्ने र त्यसलाई मन्त्रालयले स्वीकृत गर्नुपर्ने हुन्छ । यो प्रक्रिया पुरा नभई थप जनशक्ति पठाउन र उनीहरूलाई तलब खुवाउन प्रशासनिक रूपमा नमिल्ने उनले बताए । कोभिड-१९ को समयमा मुस्ताङका स्थानीयका लागि मात्र थोरै सामान आयात हुने गरेको यो नाका अहिले देशभरकै लागि व्यापारिक मार्ग बन्न पुगेको छ । रसुवा र तातोपानीको विकल्पका रूपमा कोरलाबाट व्यापारिक सामानहरू भित्रिन थालेका छन् । तर, अक्सिजनको व्यवस्था सहितको आधुनिक भवन र गोदाम नबनेसम्म कर्मचारी र व्यापारी दुवैका लागि यो नाका सहज नहुने प्रवक्ता बर्तौलाको भनाइ छ । हाल तातोपानी नाका सेप्टेम्बर ३ पछि खुल्ने वा नखुल्ने भन्नेबारे चिनियाँ पक्षको अर्को सूचना आएपछि मात्र प्रस्ट हुने उनले जानकारी दिए । पूर्वाधार र जनशक्तिको चरम अभाव यसैगरी, चीनसँगको व्यापारिक कारोबारका लागि मुस्ताङको कोराला नाका मुख्य विकल्पका रूपमा देखा पर्न थालेको भन्सार कार्यालयका सूचना अधिकारी अमिन्द्र सिंह बताउँछन् । रसुवागढी नाका ठप्प बनेको र तातोपानी नाकामा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको भन्दै व्यापारीहरूले कोरलालाई प्राथमिकता दिन थालेका उनको भनाइ छ । बढ्दो व्यापारिक सम्भावनासँगै कोरला नाकामा पूर्वाधार र जनशक्तिको भने चरम अभाव देखिएको उनी बताउँछन् । मुस्ताङ भन्सार कार्यालयका सूचना अधिकारी सिंहका अनुसार अहिले कोरला नाकाबाट नियमित रूपमा आयात-निर्यात भइरहेको छ । रसुवा हुँदै आउने गाडीहरू कोरलातर्फ मोडिन थालेकाले आगामी केही दिनमा आयातको परिमाण अझै बढ्ने देखिएको छ । ‘चीन तर्फबाट गाडीहरू छोड्न थालेपछि यहाँको चाप अझै बढ्नेछ,’ सिंहले भने । असीमित चुनौती व्यापारिक चाप बढे पनि भन्सार कार्यालयमा जनशक्तिको अवस्था भने नाजुक छ । हाल यो कार्यालय एक जना प्रमुख, एक जना सीएसबी, दुई जना अधिकृत र तीन जना सुब्बाको भरमा सञ्चालन भइरहेको उनको भनाइ छ । सीमित कर्मचारीले बढ्दो कार्यभार धान्नुपर्ने बाध्यता छ । भन्सार विभागले मौखिक रूपमा जनशक्ति थप्ने आश्वासन दिए पनिवअहिलेसम्म ठोस निर्णय भने भइनसकेको अधिकारी सिंहले जानकारी दिए । एउटै कोठामा तीनवटा कार्यकक्ष कोराला नाकामा भौतिक पूर्वाधारको अवस्था निकै कमजोर रहेको उनको भनाइ छ । उनका अनुसार डेढ महिनाअघि मात्रै कार्यालयका लागि एउटा सानो भवनको व्यवस्था गरिएको भए पनि त्यो पर्याप्त छैन । ‘अहिले एउटा कोठालाई पार्टेसन गरेर तीनवटा कार्यकक्ष निकालिएको छ, जहाँ एउटै डेस्कमा तीन जनासम्म साथीहरूले बसेर काम गर्नुपर्ने अवस्था छ,’ सूचना अधिकारी सिंहले विकासन्युजसँग भने । कार्यालयका अनुसार एकीकृत जाँच चौकी निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन भइसकेकाले अस्थायी संरचनामा बजेट लगानी गर्न सरकारी निकाय हच्किएका हुन् । जसका कारण तत्कालका लागि व्यापारी र एजेन्टहरूलाई आवश्यक पर्ने न्यूनतम सुविधा समेत व्यवस्थापन गर्न कठिन भइरहेको छ । यस वर्षदेखि कोराला नाकाबाट क्वारेन्टाइनसम्बन्धी वस्तुहरू (जस्तै स्याउ लगायतका कृषिजन्य सामग्री) समेत आयात गर्ने तयारी भइरहेको छ । यसअघि स्थानीय बासिन्दाले केही असहमति जनाएका कारण यो प्रक्रिया अघि बढ्न सकेको थिएन । व्यापारीहरूले यस विषयमा चासो देखाइरहेका छन् भने भन्सार कार्यालयले यसबारे विभाग र स्थानीयसँग समन्वय गरेर अगाडि बढ्ने योजना बनाएको छ । उत्तरी नाकाहरूको विकल्पका रूपमा कोरालाको महत्त्व बढ्दै गए पनि सरकारले समयमै पर्याप्त जनशक्ति र भौतिक पूर्वाधारको व्यवस्था नगरे व्यापार व्यवस्थापनमा ठुलो चुनौती आउने निश्चित देखिएको छ । तातोपानी नाका बन्द चीन सरकारले रसुवागढीमा आएको बाढीपछि तातोपानी नाकासमेत बन्द गरेको छ । तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेका अनुसार चीन सरकारका तर्फबाट भन्सार कार्यालयका नाममा इमेल गरिएको छ । जसमा अर्को सूचना जारी नभएसम्म तातोपानी नाका बन्द रहने उल्लेख छ । यसबारे थप जानकारी प्राप्त नभएको उनले बताए । रसुवागढी बाढीले बगाएसँगै तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो । तर, उक्त नाकासमेत बन्द भएपछि नेपाल–चीन व्यापारको विकल्प कोराला बनेको छ । चाडबाडको मुखमा दुवै नाका अवरुद्ध हुँदा त्यसले नेपाली बजारमा भने प्रत्यक्ष असर पुग्ने धेरैको अनुमान छ ।
लगातार ६ दिनको गिरावटपछि बढ्यो नेप्से, पौने ३ अर्बको कारोबार
काठमाडौं । लगातार ६ कारोबार दिन ओरालो लागेको सेयर बजार मंगलबार सामान्य सुधारसहित हरियो बनेको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा बन्द भएको हो । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३४१ कम्पनीका ७६ लाख १३ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँमा सीमित भयो । यस दिन ४८ हजार ३४१ पटक सेयर कारोबार भएको थियो । मंगलबार माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ७.१५ प्रतिशतले बढ्यो । त्यस्तै, एमबीएल इक्विटी फन्डको इकाइ मूल्य करिब ६ प्रतिशत र इमर्जिङ नेपालको सेयर मूल्य करिब ५ प्रतिशतले उकालो लाग्यो । यता उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै घाटा बेहोरे । कम्पनीको सेयर मूल्य ८.४८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा मंगलबार सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । कम्पनीको १३ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । शिवम् सिमेन्टको १३ करोड ५० लाख रुपैयाँभन्दा बढी र आँखुखोला जलविद्युत कम्पनीको १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १३ उपसमूहमध्ये मंगलबार १२ उपसमूह हरियो बनेका छन् भने एक उपसमूह मात्रै घटेको छ । जलविद्युत उपसमूह सबैभन्दा धेरै १.०१ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन उपसमूह १ प्रतिशतले घटेको छ ।