विकासन्युज

गजेन्द्रनारायण अस्पतालले भन्यो– पटक–पटक अनुरोध गर्दा पनि सुत्केरी अस्पतालबाट बाहिरिएकी थिइन्

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले अस्पताल परिसरको मूल गेटनजिक एक महिलाले बच्चा जन्माएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार भदौ २४ गते बिहान करिब २ बजे प्रसवको सुरुवाती अवस्थामा अस्पताल पुगेकी बबिता कुमारी पासवानलाई प्रारम्भिक स्वास्थ्य परीक्षणपछि प्रसूति वार्डको बेड नं २४ मा भर्ना गरिएको थियो । आवश्यक जाँचसम्बन्धी कुनै रिपोर्ट नभएकाले तत्काल जाँच गर्न सुझाव दिइएको अस्पतालको भनाइ छ । त्यसपछि अस्पतालले उपलब्ध गराएको शय्यामा नरहेको र सोही दिन बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेटबाहिर प्रसूति भएको जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।  प्रसूति पश्चात् आमा र बच्चालाई सालनालसहित पुनः प्रसूति वार्डमा ल्याइएको र ड्युटीमा खटिएका स्वास्थ्यकर्मीले आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै रहन पटक–पटक अनुरोध गरे पनि उनी अस्पतालबाट बाहिरिएको प्रारम्भिक विवरण अस्पतालले सार्वजनिक गरेको छ । हाल आमा बबिता कुमारी पासवान र नवजात शिशु दुवै अस्पतालको बेड नम्बर २२ मा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार तथा आवश्यक स्याहार पाइरहेका छन् ।  दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । घटनापछि अस्पतालले आमा र बच्चाको हालसम्म आवश्यक सम्पूर्ण स्वास्थ्य उपचार, औषधि तथा सेवाहरू निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । अस्पताल प्रशासनले घटनाको वास्तविक तथ्य पत्ता लगाउन निष्पक्ष आन्तरिक छानबिन प्रक्रिया अघि बढाउने र छानबिनबाट दोषी देखिएका कर्मचारी वा सम्बन्धित पक्षलाई प्रचलित कानुन तथा नियमअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । सम्बन्धित निकायबाट बाह्य छानबिन समिति गठन भए त्यसलाई आवश्यक सूचना, कागजात तथा सहयोग उपलब्ध गराउने पनि अस्पतालले स्पष्ट पारेको छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रसूति सेवा व्यवस्थापन, सेवा प्रवाह तथा सेवाग्राहीप्रतिको जवाफदेहिता थप सुदृढ बनाउने अस्पतालले प्रतिबद्धता जनाएको छ ।  घटनाको पूर्ण सत्यतथ्य छानबिनबाट बाहिर नआएसम्म संयमित भई सत्यतथ्यमा आधारित सूचना सम्प्रेषण गर्न अस्पताल प्रशासनले नागरिक तथा सञ्चारमाध्यमलाई आग्रहसमेत गरेको छ ।

