ग्यासको सिलिन्डर खोज्दै भौतारिनु नपर्ने, अर्को कम्पनीको सिलिन्डरबाटै ग्यास पाइने
काठमाडौं । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको अवस्थालाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छन् । मन्त्री यादवले काठमाडौं उपत्यकाभित्र मात्र लागू हुने गरी, एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको ग्यास सिलिन्डरसँग उही मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन् । यस व्यवस्थाबाट उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको सिलिन्डर तत्काल उपलब्ध नभएको अवस्थामा अन्य कम्पनीको सिलिन्डरमार्फत समेत ग्यास प्राप्त गर्न सक्नेछन् । बाढीका कारण उत्पन्न आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो । मन्त्री यादवले उक्त व्यवस्था काठमाडौं उपत्यकामा प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल आयल निगम तथा सम्बन्धित ग्यास उद्योगहरूलाई निर्देशन दिएकी छन् । साथै, उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा तोकिएको व्यवस्थाविपरीत कार्य गर्ने पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारेकी छन् ।
सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । मंगलबारको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँ घटेर ४ हजार ७५० रुपैयाँ मा कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७९० रुपैयाँ रहेको थियो ।
इमर्जिङ नेपालका सेयरधनीले तीन महिनाभित्र सेयर बिक्री गर्ने
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडका ६ जना आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयर बिक्री गर्ने मनसाय सार्वजनिक गरेका छन् । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई दिएको जानकारीअनुसार ती आधारभूत सेयरधनीले आगामी तीन महिनाभित्र आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने जानकारी दिएका हुन् । सेयर बिक्री गर्ने मनसाय व्यक्त गर्नेमा रिजेन्सी ट्रेडिङ प्रालि., विशाल अग्रवाल, जगदीश प्रसाद अग्रवाल, निकुञ्ज अग्रवाल, अनुज अग्रवाल र युनाइटेड डिष्ट्रिब्युटर्स नेपाल लिमिटेड रहेका छन् । कम्पनीका अनुसार रिजेन्सी ट्रेडिङ प्रालिसँग १ लाख कित्ता, विशाल अग्रवालसँग १ लाख ६७ हजार २३५ कित्ता, जगदीश प्रसाद अग्रवालसँग ६९ हजार ४५० कित्ता, निकुञ्ज अग्रवालसँग १ लाख ६६ हजार ६८० कित्ता, अनुज अग्रवालसँग ९१ हजार ६७४ कित्ता र युनाइटेड डिष्ट्रिब्युटर्स नेपाल लिमिटेडसँग २६ हजार २०० कित्ता सेयर रहेको छ । नेपाल धितोपत्र बोर्डको नयाँ व्यवस्थाअनुसार कुनै पनि आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिनअघि कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कम्पनीले नेप्सेमार्फत उक्त सूचना सार्वजनिक गरेको जनाएको छ ।
कुलेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई कामना सेवा विकास बैंकको सहयोग
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत काठमाडौंको कुलेश्वरस्थित कुलेश्वर माध्यमिक विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ । बैंकको कुलेश्वर शाखामार्फत आयोजित कार्यक्रममा काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले विद्यार्थीलाई विद्यालय पोशाक र शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । बैंकले विद्यार्थीको पठनपाठन सहज बनाउन विद्यालय झोला, विद्यालय पोशाक, हाउस ड्रेस, जुत्ता, स्टेशनरी