ग्लोबल आइएमई क्यापिटलको २५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट करसहित २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतका दरले ७ करोड ४० लाख ८७ हजार रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनसहित १० प्रतिशतका दरले ४ करोड ९३ लाख ९१ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १४ गते होटल ले हिमालय, लाजिम्पाट, काठमाडौंमा बिहान साढे ८ बजे १९औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत सभाले स्वीकृत गर्नेछ । साथै, सञ्चालकको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङले २१.०५ प्रतिशत लाभांश दिने
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको भदौ १८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट करसहित २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशतका दरले ४ करोड ५ लाख रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनसहित ११.०५ प्रतिशतका दरले ४ करोड ४७ लाख ६३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २० गते सेन्ट्रल प्लाजा, नक्साल, काठमाडौंमा बिहान ११ बजे १७औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत सभाले स्वीकृत गर्नेछ ।
हरि ॐ पूजा सामग्री उद्योगलाई उद्योग विभागको ७ दिने अल्टिमेटम
काठमाडौं । राधा धागो उद्योगले हरि ॐ पूजा सामग्री उद्योगविरुद्ध ट्रेडमार्क दर्ता खारेजीको माग गर्दै उजुरी दिएको छ । बुटवल उपमहानगरपालिका-४, रुपन्देहीस्थित राधा धागो उद्योगले बुटवल उपमहानगरपालिका-६ स्थित हरि ॐ पूजा सामग्री उद्योगका सञ्चालक यशोदा ओस्तीविरुद्ध ट्रेडमार्क दर्ता खारेजीका लागि उजुरी दिएको उद्योग विभागले जनाएको हो । विभागका अनुसार उजुरी परेको उद्योगको नाम र ठेगानामा संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिम उजुरीको प्रतिलिपिसहित ७ दिने म्याद सूचना पठाइएको थियो । तर, हालसम्म लिखित प्रतिक्रिया पेस नभएको तथा म्याद तामेलीको प्रतिवेदनसमेत प्राप्त नभएपछि विभागले सूचना प्रकाशित गरेको जनाएको छ । बाटोको म्यादबाहेक ७ दिनभित्र विभागको कानुन शाखामा उपस्थित भई आफ्ना सबुद प्रमाणसहित आफैँ वा कानुनी प्रतिनिधिमार्फत लिखित प्रतिक्रिया पेस गर्न विभागले सम्बन्धित पक्षलाई आग्रह गरेको छ । तोकिएको म्यादभित्र लिखित प्रतिक्रिया प्राप्त नभएमा प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइने र त्यसपछि कुनै उजुरी नलाग्ने विभागले सूचनामार्फत जनाएको छ । सूचनामा ‘हरि ॐ’ तथा ‘शास्त्रीय वैदिक जनै’ लगायतका व्यापारिक चिह्नसम्बन्धी विवरण उल्लेख गरिएको छ ।
२० प्रतिशत लाभांश बाँड्ने आईएमईको घोषणा
काठमाडौं । आईएमई लिमिटेडले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले करसहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १४ गते आईएमई कम्प्लेक्स, पानीपोखरी, काठमाडौंमा अपरान्ह ४ बजे २६औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनी आईएमई खल्ती लिमिटेडको गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ । यस्तै, सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिकसमेत निर्धारण गर्नेछ ।
१० प्रतिशत लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा
काठमाडौं । ग्लोबल आइएमई बैंकले १० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले असोज १६ गते नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा बिहान ९ बजे २०औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाबाट सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनीहरू ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई लघुवित्त र ग्लोबल आइएमई सेक्युरिटिजको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरिनेछ । सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिकसमेत निर्धारण गर्नेछ । साथै, बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । त्यसैगरी, सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्तावसमेत पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ५ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लोसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
