त्रिशूली नदीमा भेटियो टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव

काठमाडौं । रसुवास्थित टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखास्थित त्रिशूली नदी किनारमा भेटिएको छ ।

गत बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका शर्माको शव मंगलबार गोरखास्थित त्रिशूली नदी किनारमा भेटिएको हो ।

बाढीमा परेर बेपत्ता भएका भन्सार कर्मचारीको खोजी तथा पहिचानका लागि परिचालित टोलीले शर्माको शव पहिचान गरेको भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिए ।

उनका अनुसार गोरखामा त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टि भएपछि परिवारलाई जानकारी गराइएको थियो । 

भन्सार विभागबाट परिचालित अधिकृत रमेश कुँवर नेतृत्वको खोजतलास तथा पहिचान टोलीले आवश्यक प्रक्रिया पूरा गरी शवको पहिचान गरेको बर्ताैलाले बताए ।

गत बुधबार बिहान भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीले टिमुरे आसपासको क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । बाढीका कारण टिमुरे भन्सार कार्यालयका १५ कर्मचारीहरू सम्पर्कविहीन भएका थिए ।

बाढीपछि भन्सार विभागले बेपत्ता कर्मचारीहरूको खोजी, उद्धार तथा पहिचानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै आएको प्रवक्ता बर्तौलाले जानकारी दिए । 

बाढीको बहावसँगै शवहरू नदीको तल्लो तटीय क्षेत्रमा पुग्न सक्ने भएकाले रसुवासहित नुवाकोट, धादिङ र गोरखातर्फ समेत खोजी अभियानकालागी विभागले कर्मचारीहरू खटाएको थियो । 

यसै क्रममा गोरखास्थित त्रिशूली नदी किनारमा भेटिएको शवको पहिचान गर्दा अधिकृत शर्माको भएको पुष्टि भएको हो । 

शर्माको निधनसँगै टिमुरे भन्सार कार्यालयले एक अनुभवी अधिकृत गुमाएको बर्तौलाले जानकारी दिए ।

Share News