विकासन्युज

माया खोला हाइड्रोलाई १ करोड कित्ता हकप्रद सेयर निष्कासनको अनुमति

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले १ करोड कित्ता हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ ।  कम्पनीले नेपाल धितोपत्र बोर्डलाई जानकारी दिँदै हाल कायम १ अर्ब रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा १ करोड कित्ता हकप्रद सेयर जारी गर्न आयोगबाट अनुमति प्राप्त भएको जनाएको हो । कम्पनीको नवौं वार्षिक साधारणसभाले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेपछि पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरिएको थियो । विद्युत नियमन आयोगले भदौ १७ गतेको पत्रमार्फत १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको कम्पनीले जनाएको छ । कम्पनीले उक्त जानकारी नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र अन्य सम्बन्धित निकायलाई पठाएको छ ।

विवाह समारोहमै अमेरिकाले मिसाइल छोड्दा इरानमा १८ जनाको मृत्यु

काठमाडौं । इरानको स्वास्थ्य मन्त्रालयका जनसम्पर्क निर्देशक हुसेन करमानपुरले मंगलबार भएका अमेरिकी हवाई हमलामा मृत्यु हुने र घाइते हुनेको नयाँ तथ्यांक सार्वजनिक गरेका छन् । बीबीसीको फारसी सेवाका अनुसार करमानपुरले ती हमलामा मृत्यु हुनेको संख्या १८ पुगेको र १४२ जना घाइते भएको बताएका छन् । मृत्यु हुनेमा एक बालक र दुई महिला छन् । घाइतेमध्ये ६१ जना महिला र १८ वर्षमुनिका ४४ जना रहेका छन् । अमेरिकाले केही हप्तापछि पुनः इरानमाथि आक्रमण सुरु गरेको हो । बुधबार इरानको सिरिकमा एक विवाह समारोहलाई लक्षित गरी भएको हमलामा सुरुमा चार जनाको मृत्यु भएको खबर आएको थियो । इरानी रेड क्रिसेन्टका अनुसार सिरिकमा विवाह समारोह भइरहेका बेला एउटा घरमा अमेरिकी मिसाइलका टुक्रा खसेपछि चार जनाको मृत्यु भएको थियो । अमेरिकी सेनाको हमलाको जवाफमा इरानले जोर्डन, कुवेत, इराक र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन प्रहार गरेको छ । 

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार पार्टीको केन्द्रीय कार्यालय घण्टीघर, बनस्थलीमा बिहान १० बजे सचिवालय बैठक बोलाइएको हो । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा रसुवा बाढी, पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक विषय तथा पार्टीका आगामी गतिविधिका विषयमा छलफल हुने बताइएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, त्यसले पार्टीमाथि पारेको प्रभाव तथा रास्वपाले आगामी दिनमा लिनुपर्ने राजनीतिक रणनीतिका विषयमा समेत छलफल हुन सक्ने जनाइएको छ । त्यस्तै, पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक मुद्दामा पार्टीको धारणा र आगामी कार्यक्रमका विषयमा पनि सचिवालय सदस्यबीच छलफल हुने बताइएको छ ।

हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाले दिए राजीनामा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक समिति अध्यक्ष उदयकुमार निरौलाले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगायत सम्बन्धित नियामक निकायलाई जानकारी दिँदै अध्यक्ष निरौलाले व्यक्तिगत कारण देखाएर अध्यक्ष तथा सञ्चालक दुवै पदबाट राजीनामा दिएको जनाएको छ । कम्पनीका अनुसार सञ्चालक समितिको भदौ १० गते बसेको ८९औँ बैठकले उनले साउन २९ गते पेश गरेको राजीनामा भदौ १० गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो । हिमालयन रिइन्स्योरेन्सले अध्यक्षको राजीनामा स्वीकृत भएको जानकारी नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, सीडीएस एन्ड क्लियरिङ तथा नेप्सेलाई पठाएको छ।