तथा अन्य आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको जनाएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त बिष्टले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गरेकोमा बैंकप्रति धन्यवाद व्यक्त गरे । उनले यस्तो सहयोगले विद्यार्थीलाई अध्ययनमा थप हौसला मिल्ने र विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पर्ने बताए । बैंकका काठमाडौं क्षेत्र प्रमुख शर्माले शिक्षा क्षेत्रमा सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्वको हिस्सा भएको बताए । आर्थिक अभावका कारण आवश्यक सामग्रीबाट वञ्चित विद्यार्थीको पठनपाठनमा यो सहयोग उपयोगी हुने विश्वास उनले व्यक्त गरे । कामना सेवा विकास बैंकले आगामी दिनमा पनि आवश्यकता र प्राथमिकताका आधारमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
भदौ २४ को विध्वंसबारे निष्पक्ष छानबिन गर्न नेकपाको माग
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गत वर्ष भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलन र त्यसको भोलिपल्ट भदौ २४ गते भएका तोडफोड, आगजनी तथा विध्वंसका घटनाबारे निष्पक्ष र तथ्यमा आधारित छानबिन गर्न सरकारसँग माग गरेको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार जारी गरेको प्रेस वक्तव्यमा भदौ २४ गते भएका घटनालाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासकै ‘कालो दिन’का रूपमा उल्लेख गर्दै घटनाको गहिरो अनुसन्धान आवश्यक रहेको बताएका छन् । उनका अनुसार अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरोध तथा नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट प्रेरित भएर युवाहरूले सामाजिक सञ्जालमार्फत सुरु गरेको आन्दोलनमा राज्यले दमनको बाटो रोजेको थियो । त्यसपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै ‘सन्दिग्ध तत्व’हरूले आन्दोलनलाई नियन्त्रणमा लिएको प्रचण्डको दाबी छ । प्रचण्डले सिंहदरबार, संघीय संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालयलगायतका संवेदनशील सरकारी संरचना तथा प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालय र निजी सम्पत्तिमा भएको लुटपाट, आगजनी र तोडफोडबारे समेत छानबिन हुनुपर्ने बताएका छन् । वक्तव्यमा उनले आन्दोलन उग्र बन्दै गएपछि वास्तविक जेनजी अभियन्ताहरूले नै ‘घुसपैठ भयो’ भन्दै घर फर्किन आह्वान गरेको, प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि लुटपाट र आगजनी नरोकिएको तथा संगठित समूहको परिचालन र प्रज्वलनशील पदार्थको प्रयोग भएको दाबी गरेका छन् । यी घटनाक्रमले आन्दोलनको पछाडि ‘गम्भीर षड्यन्त्र’ भएको संकेत गर्ने भन्दै प्रचण्डले घटनाको निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताएका छन् । उनले आन्दोलनपछि भएका राजनीतिक घटनाक्रममाथि पनि प्रश्न उठाएका छन् । संसद् विघटन, गैरदलीय सरकार गठन तथा निर्वाचन घोषणा जस्ता निर्णयसमेत समग्र घटनाक्रमसँग जोडेर उच्चस्तरीय अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्नसमेत नेकपाले माग गरेको छ । आयोगले औंल्याएका विषयलाई थन्क्याउनुको सट्टा तत्काल कार्यान्वयन गरी दोषी देखिएका व्यक्तिमाथि निष्पक्ष अनुसन्धान र कानुनी कारबाही अघि बढाउनुपर्ने प्रचण्डले बताएका छन् । ‘जेनजीले खोजेको परिवर्तन अझै आएन’ प्रचण्डले जेनजी आन्दोलनले उठाएका मूलभूत सवाल र अपेक्षित परिवर्तन अझै सम्बोधन हुन नसकेको दाबी