अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
काठमाडौं । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री पल कपुर नेपाल भ्रमणका लागि सोमबार यहाँ आएका छन् । उनले यस भ्रमणमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यावसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
काठमाडौं । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने भएको छ । प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीका अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । उत्कृष्ट आधुनिक कथा, नाटक र निबन्धको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तथा गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली भाषा र साहित्यको स्थान तथा पहिचान उच्च र अक्षुण्ण राख्न योगदान दिएकाले वरिष्ठ साहित्यकार चन्दलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रज्ञाप्रतिष्ठानका सदस्य–सचिव कृसु क्षेत्रीले जानकारी दिए । विसं १९९७ मा बैतडीमा जन्मिएका वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री चन्दका विसर्जन, हिउँको तन्ना, बाह्रौँ खेलाडी, अपराजिता र ‘नेताका साथी’लगायत कृति प्रकाशित छन् । यसैगरी, प्रज्ञाप्रतिष्ठानको बैठकले यस वर्षको मानश्री पुरस्कार बोधिसव स्वामी आनन्द अरुणलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाल तथा विश्वका विभिन्न मुलुकमा योग, ध्यान र आध्यात्मिक दर्शन तथा साहित्यको विकास र विस्तारद्वारा नेपाली वाङ्मय तथा सभ्यताको उन्नयनमा महत्वपूर्ण योगदान दिएर विश्वसमुदायमा नेपाली अध्यात्म, दर्शन र सभ्यताको विशिष्ट स्थान, पहिचान तथा सम्मान अभिवृद्धिमा योगदान दिएकाले स्वामी आनन्द अरुणलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रज्ञाप्रतिष्ठान सदस्य–सचिव कृसु क्षेत्रीले जानकारी दिए । विसं २००१ मा जनकपुरमा जन्मिएका आनन्द अरुणका अन्तरयात्रा, सन्तगाथा, सन्तदर्शन र ‘अचम्म जे देखेँ मैले’ लगायतका कृति प्रकाशित छन् । आनन्द अरुणका कृतिहरु अङ्ग्रेजी, हिन्दी, जापानी र रुसी भाषामा समेत अनुदित छन् । दुवै पुरस्कारको राशि जनही रु ७५ हजारसहित सम्मानपत्र रहेको छ । रासस
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ । रास्वपाका प्रवक्ता मनिष झाले सोमबार दिउँसो ३ः०० बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए । उक्त बैठकमा अनिवार्य उपस्थितिका लागि रास्वपाले पार्टीका पदाधिकारी एवम् सदस्यलाई अनुरोध गरेको छ । यसैबीच, आइतबार रास्वपाको सचिवालय बैठक पनि बसेको थियो । बैठकमा प्रतिनिधिसभा सदस्यको सङ्गठनात्मक जिम्मेवारी र संसदीय दलका लागि प्राविधिक सहायता एवं ‘लेवी’लगायत विषयमा पनि छलफल भएको थियो । आजको बैठकले सचिवालयले प्रस्ताव गरेका बुँदालाई छलफल गरेर अनुमोदन गर्नेछ । आइतबारको सचिवालय बैठकमा जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च र विभागको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत विषयमा छलफल भएको थियो ।
नेपाल लाइफको २५औँ वर्षमा ‘पुनर्जागरण योजना’, विलम्ब शुल्कमा १०० प्रतिशत छुट
