विकासन्युज

विपद्को सामना गर्न सबै दल एकजुट हुनुपर्ने सर्वदलीय बैठकको निष्कर्ष

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकले विपद्को सामना गर्न राजनीतिक दलहरूबीच एकता कायम गर्दै उद्धार, राहत र पुनःस्थापनामा सरकारलाई सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर सबै पक्ष एकजुट हुनुपर्ने बताए । उनले पछिल्लो विपत्ति नेपालको कारणले मात्रै नभएको दाबी गर्दै विश्वव्यापी जलवायु परिवर्तन र विकसित मुलुकहरूले गरेको कार्बन उत्सर्जनका कारण नेपालजस्ता मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको बताए । ‘यो विपत्ति नेपालको कारणले भएको होइ न। कार्बन उत्सर्जन गर्ने अन्य राष्ट्रका कारण हामीले यसको असर भोगिरहेका छौँ,’ शाहीले भने, ‘त्यसैले क्षतिपूर्तिसहितको दाबी अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघ र आवश्यक परे अन्तर्राष्ट्रिय अदालतसम्म पुर्‍याउनुपर्छ ।’ उनका अनुसार नेपालले जलवायुजन्य विपद्बाट भएको क्षतिको अन्तर्राष्ट्रियस्तरमा क्षतिपूर्ति माग गर्न संसद्बाटै आवश्यक निर्णय गरेर अघि बढ्नुपर्ने विषय बैठकमा उठेको थियो । सर्वदलीय बैठकमा विपद्का कारण विभिन्न स्थानमा फसेका तथा सम्पर्कविहीन नागरिकको खोजी र उद्धारलाई प्राथमिकता दिने विषयमा पनि छलफल भएको शाहीले बताए । विशेषगरी सुरुङ तथा जोखिमयुक्त क्षेत्रमा फसेकाहरूको तत्काल उद्धार र प्रभावित नागरिकसम्म राहत पुर्‍याउने विषयमा दलहरूले जोड दिएका थिए । संकटको समयमा सरकारको आलोचना र राजनीतिक विभाजनभन्दा उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै शाहीले विपद् व्यवस्थापनमा सरकारलाई सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने बताए । उनले विपद् व्यवस्थापन प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए । संघीय सरकारले तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहजीकरण गर्दै उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए ।

बुटवल पावर कम्पनीद्वारा बाढीपीडितका लागि ५१ लाख ४१ हजार सहयोग

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी), यससँग आबद्ध ग्रुप कम्पनी तथा कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५१ लाख ४१ हजार ९८६ रुपैयाँ सहयोग गरेका छन् । कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि उक्त रकमको चेक इप्पानमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेको हो । भदौ १० गते आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार तथा राहत अभियानमा ऐक्यबद्धता जनाउँदै निजी क्षेत्रको तर्फबाट उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ । सामूहिक सहयोगमध्ये बुटवल पावर कम्पनी र उसका कर्मचारीबाट मात्रै ३३ लाख ३६ हजार ९८६ रुपैयाँ संकलन भएको छ । यसमा कम्पनीको तर्फबाट २२ लाख रुपैयाँ तथा व्यवस्थापन र कर्मचारीको तर्फबाट ११ लाख ३६ हजार ९८६ रुपैयाँ योगदान रहेको छ । त्यस्तै, समूहअन्तर्गतका विभिन्न कम्पनीले पनि राहत कोषमा सहयोग गरेका छन् । न्यादी हाइड्रोपावर लिमिटेडले ५ लाख ५० हजार रुपैयाँ, हिमाल पावर लिमिटेडले ५ लाख रुपैयाँ, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले ५ लाख ५ हजार रुपैयाँ र खुदी हाइड्रोपावर लिमिटेडले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् । कम्पनीले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै, बाढीपछि बेपत्ता भएका नागरिकहरू शीघ्र सुरक्षित रूपमा परिवारको सम्पर्कमा आउने कामना गर्दै खोजी तथा उद्धारमा खटिएका सबैप्रति आभार व्यक्त गरेको छ ।

