काठमाडौं । भोटेकोशी–त्रिशूली करिडोरमा १० भदौमा आएको विनाशकारी बाढीले उद्योग, व्यापार र व्यावसायिक क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्याएको छ ।
बाढीले नुवाकोटका मात्र साना तथा ठूला गरी करिब एक हजार आठ सयभन्दा बढी उद्योग तथा व्यवसायमा पूर्ण रूपमा क्षति पुगेको नुवाकोट उद्योग वाणिज्य सङ्घले जानकारी दिएको छ । बाढीपीडित व्यवसायीहरूले तत्काल राहत तथा पुनरुत्थानका कार्यक्रम ल्याउन सरकारसँग मागसमेत गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालसहितसँगको छलफलमा बाढीपीडित व्यवसायीहरूले पुनः व्यवसाय सञ्चालनको वातावरण तत्काल निर्माण गर्न माग गरेका हुन् । उनीहरूले बाढीले क्षति पुर्याएका सबैजसो उद्योग तथा व्यवसायहरू बैंकमार्फत ऋण लिएर लगानी गरेको कारण थप समस्यामा परेको दुःखेसो पोखेका छन् । एक बाढीपीडित व्यवसायीले सरकारले बाढीपीडित व्यवसायीहरूले लिएको ऋणको नवीकरण तथा ऋण मिनाहा गरिदिनुपर्ने माग राखे ।
उनले भने, ‘रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोटका साना ठूला गरी एक हजार आठ सय उद्योग तथा व्यवसायमा क्षति पु¥याएको छ । केही उद्योगीहरू त शून्यमै पुगेको अवस्था छ । क्रसर, टिप्परहरू सबै बगायो । खोलाछेउमा भएका सबै प्रकारका उद्योग तथा व्यवसाय बगाएको छ । उहाँहरूको सबै व्यवसाय नै बैंकहरूमार्फत ऋणमा लगानी गरेको थियो । त्यसकारण सरकारले त्यो ऋणको ब्याज मिनाहा गरिदिनुप¥यो । जसले उद्योग तथा व्यवसायको बिमा गर्नुभएको छ ।’
अर्का बाढीपीडित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कम्तीमा तीन वर्षका लागि नवीकरणको व्यवस्था गर्नुपर्ने तथा बिमा दाबीको रकम झन्झटरहित रूपमा तत्काल भुक्तानी गरिदिन पहल गर्नका लागि अध्यक्ष ढकाललाई आग्रह गरे ।
उनले भने, ‘अब कम्तीमा पनि हामी व्यवसायीले बैंकमार्फत लिएको ऋण कम्तीमा पनि ३ वर्षको लागि नवीकरण गरिदिनुपर्यो । इन्स्योरेन्समार्फत पनि बिना झमेला सहयोगको प्रबन्ध मिलाइदिनुप¥यो । यो मागहरू हजुरहरूले राष्ट्र बैंकको गुनासो शाखामा पनि भनिदिनुप¥यो । यदि यो सङ्कटको समयमा सरकार र बैंकहरूले सहयोग गर्नुभयो भने हामी फेरि उठ्छौँ । हामीले निजी क्षेत्रको छुट्टै कोष बनाएर बाढीपीडित व्यवसायीको सहायताको लागि मिलेर अगाडि बढ्नुपर्छ जस्तो लागेको छ ।’
त्यसैगरी अर्का व्यवसायीले निजी क्षेत्रका व्यवसायीको समस्या सरकारसम्म पुर्याउन नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत पहल गर्न आग्रह गरे । उनले लामो समय विदेशमा काम गरेर कमाएको सबै सम्पत्ति व्यवसायमा लगाएको उल्लेख गर्दै बाढीपछि आफूसँग व्यवसाय सञ्चालन गर्ने आधारसमेत नरहेको बताए । उनले बाढीपीडितका लागि सरकारले बनाउने दीर्घकालीन नीतिसँगै तत्काल पुनरुत्थानको कार्यक्रम ल्याउनुपर्ने बताए ।
उनले भने, ‘लामो समयसम्म विदेशमा दुःख गरेर कमाएको पैसाले स्वदेशमै केही गरौँ भने सानो व्यवसाय सुरु गरेको थिएँ । व्यवसाय विस्तारै उठ्दै थियो । यही समयमा बाढी आइदियो । राज्यले हामी व्यवसायीको लागि दीर्घकालीन रूपमा कस्तो नीति बनाउँछ, त्यो त हेर्दै गरौँला । तर तत्काल हामीसँग केही पनि छैन । ठूलो मर्कामा परेका छौँ । अब हामीसँग त खेत, जमिन पनि रहेन । गर्दै आएको व्यवसाय गर्ने हो । यसको लागि राज्यको सहयोग चाहिन्छ ।’
बाढीपीडित उद्योगी व्यवसायीहरूसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष ढकालले बाढीबाट प्रभावित निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । उनले राजनीतिक दल, सरकार तथा निजी क्षेत्र सबै मिलेर बाढी प्रभावित नागरिकको खोज, उद्धार र राहतको समस्या समाधान गर्नुपर्ने बताए ।
उनले बाढी प्रभावित उद्योगी व्यवसायीहरूको साथमा महासङ्घ रहेको उल्लेख गर्दै पुनरुत्थानका लागि पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । पूर्वअध्यक्ष ढकालले बाढीपीडित उद्योगी व्यवसायीको ऋण तथा बिमासम्बन्धी समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीसँग पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
उनले भने, ‘यो बाढीले निजी क्षेत्रका उद्योगी व्यवसायी साथीहरूलाई एकदमै पीडा दिएको छ । म यो सङ्कटको समयमा तपाईंसँगसँगै रहेको विश्वास दिलाउन चाहन्छु । त्यसकारण अहिले तत्काल हाम्रा आधारभूत आवश्यकताको कुरामा भएको समस्या सर्टआउट गरौँ । सुरुमा आफन्त सम्पर्कविहीन भएकामध्ये तथा राहत नपाएको अवस्थामा गाँस, बास, लगाउने लत्ताको समस्याको समाधान गरेर अघि बढ्नुपर्छ । यसको लागि हामीले कुनै राजनीतिक दल, सरकारभन्दा पनि सबै पक्ष मिलेर यस विपद्को सामना गर्नुपर्ने आवश्यकता छ ।'
उनले ग्लोबल आइएमई बैंकको तर्फबाट गर्न सकिने सहयोगका सम्बन्धमा आवश्यक निर्णय गर्ने विश्वाससमेत दिलाए ।