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५औँ वार्षिकोत्सवको अवसरमा व्यतीत बीमालेखहरू पुनः सक्रिय गराउने उद्देश्यले विलम्ब शुल्कमा छुट योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार वर्तमान आर्थिक कठिनाइका कारण धेरै बीमालेखहरू व्यतीत भइरहेका अवस्थामा बीमितहरूलाई सहज रूपमा नवीकरण गर्न प्रोत्साहित गर्ने उद्देश्यले ‘विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३’ लागू गरिएको हो । यसअन्तर्गत २०८३ वैशाख ७ गतेदेखि जेठ ५ गतेसम्म व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट प्रदान गरिनेछ । रजत जयन्तीको अवसरमा कम्पनीले पहिलो पटक यति ठूलो छुट योजना ल्याएको जनाएको छ । ३० दिनको अवधिमा लागू हुने यस योजनाबाट व्यतीत बीमालेख भएका बीमितहरूले उल्लेख्य लाभ लिन सक्ने कम्पनीको विश्वास छ । नेपाल लाइफले सम्पूर्ण बीमितहरूलाई यस अवसरको सदुपयोग गर्दै बीमालेख नवीकरण गरी निरन्तर बीमा सुरक्षा सुनिश्चित गर्न अनुरोध गरेको छ । करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले देशभरका ७७ जिल्लामा फैलिएको शाखा सञ्जाल र ६९ हजारभन्दा बढी अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली ले ग्राहकको विश्वासलाई प्राथमिकतामा राख्दै व्यतीत बीमालेख पुनः सक्रिय गराउने उद्देश्यले योजना ल्याइएको बताए । उनले बीमितहरूलाई यस अवसरको उपयोग गरी आफ्नो तथा परिवारको भविष्य सुरक्षित बनाउन आग्रह गरे ।
असिनाले ७४ सवारीसाधनको सिसामा क्षति
चितवन । जिल्लामा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४ सवारीसाधनमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालका अनुसार इच्छाकामना गाउँपालिका–३, ४ र ५ कुरिननिटार, मुग्लिन सहित पृथ्वी राजमार्गबाट विभिन्न गन्तव्यमा जाँदै गरेका र पार्किङ गरी राखिएका ती सवारीसाधनमा क्षति पुगेको हो । कायर्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार क्षति पुगेका सवारीसाधनहरु कार ५७ , माइक्रो बस १५ , मोेटरसाइकल र ट्रक एक÷एक छन् । उनका अनुसार ती सवारीसाधनको सिसामा क्षति पुगेको छ ।
व्यापक विनाशका र युद्धविरामकाबीच लेबनानीहरू घर फर्किंदै
काठमाडौं । यस हप्ता दक्षिणी लेबनानको लिटानी नदीमा कारहरूको लामो लाइन देखियो । १० दिने युद्धविराम पछि परिवारहरू घर फर्कन थालेका थिए । कासमीयेह पुल लगायतका मुख्य पूर्वाधारहरू क्षतिग्रस्त भएकाले स्थानीय अधिकारी र स्वयंसेवकहरूले हतारमा बनाएको अस्थायी क्रसिङको भर पर्न बासिन्दाहरू बाध्य भए । भग्नावशेष हटाउन र सवारी साधनहरूलाई मार्गनिर्देशन गर्न एक्साभेटरहरूले चौबीसै घण्टा काम गरे, जबकि केही चालकहरू तर्नका लागि कम गहिरो पानी हुँदै गाडीहरू अगाडि बढाए । बासिन्दाहरूको फर्किने प्रक्रिया दृढता र विनाश दुवैको बीचमा भयो । गाउँतर्फ जाने साँघुरो सडकहरूमा लामो गाडीहरूको लाइन थियो, जसमध्ये धेरै हालैका इजरायली हवाई हमलाहरूमा नराम्ररी क्षतिग्रस्त भएका थिए । नगरपालिकाहरूका टोली र नागरिक सुरक्षा टोलीहरूले सडकहरू खुलाउन र ट्राफिक व्यवस्थापन गर्न निरन्तर काम गरे । जब मानिसहरू गाउँ पुगे, धेरैले सबैतिर व्यापक विनाश देखे । पूरै छिमेकहरू भग्नावशेषमा परिणत भएका थिए, घरहरू भत्किएका थिए र आधारभूत सेवाहरू ठप्प थिए। केही बासिन्दाहरू आफ्ना घरका अवशेषहरूमाथि मौन उभिएका थिए भने, अरूहरू सामानको खोजीमा भग्नावशेषहरू पल्टाउँदै थिए । फर्किनेहरूको पहिलो लहरको बाबजुद, अनिश्चितता अझै उच्च छ । हिजबुल्लाहका अधिकारीहरूले चेतावनी दिएका छन् कि युद्धविराम नाजूक छ र इजरायली हमलाहरू कुनैपनि बेला फेरि हुन सक्छन्, त्यसैले उनीहरूले बासिन्दाहरूलाई खतरामा पर्न सक्ने ठाउँहरूमा नबस्न आग्रह गरेका छन् । नतिजा स्वरूप, केही परिवारहरू पहिले नै फेरि बाहिरिएका छन्, पुनर्निर्माणको योजनाहरू ढिलो गर्दै, किनकि सुरक्षा चिन्ताहरूले यस क्षेत्रको जीवनलाई छायामा पारेको छ ।
निफ्राले शून्यमा झार्यो खराब कर्जा, वितरणयोग्य नाफा ५३.७७ करोड रुपैयाँ
