पाँच महिनामा विपदका ५ हजार बढी घटना
काठमाडौं । वैशाख १ गतेदेखि भदौ २५ गतेसम्म देशभर भएका विभिन्न विपदका घटनामा परी २ सय ८८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद बुलेटिन अनुसार उक्त अवधिमा ५ हजार ८ सय ३२ विपदका घटना हुँदा १ हजार ९ सय ३३ जना घाइते भएका छन् भने ७ जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार सबैभन्दा धरै सर्पदंशबाट ९१ जनाको मृत्यु भएको छ भने पहिरोबाट ४८, चट्याङबाट २९, बाढीमा परी २९ जना लेक लाग्ने घटनामा २६ जनाको मृत्युु भएको प्राधिकरणले जनाएको छ । त्यस्तै आगलागीमा २३ जना, जनावरको आक्रमणबाट १९ जना, चट्याङबाट करेन्ट लाग्ने घटनामा १९ जना र हावाहुरीमा १३ परी १३ जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार भूकम्पमा ४ जना, वन डढेलोमा १ जना, हिउँ पहिरोमा १ जना, खानसम्बन्धी घटनामा १ जना र विद्युतीय घटनामा १ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । यो अवधिमा विपदका घटनाबाट ७ हजार १ सय ८७ परिवार प्रभावित भएका छन् ।
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री शाह संयुक्त राष्ट्र सङ्घको ८१औं महासभामा भाग लिन अमेरिका जान लागेका हुन् । भ्रमण असोज ६ देखि १० गतेसम्म हुने सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
धनौजीमा सडक नबनाई २६ लाख हिनामिना गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिका–२ स्थित गौरदाहादेखि लखौरीसम्म सडक निर्माणका नाममा कामै नगरी रकम भुक्तानी गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जना र चारवटा कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । अख्तियारका अनुसार सडक निर्माणका लागि बोलपत्र आह्वान र बोलपत्रको आशयसम्बन्धी सूचना राष्ट्रिय दैनिकमा प्रकाशित गर्नुपर्नेमा सूचना लुकाउने उद्देश्यले वास्तविक रूपमा सूचना प्रकाशन नगरी जनकपुर टुडे राष्ट्रिय दैनिकको एक प्रतिमा मात्र सूचना प्रकाशित गरिएको देखिएको छ। त्यसैलाई आधार बनाएर धनौजी गाउँपालिकामा अभिलेख राखी २ लाख ४९ हजार ५०४ रुपैयाँ भुक्तानी गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । त्यस्तै, गौरदाहादेखि लखौरीसम्मको सडक निर्माण योजनामा कुनै काम नै नगरी झुट्टा प्राविधिक बिल, नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी २४ लाख १५ हजार १२० रुपैयाँ साइन कन्ट्रक्सनलाई भुक्तानी गरेको अख्तियारले जनाएको छ । अख्तियारले दुवै घटनामा गरी कुल २६ लाख ६४ हजार ६२४ रुपैयाँ बिगो कायम गरेको छ । आयोगका अनुसार यस कार्यमा धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी, लेखापाल राधेश्याम राय, खरिदार अरुण कुमार यादव, सि.अ.हे.व. उमेर साह र तत्कालीन शिक्षा शाखा प्रमुख अनिल कुमार साहु संलग्न रहेको आरोप छ । यस्तै, अमृत मिडिया प्राइभेट लिमिटेड तथा प्रोप्राइटर राजेन्द्र यादव, जनकपुर टुडे मिडिया ग्रुप प्रालि तथा जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक बृज कुमार यादव, साइन कन्ट्रक्सन धनुषा तथा प्रोप्राइटर विकास प्रसाद यादव, साथै एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रालि., प्रोप्राइटर राम नारायण साह र असिस्टेन्ट सब इञ्जिनियर शुभाष कुमार महरा विरुद्ध पनि आरोपपत्र दायर गरिएको छ । अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र लेखापाल राधेश्याम रायका हकमा २६ लाख ६४ हजार ६२४ रुपैयाँ बिगो कायम गरी कैद, बिगोबमोजिम जरिवाना र बिगो असुलउपर गर्न मागदाबी गरेको छ । त्यस्तै, खरिदार अरुण कुमार यादव, सि.अ.हे.