गरेका छन् । उनका अनुसार आन्दोलनपछि पनि नागरिकमा निराशा बढ्दै गएको छ । महँगी, कमजोर बन्दै गएको अर्थतन्त्र, बेरोजगारी, युवाको विदेश पलायन, बढ्दो सार्वजनिक ऋण तथा करको बोझका कारण सर्वसाधारण नागरिक थप समस्यामा परेको उनले बताएका छन् । वक्तव्यमा नयाँ सरकारले संविधान संशोधनको नाममा संविधानका मूलभूत संरचनालाई कमजोर पार्न खोजेको आरोपसमेत लगाइएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय र नागरिक स्वतन्त्रता जस्ता संवैधानिक आधार कमजोर पार्ने प्रयास स्वीकार्य नहुने प्रचण्डको भनाइ छ । उनले नेकपा यस्ता ‘प्रतिगामी र निरंकुश’ प्रयासको दृढतापूर्वक प्रतिवादमा उभिने बताएका छन् । युवाको आवाजलाई दबाएर नभई सुनेर र उनीहरूले उठाएका सवाललाई सम्बोधन गरेर मात्रै लोकतन्त्र बलियो बन्ने उल्लेख गर्दै प्रचण्डले प्राप्त राजनीतिक तथा संवैधानिक अधिकारको रक्षाका लागि शान्ति, संविधान र लोकतन्त्र पक्षधर राजनीतिक शक्ति, युवा पुस्ता तथा नागरिक समाजलाई एकताबद्ध हुन अपिल गरेका छन् ।
ब्याज मिनाहा गरी ऋण नवीकरण गरिदिन बाढीपीडित उद्योगी र व्यवसायीको माग
काठमाडौं । भोटेकोशी–त्रिशूली करिडोरमा १० भदौमा आएको विनाशकारी बाढीले उद्योग, व्यापार र व्यावसायिक क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्याएको छ । बाढीले नुवाकोटका मात्र साना तथा ठूला गरी करिब एक हजार आठ सयभन्दा बढी उद्योग तथा व्यवसायमा पूर्ण रूपमा क्षति पुगेको नुवाकोट उद्योग वाणिज्य सङ्घले जानकारी दिएको छ । बाढीपीडित व्यवसायीहरूले तत्काल राहत तथा पुनरुत्थानका कार्यक्रम ल्याउन सरकारसँग मागसमेत गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालसहितसँगको छलफलमा बाढीपीडित व्यवसायीहरूले पुनः व्यवसाय सञ्चालनको वातावरण तत्काल निर्माण गर्न माग गरेका हुन् । उनीहरूले बाढीले क्षति पुर्याएका सबैजसो उद्योग तथा व्यवसायहरू बैंकमार्फत ऋण लिएर लगानी गरेको कारण थप समस्यामा परेको दुःखेसो पोखेका छन् । एक बाढीपीडित व्यवसायीले सरकारले बाढीपीडित व्यवसायीहरूले लिएको ऋणको नवीकरण तथा ऋण मिनाहा गरिदिनुपर्ने माग राखे । उनले भने, ‘रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोटका साना ठूला गरी एक हजार आठ सय उद्योग तथा व्यवसायमा क्षति पु¥याएको छ । केही उद्योगीहरू त शून्यमै पुगेको अवस्था छ । क्रसर, टिप्परहरू सबै बगायो । खोलाछेउमा भएका सबै प्रकारका उद्योग तथा व्यवसाय बगाएको छ । उहाँहरूको सबै व्यवसाय नै बैंकहरूमार्फत ऋणमा लगानी गरेको थियो । त्यसकारण सरकारले त्यो ऋणको ब्याज मिनाहा गरिदिनुप¥यो । जसले उद्योग तथा व्यवसायको बिमा गर्नुभएको छ ।’ अर्का बाढीपीडित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कम्तीमा तीन वर्षका लागि नवीकरणको व्यवस्था गर्नुपर्ने तथा बिमा दाबीको रकम झन्झटरहित रूपमा तत्काल भुक्तानी गरिदिन पहल गर्नका लागि अध्यक्ष ढकाललाई आग्रह गरे । उनले भने, ‘अब कम्तीमा पनि हामी व्यवसायीले बैंकमार्फत लिएको ऋण कम्तीमा पनि ३ वर्षको लागि नवीकरण गरिदिनुपर्यो । इन्स्योरेन्समार्फत पनि बिना झमेला सहयोगको प्रबन्ध मिलाइदिनुप¥यो । यो मागहरू हजुरहरूले राष्ट्र बैंकको गुनासो शाखामा पनि भनिदिनुप¥यो । यदि यो सङ्कटको समयमा सरकार र बैंकहरूले सहयोग गर्नुभयो भने हामी फेरि उठ्छौँ । हामीले निजी क्षेत्रको छुट्टै कोष बनाएर बाढीपीडित व्यवसायीको सहायताको लागि मिलेर अगाडि बढ्नुपर्छ जस्तो लागेको छ ।’ त्यसैगरी अर्का व्यवसायीले निजी क्षेत्रका व्यवसायीको समस्या सरकारसम्म पुर्याउन नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत पहल गर्न आग्रह गरे । उनले लामो समय विदेशमा काम गरेर कमाएको सबै सम्पत्ति व्यवसायमा लगाएको उल्लेख गर्दै बाढीपछि आफूसँग व्यवसाय सञ्चालन गर्ने आधारसमेत नरहेको बताए । उनले बाढीपीडितका लागि सरकारले बनाउने दीर्घकालीन नीतिसँगै तत्काल पुनरुत्थानको कार्यक्रम ल्याउनुपर्ने बताए । उनले भने, ‘लामो समयसम्म विदेशमा दुःख गरेर कमाएको पैसाले स्वदेशमै केही गरौँ भने सानो व्यवसाय सुरु गरेको थिएँ । व्यवसाय विस्तारै उठ्दै थियो । यही समयमा बाढी आइदियो । राज्यले हामी व्यवसायीको लागि दीर्घकालीन रूपमा कस्तो नीति बनाउँछ, त्यो त हेर्दै गरौँला । तर तत्काल हामीसँग केही पनि छैन । ठूलो मर्कामा परेका छौँ । अब हामीसँग त खेत, जमिन पनि रहेन । गर्दै आएको व्यवसाय गर्ने हो । यसको लागि राज्यको सहयोग चाहिन्छ ।’ बाढीपीडित उद्योगी व्यवसायीहरूसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष ढकालले बाढीबाट प्रभावित निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । उनले राजनीतिक दल, सरकार तथा निजी क्षेत्र सबै मिलेर बाढी प्रभावित नागरिकको खोज, उद्धार र राहतको समस्या समाधान गर्नुपर्ने बताए । उनले बाढी प्रभावित उद्योगी व्यवसायीहरूको साथमा महासङ्घ रहेको उल्लेख गर्दै पुनरुत्थानका लागि पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । पूर्वअध्यक्ष ढकालले बाढीपीडित उद्योगी व्यवसायीको ऋण तथा बिमासम्बन्धी समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीसँग पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले भने, ‘यो बाढीले निजी क्षेत्रका उद्योगी व्यवसायी साथीहरूलाई एकदमै पीडा दिएको छ । म यो सङ्कटको समयमा तपाईंसँगसँगै रहेको विश्वास दिलाउन चाहन्छु । त्यसकारण अहिले तत्काल हाम्रा आधारभूत आवश्यकताको कुरामा भएको समस्या सर्टआउट गरौँ । सुरुमा आफन्त सम्पर्कविहीन भएकामध्ये तथा राहत नपाएको अवस्थामा गाँस, बास, लगाउने लत्ताको समस्याको समाधान गरेर अघि बढ्नुपर्छ । यसको लागि हामीले कुनै राजनीतिक दल, सरकारभन्दा पनि सबै पक्ष मिलेर यस विपद्को सामना गर्नुपर्ने आवश्यकता छ ।' उनले ग्लोबल आइएमई बैंकको तर्फबाट गर्न सकिने सहयोगका सम्बन्धमा आवश्यक निर्णय गर्ने विश्वाससमेत दिलाए ।
बुटवलको क्रिमसन कलेजको आम्दानी ४२.६० करोड, ऋण ६० करोड
काठमाडौं । क्रिमसन कलेज अफ टेक्नोलोजी प्रालिको सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८२/८३ मा ६.५ प्रतिशतले बढेको छ । कम्पनीले उक्त आर्थिक वर्षमा ४२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन आम्दानी ४० करोड रुपैयाँ थियो । कम्पनीको आम्दानीमा मुख्यतः औषधि व्यवसाय तथा अस्पतालबाट प्राप्त आम्दानीको योगदान रहेको छ । अस्पतालबाट प्राप्त आम्दानी गत आर्थिक वर्षमा ८.५३ प्रतिशतले बढेर ३० करोड ५० लाख रुपैयाँ पुगेको छ । अस्पतालमा बाह्य बिरामीको संख्या बढेसँगै आम्दानीमा वृद्धि भएको कम्पनीले जनाएको छ । सञ्चालन तथा प्रशासनिक खर्चमा आएको कमीका कारण कम्पनीको सञ्चालन नाफाको मार्जिनमा समेत सुधार भएको छ । यस्तो मार्जिन अघिल्लो आर्थिक वर्षको १९.१० प्रतिशतबाट बढेर गत आर्थिक वर्षमा २४.