विकासन्युज

बाढी प्रभावितका लागि बीएलसी ग्लोबल होल्डिङ्सको ३ करोड ३६ लाख सहयोग

काठमाडौं । बीएलसी ग्लोबल होल्डिङ्ससँग आबद्ध संस्थाहरूले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्निर्माणका लागि सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग गरेका छन् । होल्डिङ्ससँग आबद्ध नर्भिक इन्टरनेशनल हस्पिटल, बीएलसी ग्लोबल लजिस्टिक र नेपाल डिस्टिलरीजलगायत संस्थाको तर्फबाट उक्त रकम सहयोग गरिएको हो । बुधबार होल्डिङ्सका सहअध्यक्ष तथा नर्भिकका निर्देशक मेघा चौधरी, नर्भिकका अध्यक्ष राजेन्द्रबहादुर सिंह, सीईओ अजयकुमार मिश्र तथा नेपाल डिस्टिलरीजका शरद टिबरेवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण गर्दै मेघा चौधरीले विपद्को अवस्थामा सरकारले सञ्चालन गर्ने राहत तथा पुनर्निर्माणका काममा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोडभन्दा बढी रकम सहयोग गरिएको बताइन् । उनले सहयोग रकम ठूलो नभए पनि बाढी प्रभावित परिवारको पुनर्वासमा प्रभावकारी रूपमा प्रयोग हुने विश्वास व्यक्त गरिन् । उनले अहिलेको विषम परिस्थितिमा होल्डिङ्ससँग आबद्ध सबै संस्था सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन् । उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका संघसंस्था तथा व्यक्तिप्रति उनले सम्मानसमेत व्यक्त गरिन् । बीएलसी ग्लोबल होल्डिङ्सले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । होल्डिङ्सका संस्थापक बसन्त चौधरीले गत शनिबार नै बाढी प्रभावितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार होल्डिङ्ससँग आबद्ध विभिन्न संस्थामार्फत कुल ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

जीवन विकास लघुवित्तले बाढीपीडितका लागि दियो २५ लाख ५ हजार

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । जीवन विकास लघुवित्तमा कार्यरत कर्मचारीको एक दिनको पारिश्रमिक र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजयकुमार मण्डलले जानकारी दिए । ‘विपद्को कठिन घडीमा सामाजिक उत्तरदायित्वअन्तर्गत हामीले सहयोग गरेका हौं,’ सीईओ मण्डलले भने, ‘हाम्रो सानो सहयोगले बाढीबाट विस्थापित तथा प्रभावित दाजुभाइ–दिदीबहिनीको दैनिक जीवनयापनमा केही राहत पुग्ने विश्वास लिएका छौं ।’ संस्थाले गत भदौ १० गते आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेको छ । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्तले कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा वित्तीय सेवा दिँदै आएको छ । संस्थाले ग्रामीण क्षेत्रका नागरिकको घरदैलोमै पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

सुनको मूल्य एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढ्दा चाँदी १४५ रुपैयाँले महँगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । एकैदिन सुनको मूल्य ७ हजार ६ सय रुपैयाँले बढेको हो । त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ७२५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो । यससँगै बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

एनआईसी एसिया बैंकका ३ शाखाका लकर स्थानान्तरण हुँदै

काठमाडौं । एनआईसी एसिया बैंकले डिल्लीबजार, लाजिम्पाट र क्षेत्रपाटी शाखामा रहेका सेफ डिपोजिट लकर अन्य शाखामा स्थानान्तरण गर्ने भएको छ ।  बैंकका अनुसार यी तीन शाखा आगामी मंसिर ७ गतेदेखि अन्य शाखामा गाभिएर एकीकृत रूपमा कारोबार सञ्चालन गर्नेछन् । शाखा समायोजनपछि बन्द हुने भएकाले त्यहाँ रहेका सेफ डिपोजिट लकरसमेत स्थानान्तरण गर्न लागिएको हो । डिल्लीबजार शाखामा रहेका लकर कमलादी शाखामा र लाजिम्पाट शाखाका लकर पनि कमलादी शाखामै स्थानान्तरण हुनेछन् । त्यस्तै, क्षेत्रपाटी शाखाका लकर त्रिपुरेश्वर शाखामा स्थानान्तरण गरिने बैंकले जनाएको छ । बैंकका अनुसार डिल्लीबजारबाट कमलादी शाखाको दूरी करिब १.४ किलोमिटर, लाजिम्पाटबाट कमलादी २.५ किलोमिटर र क्षेत्रपाटीबाट त्रिपुरेश्वर शाखाको दूरी २.९ किलोमिटर रहेको  छ। बैंकले लकरमा टुटफुट हुन सक्ने सामान राखेका ग्राहकलाई आफ्नो लकर रहेको हालको शाखामा सम्पर्क गरी सामान सुरक्षित रूपमा व्यवस्थापन गर्न आग्रह गरेको छ । बैंकले लकर स्थानान्तरणका क्रममा लकरभित्र रहेका सामग्रीमा सम्भावित हानि, नोक्सानी वा क्षति भएमा बैंक जिम्मेवार नहुने जनाएको छ । 

