काठमाडौं । भोटेकोशी बाढी पीडितहरूलाई वितरणका लागि संकलन गरिएका राहत खाद्य सामग्रीहरूको गुणस्तर र स्वच्छता परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्थलगत अनुगमन गरेको छ ।
विभागले गरेको अनुगमनका क्रममा राहतका अधिकांश सामग्रीहरूको अवस्था सन्तोषजनक देखिए पनि केही चामल भने बिना लेबल खुला रूपमा राखिएको फेला परेको विभागले जनाएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्मासहितको टोलीले काठमाडौंको सामाखुसीस्थित राधा स्वामी सत्सङ्गमा भण्डारण गरी राखिएका तीनवटा स्थानमा पुगेर राहत सामग्रीको विस्तृत निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा बाढी पीडितका लागि पठाउन तयार पारिएका जिरा चामल, लोकल पोखरेली चामल, चिउरा, चाउचाउ, भुजा, बिस्कुट, आँपको जुस (पेय पदार्थ) तथा आयोडिनयुक्त नुन लगायतका खाद्य वस्तुहरूको गुणस्तर जाँच गरिएको थियो । निरीक्षण गरिएका अधिकांश प्याकेटबन्द खाद्य पदार्थहरूमा ब्याच नम्बर, उत्पादन तथा प्याकेजिङ गर्ने उद्योगको नाम, ठेगाना स्पष्ट उल्लेख भएको र उपभोग्य म्याद समाप्त नभएको पाइएको विभागले जनाएको छ ।
यद्यपि, राहत सामग्रीका रूपमा संकलन गरिएको उसिना चामल र मसिना चामल भने कुनै पनि लेबल नभएको खुला अवस्थामा प्राप्त भएको फेला परेको थियो । खुला रूपमा रहेका यस्ता खाद्यान्नको स्रोत र गुणस्तर यकिन गर्न कठिनाइ हुने भएकाले विभागले चासो देखाएको छ ।
निरीक्षणपश्चात् विभागले राहत सामग्रीको स्वच्छता र गुणस्तर सुनिश्चित गर्नका लागि खाद्य पदार्थ वितरण गर्दा अनिवार्य रूपमा ‘असल वितरण अभ्यास’ अनुसार मात्र गर्न सम्बन्धित निकाय तथा व्यवस्थापकलाई कडा निर्देशन दिएको छ ।
विपद्को समयमा पीडित नागरिकसम्म गुणस्तरीय र सुरक्षित खाद्य सामग्री मात्र पुगोस् भन्ने उद्देश्यले विभागले यस्तो अनुगमनलाई प्राथमिकतामा राखेको जनाएको छ ।