११ प्रतिशत पुगेको छ । त्यस्तै, कम्पनीको व्यवसायबाट सिर्जित कुल नगद सञ्चिति पनि बढेको छ । गत आर्थिक वर्षमा यस्तो रकम ७ करोड ९० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ५ करोड ७० लाख रुपैयाँ थियो । कम्पनीको आम्दानी यसअघि आर्थिक वर्ष २०८०/८१ मा ३१ करोड ८० लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा ३२ करोड ८० लाख रुपैयाँ रहेको थियो । लुम्बिनी प्रदेशका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको क्रिमसन कलेज अफ टेक्नोलोजी प्रालिले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ । सन् २००० जुलाईमा स्थापना भएको कम्पनीले पोखरा विश्वविद्यालयको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका विद्यार्थीलाई समेत गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउने उद्देश्य राखेको जनाएको छ । कलेजअन्तर्गत सञ्चालित क्रिमसन अस्पतालले सन् २०१२ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा विभिन्न चिकित्सकीय सेवासहित चौबीसै घण्टा आकस्मिक सेवा सञ्चालनमा रहेको छ । कम्पनीको सञ्चालक समितिमा ६ जना सदस्य रहेका छन् । सञ्चालक समितिका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले वाणिज्य विषयमा स्नातकोत्तर तहको शिक्षा हासिल गरेका छन् । सम्बन्धित क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव रहेका पाण्डेसँग बैंकिङ तथा विद्युतीय व्यवसाय क्षेत्रमा समेत अनुभव रहेको छ । त्यस्तै, सञ्चालक कृष्णप्रसाद अर्यालको बैंकिङ क्षेत्रमा अनुभव रहेको छ भने बाबुराम भट्टराई चिकित्सा क्षेत्रको पृष्ठभूमिबाट आएका छन् । चिकित्सक शेखरप्रसाद पोखरेलले चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् र अस्पताल तथा स्वास्थ्य सेवा व्यवसाय सञ्चालनसम्बन्धी अनुभव राख्छन् । सञ्चालक देवी भण्डारीले अंग्रेजी विषयमा स्नातकोत्तर तहको शिक्षा हासिल गरेकी छन् । उनी क्रिमसन कलेज अफ टेक्नोलोजी प्रालिकी प्राचार्यका रूपमा कार्यरत छन् र शिक्षा क्षेत्रमा अनुभव राख्छिन् । अर्का सञ्चालक कृष्णप्रसाद नेपाल सामाजिक क्षेत्रमा सक्रिय छन् । कम्पनीको पूर्ण स्वामित्वमा क्रिमसन टेक्निकल कलेज प्रालि र क्रिमसन फार्मेसी प्रालि सञ्चालनमा रहेका छन् । क्रिमसन टेक्निकल कलेजको मुख्य उद्देश्य प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका विभिन्न पाठ्यक्रम सञ्चालन गर्नु रहेको छ । क्रिमसन फार्मेसीले औषधि व्यवसायमार्फत कम्पनीलाई सम्बन्धित क्षेत्रमा थप आम्दानीको अवसर प्रदान गरेको छ । कम्पनीले निकट अवधिमा ठूलो परिमाणमा पुँजीगत खर्च गर्ने योजना पनि अघि सारेको छ । नयाँ उपकरण खरिद तथा अन्य भौतिक पूर्वाधार विकासमा लगानी गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । प्रस्तावित लगानीबाट स्वास्थ्य सेवाको दायरा तथा सञ्चालन क्षमता विस्तार हुने अपेक्षा गरिएको छ । यद्यपि, शिक्षा तथा स्वास्थ्य क्षेत्र नियामकीय जोखिममा रहेको कम्पनीको भनाइ छ । सम्बन्धन, पाठ्यक्रम, शुल्क संरचना, सेवा मापदण्ड, अनुमतिपत्र, पूर्वाधार तथा सञ्चालनसम्बन्धी नियममा हुने परिवर्तनले संस्थाको व्यावसायिक योजना तथा विस्तारमा प्रभाव पार्न सक्ने देखिन्छ । आवश्यक स्वीकृति प्राप्त गर्न हुने ढिलाइ तथा नियामकीय व्यवस्था परिवर्तनले समेत विस्तार योजनामा चुनौती सिर्जना गर्न सक्ने कम्पनीले जनाएको छ । स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले चिकित्सकीय लापरबाही, जटिल बिरामीको व्यवस्थापनमा कमजोरी वा सेवाको गुणस्तरमा आउने त्रुटिले अस्पतालको प्रतिष्ठामा असर पार्न सक्ने जोखिमसमेत रहेको छ । यस्तो जोखिम