काठमाडौं । दया फाउन्डेसनले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।
फाउन्डेसनका बोर्ड सदस्यहरूले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
फाउन्डेसनले विपद्को कठिन समयमा प्रभावित समुदायको राहत र उद्धारमा सहयोग गर्न पाएकोमा आभार व्यक्त गरेको छ । साथै, प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न सरकारले गरेको पहल र स्रोत परिचालनको प्रशंसा गरेको छ ।
नेपाल तथा विदेशबाट व्यक्ति र विभिन्न संस्थाले गरेको सहयोगप्रति पनि फाउन्डेसनले धन्यवाद दिएको छ । विपद्को समयमा देखिएको ऐक्यबद्धता र मानवीय भावनाको फाउन्डेसनले प्रशंसा गरेको छ ।
फाउन्डेसनका अनुसार यो सहयोग संस्थाका दिवंगत संस्थापक तथा संरक्षक दयाराम भक्त माथेमाका मूल्य र जीवनदृष्टिबाट प्रेरित छ । संकटमा परेका समुदायसँग सहयोग बाँड्नु प्रत्येक संवेदनशील नागरिकको जिम्मेवारी भएको फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनले बाढीबाट प्रभावित सबै व्यक्ति तथा परिवारप्रति सहानुभूति व्यक्त गर्दै राहत, पुनःस्थापना र प्रभावित समुदायको पीडा कम गर्न निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।