एनडब्लुइडिसी र ठेकेदार कम्पनीले बाढी प्रभावित परिवारलाई दिन थाले राहत

काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा आएको विनाशकारी बाढीबाट प्रभावित कामदार तथा कर्मचारीका परिवारलाई नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लुइडिसी) र आयोजना निर्माणमा संलग्न ठेकेदार कम्पनीहरूले तत्काल आर्थिक राहत वितरण सुरु गरेका छन् । एनडब्लुइडिसी, मुख्य ठेकेदार डुसान एनरबिलिटी तथा उपठेकेदार एन्ड्रिट्ज र पावर चाइनाले प्रभावित परिवारलाई राहत रकम सम्बन्धित कर्मचारीको बैंक खातामा वा प्रमाणित नजिकको हकदारलाई उपलब्ध गराउन थालेको जनाएको छ । कम्पनीका अनुसार नजिकको हकदारले आफ्नो पहिचान प्रमाणीकरण गरी भुक्तानी प्रक्रिया अघि बढाउन सम्बन्धित ठेकेदार कम्पनीसँग सम्पर्क र आवश्यक समन्वय गर्न सक्नेछन् ।   कम्पनीहरूले तत्काल आर्थिक राहतसँगै बाढीबाट प्रभावित कामदार, कर्मचारी तथा बेपत्ता कामदारका परिवारलाई मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराइरहेका छन् । यसैबीच, २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कम्पनीहरूले प्रभावित कामदार तथा कर्मचारीका लागि प्रचलित कानुन र कम्पनीको नीतिअनुसार सहयोग तथा क्षतिपूर्ति प्याकेज तयार गर्ने प्रक्रिया अघि बढाएको बताएका छन् ।  घाइते उपचारपछि डिस्चार्ज, ५१२ जना अझै सम्पर्कविहीन बाढीमा घाइते भएका कामदारहरूको उपचार सफलतापूर्वक सम्पन्न भई अस्पतालबाट डिस्चार्ज गरिएको कम्पनीले जनाएको छ । उपचारपछि पनि घाइते कामदारलाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराइने बताइएको छ । उद्धार तथा खोजी अभियानलाई थप प्रभावकारी बनाउन डुसानबाट थप २१ सदस्यीय उद्धार टोली भदौ २३ गते आयोजना स्थलमा पुगेको छ । टोलीले खोजी तथा उद्धार कार्यका लागि अस्थायी क्याम्प स्थापना गर्न उपयुक्त स्थानहरूको पहिचान सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना स्थलसम्म पुग्न कठिन भूगोलका कारण खोजी तथा उद्धार कार्य प्रभावित भएको छ । मंगलबार, भदौ २३ गतेसम्मको विवरणअनुसार आयोजनामा कार्यरत ५१२ जना कामदार अझै बेपत्ता वा सम्पर्कविहीन रहेका छन् ।   एनडब्लुइडिसी र ठेकेदार कम्पनीहरूले नेपाली सेना, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायसँग समन्वय गर्दै जारी खोजी तथा उद्धार अभियानलाई सहयोग गरिरहेको बताएका छन् । उद्धार कार्यका लागि आवश्यक सामग्री उपलब्ध गराउनुका साथै खोजी अभियानलाई तीव्र बनाउन ठूला उपकरण हवाई मार्गबाट आयोजना स्थलमा पुर्‍याउने तयारी पनि सुरु गरिएको कम्पनीले जनाएको छ । डुसान, एन्ड्रिट्ज र पावर चाइनाका प्रतिनिधिहरू प्रभावित कामदार तथा कर्मचारीका परिवारबाट आउने प्रश्न र सुझावका लागि उपलब्ध रहने जनाउँदै खोजी तथा उद्धार अभियानमा आवश्यक सबै सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रास्वपा महामन्त्री भन्छन्– सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुनःनिर्माण हुने कसरी पत्याउने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा सांसद विपिनकुमार आचार्यले जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी संरचनाको पुनर्निर्माण सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले निजी क्षेत्रले आन्दोलनका क्रममा क्षतिग्रस्त व्यापारिक केन्द्रहरूको पुनर्निर्माण तीव्र गतिमा अघि बढाए पनि सरकारी संरचनाको पुनर्निर्माण भने सुस्त रहेको बताए । उनले राज्यका प्रमुख संरचनाहरूको पुनर्निर्माण अझै प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै सिंहदरबार र संसद् भवनलगायतका संरचना हालसम्म पनि जस्ताकोतस्तै रहेको उल्लेख गरे । आचार्यले निजी क्षेत्रको पुनर्निर्माणप्रतिको उत्साहको प्रशंसा गर्दै सरकारी संरचनाको अवस्थाप्रति भने असन्तुष्टि जनाए । उनले भने, ‘भदौ २४ को विध्वंसले खरानी बनेका ती व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनागत तरिकाले उठिसकेका छन् । निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ । तर जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृह मन्त्रालय अझै उस्तै बेवारिसे देख्छु ।’ आफूले नयाँ संसद् हलमा बजेट प्रस्तुत हुने सुने पनि अहिले पनि अस्थायी भवनबाटै प्रतिनिधिसभामा आफ्ना कुरा राख्नुपरेको उनले बताए । ‘राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दा रसुवा र नुवाकोटका नागरिकले चाहिँ पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’ उनले प्रश्न गरे । आचार्यले पुनर्निर्माणमा देखिएका नीतिगत तथा व्यावहारिक कमजोरी तत्काल पहिचान गरी कामको गति बढाउन सरकारसँग आग्रहसमेत गरे । ‘के–के नीतिगत र व्यावहारिक कमजोरीहरू छन्, त्यो पत्ता लगाऔँ र यो पुनर्निर्माणको गतिलाई चाहिँ बढाऔं, बिफोर इट्स टु लेट,’ उनले भने ।