बाढीपीडितका लागि वैदेशिक रोजगार व्यवसायीद्वारा १ करोड ५० लाख सहयोग हस्तान्तरण

काठमाडौं । रसुवा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सञ्चालन गरेको सहयोग अभियानबाट १ करोड ५० लाख रुपैयाँ सङ्कलन भएको छ । संघका अनुसार अभियानमा संस्था, व्यक्तिगत, शाखा तथा विभिन्न विदेशी संस्थासमेत गरी हालसम्म ५२० भन्दा बढी व्यवसायी तथा संस्थाको सहभागिता रहेको छ। सहयोग प्राप्त हुने क्रम अझै जारी रहेको संघले जनाएको छ ।  संकलित रकम संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा कार्यसमितिका पदाधिकारी तथा सदस्य र सल्लाहकारहरूको उपस्थितिमा युवा, श्रम तथा रोजगार मन्त्रालयमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो ।  रकम हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारसँगै विभिन्न घटक संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । उक्त रकम सरकारी राहत कोषमा जम्मा भई विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा उपयोग हुने अपेक्षा संघले गरेको छ । संघले अभियानअन्तर्गत संकलित सहयोग रकमको प्रयोग तथा आगामी राहतसम्बन्धी गतिविधिमा पारदर्शिता, जवाफदेहिता र संस्थागत निर्णय प्रक्रियालाई प्राथमिकता दिने जनाएको छ । अभियानमा सहभागी व्यवसायी, संस्था, शाखा तथा विदेशी साझेदार संस्थाको योगदानको उचित अभिलेख राखी सम्बन्धित विवरण व्यवसायीलाई समेत जानकारी गराइने संघले जनाएको छ । मानवीय सेवासँगै व्यवसायी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको संघले जनाएको छ । विपद्को घडीमा व्यवसायी समुदायले देखाएको एकता, सद्भाव र उदार सहयोगले व्यवसायी क्षेत्रको सामाजिक भूमिकालाई थप उचाइ दिएको संघको भनाइ छ । संघले अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यवसायी, संस्था, शाखा, विदेशी साझेदार संस्था तथा सहयोगीप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

कुटनीतिक संवादमार्फत अमेरिका–इरानबीचको तनाव समाधान हुन्छ : पाकिस्तान

काठमाडौं । पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्लो समय बढ्दै गएको तनावका बावजुद कुटनीतिक माध्यमबाट समस्याको समाधान हुनेमा आशा व्यक्त गरेको छ ।  पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर अन्ड्राबीले बुधवार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै दुई देशबीचको विवाद समाधानका लागि पाकिस्तानले संवाद र कुटनीतिलाई निरन्तरता दिने बताएका हुन् ।  ‘पाकिस्तान अझै पनि आशावादी छ र वार्ता एवं कूटनीतिका लागि आफ्नो प्रयास जारी राख्नेछ,’ प्रवक्ता अन्ड्राबीले भने ।  उनले रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ को विषयमा पाकिस्तानले आफ्नो सक्रियता कायम राख्ने बताउँदै दुवै पक्ष पुनः वार्ताको टेबुलमा फर्कने विश्वास व्यक्त गरे ।  प्रवक्ता अन्ड्राबीका अनुसार यदि दुवै पक्ष संवादका लागि तयार भएमा शान्ति पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न इस्लामावादमा एउटा कार्यढाँचा समेत तयार अवस्थामा रहेको छ ।  उनले क्षेत्रीय शान्ति र स्थिरताका लागि वार्ता नै उत्तम विकल्प भएकोमा जोड दिए ।