आज देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसम सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थान तथा बाँकी तराई भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । विभागका अनुसार मधेश, कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका साथै बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ । राति पनि देशभरको मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, राति देशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ ।
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपरान्ह १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । त्यसैगरी, कानुनमन्त्री गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । अपरान्ह १:१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ । विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले उक्त प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्का सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा सभालाई जानकारी गराउनेछन् । यसैबीच, आज अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकसमेत बस्दैछ ।
बाढी क्षतिको मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देश
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडीएनए) को विवरण यथार्थपरक बनाउन निर्देशन दिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडीएनए) र विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद्-पश्चात् द्रुत क्षति अनुमान (ग्रेड) को छुट्टाछुट्टै प्रारम्भिक मूल्याङ्कनबारे छलफल गर्दै उनले आयोग र विश्व बैंकका नेपाल प्रतिनिधिहरूलाई यस्तो निर्देशन दिए । “पुनर्निर्माण र पुनस्र्थापनालाई प्रभावकारी बनाउन बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन जरुरी छ,“ अर्थमन्त्री वाग्लेले भने, “सरकारले ठीक निर्णय गर्न र लगानी जुटाउन आरडीएनए र ग्रेड यथार्थपरक र सत्यतामा आधारित भएर एउटा राष्ट्रिय डकुमेन्ट बन्नुपर्यो । योजना आयोगले बाढीले पुर्याएको भौतिक क्षति र मानवीय क्षतिको द्रुत र प्रारम्भिक चरणको आकलन प्रतिवेदनको खाका तयार गरिरहेको छ । विश्व बैंकले भने क्षतिको प्रारम्भिक आकलन तयार पारेको छ । सोही खाकाका प्रारम्भिक विवरणहरूलाई यकिन गरेर साझा प्रारम्भिक प्रतिवेदन तयार पार्न मंगलबार सरोकारवालाहरूसँग अर्थमन्त्री वाग्लेले छलफल गरेका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकरण भट्टसहित आयोगका उच्च पदस्थ अधिकारी सहभागी हुनुभएको छलफलमा बाढीका कारण भौतिक सम्पत्तिमा पुगेको क्षतिको आरडीएनए गर्न चार फरक-फरक क्षेत्रमा छुट्याएर मूल्याङ्कन गरिएको जानकारी गराइयो । जसमा सामाजिक, उत्पादनमूलक, पूर्वाधार र अन्य क्षेत्रका रूपमा विभाजन गरी मूल्याङ्कन सुरु गरिएको छ । सामाजिक क्षेत्रअन्तर्गत निजी भवन र संरचना, सार्वजनिक, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रका पूर्वाधारमा पुगेको क्षतिको अध्ययन नतिजा समावेश गरिएको छ । यस्तै, उत्पादनमूलक क्षेत्रअन्तर्गत कृषि, मत्स्य, पशुपन्छी, वित्तीय र आर्थिक गतिविधिको मूल्याङ्कन भइरहेको छ । जलविद्युत् आयोजना र प्रसारण लाइन, घरायशी हरित ऊर्जाको उपयोग, सडक, पुल, दूरसञ्चार, वातावरणीय स्वास्थ्य तथा सिँचाइ एवं नदी व्यवस्थापनको कार्यलाई पूर्वाधार क्षेत्रका रूपमा मूल्याङ्कन गरिएको छ । बाढीग्रस्त क्षेत्रमा थुप्रिएको भग्नावशेष र जोखिमयुक्त फोहोरको अवस्थालाई पनि चौथो क्षेत्र (अन्तरक्षेत्रीय विषयवस्तु) का रूपमा समावेश गरेर मूल्याङ्कन गरिएको छ । दुवै प्रतिवेदनलाई समेटेर सरकारले एक साझा आरडीएनए प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ। योजना आयोगले सहसचिव अर्जुन भण्डारीको नेतृत्वमा भौतिक पूर्वाधार मन्त्रालयसहितका सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूलाई राखेर आरडीएनए प्रतिवेदन तयार गरिरहेको छ । सोही प्रतिवेदनको आधारमा सरकारले तत्कालीन राहतको व्यवस्थादेखि लगानीको स्रोत जुटाउने र पुनर्निर्माण तथा पुनस्र्थापनाको काम अघि बढाउनेछ ।