लिबर्टी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.७१ अंकले घटेर २५२६ बिन्दुमा झरेको हो ।  नेप्सेका अनुसार ४८ कम्पनीको सेयर मूल्य बढ्दा २२० कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।  बिहीबार ३४१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार लिबर्टी इनर्जीको भएको छ । लिबर्टीको ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै रिलाइन्स स्पिीनिङको २० करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १८ करोड, एसबिआई बैंकको १६ करोड र रिडि पावरको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  लिबर्टी इनर्जीको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  नेप्सेमा अधिकांश उपसूचक घटेका छन् । कारोबारमा सहभागी सबै १३ उपसूचक राताम्मे हुँदा बजारमा व्यापक दबाब देखिएको हो । सबैभन्दा धेरै गिरावट उत्पादन तथा प्रशोधन समूहमा देखिएको छ । यो उपसूचक १२१ अंक अर्थात् १.१४ प्रतिशतले घटेर १० हजार ४५८.४५ बिन्दुमा झरेको छ । त्यसपछि निर्जीवन बीमा समूह ०.७८ प्रतिशत, वित्त समूह ०.६६ प्रतिशत, अन्य समूह ०.६४ प्रतिशत र म्युचुअल फन्ड समूह ०.५७ प्रतिशतले घटेका छन् । जलविद्युत समूह ०.५५ प्रतिशत, लघुवित्त समूह ०.५६ प्रतिशत, होटल तथा पर्यटन समूह ०.५० प्रतिशत र बैंकिङ समूह ०.४७ प्रतिशतले पनि गिरावट बेहोरेका छन् । यस्तै लगानी समूह ०.४१ प्रतिशत, विकास बैंक समूह ०.३४ प्रतिशत, व्यापार समूह ०.२७ प्रतिशत र जीवन बीमा समूह ०.१७ प्रतिशतले घटेका छन् ।   

नाका र राजमार्ग युद्धस्तरमा खुलाउन सांसद अधिकारीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले बाढी–पहिरोका कारण अवरुद्ध प्रमुख राजमार्ग तथा सीमा नाकाहरू तत्काल युद्धस्तरमा सञ्चालनमा ल्याउन सरकारसँग माग गरेकी छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले सडक तथा नाका अवरुद्ध हुँदा अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भएको भन्दै अन्तरमन्त्रालय समन्वय गरेर आपूर्ति व्यवस्था तत्काल सहज बनाउन सरकारको ध्यानाकर्षण गराइन् । भोटेकोशीमा आएको बाढीले नागरिकको बाँच्ने आधार र वर्षौंको मेहनतबाट बनेका संरचनामा गम्भीर क्षति पुर्‍याएको उल्लेख गर्दै उनले विपद्का कारण जनजीवन थप संकटमा पर्न नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताइन् । अधिकारीका अनुसार तातोपानी र रसुवागढी नाका बन्द हुँदा ठूलो परिमाणमा आयात–निर्यात प्रभावित भएको छ । त्यस्तै, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध हुँदा अर्बौं रुपैयाँ बराबरका सामान बाटोमै रोकिएका छन् । उनले सडक र नाका लामो समय अवरुद्ध रहँदा बजारमा वस्तुको अभाव र मूल्यवृद्धिको जोखिम बढ्ने भन्दै त्यसको प्रत्यक्ष मार नागरिकमाथि पर्ने बताइन् । ‘जनता विपत्तिमा छन्। नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउन सरकारले तत्काल कदम चालोस्,’ उनले भनिन् । अधिकारीले उद्धार तथा राहतसँगै अवरुद्ध पूर्वाधार पुनः सञ्चालन र आपूर्ति प्रणालीलाई नियमित बनाउन सरकारको प्राथमिकता केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।