५ निर्माण कम्पनी सरकारी ठेक्काबाट आउट, १ देखि ३ वर्षसम्म कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद कार्यालयले पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयले भदौ १७ गते गरेको निर्णयअनुसार पाँच कम्पनीलाई कालोसूचीमा राखिएको हो । कार्यालयका अनुसार शिक्षा विकास निर्देशनालय दिपायल, डोटीको सिफारिसमा काठमाडौं महानगरपालिका–१० स्थित इन्द्रायणी बिल्डर्स एन्ड सप्लायर्स प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । कम्पनीका मुख्य व्यक्ति सुमित्रा भण्डारी हुन् । त्यस्तै, इटहरी उपमहानगरपालिकाको सिफारिसमा दुहबी–५, सुनसरीस्थित बस्नेत निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त निर्माण सेवाका मुख्य व्यक्ति प्रेम बस्नेत र निश्चल राज शाक्य रहेका छन् । गढवा गाउँपालिका, दाङको सिफारिसमा घोराही–४, दाङस्थित सी. ब्रोदर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ । कम्पनीका मुख्य व्यक्ति मनोज चौधरी हुन् । यस्तै, पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, पालुङटार, गोरखाको सिफारिसमा तिनकुने, काठमाडौंस्थित गणपति ग्रुप अफ कन्स्ट्रक्सन प्रालिलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। कम्पनीका मुख्य व्यक्ति तुलसीराम भण्डारी रहेका छन् । संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, बबरमहल, काठमाडौंको सिफारिसमा धनुषास्थित अभिनाश निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त निर्माण सेवाका मुख्य व्यक्ति दीपक कुमार साह हुन् । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद कार्यालयले जनाएको छ । कालोसूचीमा राखिएको अवधिभर सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले स्पष्ट पारेको छ ।

प्रभु इन्स्योरेन्सले रसुवा बाढीपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले भदौ १० गते आएको बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ । बाढीमा ज्यान गुमाएकाहरूप्रति कम्पनीले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । प्राकृतिक विपद्का कारण प्रभावित परिवार र स्थानीय समुदायले ठूलो पीडा तथा चुनौती सामना गर्नुपरेको कम्पनीले जनाएको छ । यस्तो कठिन समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु सबै जिम्मेवार संस्था र नागरिकको साझा दायित्व रहेको प्रभु इन्स्योरेन्सको भनाइ छ । कम्पनीका अनुसार २५ लाख रुपैयाँको सहयोगले पीडितले भोगेको क्षतिको पूर्ण क्षतिपूर्ति गर्न नसके पनि संकटको समयमा प्रभावित परिवार तथा समुदायसँगै रहेको सन्देश दिन सहयोग पुग्नेछ । प्रभु इन्स्योरेन्सले विपत्तिबाट प्रभावित नागरिक एक्ला नरहेको बताउँदै राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्य गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीका अध्यक्ष राजेन्द्र मल्लले बीमा व्यवसायको मूल उद्देश्य जोखिम र विपत्तिको समयमा बीमितको संरक्षण गर्नु रहेको बताए। कठिन परिस्थितिमा बीमितलाई भरोसायोग्य साथ दिनुपर्ने उनको भनाइ छ । उनले बाढीबाट प्रभावित बीमितको दाबीसम्बन्धी प्रक्रियालाई आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी सकेसम्म छिटो, सरल, पारदर्शी र प्रभावकारी रूपमा टुंग्याउने प्रतिबद्धता व्यक्त गरे । प्रभावित बीमितले थप असहजता र झन्झट व्यहोर्नु नपरोस् भन्ने विषयलाई कम्पनीले प्राथमिकतामा राखेको जनाएको छ । आवश्यक सहजीकरण, समन्वय र सेवा प्रवाहमार्फत प्रभावित बीमितलाई सहयोग गरिने कम्पनीले जनाएको छ । प्रभु इन्स्योरेन्सले उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय समुदाय, स्वयंसेवक तथा सहयोगी संघसंस्थाप्रति आभार व्यक्त गरेको छ । सबै पक्षको साझा प्रयास, सहकार्य र ऐक्यबद्धताबाट प्रभावित क्षेत्रको पुनःनिर्माण तथा पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढ्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।