बाढीका कारण परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको वार्षिकोत्सव कार्यक्रम स्थगित

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति शोक व्यक्त गर्दै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६७औँ वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गरेको छ ।

अस्पतालले जारी गरेको सूचनाअनुसार भदौ १९ गते कृष्ण जन्माष्टमीका दिन आयोजना गर्ने तय भएको ६७औँ वार्षिकोत्सव कार्यक्रम राष्ट्रिय संकटको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै नगर्ने निर्णय गरिएको हो ।

अस्पतालले वार्षिकोत्सवका अवसरमा कार्यक्रमका लागि खर्च हुने रकममध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय समेत गरेको जनाएको छ । साथै, राष्ट्रिय विपद्को संवेदनशील घडीमा अस्पतालका सम्पूर्ण कर्मचारी तथा सरोकारवालालाई एकजुट भई सम्भावित विपद्का लागि तयार रहन र आ–आफ्नो तर्फबाट राज्यलाई सक्दो सहयोग गर्न अस्पतालले आह्वान गरेको छ ।

अस्पतालले बाढीबाट प्रभावित तथा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्को समयमा मानवीय संवेदना र सहयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

Share News