व. उमेर साह र तत्कालीन शिक्षा शाखा प्रमुख अनिल कुमार साहुविरुद्ध २४ लाख १५ हजार १२० रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरिएको छ । अख्तियारले सूचना प्रकाशनसम्बन्धी कार्यमा संलग्न अमृत मिडिया प्रालि र राजेन्द्र यादव तथा जनकपुर टुडे मिडिया ग्रुप प्रालि र प्रधान सम्पादक बृज कुमार यादवलाई २ लाख ४९ हजार ५०४ रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह सजायको मागदाबी गरेको छ । साइन कन्ट्रक्सन र प्रोप्राइटर विकास प्रसाद यादव तथा एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रालि, प्रोप्राइटर राम नारायण साह र असिस्टेन्ट सब इञ्जिनियर शुभाष कुमार महराविरुद्ध पनि २४ लाख १५ हजार १२० रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको आयोगले जनाएको छ । अख्तियारले उनीहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८, ९, १९ र २२ लगायतका व्यवस्थाअन्तर्गत कसुर भएको दाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
भोटेकोशी बाढीको क्षति भयावह, पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब लाग्ने
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनअनुसार विपद्बाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो कुल विपद् पुनरुत्थान आवश्यकताको ७५ प्रतिशत हिस्सा हो । पूर्वाधार क्षेत्रमध्ये पनि ऊर्जा र सडकमा व्यापक क्षति पुगेको छ । जहाँ ७५९ मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजना र २४ मेगावाटका ५ वटा सोलार प्लान्ट प्रभावित भएका छन् । यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने देखिएको छ । यसैगरी ६९ किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ । ३३ वटा मोटरेबल पुल बगेका छन् भने ४ वटामा आंशिक क्षति पुगेको छ । यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुगेको छ । प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि ७३ अर्ब ३४ करोड २९ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने देखिन्छ । बाढीका कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी ७ हजार ५ सय ७० वटा निजी घरहरू क्षतिग्रस्त भएका छन् । यसबाहेक ४८ वटा सार्वजनिक भवन, १८ वटा विद्यालय, ७ वटा स्वास्थ्य संस्था र ३० वटा सांस्कृतिक सम्पदामा क्षति पुगेको छ । यो क्षेत्रका लागि १ खर्ब ३ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ बजेट आवश्यक छ । यसैगरी, व्यापार, व्यवसाय, बैंक र कृषि समेटिएको उत्पादक क्षेत्रको पुनरुत्थानका लागि ५० अर्ब ७७ करोड ४९ लाख रुपैयाँ लाग्ने आकलन गरिएको छ । उत्पादन क्षेत्रअन्तर्गत १ हजार ८०६ हेक्टर कृषि बाली, १७ वटा बैंक शाखा र ४ हजार ८०० व्यापारिक प्रतिष्ठानहरू प्रभावित भएका छन् । ५ जिल्लाका प्रभावित १५ स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै ३ हजार २६ घरमा क्षति पुगेको छ । विपद् जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि ९४ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ र लेदो तथा भग्नावशेष व्यवस्थापनका लागि ५१ करोड ५४ लाख रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदनले पुनःनिर्माणलाई दुई चरणमा विभाजन गरेको छ। जसअनुसार, आगामी ६ महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनःनिर्माणका लागि ८ अर्ब ७३ करोड ५० लाख रुपैयाँ र दीर्घकालीन पुनः निर्माणका लागि ७ खर्ब १४ अर्ब ५८ करोड २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
उद्योगमन्त्री बन्दै दीपक साह
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक साह नियुक्त हुने भएका छन् । गौरीकुमारी यादवले राजीनामा दिएसँगै प्रधानमन्त्री बालेन्द्र शाहले साहलाई उद्योगमन्त्री नियुक्त गर्न लागेका हुन्। उनी गत वर्षको निर्वाचनमा सुनसरी- ४ बाट निर्वाचित भएका थिए । साहलाई आजै शपथ ग्रहण गराउने तयारीसमेत भइरहेको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ । उनको शपथ साढे ५ बजे हुने स्रोतले बताएको छ ।
बुद्ध रिजेन्सीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज