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा २८.५३ प्रतिशत घटेर ५३ करोड ७७ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७६ करोड ९५ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २७.०३ प्रतिशत घटेर १ अर्ब ८ करोड १२ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४८ करोड १८ लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ६६.३५ प्रतिशत बढेर २ करोड २२ लाख ३३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २६.२० प्रतिशत घटेर १ अर्ब १० करोड ३५ लाख २ हजार रुपैयाँ र सञ्चालन नाफा २८.४२ प्रतिशत घटेर ९२ करोड २ लाख ४७ हजार रुपैयाँ रहेको छ । गत वर्षको चैत मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १ करोड ३३ लाख ६५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब ४९ करोड ५२ लाख ४८ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब २८ करोड ५७ लाख ३ हजार रुपैयाँ थियो । चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ५३ करोड ७७ लाख ७ हजार रुपैयाँ रहेको छ । २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४२ करोड ५ लाख ३ हजार रुपैयाँ रहेको छ । चालु आवको चैत मसान्तसम्म बैंकले ७ अर्ब ८० करोड ३० लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ५४ करोड ६४ लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले ७ अर्ब ७८ करोड ५४ लाख ३ हजार रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ५० करोड १० लाख ४६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप ०.२३ प्रतिशत र कर्जा लगानी १६.५१ प्रतिशत बढाएको छ । साथै चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ७३.५५ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा शून्यमा झारेको छ । जबकि गत वर्षको चैतमा ०.२१ प्रतिशत खराब कर्जा थियो । बैंकका अनुसार आधार दर ६.८ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको चैतमा ७.०५ प्रतिशत थियो । बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेर ३.९७ रुपैयाँमा झरेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ ११५.८४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६७.४४ गुणा छ ।
पाँचथरको फालोट क्षेत्रस्थित ‘गोठ–बास’मा पर्यटक आकर्षित हुँदै
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरुलाई फाइदै फाइदा पुर्याएको छ । विसं २०७४ सालदेखि समुन्द्री सतहबाट तीन हजार ५०० मिटर उचाइको फालोट क्षेत्रमा आयोजना हुने महोत्सवले चौँरीपालन संवद्र्धन हुनाका साथै चौँरीजन्य सामग्रीले अन्तरराष्ट्रिय बजार पाएको छ । चौँरीपालकका गोठहरु नै अहिले पर्यटक बस्ने स्थल बनेका छन् भने यहाँ पूर्वाधार विकास पनि बढ्दै गएको छ । फालोट याक गोठबासका सञ्चालक एवम् अगुवा चौँरीपालक चन्द्रलाल नेपालका अनुसार महोत्सव आयोजना हुन थालेपछि चौँरी गोठालाहरुमै उत्साह बढेको छ । फालोट क्षेत्रमा ०७४ सालअघि १८ वटा चौँरी गोठ रहेकामा अहिले ३१ वटा गोठ रहेका छन् । ‘पेसाप्रति युवा र महिलाहरु आकर्षित छन् । पहिले पुरुषहरु मात्रै गोठमा बस्ने चलन थियो’, उनले भने, ‘गोठहरु पहिलेभन्दा धेरै सुधार भएका छन् । अहिले गोठमै पर्यटकलाई राख्ने प्रबन्ध भएको छ।’ जसलाई ‘गोठ–बास’ (गोठ–स्टे) भनिन्छ । गोठालाहरु नै पर्यटनतर्फ आकर्षित भएका छन् । तर सबै गोठमा गोठबास कार्यान्वयन हुन सकेको छैन । अहिले १०–१२ वटा गोठले मात्रै पर्यटक राख्न सक्छन् । सन्दकपुर आहालदेखि फालोटसम्म रहेका यी गोठमा गरेर करिब १५० मानिस यहाँ बास बस्न सक्दछन् । वार्षिक रुपमा कम्तीमा पाँच हजार पर्यटक आउने गरेको नेपालको भनाइ छ । असार, साउन र भदौमा अत्यधिक वर्षाका कारण गोठहरु गाउँतर्फ झारिने हुँदा पर्यटकहरुलाई पुग्न र बास बस्न कठिन पर्ने गरेको छ । पहिले यहाँ चौँरीको घ्यू र छुर्पी मात्रै उत्पादन हुने गरेकामा अहिले चिज उत्पादन गरी बिक्री हुँदै आएको छ । महोत्सवकै कारण चौँरीजन्य सामग्रीले बजार पाएको, सरकारी निकायहरुले सहयोग गर्न थालेका र पर्यटकहरु पुग्न थालेको नेपालको भनाइ छ । फालेलुङको चारराते, तीन सिमानालगायत क्षेत्रका चौँरीपालकहरुको समूह कञ्चनजङ्घा याक चिज उत्पादक समूहका अध्यक्ष रामचन्द्र गुरुङका अनुसार पछिल्ला वर्षहरुमा चौँरीको सङ्ख्यामा अत्यधिक वृद्धि हुँदै गएको छ । चौँरीपालनमै आधारित भएर जीविकोपार्जन गर्नेको सङ्ख्या पनि बढेको छ भने पर्यापर्यटनको विकासमा धेरै ठूलो मद्दत पुगेको छ। यसको मुख्य कारण पर्यटकको सङ्ख्या बढ्दै जानु हो । चौँरी महोत्सवले पर्यटक भित्र्याएपछि चौँरीका सामग्रीले राम्रो मूल्य पाउन थालेका छन् । गुरुङकाअनुसार चौँरीको हाडखोर पनि बिक्री हुन्छ । सिङ, पुच्छर पनि बिक्री हुन्छ । चौँरीका धेरै सामग्री धार्मिक/सांस्कृतिक कार्यमा प्रयोग गरिने हुँदा धेरै माध्यमबाट गोठालाहरुले आम्दानी गर्ने गरेका छन् । पछिल्लो समय नयाँ याकहरु ल्याएर चौँरीका नयाँ प्रजातिको विकासको प्रयास भइरहेको छ, जसले चौँरीको सङ्ख्या बढाउँदै लगेको छ । ताप्लेजुङका हिमाली भेग र भूटानबाट याक ल्याएर उन्नत प्रजाति उत्पादनको प्रयास चलिरहेको छ, जसमा अहिलेसम्म ४० बढी चौँरी हुर्किएको गुरुङको भनाइ छ । अब सरकारले चौँरीमा कृत्रिम गर्भाधानमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए । चौँरीजन्य सामग्रीको बजार पनि सहजै रहेको अध्यक्ष गुरुङले बताए । ‘छुर्पीको निर्यातमा कहिलेकाहीँ समस्या आउने गरेको छ। तर बिक्री राम्रै भइरहेको छ’, उनले भने, ‘अहिले याक चिज उत्पादन भइरहेको छ। यसको बजार पनि राम्रै छ। तर मूल्य वृद्धि हुनुपर्छ।’ याक चिज काठमाडौँमा धेरै निर्यात हुन्छ । अहिले चिज प्रतिकिलो रु ८०० देखि रु एक हजारसम्ममा बिक्री भइरहेको छ भने चौँरीको घ्यू रु ८०० छ । उत्पादित सामग्रीको मूल्य भने कम भएको अध्यक्ष गुरुङको गुनासो छ । ‘गाई र चौँरीका दुग्धजन्य सामग्रीमा धेरै अन्तर छ। चौँरी त जडीबुटी चरेर दूध दिने जनावर हो’, गुरुङले भने, ‘तर गाई र चौँरीका दुग्धजन्य सामग्रीको मूल्य करिब बराबर छ। यसले त उत्पादन लागत पनि उठ्न गाह्रो हुन्छ ।’ यस पटक पाँचथरकै याङरुमा उत्पादित भेडाको घ्यूसमेत महोत्सवमा राखिएको थियो । असाध्यै मेहनत पर्ने भएकाले भेडाको घीउ प्रतिकिलो रु १२ हजार पर्ने गरेको बिक्रेता लोकेश गुरुङको भनाइ छ । ‘भेडाको व्यावसायिक पालन घट्दै गएको अवस्था छ । माग अत्यधिक छ तर, घीउ उत्पादन गर्न कठिन पर्ने गरेको छ’, उनले भने, ‘यसमा राज्यले पनि केही सहयोग गरे हामीलाई सहज हुन्थ्यो ।’ विगत नौ वर्षदेखि नयाँ वर्षको दिन चाररातेमा चौँरी महोत्सव आयोजना हुने गरेको छ। महोत्सवमा नेपालका विभिन्न जिल्लासहित भारत, भूटान, बङ्गलादेशबाट पर्यटक आउने गर्दछन् । महोत्सवका अवसरमा भेला पारिने सयौँ चौँरीको बथान हेर्ने, यहाँबाट नेपाल, भारत र भूटानका हिमशृङ्खलाको दृश्यावलोकन गर्ने, ढकमक्क फुलेको गुराँस र चिमलको रङ्गमा हराउनमै धेरै पर्यटक व्यस्त हुन्छन् । हिमाली संस्कृतिको जीवन्त प्रस्तुतिसँग साक्षात्कार गर्न पाउँदा सबैले यस नेपाल–भारत सीमावर्ती उच्च पहाडले आकर्षित गर्ने गरेको फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगूको भनाइ छ । रासस