प्रभु महालक्ष्मी लाइफको बाढीपीडितका लागि ५१ लाख रुपैयाँ सहयोग

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका सञ्चालक समिति अध्यक्ष संझना अर्याल, सञ्चालक समिति सदस्यहरू वीरेन्द्रजंग पाण्डे र शम्शेर पराजुली तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले मंगलबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। यही विपद्का प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको जनाएको छ । भीषण बाढी र डुबानका कारण दर्जनौं नागरिकले ज्यान गुमाएका छन् भने कैयौं बेपत्ता भएका छन् । बस्ती तथा भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुगेपछि सयौं परिवार विस्थापित भएका छन् । कम्पनीले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा स्थानीय संघ–संस्थाले गरिरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा सहयोग गरेको जनाएको छ । प्रभु महालक्ष्मी लाइफले स्थापनाकालदेखि नै राष्ट्रिय संकट, प्राकृतिक विपद् तथा महामारीका समयमा सहयोग गर्दै आएको जनाएको छ । ‘ढुकढुक हैन, ढुक्क होऔँ’ भन्ने मूल भावनाअनुसार प्रदान गरिएको सहयोगले बाढी प्रभावितको खोज तथा उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार र पुनर्स्थापनामा थप सहयोग पुग्ने कम्पनीको विश्वास छ । कम्पनीले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै बेपत्ताको शीघ्र खोजी र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति कम्पनीले उच्च सम्मान र आभारसमेत व्यक्त गरेको छ ।

बाढी प्रभावित १२० साइटमध्ये ११३ साइट पुनः सञ्चालनमा

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा थप तीनवटा दूरसञ्चार साइट सञ्चालनमा ल्याएको छ । मंगलबार धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार थप्रेक र पुसनटार साइट पुनः सञ्चालनमा आएका हुन् । टेलिकमका अनुसार कल्लेरी साइट सञ्चालनमा आएपछि आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी र बेल्टार आसपासका सेवाग्राही लाभान्वित हुनेछन् । त्यस्तै, भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुद्रादेवी र रालुकादेवी क्षेत्रका सेवाग्राहीले दूरसञ्चार सेवा पाउनेछन् । पुसनटार साइट सञ्चालनमा आएपछि पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली र भुवानीबेंसीलगायत क्षेत्रका सेवाग्राहीमा नेटवर्क सेवा पुगेको टेलिकमले जनाएको छ । यी तीन साइट सञ्चालनमा आएसँगै बाढीबाट प्रभावित १२० साइटमध्ये ११३ साइट पुनः सञ्चालनमा आएका छन् । यससँगै प्रभावित अधिकांश क्षेत्रमा दूरसञ्चार नेटवर्कको पहुँच पुनःस्थापित भएको नेपाल टेलिकमले जनाएको छ । टेलिकमले आंशिक क्षमतामा सञ्चालन भइरहेका साइटलाई पनि क्रमिक रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने काम जारी रहेको जनाएको छ ।

बाढीपीडितका लागि बिजी ग्रुपले दियो १ करोड २ लाख

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बिजी ग्रुप प्रालिले ग्रुप मातहतका सबै योजनाहरूबाट १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ । बिजी ग्रुपका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको हो ।  मंगलबार आयोजित कार्यक्रममा ग्रुपका प्रबन्ध सञ्चालक गणेश कार्कीको उपस्थितिमा कार्यकारी अध्यक्ष बटु लामिछानेले १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ बराबरको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरे । बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि विपदमा परेका नागरिकको उद्धार र राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले ग्रुपले उक्त रकम उपलब्ध गराएको हो । बिजी ग्रुपका कार्यकारी अध्यक्ष बटु लामिछानेले बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा अकल्पनीय रूपमा ठूलो जनधनको क्षति भएको भन्दै सहयोग रकमले प्रभावित नागरिकको राहत तथा उद्धारमा केही भए पनि योगदान पु‍र्याउने विश्वास व्यक्त गरे ।