काठमाडौं । लुम्बिनीको सिद्धार्थनगरमा सञ्चालनमा रहेको पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । आईपीओ निष्कासनसम्बन्धी सम्झौतामा बुद्ध रिजेन्सीका तर्फबाट सञ्चालक सुनिल अग्रवाल र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले भदौ २५ गते नयाँ बानेश्वरस्थित लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्नेछ । बुद्ध रिजेन्सी होटल सिद्धार्थनगर (भैरहवा)स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ठीक अगाडि सञ्चालनमा रहेको पाँचतारे लक्जरी होटल हो । होटलले विन्डहम होटल्स एन्ड रिसोर्ट्ससँग साझेदारी गरी ‘रामाडा बाइ विन्डहम’ ब्रान्डअन्तर्गत सेवा दिँदै आएको छ । होटलमा १०० भन्दा बढी सुविधायुक्त कोठा रहेका छन् । त्यस्तै, विवाह समारोहका लागि ठूला बैंक्वेट हल तथा कर्पोरेट सम्मेलनका लागि दुईवटा छुट्टै हलको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
विदेशी मुद्रासहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल वायुसेवा निगमको उडान नम्बर आरए–२२५ मार्फत काठमाडौं हुँदै भारतको बैङ्गलोर जान लागेका भारतको कर्नाटक, बैङ्गलोरका ३६ वर्षीय जगदीश मोहन राव पक्राउ परेका हुन्। मंगलबार पौने १ बजे विमानस्थलको पछाडिपट्टि रहेको सामान जाँच गर्ने स्थानमा एक्स–रे मेसिनमार्फत ब्यागेज जाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको रकम फेला परेका थिए । उनको साथबाट विभिन्न देशका मुद्रा फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिए । प्रहरीका अनुसार उनको साथबाट भारतीय रुपैयाँ ६ लाख ३५ हजार, चिनियाँ युआन ६ सय ३५, हङकङ डलर १०, भियतनामी डोङ ११ लाख ८६ हजार र थाइल्याण्डको भाट १ सय ७० बरामद भएको छ। विदेशी मुद्रा अवैधानिक रूपमा लुकाईछिपाई लैजान लागेको अवस्थामा बरामद गरिएको छ। रावलाई बरामद विदेशी मुद्रासहित थप अनुसन्धान तथा प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो लिपमोटर बी०३एक्स
काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता लिपमोटरको नयाँ विद्युतीय गाडी बी०३एक्स चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बनेको छ । कम्पनीका अनुसार बी०३एक्सले अगस्ट महिनामा मात्रै ३० हजार ६५२ युनिट बिक्री गरेको छ । चीनमा ए१० नामबाट बिक्री हुँदै आएको यो मोडल लिपमोटरको इतिहासमा सबैभन्दा छिटो १ लाख युनिट बिक्रीको आँकडा पार गर्ने गाडीसमेत बनेको छ । कम्पनीले बी०३एक्सले बजारमा आएको १३५ दिनमै १ लाख युनिट बिक्रीको आँकडा पार गरेको जनाएको छ । यो मोडल सन् २०२६ मार्च २६ मा चिनियाँ बजारमा सार्वजनिक भएको थियो । अगस्ट ७ मा यसले १ लाख युनिट बिक्रीको माइलस्टोन पूरा गरेको हो । बी०३एक्समा १४५ किलोवाट क्षमताको मोटर र ५५ किलोवाट–घण्टाको ब्याट्री दिइएको छ । यसले एकपटकको चार्जमा सीएलटीसी मापदण्डअनुसार ५०५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । गाडीमा ३० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न १६ मिनेट लाग्ने फास्ट चार्जिङ सुविधा छ । त्यस्तै, यसमा क्वालकम स्न्यापड्रागन ८२९५ ककपिट चिपसहित दुईवटा उच्च क्षमताका चिप प्रयोग गरिएको छ । बी०३एक्समा ५१० लिटर क्षमताको बुट स्पेस रहेको छ । पछाडिका सिट फोल्ड गर्दा यसको क्षमता १ हजार ६०५ लिटरसम्म पुग्ने कम्पनीले जनाएको छ । लेपमोटरलाई स्टेलान्टिसको विश्वव्यापी साझेदारीसमेत रहेको छ । स्टेलान्टिसअन्तर्गत मासेराती, अल्फा रोमियो र प्युजो लगायतका ब्रान्ड रहेका छन् । कम्पनीका अनुसार लिपमोटरले विश्वभर १७ लाखभन्दा बढी विद्युतीय सवारी बिक्री गरिसकेको छ । जुलाई र अगस्ट गरी लगातार दुई महिनामा कम्पनीले १ लाखभन्दा बढी सवारी बिक्री गरेको जनाएको छ । लिपमोटरका ४५ भन्दा बढी देशमा २ हजारभन्दा बढी बिक्री तथा सेवा केन्द्र रहेको कम्पनीले जनाएको छ ।