ग्यास उद्योगीबारे मन्त्रीको टिप्पणीप्रति उद्योग परिसंघको असन्तुष्टि

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यास उद्योगीलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति नेपाल उद्योग परिसंघ (सीएनआई)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । परिसंघले बिहीबार विज्ञप्ति जारी गर्दै संसदीय समितिको बुधबार बसेको बैठकमा मन्त्री यादवले दिएको ‘ग्यास उद्योगीलाई पाता नकसेसम्म ग्यास सहज हुँदैन’ भन्ने अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण टिप्पणी भएको जनाएको हो । परिसंघका अनुसार विपद्को समयमा सरकारसँग सहकार्य गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन लागिपरेका उद्योगी–व्यवसायीलाई यस्ता अभिव्यक्तिले निराश बनाएको छ । परिसंघले लगानी अभिवृद्धि, रोजगारी सिर्जना र अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बेला मन्त्रीको अभिव्यक्तिले समस्या समाधानभन्दा अवरोध सिर्जना गर्ने ठहर गरेको छ । विज्ञप्तिमा आपूर्ति शृंखलामा परिस्थितिजन्य अवरोधका कारण ग्यास अभाव देखिएको हुन सक्ने उल्लेख गर्दै कुनै उद्योगी वा व्यवसायीले बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भए कानुनबमोजिम कारबाही गर्नुपर्नेमा आफूहरू स्पष्ट रहेको जनाएको छ । परिसंघले विपद्को समयमा सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य अझ आवश्यक रहेको भन्दै जिम्मेवार अभिव्यक्ति र तथ्यमा आधारित निर्णय गर्न सरकारसँग आग्रह गरेको छ ।

अस्पताल परिसरबाहिर सुत्केरी भएको घटनामा मन्त्रालयको छानबिन टोली राजविराज जाँदै

काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाको छानबिन गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल मेडिकल काउन्सिलको संयुक्त टोली आजै राजविराज जाने भएको छ । मन्त्रालयले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सत्यतथ्य छानबिनका लागि पाँच सदस्यीय टोली खटाइएको जनाएको छ । नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका सदस्य डा. अजय शाहसहितको टोली आजै राजविराज प्रस्थान गर्नेछ । मन्त्रालयका उपचारात्मक सेवा महाशाखा प्रमुख डा. पवनजंग राईमाझी पनि छानबिनका लागि टोलीसँगै जाने मन्त्रालयले जनाएको छ । मन्त्रालयले घटनाबारे गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालसँग स्पष्टीकरणसमेत मागेको छ । स्थलगत अध्ययन गरेर घटनाको वास्तविकता सार्वजनिक गरिने र छानबिनका क्रममा कसैको लापरबाही वा कमजोरी देखिए प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयको भनाइ छ । यसैबीच अस्पतालले पनि घटनाको आन्तरिक छानबिन गर्न छुट्टै समिति गठन गर्ने तयारी गरेको जनाएको छ । मन्त्रालयले उपचारका लागि स्वास्थ्य संस्थामा आउने कुनै पनि सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने स्पष्ट गर्दै घटनाको गम्भीर अध्ययन र आवश्यक छानबिन प्रक्रिया अघि बढाइएको जनाएको छ ।

नेपाल टेलिकमको अध्यक्षमा राजेन्द्रकुमार पौडेल नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को सञ्चालक समिति अध्यक्षमा राजेन्द्रकुमार पौडेल नियुक्त भएका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार कोशी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव पौडेल सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा भएसँगै नेपाल टेलिकमको सञ्चालक समिति अध्यक्षमा नियुक्त भएका हुन् । नेपाल टेलिकमले कम्पनी रजिष्ट्रारको कार्यालयलाई पठाएको पत्रमार्फत सञ्चालक समिति अध्यक्ष परिवर्तन भएको जानकारी दिएको हो । कम्पनीको नियमावलीअनुसार नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयका सचिव नेपाल टेलिकमको सञ्चालक समिति अध्यक्ष रहने व्यवस्था छ । सोही व्यवस्थाअनुसार पौडेल अध्यक्ष बनेका हुन् । यसअघि नेपाल टेलिकमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी लक्ष्मी कुमारी बस्नेतले सम्हाल्दै आएकी थिइन् । पौडेलले २०८३ भदौ ११ गते गोपनीयता र इमान्दारिताको शपथसमेत लिएका छन् । नेपाल टेलिकमले कम्पनी ऐन, २०६३ को दफा ९२(३) बमोजिम अध्यक्ष परिवर्तन भएको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई समेत गराएको छ ।