काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
नेपाल वायुसेवा निगमको उडान नम्बर आरए–२२५ मार्फत काठमाडौं हुँदै भारतको बैङ्गलोर जान लागेका भारतको कर्नाटक, बैङ्गलोरका ३६ वर्षीय जगदीश मोहन राव पक्राउ परेका हुन्।
मंगलबार पौने १ बजे विमानस्थलको पछाडिपट्टि रहेको सामान जाँच गर्ने स्थानमा एक्स–रे मेसिनमार्फत ब्यागेज जाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको रकम फेला परेका थिए । उनको साथबाट विभिन्न देशका मुद्रा फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिए ।
प्रहरीका अनुसार उनको साथबाट भारतीय रुपैयाँ ६ लाख ३५ हजार, चिनियाँ युआन ६ सय ३५, हङकङ डलर १०, भियतनामी डोङ ११ लाख ८६ हजार र थाइल्याण्डको भाट १ सय ७० बरामद भएको छ। विदेशी मुद्रा अवैधानिक रूपमा लुकाईछिपाई लैजान लागेको अवस्थामा बरामद गरिएको छ।
रावलाई बरामद विदेशी मुद्रासहित थप अनुसन्धान तथा प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।