बाढीपीडितका लागि ऊर्जा उद्यमीको राहत, इप्पानद्वारा १३ करोडको चेक हस्तान्तरण

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरूको उद्धार, राहत र पुनःर्निर्माणको लागि १३ करोड एक रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । इप्पानमा आबद्ध ऊर्जा उद्यमीहरूको तर्फबाट संस्थाका अध्यक्ष मोहनकुमार डाँगीले सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे । ऊर्जा उद्यमीहरूले आआफ्नो तर्फबाट पनि सो रकम हस्तान्तरण गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनको कारणले जलविद्युत् परियोजना भौगोलिक तथा विपद्का समस्या भोग्नुपरेकाले आगामी दिनमा जलवायु परिवर्तनमैत्री संरचना निर्माणमा ध्यान दिनुपर्ने बताए ।  उनले विपद्मा परेको बेला राज्यलाई आर्थिक सहयोग गरेर सङ्कटको घडीमा साथसाथै रहेको भावना विकास गर्न सकेको बताए ।​​​​​​​ इप्पानका अध्यक्ष डाँगीले ऊर्जा उद्यमीहरू सङ्कटको घडीमा राज्यको विपद् कोषमा आर्थिक सहयोग गरेको बताए । उनले भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट १३ वटा जलविद्युत् आयोजना प्रभावित भएको बताउँदै पीडितको घाउमा मलम लगाउने प्रयास गरेको बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले ऊर्जा उद्यमीहरू आफै सङ्कटमा परेको बेला आर्थिक सहयोग गरेर सह्रानीय काम गरेको बताए । इप्पानका निर्वतमान अध्यक्ष तथा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीका सल्लाहकार गणेश कार्कीले बाढीले प्रभावित जलविद्युत् आयोजनाको उद्धारको लागि इप्पानको तर्फबाट प्राविधिक सहयोग गर्दै आइरहेको स्मरण गराए । राहत कोषमा उक्त रकम जम्मा गर्नेहरूमध्ये मोहनविक्रम कार्की समूहले एक करोड ६५ लाख र हिमप्रसाद पाठक तथा समूहले एक करोड ५१ लाख, पुष्पज्योति ढुङ्गाना तथा समूहले एक करोड सात लाख ७७ हजार ७७५ रकम हस्तान्तरण गरेका छन् । बटु लामिछाने तथा गणेश कार्की समूहले ८७ लाख ७७ हजार ७७७, इशा श्रेष्ठ समूहले ६५ लाख, बुटवल पावर कम्पनी समूह र कम्पनीहरूले ५१ लाख ४१ हजार ९८६, उत्तमब्लोन लामा तथा समूहले ५१ लाख, माउन्टेन इनर्जी नेपालले ५१ लाख, सुमन कर्माचार्य तथा समूहले ५० लाख र अजयबल्लभ पन्त तथा समूहले ५० लाख आर्थिक सहयोग गरेका छन् । त्यसैगरी, टिएन आचार्य तथा समूहले २६ लाख, सन्तोषराज नेपाल तथा समूहले २५ लाख २५ हजार, मोहनकुमार डाँगी तथा समूहले २५ लाख, दिनेश गुरुङ तथा समूहले २५ लाख, अनुप आचार्य तथा समूहले २५ लाख, साङग्रिला ऊर्जा लिमिटेड र घलेम्द्री हाइड्रो लिमिटेडले २५ लाख रकम आर्थिक सहयोग गरेका छन् । रघुनाथ पुरी तथा समूह (गोरक्ष हाइड्रो) ले २५ लाख सहयोग गरेका छन् । त्यसैगरी उमेश श्रेष्ठ तथा समूहले (कालङ्गा गु्रप) ले २० लाख ७० हजार, कदम केसी तथा समूहले २० लाख १० हजार, अभिज्ञा मल्ल तथा समूहले २० लाख १० हजार, भुषण गुरागाँई तथा समूहले (न्यादी ग्रुप)ले २० लाख, बिजी ग्रुप तथा हाइड्रो सोलुसनले १५ लाख आर्थिक सहयोग गरेका छन् । बलराम खतिवडा तथा समूहले १५ लाख, गोपाल न्यूरे तथा समूह (संयुक्त ऊर्जा र चितवन इनर्जी) ले ११ लाख ११ हजार ११०, सुभास साङ्घाई र श्रीधर न्यौपाने (ग्रिन भेञ्चरर्स) ले ११ लाख, विक्रम विष्ट तथा समूह (इसुवा इनर्जी प्राली) ले १० लाख ५५५, बाबुराम थापा (अभियान समूह) ले सात लाख ५१ हजार, नारायण कँडेल तथा समूहले पाँच लाख ५५ हजार ५५५ ले आर्थिक सहयोग गरेका छन् । केशवबहादुर रायमाझी तथा समूहले पाँच लाख ५५ हजार ५५५, आत्माराम घिमिरे तथा समूह (लिबर्टी इनर्जी) पाँच लाख ५५ हजार ५५५, अर्जुन गौतम (अपरहेवा) ले पाँच लाख ५५ हजार ५५५, सोमनाथ कँडेल तथा समूहले पाँच लाख नौ हजार ९९९ रकम आर्थिक सहयोग गरेका छन् । कृष्णप्रसाद घिमिरे तथा समूह (विकास हाइड्रो) ले पाँच लाख पाँच हजार ५५५, प्रकाश दुलाल तथा समूहले पाँच लाख पाँच हजार, सुमन जोशी तथा समूहले पाँच लाख, जगदिश शिवाकोटी तथा समूहले पाँच लाख, मकरीगाड हाइड्रोपावर लिमिटेडले पाँच लाख, दीपक पौडेल (सानीभेरी हाइड्रो) ले पाँच लाख, रिडी पावर तथा समूहले पाँच लाख, नर्थ समिट हाइड्रो लिमिटेडले पाँच लाख र सुपरहेवा पावर कम्पनी लिमिटेडले पाँच लाख आर्थिक सहयोग गरेका छन् । अपोलो हाइड्रोपावर लिमिटेडले तीन लाख, भिजन टेस्ला पावर प्रालीले दुई लाख, प्रतिमा ज्ञवाली तथा समूहले एक लाख, भरतखत्री तथा समूहले एक लाख, चिर्खवा हाइड्रोपावर तथा निको इनर्जीले एक लाख र चम्पावती हाइड्रोपावर लिमिटेडले ५० हजार सहयोग गरेका छन् । इप्पान दैवीप्रकोप उद्धार कोषले छ लाख ३२ हजार २३ रकम प्रधानमन्त्री दैविप्रकोप तथा उद्धार कोषमा सहयोग गरेका हुन् ।