हिमालयन ८०–२० का लगानीकर्ताले पाउने भए १५ प्रतिशत लाभांश

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो बन्दमुखी म्युचुअल फन्ड योजना ‘हिमालयन ८०–२०’ का इकाइधनीलाई आर्थिक वर्ष २०८२/८३ का लागि करसहित १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । हिमालयन क्यापिटलले योजना व्यवस्थापकको रूपमा सञ्चालन गर्दै आएको हिमालयन म्युचुअल फन्डअन्तर्गतको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ को आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न भएपछि प्रतिफल घोषणा गरेको हो । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको ८१औँ बैठकले इकाइधनीलाई १५ करोड रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको जनाएको छ । उक्त प्रतिफल करसहित १५ प्रतिशतका दरले सम्बन्धित इकाइधनीलाई वितरण गरिने हिमालयन क्यापिटलले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराएको छ ।

कालीमाटी बजारमा आज कुन तरकारी सस्तो, कुन महँगो ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेडा, आलु, प्याजसहित अधिकांश तरकारीको मूल्य अद्यावधिक गरिएको छ । आज ठूलो नेपाली र भारतीय गोलभेडा प्रतिकिलो ६० रुपैयाँमा कारोबार भइरहेको छ । सानो टनेल गोलभेडाको मूल्य प्रतिकिलो २८ रुपैयाँ तोकिएको छ । आलुतर्फ रातो आलु (लाम्चो, गोलो र मुडे) प्रतिकिलो ४८ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ कायम गरिएको छ । भारतीय सुकेको प्याज प्रतिकिलो ९३ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ। हरियो तरकारीमा स्थानीय बन्दा २५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो हाइब्रिड मूला २५ रुपैयाँ, लाम्चो भन्टा १० रुपैयाँ र डल्लो भन्टा ३० रुपैयाँ तोकिएको छ । तने बोडी ४० रुपैयाँ, मकै बोडी ८० रुपैयाँ र घिउ सिमी प्रतिकिलो ८० रुपैयाँमा कारोबार भइरहेको छ । टाटे सिमी ५० रुपैयाँ, भटमासकोसा १२० रुपैयाँ, तितो करेला ३० रुपैयाँ, लौका ४० रुपैयाँ, परवर ६० रुपैयाँ, घिरौला १० रुपैयाँ, पाकेको फर्सी ५० रुपैयाँ, हरियो फर्सी ३० रुपैयाँ र भिण्डी ३० रुपैयाँ प्रतिकिलो रहेको छ । सागपातमा रायोको साग ४० रुपैयाँ, पालुङ्गो १०० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ र हरियो प्याज १०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ तोकिएको छ । फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा १८० रुपैयाँ, कागती ३५० रुपैयाँ, अनार २५० रुपैयाँ र हरियो तरबुजा प्रतिकिलो ५० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि ३५ दिनको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि ३५ दिनभित्र निवेदन दिनुपर्ने भएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान समितिले बिहीबार सूचना जारी गर्दै काठमाडौं महानगरपालिका भित्रका लक्षित वर्गलाई निवेदन दिन आह्वान गरेको हो । समितिका अनुसार भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन माग गरिएको हो । इच्छुकले समितिले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी आफू बसोबास गर्दै आएको सम्बन्धित वडा कार्यालयमार्फत पेश गर्नुपर्नेछ ।  समितिले बागमती प्रदेशअन्तर्गत काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका भित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्धारित समयभित्रै निवेदन पेश गर्न आग्रह गरेको छ ।

आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर, अमेरिकी डलर १५२ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७६ रुपैयाँ १८ पैसा तोकिएको छ । यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ ४ पैसा, क्यानेडियन डलरको १०८ रुपैयाँ ८३ पैसा र सिङ्गापुर डलरको ११९ रुपैयाँ ३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।  त्यस्तै, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा, साउदी रियालको ४० रुपैयाँ ३९ पैसा र कतारी रियालको ४१ रुपैयाँ ६० पैसा तोकिएको छ । राष्ट्र बैंकका अनुसार जापानी येन (१०), यूएई दिराम, मलेसियन रिङ्गेट, थाई भाट, दक्षिण कोरियाली वन, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको विनिमयदर पनि अद्यावधिक गरिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।