न्यूनीकरण गर्न प्रभावकारी चिकित्सकीय कार्यविधि, बिरामीको नियमित निगरानी, पर्याप्त जनशक्ति तथा बलियो आन्तरिक नियन्त्रण प्रणाली आवश्यक हुने कम्पनीले जनाएको छ । क्रिमसन अस्पतालले स्वास्थ्य सेवा क्षेत्रमा तीव्र प्रतिस्पर्धाको सामना गरिरहेको छ । बजारमा निजी अस्पताल तथा स्वास्थ्य संस्थाको संख्या बढ्दै जाँदा बिरामी आकर्षित गर्न सेवा विस्तार, गुणस्तर, चिकित्सकको विशेषज्ञता तथा जटिल रोगको उपचारमा सफलता महत्वपूर्ण हुने देखिन्छ । दक्ष तथा तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीलाई आकर्षित गरी टिकाइराख्नु पनि कम्पनीका लागि चुनौतीका रूपमा रहेको छ । नेपालमा स्वास्थ्य सेवाको माग भने निरन्तर बढिरहेको छ । सरकारी तथा निजी क्षेत्रबाट स्वास्थ्य सेवामा हुने खर्च वृद्धि, स्वास्थ्य सेवाको पहुँचमा सुधार, बढ्दो स्वास्थ्य चेतना, जीवनशैलीसँग सम्बन्धित रोगको वृद्धि तथा स्वास्थ्य बिमाको विस्तारले स्वास्थ्य क्षेत्रको माग बढाउन सहयोग गरेको छ । राष्ट्रिय जनगणना २०६८ र २०७८ का तथ्यांकअनुसार नेपाली नागरिकको औसत आयु ६८.८ वर्षबाट बढेर ७२.४ वर्ष पुगेको छ । डोल्मा विकास कोषले प्रकाशित गरेको प्रतिवेदनअनुसार नेपालमा करिब ६३ प्रतिशत जनसंख्याले निजी स्वास्थ्य सेवा रोज्ने गरेको उल्लेख छ । यसले निजी अस्पतालका लागि बिरामीको आधार विस्तार गर्ने अवसर सिर्जना गरेको देखिन्छ । यसैबीच, कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ६० करोड रुपैयाँ ऋण लिएको जनाएको छ । उक्त ऋणमध्ये ४३ करोड ७६ लाख रुपैयाँ दीर्घकालीन र १६ करोड २३ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । कम्पनीको वित्तीय मूल्याङ्कनमा ऋणमा आधारित पुँजीगत खर्च, नियामकीय तथा प्रतिष्ठासम्बन्धी जोखिम, स्वास्थ्य क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र ब्याजदरको उतारचढावलाई चुनौतीका रूपमा हेरिएको छ । अर्कोतर्फ, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा कम्पनीको स्थापित अनुभव, अनुभवी सञ्चालक, सम्बन्धित क्षेत्रमा रहेका सहायक कम्पनी, सहज पुँजी संरचना तथा नेपालमा स्वास्थ्य सेवाको बढ्दो मागलाई सकारात्मक पक्षका रूपमा लिइएको छ ।
बैंकले सार्वजनिक गर्यो बुधबारको विनिमयदर, अमेरिकी डलरको मूल्य बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य मंगलबारको तुलनामा केही बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २ पैसा कायम गरिएको छ । युरो एकको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा तोकिएको छ । बेलायती पाउन्ड एकको खरिददर २०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६३ पैसा पुगेको छ । यस्तै, अष्ट्रेलियन डलर एकको बिक्रीदर १०९ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर ११० रुपैयाँ १२ पैसा र सिङ्गापुर डलर १२० रुपैयाँ ९ पैसा कायम भएको छ । एसियाली मुद्रातर्फ चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ६५ पैसा र जापानी येन (१०) को बिक्रीदर ९ रुपैयाँ ८७ पैसा तोकिएको छ । खाडी मुलुकका मुद्रामा साउदी रियाल एकको बिक्रीदर ४० रुपैयाँ ४८ पैसा, कतारी रियाल ४१ रुपैयाँ ७० पैसा र युएई दिराम ४१ रुपैयाँ ३९ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत् राखेको छ । केन्द्रीय बैंकले आवश्यक परे विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने केही फरक हुन सक्ने भएकाले अद्यावधिक दर बैंकको वेबसाइटबाट हेर्न आग्रह गरिएको छ ।