मातृभूमि लघुवित्तद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५ लाख सहयोग

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ । वित्तीय संस्थाले भदौ १० गते आएको बाढीका कारण रसुवासहित आसपासका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै विपद्को कठिन घडीमा सरकारको राहत तथा उद्धार अभियानमा ऐक्यबद्धता जनाउँदै उक्त सहयोग प्रदान गरेको जनाएको छ । संस्थाले बाढीमा ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । त्यस्तै, प्राकृतिक प्रकोपका कारण सम्पर्कविहीन भएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्था र विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारजनले भोग्नुपरेको पीडाप्रति गहिरो सहानुभूति व्यक्त गरेको छ । मातृभूमि लघुवित्तले संकटको समयमा राहत, उद्धार र पुनर्स्थापना कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत प्रभावित समुदायको साथमा रहने प्रतिबद्धता जनाएको छ ।

भोटेकोशी विपद् : सर्वदलीय संयन्त्र गठनबारे छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार र प्रभावितको राहत–पुनःस्थापनालाई प्रभावकारी बनाउन राजनीतिक दलहरूबीच सर्वदलीय छलफल जारी छ । सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा मंगलबार अपरान्ह सुरु भएको बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी छन् । बैठकमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनालाई प्रभावकारी बनाउने, प्रभावित क्षेत्रमा राहत र उद्धारलाई थप व्यवस्थित गर्ने तथा सरकारका कामकारबाहीको अनुगमनका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिमलाई ध्यानमा राख्दै जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिने र राष्ट्रिय विपद् व्यवस्थापन नीतिमा समयानुकूल सुधार गर्ने विषय पनि बैठकका प्रमुख एजेन्डा छन् । दलहरूले विपद् व्यवस्थापनमा सरकारलाई आवश्यक सुझाव, सहयोग र निरन्तर निगरानी उपलब्ध गराउने गरी संसदीय संयन्त्र बनाउने प्रस्ताव अघि सारेका छन् । उक्त संयन्त्रले उद्धार तथा राहतपछि पुनर्निर्माण र पुनःस्थापनासम्मका काममा सरकारसँग समन्वय गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । बाढीमा परेर धेरै व्यक्ति बेपत्ता भएका छन् भने सडक, पुल, बस्ती तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ । बाढी प्रभावितको उद्धार, बेपत्ताको खोजी र राहत कार्य जारी रहेका बेला राजनीतिक दलहरूले विपद्पछिको पुनर्निर्माणलाई साझा राष्ट्रिय दायित्वका रूपमा अघि बढाउन सर्वदलीय संयन्त्र निर्माणको पहल थालेका हुन् ।